~फिरन्ते काइलो~
एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ कताकता मदन भण्डारी जस्तो लाग्यो । जे होस् मलाई लाग्यो
म एक प्रतिभाशाली राजनीतिकर्मी, लेखक, कवि, गायक, निबन्धकार, समाजसेवी हुँ । प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद,प्रचण्डपथ यी सब दुनियाँलाई उल्लु बनाउने लफडा हुन् भन्ने लागे पनि मैले ती वादहरुलाई यथासम्भव सम्मानित गर्ने त गरेकै छु ।
अझ मनको कुरालाई मनमै दबाएर नीकलण्ठले जस्तो विचार पिएको छु । यसरी विचार पिउन कसले सक्छ यसमा कसैले शँका गर्नुपर्दैन । बरु मलाई यी नेपाली मित्रहरुसँग कताकता झोँक चलेर आउँछ आजसम्म पनि म
जस्तो प्रतिभाशाली व्यक्तित्वलाई दोसल्ला ओढाएर अभिनन्दन गर्नुको
साटो किन बाटाघाटामा बद्ख्वाइँ गर्दै किन हिँडेका होलान् ?
पोहोरसालको कुरो हो, कुनै यौटा बतासे पत्रिकाले मलाई मानवतस्कर गर्ने महादलाल भनेर बद्ख्वाइँ गर्यो । एशियन कल्चरको कार्यक्रममा बाँसुरीवादनको जोरदार प्रस्तुति गरेर डेरामा के फर्किएको थिएँ रुम मेटहरु पत्रिका फिजाएर बसेका । तिनले सोझै चोर औँलो गाडेर मेरो खबर देखाए । झोँकैझोँकमा कटि सार्कको आधा बोतल सखाप पारेँ । म माथि भैरहेको अपमानको बदलामा मैले एक चरण कविता लेखेँ शीर्षक थियो बाँसुरी रोएको रात ।
मैले मेरा सालाहरु ल्याएँ
मैले अरुका सालाहरु पनि ल्याएँ
मैले केही टाढाका
र केही अर्कैका सालाहरु ल्याएँ
हुन त म पनि
कसैको सालो हुँ
सालाको इज्जत यसै पनि हुन्न
तर महाइज्जतवाला पनि कसैको सालो त अवश्य हुन्छ
धन्य
मैले मेरो पैसा खर्च गरेँ
अरुले आफ्नो पैसा खर्च गरे
मन्त्रीजीको सिफारिशमा लागेको भिसामा
मानिसहरुले मलाई दलाल भनिरहेछन्
मेरो बाँसुरी रोएको यो रात
मेरी श्रीमती कसरी सुतिन् होला
निद लागेन कि ?
म जस्तो सिद्धहस्त माथि
यत्रो हमला
हुनत सतिले सरापेको देश नै हो
यहाँ जे पनि हुन्छ
मूर्दावाद मूर्दावाद
ठूलाबडाले बोले पनि कविता हुन्छ भने मैले लेखेको यस्तो जोडदार कविताको बारेमा के भन्नु वास्तवमा तस्करी भनेको के हो केही लाख रुपियाँ खर्च गरेर युरोप आउने र ल्याउने कुरालाई मानव तस्करी भन्न अलि सुहाउन्न कि जस्तो मलाई लाग्छ । विचित्र के भने जसले दलाललाई पैसा
ख्वाएर भिसा लगाएका छन् तिनैले मलाई दलाल भनेका छन् । वास्तवमा गाइँगुइँ हो प्रमाण नभएको विषयमा मानिसहरु त्यसै सेलाएर गइहाल्छन् । मेरो विषयमा पनि यस्तै भयो ।
कुरो रह्यो मेरो समाजसेवी चरित्रको । देखेजानेकै कुरो हो म हरेक समस्याको समाधान दारुमा देख्छु । त्यसैले दारु जीवन र समाजसेवाको अभिन्न सम्बन्ध छ । मजाले पैसा पोको पार्ने अनि आपतविपत पर्दा मलाई दौडाएर उल्टो गाली गर्ने यी मेरा मित्र नै स्वार्थी हुन् । वकिल
लगाए भै गोनि । लफडा पर्दा म नभै नहुने भएपछि म समाजसेवी भइन ।
अस्तीको भोजमा हानाहान भयो ,
म नभै मिटिँग टुँगिएन ।
म नभै भोज शुरु भएन । अनि के आखिर मेरो भ्यालू कम रहेछ त
ए साँच्ची कविताको चर्चा गर्दै थिएँ । मेरा अप्रकाशित रचनाहरु त कति कति । यौटा महाकाव्य पनि तयार छ । महाकाव्यको पूरा प्लट तयार छ । शब्दहरु पनि । खालि लेख्न मात्रै बाँकी छ । अप्रकाशित भनेर ठूला बडाले दुनियाँ दिवाना लेख्न हुने भएपछि म अनाथले पनि
भएको कुरो भन्न त पाउनै पर्यो । मेरो महाकाव्यको शिर्षक हो फूलमायाको चुल्ठो । फूलमायाको चुल्ठो भनेको गाउँकी फूलमाया होइन । फूल र मायाको सँगम ।चुल्ठो भनेको चाहिँ हिम श्रृँखला हो । बाँकी कुरा जान्न पुस्तक नै कुर्नुपर्ला ।
सँगीतको सन्दर्भमा म शूर वादक हुँ । शूर वादक भनेको शूरामा शुर चढेपछि जस्तो कुरालाई पनि सँगीत बनाइदिन सक्ने मेरो खुबी हो । तबला ठटाउने मूला जाकिर हुसैन रागतानवाला नुसरत फतेह अलि खान त मेरा अगाडि भुसुना बराबर । शूरले चुर भएको झोँकमा
कागतपत्र राखेको टीनको बाकस ठोकेर मैले काली रागको रचना गरेँ । काली राग भनेको काली गण्डकी सुसाएर बग्दा ढुँगामा ठोक्किँदा अनि फेरी शीतल हुँदा आउने राग हो । बचपनमा गण्डकीको किनारमा बाख्रा चराउन जाँदा रागको जग बसेको थियो आज यो पश्चिमी
समाजमा त्यसको प्रस्फुटन भएको हो ।
मानिसहरु वाहियात छन् । तिनी आफैले केही गर्दैनन् अनि अरुलाई केही गर्न पनि दिन्नन् । त्यसैले जे गर्नुछ विवेकले गर्नुपर्छ भन्ने ठानेरै मैले लक्कु जवानीमै बिहे गरेको थिएँ । बूढीमाउ गण्डकीको तिरमा बाख्रा चराउन जाँदा मेरो रागमा लहसिएकी । ख्यालख्यालमा जन्मेको
जेठो छोरो जन्तरे तालपरे राग हाल्दै होला । मेरो रागमा लठ्ठ हुनेको लिस्ट त लामै छ तर मोरी जन्तरेकी आमा यसो हेर्छु श्रीदेवी जस्ती लाग्छे । अझ नजिकबाट हेर्छु मलाई लाग्छ मोनालिसा नाउँकी भिन्चीकी तरुनी पनि यसकी अगाडि गोपीक्याँच हुन्छे भाइ । दिन दुगुना रात
चौगुना मेरो प्रेमको लहरो झाँगिदै झाँगिदै काली गण्डकीबाट शुरु भएर अनन्तसम्म पुग्यो । परिणतिमा निस्कियो जन्तरे । सोही समयको प्रेम र रासलिलाबाट जन्मिएको मेरो काली रागले बताउनेछ सबै कुरा । सुन्न मात्रै पर्छ ।
अझै पनि कसैलाई शँका लाग्छ भने लागिरहोस् । सिद्धहस्त हुन यो भन्दा अरु के चरित्रको खाँचो पर्दछ ? याद रहोस् सल्लाह र सहमतिले हुने विषयमा कसैले औँलो ठड्याउनु बिल्कुल मेरो निजी अधिकारमाथिको हमला हुनेछ । जय होस् सिद्धहस्त मेरो । तपाइँहरुले नगरेर के भो ?
म मेरा मित्रमण्डलीहरुलाई खादा किन्न लगाएर भएपनि आफैले गर्नेछु आफ्नो अभिनन्दन।
जय सिद्धहस्त म ।
हाल, पोर्चुगल
१५ जुन ०१०
(श्रोत :- Portonepal )