~खगेन्द्र पन्धाक लिम्बू~
बैंककको विश्वस्तरीय सुपर मार्केट अघिको आकाशेपुलमा बिहान–साँझ हिंड्दा देखिने विरक्तलाग्दो करिब चार वर्षको बालमगन्ते बच्चाको रुवाइले हत्तु बनेको छु । त्यै बच्चाको रुवाइले अफिस जाँदा मूड बिग्रिने र घर फर्किंदा झन् थकित हुने समस्या बढेर गएको छ । यद्यपी, त्यै बाटो मलाई हिंड्नै पर्ने ! सायद, त्यै अत्यासलाग्दो रुवाइ नै कुनै अम्मलजस्तो मेरो प्रिय बनिसकेको थियो । घामले हिउँ पगालेजस्तो उसको रुवाइले मान्छेहरुको मन पगाल्छ र पहिरोले झैं बगाउँछ । आगोले मैन र घिउ पगालेझैं उसको डाँकोले मान्छेको हृदय जलाउँछ । बदलामा आफ्नो खल्तीको पैसा उसको टोकरीमा भकाभक फालिदिनबाहेक उसलाई कसैले केही गर्न सक्दैनन्, मैले जस्तो !
ऊ मगन्ते त हो, तर उसलाई पैसाको कुनै मोह र लोभ पटक्कै छैन । कतिले सोच्दा हुन्– रोएर पैसा कमाउन उसले राम्रो कला जान्यो । कतिले सोचे होलान्– सधैं रोएर पनि नसकिने कस्तो आँशु होला त्यसको ? कति रुन सकेको ? कति दिक्दार र अलच्छिन ? कसैले त यस्तो नि सोच्दा हुन्– रोएरै माग्न पनि भगवानले पर्याप्त आँशु दिनुपर्छ क्यार ! यो सोचहरुमाथिको मेरो प्रतिसोच हो । आफ्नै सोचको सीमाभञ्जन भएपछि ऊ प्रति मेरो अध्ययन र अनुसन्धान गहिरिएर जान्छ ।
जान्दछु– त्यो उमेरका थाई बच्चाहरु पैसा भेट्नासाथ खुरुरुरु कुदेर स्टल वा चौबीसघन्टे सेवेन एलेवेनको पसल छिर्छन् र पैसा बोकेको हातमा नानाभाँती कुरा लिएर फर्किन्छन् । तर खै, त्यो बच्चामा त्यो पैसामोह देखिंदैन ।
एक दिन अलिकति परै बसेर हेर्छु । उसको दिनचर्या उस्तै छ । उसोरी नै रोइरहेका छन् । पैसामोह छैन र पनि मगन्ते नै हो । उसको अगाडि पैसा हाल्ने टोकरी छ र उसका हातहरु उसरी नै जुम्ल्याहा बनेर नमस्कार गरिरहेका ।
‘माई याक् थाम्ङसन्’ थाई भाषा त्यति धेरै नजाने नि आफैं कामदार हुनाले मैले बुझिहालें । ‘म काम गर्न चाहन्न’ –यो कसैको दबाबबिना निस्कने वाक्यांश नै होइन । रहस्य खुल्दै गयो । दबाब, कर र जबर्जस्ती कसैले उसलाई यो काम लगाएको छ । प्रत्येक दबाबहरु अत्याचार हुन् । ऊ अत्याचार भोगेर बाँचेको थियो अर्थात् अत्याचारको विरुद्धमा धेरै दिनदेखि आन्दोलित र संघर्षशील थियो । उसको क्रान्तिको तरिका फरक थियो । शक्तिशाली अस्त्रधारीहरुको हिंसात्मक क्रान्तिभन्दा आँशुको क्रान्ति धेरै राम्रो हो । जानेर–नजानेर ऊ क्रान्तिमा थियो । यति खुलासा भयो ।
मैले अब खुलेरै सोधें– ‘बाबुलाई के भो ?’
जबाफ आएन । सायद उसले मेरो प्रश्नलाई महत्वपूर्ण मानेन । बरु झनै ठूलो स्वरले सडकभरिका हल्लाहरुलाई उछिनेर रुन थाल्यो ।
‘काम नगरेर के घिच्छस् ? तँलाई सानैमा फालेर हिंड्ने बाईफाले–पातकी तेरो आमाले देखोस् तँलाई यै अवस्थामा !’ एक्कासी कर्कश नारी आवाज आयो ।
‘म साथीहरुसँग खेल्न जान्छु’
‘तँ बिग्रिसकिस् साथीहरुसँग लागेर !’
‘हो, तर साथीहरु त भन्छन्– स्कूल नगई यहाँ बाटोमा मगन्ते भएर म बिग्रिएँ रे !’
‘ज्यादा बोल्छस् ? चुप लागेर अह्राएको काम गर !’
टोकरीको सबै पैसा सोहोरेर त्यो निर्दयी नारी त्यहाँबाट आफ्नो बाटो लागिन् । आकाशे पुलबाट झरेर सडकको छेउमा राखिएको नरिवलको पानी किनेर खाँदै मान्छेको भीडमा हराई । तर मेरो मस्तिष्कमा अझै उनी उपस्थित थिइन् । केटो भने झनै ठूलो आवाज निकालेर लडिबुडी गर्दै रुन थाल्यो । सडक वारपार गर्ने मान्छेको भीडले उसको चित्कार देखेर फेरि आफ्नो गोजीको पैसाले उसको टोकरी भर्दै गए । मैले चाहिं बल्ल बुझेको थिएँ– उसको भरिनुपर्ने टोकरी अर्कै छ, जो अरुले देख्दैनन्–बुझ्दैनन् ।
फोहोरी देखिए पनि साह्रै सुन्दर थियो ऊ । र, सबैभन्दा कलिलो र धेरै कमाइ गर्ने सडक मगन्ते पनि उही थियो । म क्रमश ः प्रत्येक दिन ऊसँग नजिकिन कोसिसमा थिएँ । सफल पनि हुँदै गएँ । म एउटा फुच्चे लेखक हुनाले उसको अमूर्तसत्यलाई गवेयाण गरेर सडक बालबालिकाको हकहितका निमित्त केही लेख्ने अभिप्रायमा थिएँ । ऊ नजिकिएर गयो अर्थात् हामी साथीजस्तो भयौं ।
‘सफा–राम्रो लुगा लाउन हुन्न रे अंकल । पैसा दिंदैनन रे । त्यसैले मैलो–फोहोरी भएर बस्नुपर्छ !’
उसका यी वाक्यांश यसरी मभित्र बिझ्यो कि जसलाई दिलकाँडा भन्छु म । व्यापारिक केन्द्रको यो व्यस्त सडक पार गर्ने आकाशे पुलमा सयौं कथित नेता, मन्त्री, राजा, समाजसेवी, मानवअधिकारवादी आदि दुनियाँ हिंडे होलान् । दुनियाँले उसलाई पैसा दिए होलान् । तर ऊ कहिल्यै सन्तुष्ट हुन सकेको थिएन ।
‘मलाई पैसा मन पर्दैन अंकल । म पनि अरु साथीहरु जस्तो रमाउँदै खेल्न–स्कूल जान चाहन्छु ।’
मेरो अर्को प्रश्नको उसको जबाफ यस्तो थियो– ‘उहाँ मेरो आमा होइन, मेरो बुबाको श्रीमती रे । उहाँ हाम्रो घरमा आएपछि मेरो आमा, बुबा र उहाँ तीन जनाको लडाइँ भयो । आमा रुँदै जानुभा’थ्यो । बुबाले आमासँग जान पनि दिनुभएन । कति धेरै मान्छे आउँछन्–जान्छन् यहाँ, तर यहाँ बस्दा मैले मेरो आमालाई फेरि कहिल्यै देखिन ।’
यो सहरमा आफन्त हराएकाहरु कति छन् कति ! यसरी आफ्नो खुशी, स्वतन्त्रता र जीवन गुमाएकाहरु पनि कति होलान् कति ! कतिले ती गुमेका आफ्ना प्रियजन र कुराहरुको परिपूर्तिमा हजारौं–लाखौं–करोडौं पैसा कमाए पनि होलान् । तर खुशी नभेटेका यस्ता साँच्ची पीडितहरुको मर्म जोकोहीले बुझ्ने छैनन् । म उसको दैनिकीले दिनहुँ रेटिएको थिएँ ।
त्यो पुलमा उसलाई नदेखेको वर्ष दिन भयो । उसको झनै सम्झना बढेको छ । उसको कथाले झनै पोलेको छ ।
ऊ कता गयो ? के भयो ? भन्ने प्रश्नहरुको उत्तरमा एउटा मात्र कारण फेला पारें कि त्यो व्यापारिक केन्द्र पोहोरसाल विशाल जनआन्दोलनको केन्द्र र युद्धपोतमा परिणत भएको थियो । जनताले सडक बन्द गरेर आफ्नो अधिनस्थ तयार गरेको थियो । ऊ बेलाको सरकारले त्यो आन्दोलन भाँड्न भौतिक अस्त्रधारी सेना र प्रहरी प्रयोग गरेको थियो । धेरै देशी–विदेशीले अनाहकमा ज्यान गुमाएका थिए । शंकास्पद मनले उतिबेला मर्नेहरुको खोजी गर्दा उसको नाम–फोटो भने मैले फेला पार्न सकिन । मन अलि शान्त भएको थियो । तर अझै मेरो मन–मस्तिष्कको फ्रन्ट पेजमा ऊ नमेटिने गरी छापिएको छ । यो उसको यथार्थ कथा भने भर्खर अक्षरीकरण गर्दैछु । किनकि त्यै पुलमा आज अरु चारजना मगन्ते बच्चाहरु पनि देख्ने दुर्भाग्य मिलेको थियो । तिनीहरु दुरुस्तै ऊ बालमगन्ते मेरो साथीजस्तै देखिन्थे ।
उनीहरुमध्ये एकजनाले भन्दै थिए– ‘नजिक–नजिक बसे सी कसरी कमाइ हुन्छ ? टाढा–टाढा, एक्लै–एक्लै बसौं । साथी मन पर्दैन मलाई त । पैसा नै कमाइ हुन्न । यति धेरैलाई पैसा कसैले दिंदैनन् !’
आँखाले देख्यो– ऊ बेला आन्दोलनमा जलेका त्यत्रा विशाल ‘शपिङ मलहरु’ भने पुनःनिर्माण भैसकेका थिए । मैले हराएको साथीको परिपूर्ति । त्यो घटनाले जलेको मेरो मन भने कसले पुनःनिर्माण गर्ने !(?) म अझै विक्षिप्त छु । मेरो हृदय भने अझै खाग–खरानीझैं लाग्दछ । त्यो बाटो भएर अफिस जान पटक्कै मन छैन । बरु यो कथा लेख्न आज छुट्टी बस्छु ।
(श्रोत :- Vishwanews )