~लक्ष्मण देवकोटा~
रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए
ए चोर आयो । चोर ।
घिमिरे साइँला कोल्टे सापकोटा थापा कान्छा लगायतका छिमेकीहरु आकृतिको पछि पछि दौडे ।
नछोड तेल्लाई ।
समात् समात् । एक्कासी गाउँ होहल्लाले भरियो । ढिक नाघ्नै लागेको बेला चोर समातियो ।
जगल्ट्याउँदै घिच्याउँदै चोरलाई आँगनतिर लैजाँदै गर्दा अधिकारी ध्रुव काकाले लाइट बालेर अनुहार हेरेको त
गाउँलेहरु तिनछक परे ।
चोर त गाउँलेहरुकै श्रमदानबाट बनाइएको गैरीधारा माविका हेडमास्टर पो रहेछन् । राम राम कलिजुगमा के के देख्नपर्छ काकाले
सुस्केरा हाल्दै भने ।
अर्जेल कालो नीलो भए । असह्य भएर उनले हकार्दै चिच्याए मध्यरातमा के लुट्न घरभित्र पस्यौ मास्टर
भूइँतिर आँखा गाडेर सोमराजले भने म राधिकालाई गणित पढाउन गएको थिएँ ।
हेडमास्टरको मधुरो प्रत्युत्तरसँगै सोमरसको वासना पनि आकाशतिर फैलियो । छेवैमा उभिएको कोल्टे सापकोटाले नाक समातेर
घाँटी कोल्ट्याउँदै भन्यो वासना त दह्रै हुँदो रहेछ विद्वानहरुको।
गणित पढाउन गएको कि गणित मिलाउन गएको सर थापा कान्छाले आफ्ना पुराना गुरुको यो रासलिलाको पर्दा च्यात्ने
हिसाबले छेपन हान्यो ।
दुई जीउकी भए स्याहार्छु राधिकालाई । हेडमास्टरको एक वचनमै चोर समात्न गएकाहरु मुखामुख गरे ।
तने कट्टूमै ओछ्यानबाट चोर समाउन फाल हालेका अर्जेल जेठाले कुरो खोले चोर अप्ठ्यारो पर्यो ।
माइला र मैले कुरा मिलाउँछौँ । तिमेरु घर घर जाओ । बढेका छोरी चेली सबैकहाँ छन् । अरुले सोधे
पल्लो गाउँका चोरहरु कान्लामुनिबाट भागे भन्दिनू ।
पोर्चुगल
(श्रोत :- Portonepal )