कथा : भुतेश्वर

~बखतबहादुर थापा~

माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो ।

‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’

‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के हो ?’

खासखुस चलिरहेकै बखत नेता भूतेश्वरकी श्रीमती काली घर्तिनी टुप्लुक्क देखा परी । उसलाई देख्नेहरू सबै आश्चर्यचकित भए । ‘हैन, काली घर्तिनी त काठमाडौँमा राज गरिरहेकी छ भन्थे त ! यो त कपाल काटेर मुडुल्लिएकी छ र सर्ट-पेन्ट लगाई अर्धनारी जस्ती बनेर कताबाट निस्की ?’ फेरि खासखुस सुरु भयो ।

‘के माओवादीमा पसेकी रै’छ ?’

यत्तिकैमा चारजना छापामारले एउटा बौलाहाजस्तो मानिसलाई झ्याइँकुटी पार्दै ल्याएर अगाडि उभ्याए ।

‘हैन, माओवादीहरू आज कस्तो नाटक देखाउँदै छन् ?’ उपस्थित सबै आँखा च्यातीच्याती हेर्न थाले ।

एउटा छापामारले अघि सरेर भन्यो- ‘लाल सलाम दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू यो बौलाहाजस्तो मान्छे देखेर जिल्लिनुभएको होला । चिन्ता नगर्नुस्, यो जिज्ञासा मेटाउँदै हुनुहुन्छ तपाईंहरूकै चेलीबेटी कमरेड काली घर्तिनीले ।’

ताली बज्यो । कुरो बुझे पनि नबुझे पनि ताली त बजाउनैपर्‍यो । यो कुरा हाम्रा देशवासी सबैले बुझेका छन् ।

‘आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, लाल सलाम । आज तपाईंहरूको सामुन्ने आश्चर्यचकित पार्ने केही घटनाहरू देख्न सुन्नमा आउँदै छन् । ती घटना तपाईंहरू आˆना मन पर्दा नेता भूतेश्वरबाटै सुनेर उचित कदम चाल्नुहुनेछ भन्ने आशा राख्दछु ।’ केही अघि भmयाइँकुटी पार्दै ल्याएको पागलजस्तो देखिनेलाई अगाडि सार्दै कमरेड काली घर्तिनीले भनी- ‘यो कुनै बौलाहा नभएर तपाईंहरूकै शुभचिन्तक नेता भूतेश्वर हो ।’

आˆनो नेतालाई चिन्नेबित्तिकै भिडका कुनाकाप्चाबाट डर-त्रासयुक्त केही स्वर निस्के- ‘माओवादी मुर्दावाद, हाम्रो नेतालाई छोड् ।’ कार्यकर्ता चिच्याउनेबित्तिकै उपस्थित सबै स्वर मिलाउन थाले- ‘हो हो, हाम्रो नेतालाई छोड्देऊ ।’

ढ्याङ्ग बन्दुक पड्काउँदै एउटा छापामार अघि बढ्यो- ‘धैर्य धारण गर्नुहोस् र आफ्नो नेताको षड्यन्त्र सुन्नुहोस् ।’

भूतेश्वरले दुवै हात उठाएर रुन्चे स्वरमा भन्यो- ‘प्यारा दाजुभाइ दिदीबहिनीहरू हो, यदि म कसैको श्रृणी छु भने मात्र तपाईंहरूको, तर यी माओवादीहरूले मलाई यस्तो दुःख दिनुको कारण के ? हेर्नुस् त, छापामार साथीहरूले चिमोटेर !’

उसले आफ्ˆनो जिउमा लहराइरहेका कपडा र नङले कोतरिएका दागहरू देखाउँदै भन्यो- ‘कुटपिट गर्न पनि तम्सिँदै थिए, ब्यान्डेट टेप सकिएको र मलाई तपाईंहरूको सामुन्ने, उपस्थित गर्नु पर्ने बाध्यताले मारपिट रोकिएको हो भन्ने जानकारी पाएथेँ ।’

भूतेश्वर अलि भावुक भयो । ‘तपाईंहरूको सामुन्ने उभिन पाउनु मेरो सौभाग्य हो । मबाट कुनै गल्ती भएको भए माफ गर्दिनुहोला । यदि माफ गर्न सक्नु भएन भने मलाई पुलिसको जिम्मा लगाउनु हुनेछ भन्ने आशा राख्दछु । अब म माओवादी साथीहरूको आज्ञा शिरोपर गर्दै तपाईंहरूको सामुन्ने दुई-चार वटा प्रमुख घटना वर्णन गर्दै छु ।’ भूतेश्वरले चारैतर्फ आँखा दौडायो ।

त्यो देखेर उसका पछाडि उभिएको छापामारले बन्दुकको कुन्दाले घिच्रोमा हिर्काएपछि ऊ पुनः बोल्न सुरु गर्‍यो- ‘सुन्दर सुशील जीवनसङ्गनिी पाएर मेरो खुसी दिन दुई गुना रात चौगुनाको गतिमा बढेको यहाँहरू धेरैलाई विदितै छ । मास्टरी पेसाले हामी दुवैलाई राजीखुसी राखेको थियो । राजनीतिक दाउपेचले मेरो जागिर चट हुने सम्भावना देखियो । जागिर बचाउनलाई घरखेत धितो राखेर पूरै सत्तरी हजार घुस खुवाएँ । स्थायी पनि गरिदिने आश्वासन दिएका थिए तर तीन महिना नबित्दै सरकार फेरियो । नयाँ सरकारले आपmना कार्यकर्ता भर्ती गर्‍यो । जागिर थमाउने कुनै उपाय थिएन, नेता र कार्यकर्ताका पछि दौडन थालेँ । यस दौरान मेरा मुटुमा कँुदिएका थुप्रै मानवीय गुणहरू पसिना बनेर उडेजस्तो लाग्छ । कुनै काम पाउनुको सट्टा थुप्रै राजनीतिक दाउपेच सिकेँ । भनूँ मेरो मन बिस्तारै नेताहरूको सान, मान, रवाफतर्फ तानिँदै गयो । साथै, नोकरी पाउनुभन्दा नेता बन्न सजिलो लाग्यो र मेरो मस्तिष्कले छोटोभन्दा छोटो समयमै शक्तिशाली नेता बन्ने योजना बनाउन थाल्यो ।’

भूतेश्वरले एकपटक फेरि सबैतिर दृष्टि दौडायो अनि आँखा झुकाएर भन्यो- ‘एक रात आˆनै भैँसीलाई काटेर त्यसका अङ्गहरू क्षतविक्षत पारेँ । यसो गर्नुको उद्देश्य समाजलाई कोही भैँसी खानेहरूको पुरुषार्थ देखाउनु थियो । अनि आˆनै घरमा आगो झोसेँ । योजनाअनुरूप श्रीमतीलाई औषधि गर्ने निहुँमा भारत पुर्‍याउनुपर्ने थियो । उनलाई अलिकता मात्रै घाउ लाग्न दिएँ । आˆनो योजनाअनुसार छोरालाई केही दिन अघि ससुराली लगेर छोडेको थिएँ । गाउँलेहरूले भने- छोरो भाग्यमानी रहेछ । मामाघर गएका बखत उसको घरमा आगलागी भयो । नत्र बचाउन गारो थियो ।’ कोही भन्थे- बालबच्चाहरू भगवान्का रुप हुन् रे ! चाल पाएरै मामाको घरमा बस्न खोजेको रहेछ ।’ कति सोझा छन् मेरा गाउँले दाजुभाइहरू, तिनकै दयामायाले केही पैसा उठाएर श्रीमतीलाई भारत पुर्‍याएँ । उनको घाउ सानोतिनो औषधिले बाटोमै निको भइसकेको थियो ।’

उसले नजिकै उभिएकी आˆनी श्रीमती कमरेड काली घर्तिनीतर्फ सङ्केत गर्दै भन्यो- ‘सुत्केरी हुँदा यिनको दुध नआएकाले भैँसीको दुध खुवाएर बच्चो हुर्काएका थियौँ । त्यसैले यिनको बैँस र रूपरङ्गमा त्यति असर पर्न पाएन । फलस्वरूप वेश्यालयमा पुर्‍याउँदा पूरै एक लाख हात परेकाले मलाई पनि फाइदा भएको अनुभूति गरेँ । फर्केपछि म नेताका पछि लागेँ । तिनको कृपादृष्टिले घरमा आगलागीको क्षतिबापत राज्यद्वारा हजारौँ रुपैयाँ सहयोग पाएँ । ससुराली गाउँतर्फ पनि आˆनो प्रभाव जमाउनु थियोÙ सालीको इज्जत लुटेँ, काम सकिएपछि उसको हत्या गरिदिएँ । आˆनो योजनाअनुरूप थुप्रै केटाहरूलाई साथी बनाएको थिएँ । हाम्रा प्रभावशाली नेताहरूको पनि विश्वास जितेकाले सालीको हत्यामा माओवादीकै नाम मुछ्न सजिलो पर्‍यो । अनि राज्य पक्षबाट ससुरालीलाई केही राहत दिलाउन पनि सफल भएँ ।’

भूतेश्वरको स्वर केही उँचो हुँदै गइरहेको थियो- ‘प्यारा दाजुभाइ दिदीबहिनीहरू हो, एकपटक यो ठाउँमा भीषण लुटपाट र आगलागी भयो । त्यो भयावह स्थितिको योजनाकार पनि मै हुँ । त्यस पटक मैले माओवादीको नाममा उत्पात मच्चाउने अवसरवादीहरूलाई परिचालन गरेको थिएँ । लुटपाट र आगजनी गराएर तपाईंहरू बीच हाहाकार मच्चाएँ । अनि तपाईंहरूलाई साथमा लिएर थुप्रै ठाउँ दौडधूप गरी राज्यबाट सहयोग प्राप्त गराएँ । केही राहत मैले पनि दिएँ । यिनै खेलले मलाई तपाईंहरूले मनकारी नेताका रूपमा

उभ्याउनुभयो । छोटै समयमा हाम्रो क्षेत्रको दोस्रो स्तरको नेता बन्न पाउनु तपाईंहरू सबैको आशीर्वाद हो । यति धेरै माया र विश्वासले मात्तिएको म दोस्रो स्तरको नेता भएर कहाँ सन्तुष्ट बस्न सक्थेँ र ? त्यसैले सांसदज्यूको विश्वासिलो पात्र हुनुको फाइदा लुट्नु थियो । एक साँझ कसैले चालै नपाउने गरी उनको घरमा पुगें । रक्सी र कुखुराको मासुले सांसदज्यूका लोग्नेस्वास्नीलाई टिल्ल बनाएँ । साथमा बेहोसीको औषधि पनि बोकेको थिएँ, त्यसको पनि प्रयोग गरेँ । सांसदको घर जङ्गलको छेवैमा पथ्र्यो । ती लोग्नेस्वास्नी दुवैलाई बाँधेर घिसार्दै जङ्गलतिर लगेँ । नजिकै ठूलै खोल्सो थियो सांसद्लाई त्यहीँ फालिदिएँ । सांसद्की श्रीमती अर्को जुनीलाई समेत पुग्ने गरी मिठोमसिनो घिचेर फर्सीझैँ लडेकी थिई । त्यस मोटीलाई गुडाउँदै निकै टाढा पुर्‍याएँ । जब उसको चेतना फिर्‍यो, पिट्न सुरु गरेँ । खुब पिटेँ । पिट्नु पिटेँ । कम दुःख दिएकी थिइन त्यसले, कहिल्यै पूर्वबाट घिउ मगाउँथी त कहिल्यै उत्तरबाट मह लिएर आइज भन्थी । त्यसलाई फुट्ने गरी भकुरें । यो दोष पनि मित्र माओवादी साथीहरूकै नाममा गयो । स्वर्गीय सांसद्ज्यूको स्थान थेग्न राजधानी गएँ । उनले आफ्नो जिल्लामा बाटो बनाउन, घरघरमा चर्पी बनाउन र प्रत्येक गाविसमा औषधिको सुविधा दिन बजेट पास गराएका रहेछन् । त्यो मेरै थाप्लोमा आइपर्‍यो । सबभन्दा पहिले काठमाडौँमा घर

किनेँ । त्यसपछि खुब राम्री मैयाँ खोज्न थालेँ । बारुले कम्मर, केराको थाम जस्ता तिघ्रा, निबुवाको दानाजस्ता छाती, मृगका जस्ता आँखा भएकी तरुनी पाउन निकै दिन दौडधूप गर्नुपर्‍यो । भेट्नेबित्तिकै कोर्ट म्यारिज गरेर घर तिनकै जिम्मा लगाएँ । अनि श्रीमतीलाई काठमाडौँमा राखेको छु भन्न सजिलो भयो । गाउँलेले आफ्ना आँखाले नदेखेसम्म काठमाडौँमा राखिएकी भनिएकी श्रीमती यिनै काली घर्तिनी नै होलिन् भन्ने ठाँन्न सक्थे । गाउँमा फर्केर तपाईंहरूकै सुविधाका लागि हो भनेर सबैलाई चर्पी बनाउने र बाटो खन्ने काममा लगाएँ । पारिश्रमिकस्वरूप घरघरमा एकएक थैलो चामलको व्यवस्था गरिदिएँ । गाउँले पनि खुसी भए । धमाधम विकास हुँदै थियो । हाम्रो दुर्भाग्य, माओवादी साथीहरूको सहयोग लिएर यो तपाईंहरूकी चेलीबेटी भनाउँदी काली घर्तिनी वेश्यालयबाट उम्किन सफल भइछ । ऊ अहिले हामी सबैका सामु आफ्नो परिचय कमरेड काली घर्तिनीको नामले दिइरहेकी छ ।’

भूतेश्वरको दृष्टि सबैको अनुहारमा दौड्यो । त्यसपछि उसले हात जोड्दै भन्यो- ‘प्यारा दाजुभाइ दिदीबहिनीहरू हो, आज म तपाईंहरूको सामुन्ने यस्तो अवस्थामा देखिनुको श्रेय यिनै कमरेडलाई जान्छ । बाँकी न्याय तपाईं जनताहरूले नै गर्नुहुनेछ, भगवान् श्री पशुपतिनाथको कृपाले सबैमाथि दयामाया जागाउन् ।’

भूतेश्वरले आफ्नो भनाइ टुङ्ग्याएपछि कमरेड काली घर्तिनी अघि सरी । ‘दाजुभाइ दिदीबहिनीहरू, यो भूतेश्वरले भनेको कुरा धु्रव सत्य हो । अब म यो अवस्थामा कसरी आइपुगेँ भन्ने तपाईंहरूको जिज्ञासा मेटाउँदै छु । आगोका लपेटाले आफ्नो घर ध्वस्त हुँदै गएको देखेर म बेहोस भएछु । जब चेतना आयो, मलाई औषधि गर्न भारत लैजाने तयारी हुँदै रहेछ । मेरो जिउमा खोटो दलेर च्यापच्याप बनाइएको थियो । म आफ्नो घर सम्पत्ति सम्झेर तड्पिन थालेँ । त्यो देखेर भूतेश्वरले औँलामा कुनै पाउडर राखेर मेरो नाकमा दल्यो । त्यसले मेरो चेतना फेरि हरायो । दोस्रो पटक होस आउँदा आफूलाई कुनै होटलमा भए जस्तो ठानेँ ।

‘हामी कहाँ छौँ ? छोरो खै ?’ आफ्नो जिउतर्फ आँखा दौडाउँदै मैले सोधेँ- ‘जिउमा कुनै दुःखदर्द छैन, खोटो किन दल्नुभएको ?’

‘भूतेश्वरले भन्यो- आफ्नी प्यारीको जिउलाई कुनै दुखदर्दको अनुभूति नहोस् भनेरै औषधि घसेको हुँ । खोटोजस्तो देखिने यो औषधिले पोलेको ठाउँमा फोका र दाग बस्न दिँदैन ।’

‘त्यहाँबाट उसले दिनभरि बसमा लग्यो । अनि बीस-बाईस घन्टा रेलमा चढायो । केको अस्पताल पुर्‍याउँथ्यो, एउटा होटलमा लगेर मट्टतिेल घसेर जिउको खोटो निकाल्यो । तब पनि यसको चाल बुझ्न नसकेर वेश्यालयमा बेचिएँ ।’

कमरेड कालीले साँकसुँक गरेर आँसु पुछ्दै भनी- ‘दाजुभाइ तथा दिदीबहिनीहरू हो, मैले जिउँदै नर्क देखेकी छु । त्यहाँ मान्छेरूपी स्यालहरूले मेरो मासु लुछिरहन्थे । एकदिन तिनै राक्षसहरूबीच ग्राहक बनेर एउटा देवता आयो । उसैको कृपाले नेकपा माओवादीहरूको पहलमा त्यस नर्कबाट निस्किन सफल भएँ र विगत केही वर्षदेखि यसै पार्टीमा आश्रय लिएकी छु । यिनै माओवादी साथीहरूको सहयोगले यस राक्षस भूतेश्वरलाई तपाईंहरूका अगाडि नङ्गयाउन सफल भएकी हुँ । उठ्नुस्, हामी सबै मिलेर यो नेतारूपी राक्षसको अन्त्य गरौँ ।’

‘जा, तेरो न्याय यिनै जनताहरू गर्नेछन् ।’ छापामारहरूले भूतेश्वरलाई गाउँलेहरूका भिडमा हुत्याइदिए ।

गाउँलेहरूले तँछाडमछाड गरेर भूतेश्वरलाई पाँच-सात घुस्सा दिएपछि कालो मोसो दलेर जुत्ताको माला लगाई गाउँ निकाला गरिदिए ।

त्यसको केही वर्षपछि राज्यपक्ष र विद्रोहीपक्षको वार्ता सफल भयो । एकदिन तिनै गाउँलेहरूले भूतेश्वरलाई टिभीमा भाषणदिँदै गरेको देखे । तब ती सोझा गाउँलेहरू चाल पाए- भूतेश्वर राजधानी मै बसेर राजनीति गर्दो रहेछ ।

(स्रोत  :- साझा प्रकाशनबाट हालै प्रकाशित थापाको कम्प्युटर आतंक कथासंग्रहबाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.