~धनराज गिरी~
एउटै लाम्टो चुस्न पर्ने रहेनछ दाइ र भाइ हुन । एउटै बुटामा फल्नु पर्ने रहेनछ दुवैको स्वाद एउटै हुन । अलग–अलग डालीमा फुलेका फूलहरु हुन्, गौरव र गम्भीर । गौरव नामै गौरव, कामै गौरव । गम्भीरको परिचय पनि नामअनुसारै छ । साइनो केही पनि पर्दैन । एउटाको पुर्खेउली गुल्मी, अर्काको पाँचथर । भेट भयो मकवानपुरमा । भेट पनि अचम्मसित भयो, नचिताएको ठाउँमा । एउटा सानो गाउँमा, हटिया दाबिलेमा । त्यो ठाउँमा गौरवको बालसखा गोविन्द सञ्जेल बस्दथे, मावि शिक्षक । गौरव जिल्ला शिक्षा कार्यालयमा अधिकारी । थुप्रै जिल्ला घुमेर मकवानपुर आइपुगेको शैक्षिक हाकिम, साहित्यमा रूचि । गम्भीर छापाखानाको मालिक, ऊ पनि शब्द संसारमा हराउन पाउँदा रमाउने मान्छे । हेटौँडाको साहित्यिक माहौल निकै उर्वर । जाम्ब रखाल, एन.सी. रिसाल, पिपी हौलागाईं पीपल पापा, भयग्रीव गुरूवाचार्य, झिमेष तिखिल, एक से एक । ‘शब्द’ र ‘पितृभूमि’ दुई बेजोड साहित्यिक पत्रिकाहरु । नयाँ पुस्ता भर्भराउँदा । नरोत्तम, श्याम विकास, धर्तीमा बनिता, भूत झस्के निधन, कुरुप नायक आदि इत्यादि ।
यी सबै साहित्यिक कलाकारहरु पुगे दाबिले । गुम्बा डाँडाको कलाकृति अवलोकन गरे । भवि नित्यले भव्य स्वागत गरे । के.एन. नेपालको उद्घोषण गज्जब । धर्तीमा लेखक नानीले गजल दोहोरी जमाइन् । एउटा ५५ वर्षे युवा गजलकारसित रमाइन् । गौरव र गम्भीरको त्यहीँ परिचय भयो ।
सबैसित मिल्ने गौरव, एकान्तमा रमाउने गम्भीर । दुवैको मित्रता देखेर दुनियाँ जिल्ल !
‘दाइ, मेरो भन्नु तपाईं मात्रै हो’– गम्भीरको गम्भीर कुरा ।
‘एउटा मान्छेको मायाले…’, गम्भीरको कुरालाई हास्यरसमा अनुवाद गर्न गौरव माहिर ।
‘यो मान्छे चितामा चढेको बेलामा पनि हाँस्ने छ’, एक जना प्रौढ गीतकारको स्नेहपूर्ण मूल्याङ्कन ।
छापाखाना चलाउने गम्भीर र छापामा आइरहने गौरवबीच दिनमा प्रायः एक पटक टेलिफोन वार्ता हुन थाल्यो ।
‘दाइ, जीवनमा खास केही गर्न सकिएन । यही छापाखानामै सडियो’– गम्भीरको असन्तुष्टि ।
‘भाइ, मान्छे जहाँ छ, त्यहाँ रमाउन जान्नुपर्छ । कामलाई बोझ मान्नुहुँदैन । मनमा नकारात्मक भावलाई प्रवेश नै दिनुहुँदैन । आफ्नै धारणा, मान्यता र विचारका कारणले मान्छे सुखी र दुःखी हुने हो । सकारात्मक सोच भएन भने स्वपीडक बनिन्छ, भाइ’, गौरव जो सयौँ शिक्षकहरुलाई तालिम दिएको मान्छे हो, यहाँ पनि प्रशिक्षक बन्दछ ।
‘खोइ दाइ, म त जता पनि अन्धकार मात्रै देख्दछु ।’
‘सम्यक दृष्टि, सम्यक सृष्टि । आफ्नो हेराइ बदलौँ भाइ ।’
मलाई पनि थाहा छ, पढेको छु कर्ण शाक्यको ‘सोच’ । पढेको छु, ‘वल्र्ड म्यान एण्ड दी सी’ जस्तो सकारात्मक उपन्यास । दाइको संगतमा छु । तर, म निराश मात्र हुन्छु ।’
‘काममा मन लगाऊ । सिर्जना गर । मनको निराशालाई शब्दद्वारा विरेचन गर । गीत सुन । सङ्गीतको आयाम धेरै फराकिलो छ ।’
‘एउटा गज्जबको मान्छेको फेला परेँ दाइ । मज्जा आयो । यस्ता भलामानुष पनि रहेछन्, पृथ्वीमा ।’
‘कुरा प्रस्ट भन ।’
‘भन्दैछु, उनी एउटा कवितासंग्रह निकाल्दै रहेछन् । मेरो भाषिक दक्षतामाथि विश्वास लागेछ, मेरा रचनाहरु पढेर । भाषासम्पादनको जिम्मेवारी मलाई दिए । मेरै सम्पादनमा त्यो किताव छापियो । एक दिन मलाई बोलाए । म गएँ । एउटा कपडा पसलमा लगेर मलाई झन्डै रू. ३००० बराबरको कपडा हालिदिए । अचम्म लाग्यो मलाई ! अत्यधिक श्रमको शोषण हुने यो पापी युगमा यस्ता मान्छे पनि जन्मिँदा रहेछन् । म त छक्क परेँ ! पत्याउनुभयो नि ?’
‘कस्तो अनौठो मान्छे रहेछ’, गौरव पनि दंग ! थप्छ– ए साँच्ची, हाम्रो परिचय भएको दिनको कार्यक्रम र रातको बसाइ भाइलाई कस्तो लाग्यो ? दाबिलेमा ।’
मलाई जीवनमा पहिलो पटक सारै मन परेको साहित्यिक कार्यक्रम त्यही हो’, मुसुक्क हाँस्छ गम्भीर, दुर्लभ मुस्कान ।
‘त्यसको कारण ?’, जिज्ञासु बन्दछ गौरव ।
‘दाइ, हरेक रात्रिकालीन बसाइ चुरोटको धूवाँ र मदिराको बाढीले कुरुप हुन्छ । साहित्यको नाममा ठिटाहरु भित्रभित्र आत्महत्या गरिरहेका हुन्छन् । तर त्यहाँ त्यस्तो देखिएन । सारै मज्जा आयो । कोही पनि अराजक बनेनन् ।’
‘थाहा छ भाइ ? यो सबै कुराको प्रबन्ध चितवन सौराहाबाट आएको एक जना गोपी भन्ने मान्छेले गरेका हुन् । ‘चुरोट–मदिरारहित साहित्य’ उनको अभियान । मलाई मीतज्यू भन्थे ।
‘त्यसो भए, चितवन सौराहाबाट गोपीको साथमा अर्का विख्यात कवि उपेन्द्रनाथ अधिकारी पनि आएको हुनुपर्छ ।’
‘हो–हो, भाइजस्तै एउटा सारै गम्भीर पात्र देखेको थिएँ, गोपीको साथमा ।
‘दाइ, यसैगरी हरेक साहित्यिक कार्यक्रम दाबिलेकै जस्तो हुने हो भने प्रत्येक साहित्यकार विशिष्ट श्रेणीको उमेरसम्म आरामले पुग्नेथिए । राष्ट्रकविलाई हेरौँ त, कति बोतल बियर पिउँछन् हँ बूढा ?’
‘भाइको विचार मानवतावादी छ । मानवतालाई जोगाउने भनेको मानवलाई नै जोगाउने हो । अनि मात्र मज्जा आउँछ ।’
‘दाइ, जीवनमा के भयो भने मज्जा आउँछ ?’
गौरव आफूले जीवनमा भोगेको अनि भोग्दा मज्जा र नमज्जा भएको केही अनुभव र अनुभूतिहरु सुनाउँछ ।
पहिलो मज्जा ः
विष्णु पाठक, गौरवको नयाँ मित्र । पश्चिम सुर्खेतको घटना । विष्णु त्यो ठाउँमा बिल्कुलै नयाँ । ऊ अर्थात्, गौरव केही वर्ष बिताएर पुरानिएको मान्छे । विष्णुले एउटी बालालाई मन पराउँछ । गौरवले सेना समायोजन गर्दछ । लमी बन्दछ । विष्णुलाई भन्दछ–
यार पाठक, यहाँ तिम्रो सबैथोक मैँ हु । अब यो लगनगाँठो कस्न केही नगदनारायण त चाहिन्छ नै । मसित कति आश गरेका छौ ?’ भन्नुपर्ला, तर कसरी भन्ने ? ‘छैन’ भनेर उम्कने पो हो कि ? अनेक बहाना बनाउने पो हो कि ? यस्तै–यस्तै दोधारमा थियो पाठक ।
यो सम्बोधनले ऊ राम्रैसित पग्लियो । गहभरि दह भए । बडो भावुक भएर बोल्यो पाठक–
‘गौरव सर, तपाईं त मेरो लागि भगवानै हो । आज जीवनमा पहिलोचोटि मज्जा अनुभूत गर्दैछु । मलाई रू. १०,००० दिनुभए हुन्छ । अलिकता रकम काम गरेको ठाउँबाट पनि आउँछ । गर्जो टर्छ । जनवादी हुन्छ हाम्रो विवाह । लक्ष्मीका अभिभावकहरु राजी छन् ।’
‘ढुक्क हुनू, भोलि नै म चेक दिन्छु । सकेको बेलामा आरामसित हिसाब मिलाउनू ।’
‘अहा, कति मज्जा आयो सुन्दा पनि ! दाइ यो त भयो मज्जा आउने कथा । अब नमज्जाको अनुभव पनि सुनौँ न’, गम्भीर अझै उत्साहित हुन्छ । सधैँ अलि बेग्लै देखिने उसको अनुहार आज उज्यालो छ ।
‘यो कथा मेरो होइन । पाल्पा जिल्लामा एउटा झोडी र विद्रोही मान्छे मेरो मित्र बन्यो । ऊ क्याम्पसमा पढाउँथ्यो । फुर्सदमा मेरो क्वाटरमा आउँथ्यो । कहिलेकाहीँ म्यारिज खेलिन्थ्यो । डिएसपी र न्यायाधीशहरु पनि आउँथे । उसको क्याम्पसमा उसलाई दिक्क बनाइएछ । ऊभन्दा कान्छा र जुनियर चकरीवाजहरु पदोन्नति हुँदै रिडर बन्न पुग्दा त्यो झोडी आफ्ना चेलाहरुसरह उपप्रध्यापक । निर्णायकहरुले ‘पखम्, पखम्, पखम्’ भन्दै २२ महिना झुलाएछन् ।
‘२०६९ साल साउन एक गतेबाट लागू हुनेगरी उसको पनि पदोन्नति गर्ने सल्लाह भएछ र उसलाई बचन दिइएछ । झोडी मित्र लहडी पनि । ३९ वर्ष पढाइसकेको । विद्यार्थी जीवनमा अत्यन्त प्रतिभाशाली । विद्यार्थी र अभिभावकहरुको पनि अति प्रिय पात्र । तर, प्रशासनसित सधैँ ३६ । भाइ, त्यो विद्रोहीले के ग¥यो थाहा छ ?’
‘दाइले नभनी कसरी थाहा पाउने ?’
‘समिति र क्याम्पसप्रमुखसित गर्जेछ । म मात्र होइन, अन्यायमा परेका यी ९ भाइहरुको पनि पदोन्नति हुन्छ भने मलाई पनि गर्नू, होइन भने चाहिने यो साथीहरुको बीचमा फाटो ल्याउने शुभ–लाभ । म जीवनभरि द्वितीय श्रेणी नै हुन्छु ।’
‘त्यसपछि के भयो त ?’ अझै जिज्ञासु बन्दछ गम्भीर ।
‘धेरै पापड बेलेपछि, धेरै उतारचढाव भएपछि समिति राजी भएछ, त्यो पनि अड्को थापेर ।’
‘किन त्यस्तो गरिएछ ?’
‘चाकरी पुगेन, कस्तो छ यो देश ? यहाँ योग्यता होइन, भाटगिरी र दासहरु चाहिन्छ, शक्तिपीठहरुलाई ।’
‘यो त सारै नमज्जा भो दाइ । त्यो झोडीले पदोन्नति पायो त ?’
‘२०६९ साल असार मसान्तका दिन राजीनामा दिएर हिँड्यो ।’
‘यो त एउटा रूसी कथा ‘बाजी’जस्तै भएछ हगि !’
‘त्यो त कथा थियो, यो त भोगिएको यथार्थ हो ।’
‘त्यसपछि त्यो झोडी कहाँ गयो, के ग¥यो ?’
‘क्यानडामा छ, नातिनीहरुसित रमाएर बसेको छ । अन्तर्राष्ट्रिय साहित्य समाज क्यानडा च्याप्टरको अध्यक्ष उही हो । उपन्यास लेख्छ । गजलकार पनि हो । पाल्पाली गजलकार विवेकानन्द गिरोपाध्याय, बूँद रानाको परममित्र भाइ । झोडी भए पनि सारै रमाइलो मान्छे ।’
‘दाइ, गिरोपाध्यायको भोगाइ सुन्दा सारै नमज्जा लाग्यो । पक्कै पनि उनको क्याम्पसमा विवेकको हत्या भएको हुनुपर्छ ।’ अगाडि भन्दछ गम्भीर– ‘दाइ, अब अलि मज्जा लाग्ने अनुभवहरु सुनौँ । यो त सारै नमज्जा लाग्यो ।’
‘सुन भाइ, तिमी पनि साहित्यकार र म पनि साहित्यकार । अचानक थाहा नै नभइकन कतैबाट सम्मान अथवा पुरस्कारको खबर आयो भने कस्तो लाग्छ ?’
‘मज्जा लाग्छ । यहाँ त पुरस्कार र सम्मानहरु नै बद्नाम भएका छन् । सम्मान भनेको पर्म लगाउनु हो । पुरस्कार भनेको दया गर्नु हो । अपवादलाई छाडेर हरेक निर्णयहरु विवादमा परेका छन् दाइ । मलाई त यो सम्मान र पुरस्कारको कुरा सुनेपछि चक्कर आउँछ ।’
‘त्यही भएर सर्जकहरु आफ्नै सिर्जनामा रमाउनुपर्छ । सम्मान र पुरस्कारलाई गौण ठान्नुपर्छ । सिर्जनाको गुणवत्ता र पाठकको सन्तुष्टि नै सबैभन्दा ठूलो सम्मान अनि पुरस्कार हो ।’
‘दाइले ‘लू’ र ‘प्रेतकल्प’को सम्झना गराइदिनुभयो ।’
‘हो त ! हाम्रो देशमा केही ऐतिहासिक भूलहरु भएका छन् ।’
तर, ‘सेतो धरती’को कुरा पनि पहिल्यै प्रायोजित गरिएको भनिन्छ नि ?’
‘शङ्का गर्न त सकिन्छ, तर होइन होला ।’
त्यसपछि गम्भीरलाई आफ्नै कथा सुनाउँछ गौरव ।
‘भाइ, म पनि नाम्चेबजारबाट बिस्तारै उकालो लागेको मान्छे हुँ । अहिले प्रथम श्रेणीको जिल्ला शिक्षा अधिकारी भएको छु । एक पटक रू. ७ लाखमा एउटा घर किनेँ, २० वर्षअघि । एक जना क्षेत्री साथीले एकान्तमा बोलाएर भने– ‘गौरव सर, तपाईंले घर किन्नुभएछ । म पनि यो अनुष्ठानमा तपाईंलाई रू. २५,००० सहयोग गर्न चाहन्छु ।’ उनले त्यो रकम सापटी खोजेर ल्याएका रहेछन् । उनको हृदयको आयाम कति होला भाइ ?’ पुलुक्क गौरवको मुखमा हेर्छ गम्भीर ।
‘यो संसार कति विचित्रको छ ! दधीचि र राधेयहरु पटकपटक आइरहेछन्, पृथ्वीमा । दानीहरुको कमी छैन । लोभीपापी पनि त्यत्तिकै । यहीँ अमृत छ, यहीँ विष छ । यहीँ जीवन छ, यहीँ मृत्यु छ ।’
अझ गम्भीर हुन्छ गम्भीर । मनमनै भन्दछ– ‘प्रथम श्रेणीका हाकिम । यिनको मातहतमा कति शिक्षक र कर्मचारी छन् ? कति चेलाचेलीहरु, जनताको सन्तानको भविष्य निर्माणको जिम्मेवारी छ । दायित्व गहन छ । तर, म एउटा सामान्य लेखक र छापाखानाको मालिकलाई यति धेरै मह¤व दिएका छन् । धन्य हुन् यिनी ! धन्य हुन् ती कवि, जसले मलाई जेठ महिनामै दसैँ मनाइदिए । यस्ता मान्छेहरु मात्रै हुने भए यो पृथ्वी स्वर्ग बन्नेथियो होला ।’
‘भाइ, धेरै गम्भीर भइयो, के सोच्न थालियो ?’
‘मेरो नामै गम्भीर ।’
‘हो त, म पनि कस्तो भुलक्कड ।’
‘दाइ, आज सारै मज्जा आयो । अब साउन महिनामा हुने पितृभूमि साहित्य समाजको कार्यक्रममा भेट हुनुपर्छ । बेलामौकामा दर्शन पाइरहूँ है !’
‘हुन्छ भाइ, हुन्छ । म आफ्नो आमाको कान्छो सन्तान । बाबुलाई देखेपछि भाइको रहर मेटिन्छ ।’
‘दाइको यो कुरा सुनेर पनि मज्जा आयो ।’
‘लौ त भाइ, आजलाई ओझेल परौँ ।’
फर्कियो गौरव क्वाटरमा । श्रीमती विष्णुमाया रिजाल उनकै प्रतीक्षामा ।
भोलिपल्ट यसो घुम्न भनेर निस्कँदा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारी फेला परे । शिष्टाचार आदानप्रदान भयो ।
‘बच्चु सर, १४ गते असार जिल्लाबाहिर जान्छु भन्नुभएको थियो । कहाँ थियो र हौ गन्तव्य ?’ झापा जिल्लामा पाँच वर्ष बिताएको हुनाले गौरवको बोलीको टोनमा पूर्वेली सुगन्ध आउँछ ।
‘ए ! अधिकारी सर, एउटा नाटकमा अभिनय गरेर आइयो ।’
‘तपाईं थरले अधिकारी, म पदले अधिकारी ।’
‘सरलाई पनि ठट्टा गर्न आउँछ हगि !’ बच्चुराम ।
‘बच्चु सर जिन्दगी एउटा ठट्टा नै होइन र ?’
‘हो सर ! ‘हिजो १४ गते छिमेकी जिल्लाको एउटा क्याम्पसमा राम्रै ठट्टा गरेर आइयो । मज्जा आयो ।
‘अलि खुलाएर भन्नुहोस् न । यो अदक्ष गुरूले अंग्रेजी साहित्य पढाएजस्तो भयो ।’
पदोन्नतिको इन्टरभ्यू लिनुथियो । एउटा पात्र देखेपछि म त बच्चुरामबाट ठन्डाराम । मैले उनको अन्तर्वार्ता लिएँ कि उनले मेरो अन्तर्वार्ता लिए, थाहा भएन । तर, उनीसित गफ गर्दा सारै मज्जा आयो । ४१ वर्ष पढाएका गुरूको अन्तर्वार्ता म १४ वर्ष पढाएको शिष्यले लिने अरे, विडम्बना ! अभिमन्युले भीष्मपितामहको कापी जाँचेजस्तो लाग्यो । म त नतमस्तक भएँ उनको बोली र व्यक्तित्व देखेर । त्यस्ता मान्छेलाई ९ वर्षसम्म पदोन्नति नगरीकन झुलाएर राख्ने निर्णायकहरु देख्दा टीठ लाग्यो ।’
‘कतै तपाईं गजलकार दयानन्द भारतीको कुरा त गर्दै हुनुहन्न ?’
‘आम्मै, हो सर । कसरी चिन्नुभयो ?’
‘त्यो मोरो मेरै मीतज्यू हो । ज्यादा स्वाभिमानी बन्नुहुँदैन, धेरै सत्यवादी बन्नुहुँदैन भनेर धेरै पटक सम्झाएँ, त्यो जिल्लामा रहँदा तर मानेन । त्यस्तो मान्छेले भोग्ने त्यस्तै हो । भीमसेन थापा सेरिएको मुलुक होइन यो, बच्चु सर ?’
‘जे होस्, भारती सरसित भेट भएर सारै मज्जा आयो ।’
बच्चुराम क्याम्पसतिर र गौरव क्वाटरतिर लागे ।
(श्रोत :- Chitwanpost )