दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको थियो, फेर्ने सामर्थ्र्य थिएन । विकल्पमा घर बेच्नै पर्ने भयो । टङ्गाल गैरीधारामा एक रोपनी नौ आना जग्गा भएको घर बाउन्न हजार रूपैयाँमा २०३० सालतिर होला, बिक्री भयो । मेरो भागमा पैंतिस हजार रूपैयाँ पर्यो ।
जन्मघर बेचेको धेरै भएको थिएन । चौध-पन्ध्र वर्ष बिताएको घर, जहाँ म जन्मी, हुर्किएर किशोर भएर यौवनको सँघारमा उभिएको थिएँ । एक दिन दिनभरि घुमें । मनमा केके कुरा खेल्दै थियो, हिँड्दाहिँड्दै म त साँझ वास बस्न जन्मघरको आँगनमा पुगेछु । जब घरतिर आँखा लगाएर पस्न खोजें अनि पो झसङ्ग भएँ- यो घर त अरुलाई नै बेचिसकिएको हो । त्यसपछि म फरक्क फर्केर रूँदैरूँदै आफ्नो डेरातिर लागें ।
हाम्रो बा सङ्खुबाट काठमाडौं आएपछि ‘जङ्ग थापा’, ‘शमशेर थापा’ खलकको गुरू बन्नुभएछ । धेरै जङ्ग र शमशेर थापाहरुलाई गायत्री मन्त्र सुनाउनुभयो र उनीहरुको घरमा चाडवाड वा पूजाआजा हुँदा कर्मकाण्डको काम गर्न गर्नुभएछ । सानो छँदा मेरी आमासँग म पनि थापाहरुको घरमा जानेआउने गर्थे । मलाई सबैले माया गर्थे । गङ्गाजङ थापा, म र मेरो नाति मुकुन्द नै थियौं । लुलु थापा मेरी आफ्नै दिदी जस्तै थिइन् । मलाई गाली गरीगरी पढाउँथिन् । अरु थापाहरु पनि मलाई माया गर्थे ।
‘आमाबाबु नभएको बिचरा’ भन्थे । कसैले खर्च दिन्थे, कसैले लुगाकपडा किनिदिन्थे । तिनैमध्ये नक्सालमा बस्ने एक जना थापालाई पनि मेरो बाले नै गायत्रीमन्त्र सुनाउनुभएको रे । उनलाई घर बेचेको पैसा मसँग छ भन्ने थाहा रहेछ । उनले मलाई नक्साल चारढुङ्गे र भगवती बहालको बीचमा ‘चार आना जग्गा बेच्छु’ भने र बैना भयो । उनको घरको माथिल्लो तला एक जना प्रधान थरको मान्छेलाई बन्धकी दिएका रहेछन् । मसँग पैसा लिए र उनलाई हटाए । मलाई उनले आफ्नै घरको त्यही माथिल्लो तलामा लगेर राखे । हामी दिदीभाइ त्यहीँ बस्न थाल्यौं ।
उनका छोराछोरीसँग हाम्रो राम्रो सम्बन्ध हुँदै गयो- साथी वा दिदीभाइ जस्तै । ‘जग्गा पास गरिदिबक्स्योस् न, घर बनाउनुपर्यो’ भन्दा ‘पखपख’ भन्दै आलेटाले गर्दै गए । पछि ‘जग्गा होइन, घरै लिऊ बाउन्न हजारमा’ भन्ने कुरा गरे । त्यस बखत मेरो सबै अभिभारा जानदेवी दिदी र भिनाजुले लिइदिनुभएको थियो । मसँग भएको पैसा पैंतिस हजारमा अरु पैसा दिदीले थपेर त्यो घर किन्ने कुरा भयो । थप पैसा दिएर बाउन्न हजार पुर्यायौं । तर पूरै पैसा लिएपछि पनि उनी घर दिन आलटाल गर्दै गए । र्झकने, भेट्न नखोज्ने जस्ता व्यवहार प्रदर्शन गर्न थाले ।
घरमा बस्दै जाँदा थाहा हुँदै गयो, आफ्नो भागमा परेको तराईको एघार सय बिघा जमिन, अरु भएका जग्गाजमिन सबै बेचेर खाइसकेका रहेछन् । बिहानदेखि बेलुकीसम्म पैसा सापट दिएका मान्छेहरु आउँथे । बाबुबाजेको सम्पत्ति बेच्दै, खाँदै, सिकार खेल्दै, अत्तर छर्कंदै, गाडी फेर्दै, मोजमस्ती गर्दै हिँड्ने अनि आफूचाहिँ केही नगर्ने भएपछि जतिसुकै सम्पत्ति भए पनि टिक्तैन मान्छेको । हामीले पूरै पैसा दिएर ‘घर पास गरिदिइबक्स्योस्’ भन्यौं, बर्षौ कुर्यौं । कहिले ‘तिमीहरुको पैसा फिर्ता गरिदिन्छु’ भन्थे, कहिले कहाँकहाँ लगेर ‘यो जग्गा तिमीहरुलाई किनिदिन्छु’ भन्थे तर घर पास गरिदिएनन् ।
‘अब हामी फस्यौं’ भन्ने पक्का भयो र अदालतमा मुद्दा हाल्यौं । मुद्दा हालेपछि उनका छोराछोरीसँग हाम्रो दुस्मनी हुन थाल्यो । म पनि उग्र हुन थालें । डर, त्रास र धम्की मलाई केही जस्तो पनि भएन । हामीले तल भुइँतलामा भएको ट्वाइलेट प्रयोग गर्नुपथ्र्यो । उनीचाहिँ बीचको तलामा भएको ट्वाइलेट, बाथ रूम प्रयोग गर्थे । तल सेफ्टी ट्याङ्क भरिएपछि सफा गरिदिँदैनथे । हामीले प्रयोग गर्ने ट्वाइलेट भरिएर भित्र छिर्न सकिँदैनथ्यो । बिन्दु दिदी ट्वाइलेट प्रयोग गर्न छिमेकीकहाँ जान्थिन् । मचाहिँ पत्रिकामा ट्वाइलेट गरेर माथिल्लो तलाबाट उनको झ्यालनिर खसालिदिन्थें । आधा रातमा माथि कोठाको भित्ता प्वाल पारेर पिसाब फेरिदिन्थें । एक पटक मध्यरातमा पलङ घ्वार्रर सार्दै थिएँ । पुलिसलाई रिपोर्ट गरेछन् । मलाई अञ्चलाधीश कार्यालय लगियो । अञ्चलाधीशले पनि मलाई झन्डैले थप्पड नहानेको । म अञ्चलाधीशसँग ठूलठूलो स्वरले बाझें । त्यस बेलाका अञ्चलाधीशसँग त्यसरी कराउने हिम्मत सितिमिति कसैको पनि हुँदैनथ्यो ।
अञ्चलाधीश सुन्दरप्रताप शाहका पीए मेरो साथी राजाराम पौडेलका काका राधेश्याम पौडेल थिए । उनलाई म ठगिएको विषयमा थाहा थियो । उनले पनि अञ्चलाधीशलाई सम्झाइदिए । त्यस्तो उग्र भएको अञ्चलाधीशले भने- “ए त्यस्तो मान्छे भइसकेछ हँ त्यो ? मैले पनि अलिअलि सुनेको थिएँ ।” मलाई प्रहरीको खोरबाट मुक्त गरेर घर पठाइयो । थापाकाजीले मलाई घरबाट निकाल्न अरु धेरै तरिका अपनाए तर सकेनन् । म घर पुगेपछि मैले आफ्नो उग्र क्रियाकलाप जारी राखें । मलाई जसरी भए पनि मेरो पैसा फिर्ता लिनु थियो तर पैसा फिर्ता गरेनन् । उल्टो उनी त आफू बसेको घर भाडामा दिएर डेरामा पो बस्न गए ।
त्यस बखत मलाई पूरै नक्साल टोलकै साथ थियो । सबै नक्सालवासीलाई मेरो वेदना थाहा थियो । विषेश गरी मेरा साथीहरु राजु मानन्धर, राजु भुजू, रवीन्द्रदास श्रेष्ठ, सुरेन्द्रमान श्रेष्ठ, अशोक चालिसे, राजाराम पौडेल, प्रकाशपाणि गौतम, रमेश डङ्गोल, रत्न मानन्धर, मनोहर श्रेष्ठ आदिले मलाई समस्यामा सहयोग गरेका थिए । अदालतबाट आएको पुर्जी टाँस्न लानुपथ्र्यो, साक्षी बस्नुपथ्र्यो । यस्तो जटिल काममा उनीहरुले सधैं मलाई सघाए । यतिसम्म कि विपक्षीको छोराले मलाई कुट्न मान्छे जम्मा गरेर ल्याउँदा यी साथीहरु मेरा लागि पिटाइ खानसमेत तयार भएर आए ।
एघार वर्षपछि मुद्दा फैसला भयो । म त्यही घरमा बसेको हुनाले पैसाको ब्याजचाहिँ नपाउने, सावाँ फिर्ता दिने भयो । २०३१ को बाउन्न हजार रूपैयाँ एघार वर्षपछि फिर्ता आउँदा पैसाको महफ्व धेरै घटिसकेको थियो । अर्थात् मेरो पैसा खोस्टा भइसकेको थियो । विशेष गरी २०३६ सालपछि काठमाडौंमा जग्गाको भाउ उत्पात बढ्यो । एघार वर्षपछि त्यो मेरो भागमा परेको ३५ हजार रूपैयाँले त विकट ठाउँमा चार आना जग्गा पनि नपाइने भइसकेको थियो ।
उनले त्यो पैसा पनि फिर्ता गरेनन् । अब लिलामी गरेर असुलउपर गर्ने प्रक्रियामा लागें । लिलामीको चिठी नबुझ्ने, म्याद बक्यौती गर्ने अनेक उपाय हुँदो रहेछ । चन्द्रकुमार भट्टराई, अमृत शाक्य, जगत्पाल श्रेष्ठ दाइहरुले एउटा नाटक गरिदिए- त्यो नक्सालको घर दुई लाख पचास हजारमा किन्ने भनेर । थापा डेढ लाख पाए बेच्ने ग्राहक खोज्दै हिँडिरहेका थिए । दुई लाख पचास हजार दिन आउँदा आत्तिए । दाइहरु घर हेर्न आए जस्तो गर्दै, मलाई पनि नचिने जस्तो गरी आए । मैले भनें- “उहाँचाहिँ को नि ? यो घरमा मेरो मुद्दा छ, मेरो पैसा नतिरीकन हेरौं त कसले घर किन्दो रहेछ ? किन्नेलाई पनि काट्छु, बेच्नेलाई पनि काट्छु !”
मलाई सम्झाइयो, तिम्रो पैसा फिर्ता दिने भनेर । दाइहरुले पनि ‘ल हामी पक्का किन्छौं तर यो भाइको पैसा फिर्ता दिएपछि मात्र’ भने । मैले सुनेको- थापाको सालोले सुन बन्धक राखेर बाउन्न हजार झिक्यो रे । मलाई पैसा तिर्यो तर पनि म ठगिएँ । मलाई अत्याचार भयो । अन्ततः म त्यो घरबाट आजाद भएँ । अनि चन्द्रकुमार भट्टराई, अमृत शाक्य, जगत्पाल दाइहरुले पनि मेरो पैसा तिरिसकेपछि ‘हामी घर किन्दैनौं । त्योभन्दा राम्रो घर अन्त पाइयो’ भनिदिएछ । म चन्द्र दाइ, अमृत दाइ, जगत् दाइहरुप्रति जीवनभर आभारी रहन्छु ।
तर मैले नक्सालमा जग्गाजमिन किन्न सकिनँ । मैले जीवनमा धेरै थोक पाएको प्यारो नक्साल टोल र साथीभाइलाई छोडेर जानुपर्ने भयो ।
(हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ बाट)