~हरिमाया भेटवाल~
प्रेरणा ……. ।
म कहिल्यै पनि भुल्न सक्दिन उसलाई । यो नामलाई र नामरुपी अनुहारलाई । मेरा जिन्दगीका ती दिनहरु जो उसको सामिप्यतामा विते । ती अतीतहरु जो आज पनि वर्तमान झक्झाउँछन् प्रेरणा …….. । मप्रति उसको धारणा जे जस्तो भएपछि म उसलाई आज पनि प्रेम गर्छु, श्रद्धा गर्छु । उसको सम्झनाहरुबाटै मात्र भएपनि आनन्दित हुने गर्छ । त्यसैले नै होला म चाहेर पनि भुल्न सक्दिन । भुल्न त उसले पनि सकेकी रहिनछ । त्यसैले यो पत्र ……..पि.एम.ले भर्खर मात्र दिएर गएको । पत्र भित्र कौतुहल सबैलाई हुन्छ, मलाई पनि छ । त्यसैले पत्र खोलेर म पढ्न थाल्छु । पत्रमा शिष्टाचारका केही शब्दहरुको साथै आफ्नो लोग्ने पूर्ण रुपमा स्वस्थ भइसकेको खवर अनि विशेष आभार र सम्झना व्यक्त गरेकी रहिछ उसले ।
कति स्वच्छ, कति उच्च र कति अपनत्वले भरिएको छ यो पत्र । म पुनः दोहोर्याएर पत्र पढ्छु । अनि मात्र आश्वस्त हुन्छु । घडि हेर्छु, भर्खर चार बजेको रहेछ । पाँचबजे कार्यालय बन्द हुन्छ । तर अझ एक घण्टा त बाँकी नै छ । म सोच्दछु कति लामा छन् दिनहरु, काट्नै गाह्रो । कुनै बेला त्यो समय पनि थियो, र मलाई दिनहरु वितेको पत्तै हुँदैनथ्यो । छोटा लाग्दथे दिनहरु, म चाहन्थेँ घडिको सुई पनि टक्क बन्द होस् र दिनहरु नजिकियून् । तर पाँच बज्दथ्यो, ऊ फर्कन्थी । म उसलाई गइरहेको हेरिरहन्थेँ घडीको सुई नरोकिएपनि सास रोकेर ।
साँच्चै नै साहै्र चाहन्थेँ म उसलाई । गम्भीर अनुहार, टोलाइरहने आँखाहरु र आवश्यकता भन्दा बढी कसैसँग नबोल्ने यही त थियो उसको विशेषता । हुन त ऊ एउटा टाइपिस्ट भएर आएकी थिई यो कार्यालयमा । तर के कुराले हो कुन्नी ऊ यहाँ आएपछि उसको व्यक्तित्वले मेरो दिमागमा यस्तो टाईप गरिदिएको थियो कि म उसबाट प्रभावित नभई बस्नै सकिन, उसको अनुहार जो सधैं एउटा पीडा बोकेर हाँस्न खोजिरहे झैं लाग्दथ्यो । एउटा कौतुहलता, जसलाई केलाउन खोज्दा म उसको सामिप्यमा आएँ ।
‘किन तिमी यस्तो गम्भीर प्रेरणा ?’ एक दिन सोधेको थिएँ मैले । ‘किन ?’
तिम्रो अनुहार पीडा बोकेर हाँस्न खोजेजस्तो लाग्छ मलाई ।
‘म पीडा बोकेर हाँस्न खोजेझैं लाग्छ तपाईँलाई, तपाईँ भ्रम बोकेर बाँच्न खोजेझैं लाग्छ मलाई ।’
‘किन ?’
‘म प्रति तपाईँको धारणा देखेर ।’
तर प्रेरणा ……..
छाडिदिनुहोस् यस्तो कुरा ।
ऊ नमिठो पाराले मुस्कुराउँदै मेरो कुरा टारिदिन्छे ।
म सधैं उसलाई गहिराईबाट नियाल्न खोज्थें । ऊ सधैं मलाई सतहमा छाडिदिन्छे । तर म भित्रको कौतुहलता यथावत नै रह्यो ।
‘जिन्दगी के हो प्रेरणा ?’ जिन्गदीको् कुनै निश्चित अर्थ छैन जस्तो लाग्छ मलाई । जिन्गदीको सन्दर्भमा सबै व्यक्तिहरुको आ–आफ्नै परिभाषा हुन्छ । जिन्दगीलाई मान्छेहरुले आफूसँग गाँसेर परिभाषा दिन्छन् । त्यसैले सबैको जिन्दगीप्रतिको धारणा बेग्लाबेग्लै हुन्छ । जस्तो तपाईँको जिन्गदीप्रतिको धारणा एउटा होला र मेरो एउटा होला । ‘जस्तो तपाईँको धारणा सुनौं न त ?’ म उसलाई कोट्याउने प्रयासमा थिएँ ।
‘मेरो कुरा गर्नुहुन्छ भने मेरो विचारमा जिन्दगी भनेको बाँच्नु हो ।’
‘मात्र बाँच्नु ?’
‘मेरो विचारमा ।’
‘बरु तपाईँको विचारमा भन्नुस् त ?’
ऊ उल्टै मलाई कोट्याउँछे ।
म …….. । मेरो त निश्चित धारणै छैन । किनकि मैले त जिन्दगीलाई अहिलेसम्म गहिराइबाट अनुभव गरेको छैन । म अकमक्क हुँदै उत्तर दिन्छु ।
जिन्दगीको कुरा पनि तपाईँ आफै उठाउनुहुन्छ र जिन्दगीप्रतिको धारणा पनि छैन भन्नुहुन्छ ? कस्तो गजब ।
यसरी म कुरा उठाउँथे, ऊ मेरो कुरामा साथ दिन्थी । उसको कुरा र उसको सामिप्यता मलाई आनन्ददायी लाग्थ्यो ।
त्यसैले म सधैं लालायित रहन्थेँ उसको सामिप्यता पाउनको लागि । तर पाँच बज्दथ्यो, ऊ फर्कन्थी र म भित्र शुरु हुन्थ्यो केही मौन छट्पटाहट ।
उसको व्यवहार र कुराहरु …… कति गहकिला छन्, अनुभवले पोख्त भएका । जिन्दगीलाई बाँच्नुको अर्थ लगाउँछे किन ? म उसको धारणालाई एकान्तमा केलाउँछु । कस्तो मान्छेले जिन्दगीलाई बाँच्नुको अर्थ लगाउँछन् ? मान्छेले जिन्दगीलाई जिउँछन्, कोही आँतको लागि, कोही नामको लागि त कोही रमाइलो र मनोरञ्जनको लागि । तर कोही मान्छेहरु जिन्दगीको उद्देश्य नै बाँच्नु ठान्दछन् । यो धारणा त जिन्दगीबाट निसास्सिएकाहरुले मात्र लगाउँछन् । जसका रहरहरु मरिसकेका छन्, उनीहरुको धारणा हुन सक्छ बाँच्नु । बाँच्नु सबैलाई पर्दछ तर बाँच्नुको औचित्य ? मान्छेहरु बाँच्छन् तर बाँच्नुको पनि औचित्य हुनु प¥यो नि ! के प्रेरणाको जिन्दगीप्रतिको नैराश्यताको अभिव्यक्ति हो त यो ? तर उसले किन निराश हुनु प¥यो ? के कुरामा अपूर्ण छे र ऊ ? सबै कुरामा पूर्ण देख्छु म । राम्री छे, पढेकी छे, नोकरी छ सायद ………………. गरीवीले …….., गरीवीले मान्छेहरु निराश हुनु पर्छ त ? उसको टोलाइरहने आँखाहरु र गम्भीर अनुहार …… । अवश्य पनि केही … ! म उसलाई लिएर अनेकौं अड्कलबाजीहरु लगाउँछु । तर मेरो नाप तौल मभित्रै सीमित रहन्छ । म महसुस गर्दैछु मेरो कौतुहलताले म ऊसँग नजिकिंदैछु, धेरै नजिकिंदै छु । यतिसम्मकी उससँगको एकछिनको विछोड पनि असह्य हुन थालेको थियो । मेरो प्रेम मभित्रै सीमित थियो । तर अब मैले यो प्रेमलाई उसको अगाडि अभिव्यक्त गर्नैपर्ने थियो ।
‘प्रेरणा यो कुरा तिमीलाई म अगाडि नै भन्न चाहन्थेँ । ऊ अफिस आउने बित्तिकै मैले आफ्नो कोठामा बोलाएर भनेँ ।’
‘के कुरा भन्नुहोस् न ?’
ऊ आश्चर्य भएर मलाई हेर्न थाली ।
‘तिमी अन्यथा नलगाउ प्रेरणा … म ….. ।’ मेरो कुरा घाँटीमै अड्क्यो ।
‘के कुरा भन्नुहोस् न ?’
‘प्रेरणा, म तिमीलाई प्रेम गर्छु ।’ त्यसैले …… मैले एकैसाथमा भनिदिएँ ।
‘तपाईँ ?’
ऊ एकटकले मलाई हेर्न थाली र एकछिन पछि टाउको निहुराएर आँसु झार्न थाली ।
‘तिमीलाई नराम्रो लाग्यो मेरो कुरा ?’ मैले डराउँदै प्रश्न गरेँ ।
‘हैन ।’ तर ऊ आँसु झार्दै नै थिई ।
‘कसरी ?’
‘तपाईँलाई थाहा छ, म विवाहित छु ।’ उसले विस्तारै मलाई जवाफ फर्काई ।
‘प्रेरणा….. !’ म आश्चर्यचकित भएर एकटकले उसलाई हेर्न थाल्छु ।
‘हो, म विवाहित छु ।’
‘तिमीले मलाई पहिल्यै किन भनिनौ ?’ बज्रपातले घायल भएर म विस्तारै सोध्छु ।
‘तपाईँले मलाई सोध्नु भएन, मैले भनिन ।’
‘मैले विहे गरेकी छु भनेर सुनाउँदै हिंड्नु पनि त भएन ।’
‘अनि तिम्रो श्रीमान् ?’
‘यहीँ हुनुहुन्छ ।’
म अब उसलाई अरु कोट्याउने आँट गर्न सक्दिन । समयले कतिखेर फट्को मार्छ थाहै पाइँदैन । दिनहुँ कति पाइलाहरु यो कोठामा छिर्छन् र कति बाहिरिन्छन् । मान्छेहरु कति बदलिए तर प्रेरणा त्यस्तै छे । त्यही टोलाइरहनु आँखाहरु र त्यही गम्भीर आनुहार पीडा बोकेर हाँस्न खोजेझैं ।
मेरो प्रेम मरेको थियो ……. तर कौतुहलता मरेको थिएन । प्रेरणा किन यति गम्भीर छे ? के उसको पारिवारिक जीवन सुखी छैन ? के उसलाई दुःख छ ? आदि–ईत्यादि धेरै कुराहरु सोच्थें म उसको विषयमा ।
‘तिम्रो श्रीमान्सँग मलाई भेटाउँदिनौ प्रेरणा ?’ मैले उसलाई एकदिन सोधेँ ।
‘भेटाउँला कुनै दिन ।’ विस्तारै मेरो उत्तर दिई उसले ।
तर उसको अनुहार गम्भीर हुँदै गयो ।
‘प्रेरणा …. एउटा कुरा सोधुँ ?’
उसले नबोले मेरो अनुहारमा टोलाउन थाल्छे ।
‘तिमी आफ्नो परिवारमा खुसी छैनौ जस्तो लाग्छ मलाई ।’
‘मान्छेको सुख, दुःख अनुहारमा लेखेको हुन्छ र ?’ ऊ झस्कँदै जवाफ फर्काउँथी ।
‘त्यो त हुँदैन तर ….. ।’
ऊ मौन हुन्थे । म भित्रको उत्सुकता म भित्रै गाडिन्छ ।
एकदिन ऊ अफिस आउँदिन ……. । दुई दिन आउँदिन……. तीन दिन आउँदिन । म भित्रको छट्पटी बढ्न थाल्छ । म सोच्दै हुन्छु । के भयो उसलाई ? किन अफिस आईन ??? त्यही सोचाइमा रुमलिंदै म खोजी–खोजी भौँतारिएर उसको कोठामा पुग्छु । त्यो खण्डरझैं तेर्सिएको पुरानो घरको छिंडीको कोठा । म ढोका ढक्ढक्याउन पुग्छु ।
‘तपाईँ !’ ऊ ढोका खोलेर अवाक् भएर हेर्न थाल्छे ।
‘किन र ? म यहाँ आउनु हुँदैन ?’ म नऔपचारिक व्यङ्ग्यले उसलाई प्रहार गर्छु ।
‘त्यसो होइन ।’ ऊ लज्जित भएर मेरो व्यङ्ग्यलाई फर्काउने प्रयास गर्छे ।
‘तिमी अफिस आइनौ, कतै केही भयो कि भन्ने शंकाले … ।’
‘साँच्चै भित्र बोलाउन्नौ … ?’ ढोकामा उभिएर कुरा गर्न नरमाइलो लाग्दै थियो ।
‘ए …! आउनुहोस् न ।’
ऊ ढोका छेउमा उभिएर मेरो स्वागत गर्छे । भित्र गएर म एउटा पुरानो कुर्सीमा बस्छु । थकाईले मेरो मुख सुकिरहेकोले होला ऊ मेरा लागि पानी लिन भित्र पस्छे र आँखाहरुले उसको कोठालाई केलाउँछु । पुरानो र जर्जर भइसकेको त्यो कोठा । बाँच्नको लागि अति आवश्यक सामानहरु मात्र राखिएका छन् । तर सफा, उज्ज्वल प्रेरणा जस्तै, उसको हृदयजस्तै ।
‘पानी लिनुहोस् ।’ ऊ पानी लिएर मेरो अगाडि उभिइरहेकी हुन्छे ।
‘ए ए ए ए ……. ।’ म झस्किन्छु र म उसको हातबाट पानी लिएर एकै साथमा पिउँछु ।
‘को हो प्रेरणा ?’ भित्रबाट दयनीय पाराको मसिनो स्वर आउँछ ।
‘मेरो सर !, अफिसको सर आउनु भएको छ बाबा ।’
ठूलो स्वरले मेरो परिचय दिन्छे ।
‘को हो प्रेरणा ?’
म विस्तारै उसँग भित्रबाट बोल्ने व्यक्तिको परिचय सोध्छु ।
‘मेरो श्रीमान् !’
‘किन विरामी हुनुहुन्छ ?’
ऊ मौन हुन्छे । सायद यही कारणले ऊ अफिस नआएकी हुन सक्छे ।
‘तिम्रो श्रीमान्सँग भेटाउन्नौ ?’ म तिम्रो श्रीमान्सँग भेट्न चाहन्थें ।
‘हिँड्नुहोस् न ।’ ऊ असजिलो पाराले स्वीकार गर्छे ।
खाटमा सुतिरहेको त्यो निर्जिव जस्तो व्यक्ति …….. । म अभिवादन गर्छु । ऊ टाउको हल्लाउने प्रयास गर्छ ।
‘कति दिन भयो ?’ म विस्तारै सोध्छु ।
‘तीन वर्ष ।’ ऊ सहज स्वरमा जवाफ फर्काउँछे । म झस्किन्छु ।
‘तीन वर्ष भइसक्यो ?’ यो व्यक्ति विरामी भएको ? यो व्यक्ति ……. , यो खाटमा……. । म एकटकले उनको अनुहार हेर्छु । ‘के भएको ?’ म सहज हुने प्रयास गर्छु ।
‘पक्षघातको रोगी हुँ म । हातखुट्टा केही चल्दैनन् ।’ मैले टेकेको धर्ती कसैले तानिरहे जस्तो लाग्छ मलाई । म लर्वराउँछु । त ऊ बोल्दै हुन्छ । ‘तीन वर्ष भयो दुर्घटनामा परेको थिएँ । त्यहीँबाट यस्तो भयो मलाई । जिन्दगी र मृत्युको दोसाँधमा छु । प्रेरणा नभएको भए म त्यही बेला मरिसक्ने थिएँ । उसको सङ्घर्ष र पसिनाबाट म बाँचेको छु, नत्र …….। औषधि उपचार सबै उसैको त भरमा छ । म त यसरी जिउँदो लास भएको तीन वर्ष भइसक्यो ।’
‘के भन्छन् डाक्टरहरु ? प्रेरणा !’ म मसिनो स्वरमा सोध्छु ।
‘ठीक हुन्छ भन्छन् । तर एकफेर बाहिर लान पर्छ रे ।’ उ टाउको निहुराएर बोल्छे ।
फर्कँदा बाटोमा म सोच्दै हुन्छु, प्रेरणा किन यति गम्भीर थिई ? किन उसको आँखाहरु टोलाइरहन्थे ? किन अनुहार पीडा बोकेर हाँस्न खोजेझैं लागिरहन्थ्यो ? किन उसको जिन्दगीको धारणा त्यस्तो थियो ? मेरा सबै कौतुहलताहरु ऐनाझैं स्पष्ट भइसकेका थिए मेरै अगाडि । त्यो प्रेरणा, उसको त्यो सङ्घर्ष, त्यो लोग्नेप्रतिको प्रेम । म उसको बलिदानी प्रेमलाई टुक्र्याउने प्रयत्न गर्दै थिएँ । म जति उसलाई सम्झन्थें त्यति नै आफूलाई तुच्छ महसुस गर्दै थिएँ ।
त्यसपछि म प्रेरणालाई अझै प्रेम गर्न थालेको थिएँ, एउटाको सम्मानको प्रगाढ प्रेम । मैले उसलाई एउटा सम्मानित दृष्टिले हेर्न थालेको थिएँ । उसको सङ्घर्ष, उसको प्रेम मेरा लागि आदर्श बनेको थियो । त्यसपछिका दिनहरुमा म उसको लोग्नेलाई भेट्न उसको कोठामा गइरहन्थेँ । केही समयको अन्तरालपछि ऊ मेरो अफिसमा आई ………. अनुहारमा खुसी थियो । कुनै एउटा सामाजिक संस्थाले सहयोग गर्ने भएछ । त्यसैले श्रीमान्को उपचारको लागि बाहिर जाने भएकी रहिछे ऊ । म हर्षित भएँ र सक्दो सहयोग गरी विदा गरेँ । प्रेरणा आफ्नो लोग्नेलाई लिएर गई । उसको उपचार भयो, उसको लोग्ने स्वस्थ भयो । उसले मलाई अझै पनि विर्सिएकी रहिनछ त्यसैले त यो पत्र पियनले भर्खर मात्र दिएर गएको । प्रेरणा मेरो सुख दुःखको प्रेरणाको स्रोत बनेकी छे । आज पनि उसको सङ्घर्ष, उसको प्रेम मेरो आदर्श बनेको छ ।
प्रेरणा…… मात्र प्रेरणा ।
(श्रोत :- Onlinekhabar )