कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।

प्रायः मैले यो समाज र सभ्यताले दिएको आफ्नो जातलाई बिर्सन्छु । जुन मेरा लागि एउटा रोग बनेको छ । रोगले कुनै न कुनै पीडा दिन्छन् नै । मलाई यो जात बिर्सने रोगले पनि पीडा दिँदै आएको छ ।

जब यो रोग लाग्छ, तब आफूलाई केवल मान्छे पाउँछु- कुनै जात, धर्म, वर्ग, क्षेत्रको नभएर । र, अरूलाई पनि आफूजस्तै मान्छे देख्छु । चाहन्छु, यही रोगमै बाँचू, यही रोगले मरूँ । तर, यसो नहुने भएर नै यो मेरा लागि रोग बनेको छ ।

सानैदेखि देख्थेँ, हाम्रो घरमा आउनेलाई पिँढी/आँगनमा पिर्का/गुन्द्रीमा बसाइन्थ्यो । म हजुरबासँग अरूको घरमा जाँदा पनि त्यसै गरिन्थ्यो । लाग्थ्यो, सबैले यसै गर्छन्, यसै गर्ने हो ।

तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । जीवनमा साथीको घरमा बास बसेको त्यो पहिलो रात थियो । हिउँदको समय, गाउँका बारी खाली हुन्थे । स्कुल छुट्टी भएपछि बाटो छाडेर बारीतिर लाग्यौँ । बारी, बाटोमा हामी केवल बालक थियौँ । निष्छल थियौँ, निर्दोष थियौँ । हाम्रो कुनै जात, धर्म, क्षेत्र थिएन । विचार, भावनाले हामी एक थियौँ । सँगसँगै हाँस्दै-खेल्दै भरे अवेला जब साथीको घरमा पुग्यौँ, हामी छुट्टयिौँ । साथी घरभित्र, म बाहिर भएँ । स्कुल छुट्टी भएपछि घर नगएर खेल्दै हिँडेको खबर आ-आफ्नो घरमा पुगिसकेको थियो । साथीको आमाले दुवैलाई गाली गर्नुभयो । त्यो थोरै गालीमा धेरै माया थियो । मायाले नै मलाई बाहिर पिँढीमा खुवाइयो र बाहिरै सुताइयो । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।

स्याङ्जा चापाकोट-८ मा सात-आठ घरको दमै गाउँ । सबैभन्दा पुछारमा हाम्रो घर । हामीभन्दा माथि पनि दलित बस्ती नै थियो । सबैभन्दा माथि ठकुरी गाउँ । पुछारमा घर भएकाले पनि अन्य जातिका मानिससँग हाम्राे त्यति घुलमिल हुँदैनथ्यो । हाम्राे पानी पँधेरो पनि छुट्टै छ ।

स्कुलले नै मलाई सबैभन्दा पहिले मान्छेको जात पढायो । माथिल्ला जातिले कक्षा-कोठाको बेन्चमा झोला राखेर भन्थे, ‘झोलामा छोइने कुरा छ, तल्लो जातले छुनु हुँदैन ।’

तल्लो जात भनिएका हामी बाध्य भएर पछाडि बेन्चमा बस्थ्यौँ, बेन्च नपुगे भुइँमा । स्कुलमा र स्कुल जाँदा-आउँदा बाटोमा मलाई अरू केटाकेटीले ‘दमै केटा, दमै केटा’ भन्थे ।

तीन कक्षा पढ्दा ठकुरी साथीको घरमा बास बसेको सम्झना किन-किन सधैँ ताजा भइदिन्छ । यसकारण पनि होला, तीन कक्षामा म प्रथम भएँ । रातै अबिरसँग घरमा जाँदा हजुरबा मदेखि असाध्यै खुसी हुनुभएको थियो । जीवनमा मैले हजुरबालाई त्यति खुसी बनाएको त्यो नै पहिलो र अन्तिमजस्तो लाग्छ ।

पाँचसम्म गाउँकै जनजागृति प्राविमा पढेँ । ६ देखि एसएलसीसम्म गंगालाल माविमा । माविमा पढ्न जानु पनि ठूलै कुरा थियो । प्रायः दलितहरू चार/पाँच कक्षादेखि नै पढ्न छाड्छन् ।

माविमा धेरै विद्यार्थी थिए ।  विद्यार्थी धेरै भएर होला कक्षाकोठामा भने जातीय भेदभाव त्यसै हराएको पाएँ । गाउँ-बेंसीको पायक । स्कुलबाट र्फकंदा उकालो मात्रै हिँड्नुपथ्र्यो । बीचमा वन थियो । वनको मुखैमा दामगाडे भन्ने चौतारी । त्यहाँ, तीन घर मगर थिए ।  स्कुलबाट थाकेर आएका धेरै विद्यार्थी त्यहाँ पानी पिउँथे । दलितले पानीको भाँडा छुनु हुँदैनथ्यो ।  साथीहरूले भाँडाबाट पानी खन्याइदिन्थे, मैले मुख बाएर वा अञ्जुलीले पानी खान्थेँ । सबै थाकेर आउने भएकाले पनि कहिलेकाहीँ साथीहरू मलाई पानी खन्याइदिन झिजो मान्थे । एउटाले अर्कोलाई देखाएर पन्छन्थे ।

स्कुलबाट र्फकंदा प्रायः रमाइलो हुन्थ्यो । हाँसखेल गर्दै उकालो हिँड्थ्यौँ । प्रायः साथीहरूसँग रमाउँदा रमाउँदै मैले आफ्नो जातै बिर्सन्थे । हामी सबैको एउटै जात ‘विद्यार्थी’ हुन्थ्यो । उकालो बाटो तिर्खाएर जब हामी दामगाडे आइपुग्थ्यौँ, तब जात बिर्सने रोगले मलाई पीडा दिन्थ्यो । मैले त्यहाँ कैयौँपटक असाध्यै तिर्खाउँदा पनि पानी पिइनँ ।

नौ कक्षामा पुगेपछि साथीहरूको एउटा समूह बन्यो । १०-११ जनाको समूहमा म मात्र दलित थिएँ । हामीसँगै ट्युसन पढ्थ्यौँ । प्रायः सबै सँगै हिँड्थ्यौँ ।  रमाइलै हुन्थ्यो । जब कुनै साथीको घरमा जान्थ्यौँ, सबै घरभित्र हुन्थे, म बाहिर । अनि, मलाई नरमाइलो लाग्थ्यो ।

पाँच कक्षासम्म प्रथम/दोश्रो भइरहन्थेँ । तर ६ देखि जेनतेन पास हुन थालेँ । त्यहाँ चार-पाँचवटा प्राविबाट आएका सिपालु विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । धेरै विद्यार्थी, पढ्नेले पढ्थ्यो, नपढ्ने भाग्थ्यो, कुनै बन्देज थिएन । योबीचमा खैनी-चुरोट खाने कोसिस पनि गरेँ । खै कुन सौभाग्यले हो, खैनी-चुरोटलाई मेरो शरीरले सहेन । यसमा लत लागेन । खैनी मुखमा राखेपछि भनभनी घुमाउँथ्यो । एकसर्को चुरोटले दिनभरि खोकी लाग्थ्यो ।

स्कुल छाडेर खासै भाग्दिनथेँ । पढ्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । पहिलोपटक ठकुरी साथीको घरमा बास बसेपछि मेरो मनमा धेरै विचार आए । हजुरबासँग सोधेँ, ‘जात के हो ? मान्छे कसरी ठूलो मान्छे हुन्छ ? हामीलाई किन सबैले हेप्छन् ?’

हजुरबा भन्नुहुन्थ्यो- कहीँ गए पनि आफ्नो जात नलुकाऊनू, पढ्नू, सीप सिक्नू र इमानमा बस्नू ।’
बाले भारतमा नोकरी गर्ने भएकाले पनि म हजुरबाको काखमा हुर्कें । सानैदेखि हजुरबालाई रामायण पढेर सुनाउँथे ।  हजुरबालाई रामायण पढेर सुनाएपछि मैले अन्य घरको काम गर्नुपर्दर्ैनथ्यो । घाँस काट्ने, पानी ल्याउने, आदि घरको काम गर्ने अल्छीले पनि सानैमा धेरैपटक रामायण पढेँ ।

बर्खाको वेला दिदीसँग गाईवस्तु चराउन गएको थिएँ । मेरै कारणले गाई हरायो । आफूलाई रामायणको  राम-लक्ष्मण, लव-कुश र हनुमान सम्झन्थेँ । गाईवस्तु पर पुगेपछि बेसरी दौडेर फर्काउन जान्थेँ । गाईले नेटो काटेछ । भरे हजुरबाले गाली गर्नुभयो । सधैँ माया गर्ने हजुरबाले गाली गरेपछि म घर छाडेर हिँडेँ । खोलो कहाँ पुग्छ, गण्डकी कहाँ पुग्छ भन्दै एउटा भव्य घरमा पुगेँ । त्यो घर चापाकोट सेरोफेरोकै नामुद साहु भुवानेश्वर आचार्यको रहेछ, पछि थाहा पाएँ । हाम्रो घरमा मट्टीतेल हुँदा टुकी बाल्थ्यौँ । नहुँदा, आगो-अगुल्टोले नै निर्वाह गथ्र्यौं । अहिलेजस्तो बिजुली थिएन । भरे अवेला त्यो घरमा पुग्दा झिलीमिली थियो । वरपर फूलैफूल, ठूलो गोठ, चारैतिर गोबर ग्यासको बत्ती, रमाइलो मानीमानी त्यो सब हेर्दै थिएँ ।

सानो केटो, साँझपख, आफ्नो घरवरपर रमाइरहेको  देखेर होला, त्यो घरकी आमाले मलाई बोलाइन् ।
‘माथि डाँडामा घर, दमै थर,’ मैले यस्तै भनेँ ।

‘मगर गुरुङ भएको भए पानी चल्थ्यो । दमै परिस् । सोझो रैछस् । घर-परिवार पनि रैछ । अब हाम्रैमा गोठालो बस् । बा-आमाले खोजेछन् भने जालास्,’ ती आमाले बास दिइन् ।

त्यो रात त्यहीँ बसेँ । भोलिपल्ट कालीको तिरैतिरै कतै पर जाने सोचेको थिएँ । सम्झँदा अचम्म लाग्छ, कहाँ जान हिँडेको होला ? रामायणको प्रभाव, कतै पर सानी सीता र सुनको मृग भेट्छुजस्तो लाग्थ्यो ।

त्यो घरमा पनि बाहिरै खाएँ, बाहिरै सुतेँ । जहाँ गए पनि जातसँगै जाने भएपछि मलाई नरमाइलो लाग्न थाल्यो । सोचेको थिएँ- कतै पर पुगेर जात ढाँट्छु । मलाई आफ्नो जातप्रति सम्पूर्ण रूपमा घृणा लागिसकेको थियो । त्यो घरमा दुई रात बिताएँ । कालीको किनारमा गोठालो जाँदा त्यसै रमाइलो लाग्यो । तेस्रो दिन मलाई खोज्दै हजुरबा पुग्नुभयो र घर फर्कें ।

हाम्रो गाउँमा  दलितले ठकुरीहरूलाई ‘बाबुसाहेब’, ‘मैयाँसाहेब’ भन्थे, यो चलन अझै छ । ठकुरी जातको सानो बच्चाले पनि वृद्धवृद्धा दलितलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन् । तर, वृद्धवृद्धा दलितले जुनसुकै उमेरको ठकुरीलाई ‘हजुर’ भनी सम्बोधन गर्छन् । यसरी सम्बोधन नगरे ठूलो बन्न खोज्यो भनिन्छ ।

११/१२ वर्षको हुँदा एउटा ठकुरीको घरमा पूजाको निम्तो मान्न गएको थिएँ । दुना-टपरीमा प्रसाद बाँडिदै थियो । माथिल्ला जातिले हातैबाट प्रसाद लिने र तल्ला जातले भुइँमा राखेको टपरी टिप्नुपर्ने रहेछ । मलाई ख्यालै भएन । मैले हातैबाट प्रसाद झिकेँ । प्रसाद बाँड्ने दिदीले गाली गरिन्, ‘तल्लो जात भएर तलै बस्न जान्नुपर्छ ।’

गाउँमा हरेक वर्ष दशैँमा कालिका देवीको पूजा हुन्छ । ठकुरी गाउँको बीचमा कोतघर छ । नवमीको दिन रातभरि कोतमा दमैहरूले बाजा बजाउँछन् । गाउँका दमैले आफ्नो घरमा भएको बाजा लिएर जानुपर्ने चलन छ । म पनि जान्थेँ । नाचगान हुन्थ्यो । रमाइलो गर्न गाउँले जम्मा हुन्थे ।  नाच्न आउने केटाहरूले बजाउने दमैलाई हप्काउँथे- छिटो बजा, ढिलो बजा, राम्रो बजा भन्दै । कतिले नाच्दानाच्दै बजाउने दमैलाई लात्तीले हान्थे । यस्तो वेला सम्हाल्ने राम्रा मान्छे पनि हुन्थे  । तर, नराम्रोले नराम्रो गरिसकेपछि नै राम्रोको अर्थ र उपस्थिति हुने हो । दमैले बाजा नबजाएसम्म रमाइलो हुँदैनथ्यो, तर पनि दमैलाई राम्रो व्यवहार गरिँदैनथ्यो । जहाँ पनि बाजा बजाउने दमै हेपिएकै देख्थेँ । यसैले होला बाजा बजाउनमा मेरो मन गएन ।
सानैमा एकपटक म भैँसीको मासु लिन गएको थिएँ । अहिलेजस्तो नजिकै बजारमा मासु पाइँदैनथ्यो । धेरै दलित जम्मा भएर भैँसी काट्थे । सस्तो पनि पथ्र्यो । काटेको ठाउँमा केही मासु पकाइन्छ, परेको मोलभन्दा थोरै नाफा झिकेर जाँड-रक्सी किनिन्छ र सबैले बाँडेर खाने चलन छ । मासु खानेमा सबै दमै, कामी, सार्की जाति हुन्थ्यौँ । एउटा सार्की बाले दमैले छोएको भनेर पकाएको मासु खाएनन् । पकाएको मासु छोइने रे । त्यतिवेलै मैले दलितभित्र पनि सानो-ठूलो जात हुने थाहा पाएँ ।

वरपरका माथिल्ला जाति प्रायः लाहुरे हुन्थे । गाउँछिमेकमा लाहुरेकै सान थियो । मलाई पनि लाहुरे हुने भुतले छोयो । आठ पास गरेपछि नागरिकता निकालेँ, दुई वर्ष उमेर बढाएर । लाहुरे हुने मेरो न उमेर थियो, न त शरीर नै । म लाहुरे हुन सकिनँ । एसएलसीको मार्कसिट र नागरिकतामा उमेर फरक पर्‍यो । उमेर सच्याउन सदरमुकाम गएँ । एउटा मान्छेले भन्दै थियो, ‘पाँच हजार लाग्छ, देऊ, अर्को नागरिकता निस्कन्छ ।’ मसँग पाँच हजार रुपैयाँ थिएन । सोचे, घुस दिएर बन्ने काम नदिँदा किन बन्दैन ? सीधै सिडिओलाई भेटेँ । मेरो समस्या सुनेपछि उनले भने, ‘तँलाई उमेर घटाउनु र बढाउनुपर्ने ? तेरो काम बन्दैन जा ।’ मेरो मानसिकता— म दलित भएकाले यसरी ‘तँ’ भनेर दासलाई जसरी हप्काइँदै छ ।

सरकारी कार्यालयमा हप्काइएको त्यो पहिलोपटक थियो ।  मलाई थाहा थिएन, जिल्लामा सिडिओ राजाजस्तो हुन्छ, उसको हुकुम चल्छ भनेर ।

‘किन बन्दैन ? जनताको काम गर्न होइन तपाईं यो कुर्सीमा बसेको ? उमेर फरक पर्‍यो, सच्याउन आएँ, मैले के बिराएँ ?’

सिडिओले प्रहरीलाई आदेश दिए- यसलाई लगेर थुन्दे ।

एउटा प्रहरीले केहीबेर सम्झाएपछि छाडिदियो । उसले यही सम्झायो- सिडिओ जिल्लाको राजा हो ।

सिडिओको व्यवहारले म निकै रुष्ट भएर माओवादी जनयुद्धमा जाने सोचेको थिएँ । पूरै व्यवस्था परिवर्तन गर्छु भनेर होइन, निकै साँगुरो सोचले । जस्तो व्यवहार भोग्यो, उस्तै विचार आउने रहेछ । भोलिपल्ट अर्कै कामु सिडिओले क्षेत्रीय शिक्षा निर्देशनालय पोखरालाई पत्र लेखिदिए । मेरो एसएलसीको मार्कसिटमा केरेर  जन्ममिति सच्याइयो  एसएलसीपछि बाले मलाई खाडी मुलुकमा पठाउन चाहनुहुन्थ्यो । नत्र गाउँमै पसल खोल्न, गाउँकै क्याम्पसमा पढ्न भन्नुहुन्थ्यो । जिद्दी गरेर काठमाडौं आएँ ।

काठमाडौंमा बसेर पढ्न सक्ने घरको आर्थिक हैसियत थिएन । कुनै काम खोज्नैपथ्र्यो । हाम्रै क्षेत्रका सांसद् शंकर पाण्डेलाई भेट्न गएँ, जागिरका लागि । उनी मध्यबानेश्वरतिर बस्थे ।  उनी पूजाकोठामा थिए । म एकैचोटि पूजाकोठामा छिरेँ । मेरो उही जात बिर्सने बानी । उनले हप्काए, ‘बाहिर जा ।’

सोचे, ठीकै हो । पूजाकोठामा अनुमतिविना ह्वात्तै छिर्न हुँदैनथ्यो । बाहिर आएर पाण्डेले मलाई मुसार्दै भने, ‘हामीले यहाँ त्यस्तो जातीय भेदभाव गर्दैनौँ ।’ उनले त्यसो नभनेको भए ठीकै थियो । भनेपछि मैले कुरो बुझेँ । त्यसपछि म पाण्डेलाई भेट्न कहिल्यै गइनँ ।

जागिरका लागि दलित संघ-संस्थामा धाएँ । सबैभन्दा जातीय भेदभाव त मैले दलित संघ-संस्थामा पाएँ । दमाई, कामी, सार्कीमा एकले अर्को जातलाई सहयोग नगर्ने । त्यसमाथि नातावाद । आफ्नो न नाता, न त नेता । झोलामा सामान बेच्नेदेखि लिएर सुरक्षा-गार्डको काम गरेँ ।

काठमाडौँ आएर पनि मसँग बस्ने साथी गैरदलित नै थिए । बबरमहलमा घरबेटीले जात सोधे । साथी दुर्गा थापाले हतारिँदै भन्यो- थापा । त्यो घरमा त्यस्तै दुई वर्ष बसेँ । त्यतिन्जेल जात लुकाउन मलाई निकै पीडा भयो । अचेल कसैले जात सोधिहाले मलाई चिच्याएर भन्न मन लाग्छ- दमै ।

जातीय भेदभावले दिने पीडाको ओखती अस्पतालमा होइन, अदालतमा पाइन्छ भन्छन् । मलाई लाग्छ, यसको ओखती अदालतमा होइन, मानिसको विचार, भावना, अन्तर्मन र संवेदना छ । थाहा छैन, त्यसलाई जगाउने कसरी ?

(श्रोत :- Nayapatrika )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.