~बिटु केसी बराल~
मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे ।
स्वदेशबाट कता हो कता, धेरै टाढा सात समुन्द्रपारी अमेरिका भनिने यो ठाउँमा मलाई देशको खबरले झक्झक्याँछ । सुन्छु – त्यहाँ जाडो खप्न नसकेर न्यानो लुगा नहुनेहरू , घर नहुनेहरू , सडकमा गुजारा गर्नेहरू गरिवहरू मरेरे । मन भित्र कस्तो कस्तो आमिलो फैलिन्छ । आफ्नो लुगा बिछ्यौनाले आफैलाई गिज्याए झै लाग्छ । सडक पेटिमा हात फैलाएर बस्ने बालकहरू , पाटी पौवामा रामनाम जप्दै दिन गुजार्ने ती बुढाबुढीहरूको याद आउछ । यस्तै यादहरुमा मिस्सिएर वर्षोदेखी मेरो मष्तिस्कमा तहतह परेर बसेको मञ्जरीको यादले ३० बर्ष अगाडि को त्यो समयमा मलाई अनयासै फर्काउछ ।
क्षणभरको लागि मञ्जरी मेरो मानसपटलमा जिवन्त भएर उभिन्छे । उसको त्यो बुच्चो कपाल , डेढो हेराइ , छुच्चो बोली मेरो आँखा वरिपरि घुम्छ ।
मञ्जरी गुनिली पनि होईन , राम्री पनि होईन । अचम्म त के भने उ मेरो मानसपटलबाट कहिल्यै ओझेल भैइन । जब जब उसलाई म सम्झिन्छु दुखित हुन्छु , हतास हुन्छु । कहाँ गई मञ्जरी , कता हराइ मञ्जरी ?
३० वर्ष अगाडिको बिशालनगर चण्डोल सानै भएपनि प्राकितिकरुपमा सुन्दर थियो । । हराभरा ,सफा सुग्घर , उचाइमा अबस्थित चण्डोल अति रमाइलो लाग्थ्यो । पारिलो घामको स्पर्श , हावाको मिठासले चण्डोलको आकर्षणमा चार चाँद लगाएको थियो । सडकको दाँयाबाँया निलकाडाँको सपक्क मिलेको बार जसले पर्खालको काम गरेको हुन्थ्यो । मोटर गाडी चड्दा त्यो हरिया काँडाघारी सरर छोडिदै जाँदा गाडीसंगै दौडे जस्तो लाग्थ्यो , मन्त्र मुग्ध हुन्थे म । असाध्यै मन पर्थ्यो मलाई त्यो द्रिष्य , त्यो चण्डोल । अब त काँडाघारीको ठाउँ ठुला ठुला पर्खालले ओगटेको छ । त्यो रमाइलो बस्ती आज अब्यब्स्थित घना बस्तीले गर्दा कस्तो कस्तो उकुसमुकुस देखिन्छ । तर पनि आफू जन्मेको ठाउँ अति प्यारो हुने रहेछ । कवि सिद्दिचरणलाई ओखलढुङगा प्यारो भए जतिकै ।
मेरो भन्दा २३ घर पछाडि एउटा सानो मिल थियो जसलाई हामि कलघर भन्थेऔ । काँचो इट्टाले बनेको कलघरको भित्र एउटा कुनामा सानो कोठा थियो त्यसैमा डेरा गरि बस्थे मञ्जरी र उसको बुढो बाउ । कलघरको ठिक अगाडि ठुलो मयलको रुख थियो र रुखसंगै थियो फैलिएको बारी । त्येतिबेलैको प्राबिधिक बिकासले त्यो पुरानो कलघरलाई इतिहास बनाइ सकेको थियो । कलघरमा कल थिएन , बाँकी थियो मात्र घर । त्यो घर रुङेर बाउ छोरी बस्थे । मयल पाकेपछी केटाकेटी झ्याम्मीन्थे रुख मुनि । हामि पनि बाटो पर्दा मयल खान कल घर तिर जान्थ्यैा कहिलेकाही । पाकेको मयल खुब मिठो हुन्थ्यो । खेतबारिमा जाने बाटोसगैको त्यो झरेको मयल खान मयल धनीको भन्दा नि मञ्जरीको बढी डर लाग्थ्यो । उ आफ्नै मयल हो जस्तोगरी छुच्याँइ गर्थी । घरधनीलाई भनिदिने धम्की दिन्थी । एकचोटी मयलको रुखसंगैको मकै बारिमा तनेबोडी चुडेर खाएछन् सानासाना केटकेटीले ।” बोडी चोर ” बोडी चोर ” भन्दै कराएर मन्जरीले तिनीहरूलाई परैसम्म लखेटी । ती केटाकेटीहरू मन्जरीको अगाडी पर्ननी डराउथे । उसको न पहिरन राम्रो हुन्थ्यो न हिडाँइ । तर, म उसलाई बाटोतिर हिंडेको देख्दा हेरिरहन्थे र मौका मिल्दा बोल्थे । उ सधै ठाडो जवाफ दिन्थी र तर्किन्थी । मञ्जरी सबैसँग ठाडो बोल्थी । बुढो बाउले ज्यालादारीबाट जेजति कमाउथे त्यसबाटनै उनिहरुको छाक टरथ्यो । ज्याला मजदुरीको काम सधैं पाइने होईन , काम नपाउदा र गर्न नसक्दा उनिहरुको पेट कसरी भरिन्थ्यो होला ? विचरी मन्जरी ! आमा गुमाएकी टुहुरी थिइ । मञ्जरी दुधेबालिका छदै बितेकि रहिछीन् आमा । उसका उमेरका अरु केटाकेटी स्कुल जाँदा , मिलेर खेल्दा मञ्जरी भात भान्चामा हुन्थी । ९ १० वर्षकी हुदी हो उ तर बुढो बाउ लाई पकाएर खुवाउने जिम्मा उसैको भागमा थियो । आफूले पढ्न नपाएकोले होला स्कुल जाने आउनेहरूलाई उ खुबै ध्यान दिएर हेरिरहन्थी । कापि कलम लिएर खोइ के के कोरिरहन्थी उ । कठै ! उसको पढ्ने रहर बुझिदिने को थियो र ?
एकदिन उसको बुढो बाउले सौतेनी आमा ल्याएछन् । टोलछिमेकमा गाईगुइँ हल्ला चल्न थाल्यो – ए ठुल्दाइले त फेरि बिहे गरेछन नी ! मेरो आमाले नी भन्नुभयो – ” ठुल्दाइको कान्छी दुलही त कति राम्री रैछीन् ” हाँस्दै भन्नुभयो – ” कहाँ पाएहोलान्, त्यती राम्री दुलही बुढेसकालमा ? ” हेर्ने कौतुहलता जाग्यो , दौडेर गएँ कलघरतिर । हो रहेछ , खुब राम्री लाग्यो मलाईनी , सिनेमाकी हिरोइन जस्तै । मञ्जरीलाई चाँही के लाग्यो खोइ कुन्नी ? केहीदिनपछि कसैले मञ्जरीलाई सोद्धै थियो – सौतेनी आमा ल्याएपछि बाउले माया गर्छन् की गर्दैनन् ? कान्छी आमाले कस्तो व्यबहार गरेकी छिन इत्यादी । सौतेनी आमाप्रति उसले न कुनै रौष प्रकट गरेकी थीइ , न कुनै गुनासो नै । उ सामान्य देखिन्थी । समयको हन्डर र ठक्करले कलिलै उमेरमा उसलाई जोदाहा र जिताहा बनाइसकेको थियो ।
चार महिनानी नटिकी ठुल्दाइकी नयाँ दुलही त टाप कसिछिन् हेर, आमाले कसैलाई बताउदै हुनुहुन्थ्यो । त्यहाँ उप्रान्त ती सुन्दरीको दर्शन फेरि कहिल्यै पाइएन । शायद ठुन्दाइको गरिबीले उनलाई टिकाउन सकेन । ठुल्दाइ धेरै बुढो भैसकेका थिए । उनको शरीर ज्यालदारी काम गरेर पेट पाल्न सक्ने अबस्थाको थिएन । न कुनै खेतबारी र जायजेथा उनिहरुसँग थियो । परिवार र आफन्तको नाममा ती दुबै बाउ छोरी मात्रै । चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन । सानी मञ्जरी निर्भिक , निडर थीई । कसैसँग नझुक्ने र नडग्ने उसको पन शायद मलाइ त्यतिबेला छुच्चो लागेको हुदो हो । उसको गरिवी ,दयनीय अबस्थाको समाजले उडाउने खिल्लीको सामाना गर्दा उ कठोर देखिएकी हुँदि हो ! आफ्नो अबस्थाको ललरी गाएर ती बाबु छोरीले कसैबाट सहयोगको अपेक्षा गरेको समेत थाहा पत्तो पाइएन । न त त्यो समाजका हामिहरूले उसको अबस्थालाई जान्ने चेष्ठा नै कहिल्यै गर्यौं । अहिले मलाई लाग्छ , यदि समाजको सानो सहयोग पाएको भए मञ्जरीको जीवन त्यसरी बिलिन हुने थिएन । उ कसैसँग झुकिन तर गरिवीको सघर्षमा उ चाडै नै पराजित भई । एकदिन अचानक सुने मञ्जरी त मरिरे ….. मलाई बिश्वासै लागेन । फेरि दौडेर कलघरमा हेर्न गए , सुनसान थियो घर , त्यहाँ कोइ थिएन । म खिन्न हुँदै फर्किए । बिरामी थिईरे उ । खोइ के को बिरामी हो , मलाई थाहा थिएन । मञ्जरी भन्दा १/२ वर्षले ठुली मलाई आजसम्म पनि कुरिकुरी लागिरहन्छ – औषधी उपचार पाएको भए मञ्जरी त्यति चाँडै मर्दिनथी । म सोच्दछु , मञ्जरी बाँचिरहेकी भए आज कस्ती हुन्थी होली ? उसका पनि त आफ्नै रहर र सपनाहरू थिए होलान् । जीवन बाँचिरहने आशा कसलाई हुदैन ? तर सबैको रहर कहाँ पुगेको छ र ! कहीले पुगेको छ र ? केही समयपछि ठुल्दाइ नी मरे भन्ने सुनियो । उनको मृत्युमा शोक मनाउने कोही भएनन् । समाजले फेरि उनीहरूलाई कहिल्यै सम्झदा पनि सम्झेनन् ।
हुस्टन , टेक्सास
(श्रोत :- Onlinekhabar )