कथा : एम्बुसमा जाकिएको सपना

~खगेन्द्र पन्धाक लिम्बू~Khagendra Prandhak Limbu

यो अफगानिस्तानको रिफ्युजी क्याम्प । खाना छैन । पैसा छैन । पासपोर्ट पनि छैन । आफन्त त हुने कुरै भएन । छ त केवल मानसिकतामा युद्ध भैरहेछ । उसैगरी अहिले यहाँ युद्ध चकिर्एको छ । जीवनको चारैतिर खतरा नै खतरा छ । बाहिर निस्किने कुनै सम्भावना छैन । विश्वास गरेको दलाललाई मनभरि सराप्नुबाहेक केही गर्न सकिने स्थिति थिएन । ज्यान सुकेर जाँदो थियो ।
एक्कासि यहाँको स्थितिले झनै दुर्घटना निम्त्याउन थाल्यो । अलकायदाको निहुँमा अफगानिस्तानमा अमेरिकी मनोमानीले रुष्ट भएका स्थानीय जनताहरुले विदेशीहरु जति सबैलाई आक्रमण गर्न थाले । जहाँ भेट्यो, त्यहीँ मार्न थाले । आफ्नो भएभरको शक्तिसाधन प्रयोग गरेर ‘विदेशी मार’ युद्धमा लागे । जीवनको कुनै निश्चित भरोसा बाँकी रहेन ।

यही क्रममा अनगिन्ती विदेशीहरु मर्न थाले । धेरै नेपालीहरु पनि मरे । जसको अहिलेसम्म पनि कुनै लेखाजोखा छैन । नेपालबाट अवैधानिक रुपमा दलालद्वारा अफगानिस्तान भित्र्याइएका म जस्ता अनगिन्ती जीवनहरुको बिजोक थियो । बाहिर एकोहोरो रुपमा दोहोरो शक्तिको युद्ध चलिरह्यो । क्याम्पभित्र कहिले रोटी र पानी खाएर जीवनलाई प्यार गर्दै बसियो । बाँच्ने र मर्ने अन्योलावस्थामा विदेश पुगेर पैसा कमाउने सपना त लगभग भुल्नै लागिएको थियो । हरेक कठिन समयमा बाँच्नुभन्दा ठूलो उद्देश्य जीवनमा केही नहुँदोरहेछ । पलपल, दिन–प्रतिदिन सम्झनामा आइरहने स्वदेश, आफन्त र आफ्नै भविष्य पनि स्वजीवनको प्रेमले ओझेल पाथ्र्यो ।

एकदिन अचानक क्यानडियन सेक्युरिटी कम्पनीका गोराहरु सेक्युरिटीका लागि मान्छे खोज्दै हामी बसेको क्याम्पमा छिरे । मान्छे सेलेक्सन गर्न तयार भए । कतै छानीहाले त ‘बरु मरे–मारिएला, काम पाए त खान पाइन्थ्यो !’ भन्ने लोभ पलायो । मन, जीवनकै प्रेमको निमित्त जीवनलाई नै बाजी थाप्न तयार भयो । सानो ज्यानको भए पनि अलि पछाडि लहरमा उभिएर बसें । तनक्क तन्किएर छाती फुलाएँ । अहँ ! सबै बेककुफ भयो मेरो उपस्थिति । दुख्नसम्म मन दुख्यो । फेरि उही चर्यामा जीवन चल्दै गयो । परिस्थितिले बन्धक बनाएको जीवनले भित्र नै पूरै दुई महिना बिताइसकेको थियो ।

बाहिर बम विष्फोटन र राइफलका आवाजहरु सुन्ने बानी बसिसकेको थियो । केहीछिन मात्र शान्त र सुनसान हुँदा त के नभएजस्तो पो लाग्थ्यो । भनौं, गीतझैं प्रिय भैसकेको थियो विष्फोटन र राइफलको आवाज ।

मार्चको महिना थियो । पारिलो घाममा धूलो उडिरहेथ्यो । मैले झ्यालबाट आकाशको फराकिलो आयतन हेरेर आफ्नो बन्धक संसारलाई तुलना गर्दै बसिरहेको थिएँ । अचानक क्याम्पको मुख्य गेटमा रकेट लन्चर बज्रियो । आफ्नै आँखाले हेर्दै गरेको खुल्ला नीलो आकाश धूलो र धूवाँले छोप्दै गयो । सबैको भागाभाग–लुकालुक भयो । कोही बाथरुममा, कोही किचनमा । सिभिलियनहरुको केही थिएन, न हतियार ! न त पासपोर्ट ! मरिन्छ नै भन्ने निश्चित सोच पलायो । पासपोर्ट हुनेहरु पासपोर्ट मात्र झिकेर पछाडिबाट हाम्फाल्दै भागे । कोही त्यहीं मारिए । अन्ततः अफगानी सेनाहरु पूर्ण गेट भत्काएर भित्र पस्न सकेनन् । र केहीबेर राइफल फायरिङ गरेर फर्किए । निकै बेर रोकेर राखेको श्वास धित मरुन्जेल फेरियो । फेरि सुनसान भयो । पुनश्चः मथिंगलले घुमाएर स्वदेश र आफन्तसम्म पु¥यायो । पैसाको अनुहार नदेखेको वालेटमा प्रेम भने भरिएको थियो । बुबा–आमाको श्यामश्वेत फोटो र फिक्कलको हरियो चियाबगानमा मुस्कुराएको जुनेली अनुहार ! तिनै तस्वीरका मायाबी अनुहारहरुको बाचा र कसम आफ्नै हृदयभरि टाँसिएको थियो । पैसा कमाई स्वदेश फर्किएर सबैलाई खुशी बाँड्ने मनोइप्सा तुहिए पनि म परदेश लागेको बिहान दैलोको ठेलामा आमाको खसेको आँसु र कन्यामसम्म मलाई पु¥याएर चाँडै भेटेर सँगै जीवन बिताउने कसमसहितको रुन्चे प्रेयसीको तातो सम्झनाले छाती उमालिरहेको थियो ।
बेरोजगारी र जीवनको असुरक्षाले मन–तन हत्तु भैसकेको थियो । पासपोर्ट नभएको कारण नेपाल फर्किन पनि सम्भावना थिएन । फेरि खाली हात फर्किएको खण्डमा मेरी आमाले साहुसँग कडा ब्याजमा काढेको पाँचलाखले सारा परिवार नै बर्बाद हुने अवस्था त छँदै नै थियो । ‘कुअवस्थाले मान्छेको घाँटी ङ्याकेपछि मान्छे नकच्चरो–लबस्तरो, बेइमान–फटाहा जे पनि हुन सक्छ’ भन्ने मैले अनुभव गरें कि त्यतिखेर ‘पैसा र जीवनको लागि म जे पनि गर्न सक्छु’ जस्तो लाग्दथ्यो । उतिबेलै चाइनिज केटीहरु राखिएको एउटा गोराको रेष्टुरेन्टमा कामदार चाहिएको खबर आयो । तीनजना साथीसहित म फुरुङगिएर काममा हिंडें । साह्रै थोरै तलब भएकोले अरु पासपोर्टवाला साथीहरु भने गएनन् । काम पाएको खुसीले अठारघण्टा एकोहोरो काम गर्दा पनि थाकेको अनुभूत भएन । वर्षौंदेखिको फोहोर रेष्टुरेन्टको सरसफाई गरियो । साँझमा प्रत्येकको हातमा बीस–बीस डलर थमाएर हामीलाई बिदा गरियो । त्यतिको निमित्त मात्र कामदार चाहिएको रहेछ । छल गरिएकोमा साह्रै दुखित भएर बस्नुसिवाय अरु विकल्प थिएन । चारजनाको त्यो ८० डलर त्यही गोराको हातमा थमाएर पैसाको साह्रै अभाव भए पनि स्वाभिमानको डाइलग छाँटें– ‘हामी भोकै मर्न तयार छौं, तर यो जाबो बीस डलरमा स्वाभिमान बेच्न सक्दैनौं !’ तर पनि हाम्रो केही लागेन । वेदनाले चर्किएको हृदयमा यो घटनाले फेरि एकपल्ट नराम्रो धक्का दियो ।
हजार डलर मामालाई तिर्न लगाएर दलालले मेरो पासपोर्ट पठाइदिएको थियो । त्यसको करिब एक महिनापछि कम्पास सेक्युरिटीमार्फत अमेरिकी नेटो सम्बन्धित कम्पनीका एकजना ब्रिटिस नेपाली लिम्बूको सहयोगले अन्तरवार्तामा सामेल हुन पाएँ र छानिएँ पनि । खुसीले सीमा नाघ्यो । वाक–मुक कोटी–कोटी धन्यवाद दिएँ ।
खतरा नै भए पनि सेक्युरिटीको काम पाएकोले जोस र जाँगर बढेको थियो । त्रास–भय सबै हराएको थियो । ट्रेनिङमा छाला पिल्सिएको पनि थाहा भएन । केही महिनापश्चात १५ किलोको बुलेटप्रुफ ज्याकेट र पाँच किलोको एके४५ को राइफलसहित ड्युटी सुरु भयो । हातमा हतियार भएपछि भय–त्रास झनै न्यून भैसकेको थियो । अंग्रेजीमा केही राम्रो दख्खल भएको कारण गार्डबाट टिम लिडरमा छानिएँ । हुँदाहुँदै संयुक्त राष्ट्रसंघको प्रोजेक्ट सुरु भयो । जीवनको कुनै निश्चितता नभए पनि क्रमशः प्रगति गर्दै गएँ । विशेष भीआईपी सुरक्षार्थ हामी करिब ५० जना नेपाली प्रोफेसनल हतियारधारी सुरक्षाकर्मी थियौं । दक्षिणी अफगानिस्तानमा जाँदा एम्बुसमा परेर मैसँग खानेबस्ने ४ जना साथीहरु ठाउँको ठाउँ मरे । म चाहिं बाँचें । निर्दोष नेपालीहरुको यो मृत्युले शोकाकुल मात्र होइन, मस्तिष्क नै स्तब्ध बनाइदियो । सानातिना आक्रमणका घटनाहरु त बारम्बार भैरहे । धरापमा जीवनले तलबको निमित्त बाँचेको थियो । घरदेश र आफन्त सम्झेर राइफल सुम्सुम्याउँदै दिनहरु बित्दै गए । यहाँ गोलीले प्वाल नपरेका कुनै पर्खाल र घर थिएनन् । मन त त्यसै धुजाधुजा भैसकेको थियो ।

मेरो साथमा एकजना ड्राइभर मात्र हुन्थ्यो । कहिले आफैंले गाडी कुदाएर जानुपर्दथ्यो । कतिबेला कहाँ मरिन्छ भन्ने टुङ्गो थिएन । नभन्दै काबुलमा जाँदै गर्दा हामीले चढेको गाडीको दुई–तीनवटा गाडी अगाडि शक्तिशाली बम ब्लाष्ट भयो । त्यो दिन मरेर बाँचियो ।

जीवन भए प्रेम बाँकी र बाँची नै रहन्छ । यस्तो ठाउँमा मरे लास पनि बाँकी हुँदैनथ्यो । ऋण तिरिसकेकोले म घर फर्किने मनसायमा थिएँ । जीवन बचाएर आफ्नो देश, आमाबाउलाई र आफ्नी प्रेमिकालाई सुम्पनु नै श्रेयस्कर सम्झिएँ ।

यतिबेलै फेरि अचानक मेरो पासपोर्ट हरायो । अब चाहिं यतै मरिने भो भन्ने लाग्यो । पासपोर्टबिना त जीवन सडेर पनि मर्छ–मर्छ । म फेरि अत्तालिएँ । इन्टरनेटको सहायताले अफगानिस्तान हेर्ने नेपाली राजदूतावास पाकिस्तानमा बल्ल पत्ता लगाएँ र इमेल गरें । आधारभूत कागजात लिएर आउने सल्लाह आयो । पाकिस्तान जाने सम्भावना थिएन । त्यहाँका राजदूत र एकजना पाकिस्तानीले धेरै सहयोग गरे । मेरो कागजात लगेर बुझाई पासपोर्ट लिएर हातैमा बुझायो त्यो पाकिस्तानीले । त्यस्तो धन्य पाकिस्तानी पनि हुँदोरहेछन् ! मैले देवता सम्झिरहें ।

एकदिन ड्युटीमै रहँदा ब्रेक टाइम कफी पिएर साथीहरुसँग गफ गरिरहेका थियौं । केही मिटरको दूरीमा एक्कासि बम ब्लाष्ट भयो । तीनजना नेपाली र तीन जना स्थानीय प्रहरीहरु त करिब १० मिटर जति उछिट्टिएको देखें । म टावरबाट नै हाम्फालें । त्यति अग्लाईबाट नमज्जाले बजारिएर पनि धन्नै बाँचिएछ । एकोहोरो रकेट आक्रमण भैरहेको थियो । साथीभाइको माया भुलेर भागाभाग भयो प्रीतिरक्षामा सेक्युरिटीहरुले पनि दोहोरो फायरिङ गरे । कानबाट नै तातो–रातो गोली गएको झझल्को अहिले पनि छ । सायद युद्ध विभिषीका भोग्नेहरू अलि जब्बर र ठाडो स्वभावको हुनुपर्ने कारण यस्तै मनोविनिर्माणले गर्दा पनि हुनेरहेछ भन्ने थाहा पाएँ । त्यो घटनामा एकजना नेपालीले खुट्टा गुमायो । पछि उसलाई नेपाल फर्काइयो । कम्पनीको इन्स्युरेन्सले उसको उपचार त भयो, तर मानसिक रोगी भएर अहिले बाँचेको रहेछ ।
पाकिस्तान र अफगानिस्तानको बोर्डरमा कार्यरत एकजना धरानतिरको नेपाली छुट्टीमा जाने भयो । खुसीले सबै साथीभाइहरुसँग पार्टी ग¥यो । गीत गाइयो–नाचियो । रमाइलो गरियो । सबैसँग बिदा मागेर उ, हिंडेको थियो । उसलाई पु¥याउन एउटा गोरा पनि गएको थियो । विमानस्थल नपुग्दै एम्बुसमा परेर ठाउँका–ठाउँ मरे उनीहरु । नेपालमा श्रीमती, दुधे छोरी र आफन्तहरुले एयरपोर्टमा दिनभरि पर्खेर बसेछन् । आखिरीमा लाससम्म पनि नभेटिने गरेर यता ऊ भने मरिसकेको थियो । नेपालबाट एकोहोरो फोन आउन थाल्यो । आखिरी सत्य त त्यै थियो । तर पनि मैले यथार्थ जबाफ दिनै सकिन । सायद मेरो रुन्चे बोलीबाट उनीहरुले अनुमान लगाए होलान् । उसको श्रीमतीको रुवाबासीले म पागलजस्तै भएँ । अन्ततः अन्कन्सियसमै बोलेछु– ‘दाइ बाटोमै बित्नुभयो …’ फोन सम्पर्क टुट्यो । त्यसपछि म पागलजस्तै नै भएँ । ‘नेपाल जाने’बाहेक केही सोच्न सकिन । कहिल्यै नफर्किने र नेपाल छोडेर कतै नजाने संकल्प गर्दै म पनि बाटो लागें । एयरपोर्ट पुगेर विमान नउडुन्जेलसम्म भय र त्रासले आत्तिइरहें । त्यतिको डर–त्रास त धेरै दुर्घटनाहरुमा पनि कहिल्यै अनुभूत भएको थिएन । आधी घन्टाको डिलेले एक दशकको ढिलाइ गरेझैं हिरिखिरिक बनाइरह्यो । अन्ततः जहाजले जमिन छोडेर निकै उचाइँ लिंदैगयो । हवाईजहाजको झ्यालबाट उँधो हेरें ! मरुभूमि उदास र निरस लाग्यो । प्याच्चै थुकूँझैं लागिरह्यो– अफगानिस्तानको त्यो युद्धभूमि र एम्बुसमा जाकिएको सपना !

धरान, हाल : बैंकक (सत्य घटनामा आधारित कथा । कथास्रोतः अशेष यात्रु)

(श्रोत :- Vishwanews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.