~अमर न्यौपाने~
बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ ।
घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी । सुनेको कुरा सम्झिन सजिलो हुँदो रहेनछ । उसलाई यस्तै लाग्यो ।
सम्झिएर अतीत छाम्ने प्रयत्न गर्दै एक्लै मनमनै बोल्न थाली- सल्यानको निगालचुगा गाउँमा जन्मेकी अरे म, आमा सुतेकै ओछ्यानमुनि । जन्मिएर रोएपछि मात्र ब्यूँझेका अरे बा । कस्तो गहिरो निद्रामा सुतेका सुत्न पनि ? दिनभरिको कामले थाकेर होला नि ।
कति खप्न सकेकी आमाले पनि ? नानी पाउने व्यथा लाग्दा पनि बालाई नउठाउने ? मलाई भने खप्ने कुरा के थाहा जन्मनेबित्तिकै ?
धरती छुनासाथ रोइछु च्याहाँ… च्याहाँ… च्याहाँ… ! बा ब्यूँझेछन् । छोरा भयो कि छोरी ? सोचेछन् । उज्यालो भएपछि थाहा भयो अरे- छोरी जन्मेकी रहिछ । दस महिनासम्मको जिज्ञासा र कुतूहलताको थाहा छामेर भए पनि लिनुपर्ने हो आमाले त अँध्यारोमै ।
आमाका कुरा- प्रजातन्त्र जन्मेकै वर्ष छयालीस सालको अन्तिम महिनाको अन्तिम गतेको अन्तिम समयमा उज्यालो नहुँदै जन्मेकी अरे म । जन्मेको केही समयपछि उज्यालो भयो अरे । उज्यालो पहिलेको जस्तै लागेर आमालाई प्रजातन्त्र आएको हो कि होइन, शङ्का लागेको थियो अरे । आफ्नै कानले रेडियोमा सुनेकाले पत्याएका बाले बुझाएजस्तो गरेपछि आमाले बुझेजस्तो गरेकी अरे ।
यी सबै सुनेको भरमा उसले सम्झिएका कुरा । बाल्यकाल सुखद होस् कि दुःखद, बच्चाका लागि के फरक पर्छ र ? उसलाई पनि केही फरक परेन । सबै बच्चा हुर्किने तरिकामा हुर्किई ऊ । आमा र समय मिलेर हुर्काए । आमा र समयमा कसको भूमिका बढी भन्ने कुरा टुहुरा केटाकेटीलाई थाहा होला । एउटै त रहेछ आखिर सबैको हुर्किने अभौतिक प्रक्रियाको भूमिका ।
बाको अनुहार सम्भिmने प्रयास गर्दा अरु सम्झिन्न । तमाखु तानेर मुखबाट धूवाँ निकालेको र त्यो धूवाँमा आफू हराएको सम्झिन्छे । लुकेर बाको तमाखु तान्न लाग्दा उसको पालोमा चिलिममा आगो निभिसकेको हुँदो रहेछ । धूवाँ आउँथेन । पानी मात्र कराउँथ्यो । हुक्काको पानी कराएको आवाजसँग रमाउँथी ।
डोको बुनिरहेको बेला बाले, डोकाको आँखा गनेर बसेको, चोया काड्दा हात काटेको, बाले रक्सी खाएर आमालाई पिटेको, पिटेपछि झन् माया गरेर फकाएको, तर आमाको अनुहार बासँग धेरै बेरसम्म रिसाएको सम्झी ।
अझै अगाडि सम्झी- घरमा बसिसाद्धे थिएन । बन्दुक लिएका मान्छेहरु आकोआई गर्थे । बन्दुकको भन्दा बन्दुक बोक्ने मान्छेको बढी डर भयो ।
त्योभन्दा पनि डर हैजाको भयो । बर्खाको बेला । एक्कासि फैलिएको हैजाले गाउँमा मात्रै तीस-पैतीस जनाको ज्यान गयो । त्यसमा उसका दुई भाइ पनि परे । बा पनि परार हैजाकै महामारीमा गए । आमालाई त्यो ठाउँ चिहानजस्तो लाग्यो । पटक्कै बस्न मन लागेन । आमाले पनि बाँच्न मन गरिन् । मलाई पनि बचाउन खोजिन् । बाँच्ने नै हो भने त्यहाँ बस्न नहुने आमाले ठम्याइन् ।
एउटा तन्ना र आमाको पोल्टामा जे भएको श्रीसम्पत्ति र लुगाफाटो अटायो । त्यसपछि तीन दिन हिँडेर, त्यसपछि गुडेर नेपालगन्ज आइएछ ।
म नभएको भए आमा त्यतै भीरबाट फदालेर मर्छु कि जस्तो गरेकी थिइन् अरे । आमालाई नमर भन्ने अरु कोही थिएन । आमालाई मैले नै बाँच्न बाध्य बनाएजस्तो भयो । बल्लबल्ल बाँचेकी आमा पनि । भन्थे- उनन्साठी साल हो । त्यही साल सुरक्षित बाँच्न सहर, सहरको पनि मन्दिर आएकी आमा, बेवारिसे भएर मरिन् । सानोमा झैँ बचाएजस्तो गर्न सकिनँ मैले आमालाई !’ सोचेर ऊ निकै बेर खुब घोरिई ।
उसलाई चौध वर्षकी बनाएर (आफै भएकी ?) उसकी आमा मरी । अब उसलाई सुरक्षा कसले दिन्छ ? सुरक्षा पाइने ठाउँ चारैतिर हेरी । केही देखिन । धेरै बेरपछि उसले देखी- मन्दिर । त्यही मन्दिरले गर्ला घरको काम । मन्दिरका देवीदेवताले गर्लान् सुरक्षाको काम (बा, आमा, लोग्नेको काम ?), सोचेर आँसु पुछी । पुछेको आँसु चुहिँदै कुहिनाबाट खस्यो ।
कहिल्यै कुहिनाबाट आँसु खस्ने गरी रूनुपरेको थिएन । त्यत्रो दुःख पर्दा रोइन । बा मर्दा रोइन । दाइ मर्दा रोइन । बरू भोक लाग्दा रोई । आमाले पिट्ता रोई । तर, हत्केलामै सुक्ने आँसु रोएकी थिई । कुहिनैबाट आँसु चुहिने गरी रोएकी थिइन । कुहिनाबाट आँसु झार्ने गरी रोएको पहिलोपटक आमा मर्दा नै हो ।
मान्छेहरु उसकी आमालाई बौलाही भन्थे । बौलाहीकी छोरी बौलाही त होली, तर आफू बौलाही हुँ भन्ने थाहा छैन उसलाई । अरुले कसरी थाहा पाए ? आमाले आफूलाई खुब माया गरेको सम्झी अनि हाँसिरहने स्वभाव पनि । रिस उमार्ने कुरा केही थिएन घर, जग्गा, धनसम्पत्ति, छिमेकी, आफन्त, लोग्ने, सन्तान । ऊबाहेक ।
मन्दिर, घर नहुनेहरुको घर । प्रसाद, भोजन नहुनेहरुको भोजन । त्यसैले मन्दिरमा बाँचुन्जेल बाँच्न सजिलो होला अन्तभन्दा । किनभने त्यहाँ भगवान् छन् । नजिक भएपछि सबै भगवानले देख्छन् । बदमासी गर्नेहरु पनि भगवानसँग डराउलान् । सुरक्षित भइएला । उसकी आमाको यो विचारलाई उसले आफ्नो पनि विचार बनाई ।
त्यो बेला आमासँग सोधेकी थिई- ‘केको सुरक्षा ?’
खै के भनिन् आमाले उति बेला ।
-हामीसँग सुरक्षा गर्नुपर्ने के छ र ?’ त्यो पनि सोधेको सम्झी तर उत्तर सम्झिन ।
– जे भए पनि सबै कुरा भगवानले सुरक्षा गर्देलान् नि !’ सोची ।
आमा मरेपछिको सानैमा उसलाई घर कहाँ हो ?’ सोधेको थियो कसैले । उसले मन्दिर देखाएकी थिई । उत्तरबाट मनोरञ्जित भएर सोध्नेले फेरि सोधेको थियो । त्यो झन् मनोरञ्जित भएर बौलाहीलाई जे भने पनि हुन्छझैँ भनेको उसले बुझ्न सकिनँ । देवताहरुलाई सङ्केत गरेर भन्यो
– ती त नपुंसक हुन् ।’
– तेत्तीसकोटी कहाँबाट जन्मे त ?’
– तो त उहिलेको कुरा ।’
-भगवान् कहिल्यै मर्दैनन् । मेरा बाआमा मरे ।’
त्यसपछि त्यसलाई मनोरञ्जन गर्न पुगेछ । गयो ।
घरमा खुइलिएको सानो ऐनामा हेरेकी थिई धेरै पटक आफ्नो अनुहार । तर आˆनो अनुहार बोध गरेकी थिइन उसले । वागेश्वरीको तलाउमा कति पटक आफूलाई देखी होली । मन्दिरतिर भित्तामा हुँदो हो ऐना पनि । हेरी होला । तर, बोध गरेकी थिइन ।
आमा मरेको वर्ष । वर्ष के भन्नु महिना । तलाउमा निहुरिएर नुहाउँदा उसलाई आफ्नो अनुहार बोध भएझैँ भयो । जहाँ देखे पनि आफूलाई चिन्छुजस्तो भयो । नुहाउँदानुहाउँदै आफ्नो अनुहार देखेर घीन लाग्यो- छिः कति नराम्रो अनुहार ! पानीमा देखिएको अनुहार हेर्दै नुहाउँदा पिसाब आयो । फेरिदिई । त्यही बेला च्याप्यो, के गर्ने त ? तलाउमा कसले थाहा पाउँछ र ?
सधैं देखेको आफ्नो अनुहार थाहा पाएर उसलाई आफ्नै अनुहारप्रति घृणा जाग्यो । आफ्नो रुपको सौन्दर्य महसुस नहुँदा आफ्नो अनुहारप्रति कति महान् गर्व थियो उसलाई । कालो, त्यो पनि फुस्रो कालो अनुहारमाथि नमिलेको नाङ्गो ध्वाँसे रूखो पहाडजस्तो नाक, नाकमाथि फोहोर तलाउजस्ता आँखा । नाकतल खडेरीमा धाँजा फाटेको खेतजस्तो मुख । बिग्रिन लागेको नासपतीजस्ता गाला । झाडीजस्तो कपाल । कुरुप रुखमा बैंसका दुई फल फलेको देखी आफ्नो छातीमा, आफूलाई उभिएर हेर्दा ऐनामा ।
नुहाएपछि राम्रो होला अनुहार । धोइएला असुन्दरता । आशा पलायो तर नुहाएर हेर्दा पनि उस्तै देखी कुरुपता । तलाउको पानी मैलो भएर हो कि भन्ने सोचेर मन्दिरअगाडिको ऐना हेरी । झन् प्रस्ट भएको कुरुपता उसलाई हेरेर खिसी गरिरहेको थियो । धेरै समयसम्म आफ्नो कुरुपताले नै तर्सायो उसलाई । बिस्तारै तर्सिने बानी पर्दै गएपछि तर्सिनै छाडी । पछि त्यही कुरुपता नै उसको सबैभन्दा मिल्ने साथी भयो ।
आफ्नै नाम सम्झी- सुन्दरी !
सानैदेखि आमाले ‘सुन्दरी’ भनेर बोलाउँदा मक्ख हुन्थी । सबैले हाँस्तै सुन्दरी भनेर बोलाउँदा झन् मक्ख हुन्थी । पछि आफ्नो रुप थाहा पाएपछि उसलाई सुन्दरी नाम मन परेन । अझपछि सुन्दरीको अर्थ बादर्नी भन्ने थाहा पाएर आफूले गर्व गरेको नामप्रति घृणा लाग्यो उसलाई । आमाले के बुझेर सुन्दरी राखिदिएकी होलिन् ? दङ्ग परी ।
आफू तरूनी भएको पनि थाहा पाई एक दिन । तलाउमा छाती नाङ्गै पारेर नुहाउँदा फूलप्रसाद बेच्ने कमलादिदीले उसलाई छाती ढाकेर नुहाउनुपर्छ अब, यी मैले जस्तै भनेपछि एक बिहान उसले पनि छाती छोपेर नुहाउन थालेकी थिई । त्यसपछि आˆनै छाती पनि लुकेर हेरेकी थिई । छोप्नुको रहस्य बुझ्न सकिन । पछि लाज लाग्न थाल्यो । रहस्य त्यही लाज होला भन्ने सम्झी ।
बिहानै उठी । आफूले भ्याएसम्म आफ्नो घरजस्तै गरेर मन्दिर बढारी । बढार्दाबढार्दै उसलाई बोध भएजस्तो भयो- भगवान्ले पनि सुरक्षा गर्न नसक्ने कुरा हुँदा रहेछन् । मन्दिरमा पनि मान्छे सुरक्षित बाँच्न सक्तो रहेनछ । भगवान्कै घरघडेरी पनि सुरक्षित रहेनछ ।
सम्भोग गरेर फ्याँकिएका कन्डमहरु आफैले बढार्दा उसलाई रहस्य थाहा भयो । पहिलेपहिले पनि बढारेकी थिई तर नचिनेरै बढारेकी थिई । पछि गोमा दिदीले भनेर पो थाहा पाई । आमा गलत रहिछन् । गलत विचार लिएरै मरिन् ।
जब उसले उसकै साथीहरु कमला, दुर्गा, लक्ष्मी, पार्वती, सीताको घटना सुनी । केही देखी पनि । तिनीहरु त्यही मन्दिरपरिसरमै सुरक्षित बाँच्न सकेनन् । त्यो असुरक्षा सुरूमा एकदम भयानक र डरलाग्दो भएर आयो र सबैभन्दा बढी लाजमर्दो भएर आयो । पछि उनीहरुलाई असुरक्षाको बानी पर्दै गयो । उनीहरु असुरक्षा बाँच्छन् । असुरक्षामा पनि उसै गरी बाँच्छन् । बाँचिरहेछन् ।
मन्दिरअगाडि तलाउको किनारमा दुईतिर मात्रै भित्ता र माथि छ त जस्तो छानो भएको ओतमुनि उसको सुत्ने ओछ्यान थियो । सुरक्षाका लागि मन्दिर परिसर बढारेबापत पुजारीले दिएका थोत्रा, फाटेका, प्वाल परेका र पर्नै लागेका, तर उसलाई अझै बेरिन हुनेजस्ता अर्दना धोतीहरुलाई दुईतिर भित्ता बनाएर उसले आफ्नो सुत्ने ठाउँ सुरक्षित बनाएकी थिई । त्यही फाटेका धोतीहरुको बारले आफूलाई सुरक्षित बनाएको हो भन्ने आभास थियो उसलाई ।
देख्थी, यसो सहरतिर हिँड्दा गाईहरु, गधिनीहरु, कुकुर्नीहरु, जो छाडा साँढेहरु, गधाहरु र कुकुरहरुबाट किन त्यति सुरक्षित बाँच्न सकेका ? ती पशुहरुलाई खोइ सुरक्षा चाहिएको ? खोइ तिनीहरुलाई असुरक्षाको डर ? किन डराउँछन् आइमाईहरु ? किन त्यति डरलाग्दा हुन्छन् लोग्ने मान्छेहरु ?
देख्थी, मन्दिर परिसर तथा फूलबारीतिर, पार्कतिर फूलहरु फुलेका । किन यति निर्धक्क फुल्न सकेका फूलहरु ? यी फूलहरुलाई डर हुँदैन मान्छेलाई जस्तो ? लुटिँदैन फूलको जवानी ? कि यो जवानी लुटिन्छ भन्ने कुरा नै वाहियात हो ? भ्रम हो ?
देख्थी, चराहरु निर्धक्क उडेका । बसेका । चारा टिपिरहेका । एउटै रुखमा सँगै गीत गाइरहेका । यी परेवीहरु, ढुकुर्नीहरु, भँगेरीहरु… कसरी आफूलाई सुरक्षित सम्भिmएका ? कसरी निर्धक्क बाँचेका ? भँगेरीहरु खोइ डराएका भँगेराहरुसँग ? ढुकुर्नीहरु खोइ डराएका ढुकुरहरुसँग ? परेवीहरु खै डराएका परेवीहरुसँग ?
बरू पन्छीहरु पनि मान्छे देखेपछि, मान्छेनजिक आएको देखेपछि डराएर भाग्छन् । मान्छेमा पनि अझ लोग्ने मान्छे किन यति डरलाग्दो हुन्छ हँ ?
भनिएका निर्जीवहरुले नै बरू सबैभन्दा बढी सुरक्षा दिइरहेछन् । जस्तो- ढुङ्गा, माटो, हावा, पानी, प्रकाश… । हावा, पानी, ढुङ्गा, माटो प्रकाशजस्तो सजीव अरु के हुन्छ ? त्यसपछि निश्चल रुखहरु । त्यसपछि विवेक नभएका पशुहरु, पन्छीहरु । सबैभन्दा असुरक्षा दिने त मान्छे । उसको विवेकले असुरक्षा किन गर्छ ?
मन्दिरका साधुहरुबाट यी सबै कुरा सुनी उसले तर मनन गर्न सकिन । उसले साथीहरुबाट सुनेकी थिई- लोग्ने मान्छेहरुबाट सुरक्षित रहनुपर्छ । तिनीहरुलाई आँखा जुधाएर हेर्नुहुन्न । हाँस्नुहुन्न । नजिकिँदै जानुहुन्न । सकेसम्म तर्किनुपर्छ । उनीहरु आˆनो नियन्त्रणमा लिन्छन् पूरै शरीर । त्यसपछि फुत्कन गाह्रो हुन्छ तिनका पन्जाबाट । तिनीहरुले कागती निचोरेझैँ निचोर्छन । र, पैतलाले कुल्चेर जान्छन् ।
यसरी जोगिँदाजोगिँदै पनि भएका विभिन्न घटनाहरु सुनाउँथे उसलाई उसका सँगीहरु- ती पटकपटक आउँछन् । फरकफरक रुपमा आउँछन् । विभिन्न मान्छेहरु आउँछन् । त्यसरी जन्मेको बच्चाले कहाँ अधिकार खोज्ने ? सबैका आँखामा घृणित भएकी, बिनाबाबु बच्चा पाएकी अबलाले कसरी जीवन बाँच्ने ? कहाँ खोज्ने स्वास्नीको अधिकार ?
यस्ता घटना सुनेर ऊ धेरै सजक थिई । तर, उसलाई आजसम्म कसैले छोएको थिएन । कसैले आँखा जुधाएर इसारा गरेको समेत थिएन । मुस्काएर कसैले उसका लागि ओठ टोकेको थिएन । हात समाएको थिएन । राति कसैले तानेर कतै झाडीमा लगेको थिएन । उसकै ओछ्यानमा पनि कसैले आजसम्म उसलाई ओछ्याएको थिएन ।
+
विचार गर्दै जाँदा उसलाई आफ्नै असुन्दरताको सबैभन्दा बढी माया लाग्दै थियो । किनभने, असुन्दरताले नै आफूलाई जोगाएको हो जस्तो लाग्यो उसलाई ।
प्रायः केटीहरु साँझ परेपछि घरबाट निक्लिन सक्तैनन् । एक्लै हिँड्नु त झन् कति असुरक्षित कुरा । दिउँसो पनि उनीहरु कति सजग भएर हिँड्छन् । अझ सहर सिकारका लागि पन्जा उठाएर बसिरहेको हुन्छ लुकेर गल्लीगल्लीमा पासो थापेर । त्यसैले साँझ नपर्दै केटीहरु जहाँ गए पनि घर आइपुग्छन् र सुरक्षित महसुस गर्छन् । घर नहुनेहरु कसरी सुरक्षित हुन्छन् ? कहाँ सुरक्षित हुन्छन् ? कसले सुरक्षा गर्छ घर नहुनेहरुलाई ?
अठार वर्ष पूरा भएर उन्नाईस पनि लागी, छयालीस सालले । आइमाईको बैंस हलक्क बढ्छ । हलक्क बढ्ने उमेर सकियो अब । घरै नभए पनि बेला भएपछि घर हुनेहरुको सँगसँगै घर नहुनेहरुको पनि बैंस आउँदो रहेछ । यही हो बैंसको उत्कर्ष । अब यो बैंस यहाँभन्दा मस्त हुँदैन । घट्छ । लाटो बैंस एकदम आँधो हुँदो रहेछ । एकोहोरो ।
घर नभएकी ऊ रातसाँझ त्यही बन्दजस्तो धोतीको भित्ताभित्र हुन्थी । उसलाई सुरक्षा गर्ने कुनै झ्याल थिएन । ढोका थिएन । घर थिएन । अभिभावक थिएन । गरे पनि नगरे पनि त्यही फाटेको धोतीको भित्ताले हो । त्यही थियो ऊसँग ।
भगवान्ले पनि सुरक्षा गर्न सक्ता रहेनछन् । उसले आफ्ना साथीहरुको असुरक्षा सम्झी । धेरै पटक आफ्नै आँखाले राति वागेश्वरी पार्कमा थुप्रै रासलीला देखी । पछि आएर आˆनो सुरक्षा भगवानले गरेका रहेनछन् भन्ने भयो उसलाई । फाटेको धोतीको भित्तामाथि पनि शङ्का लाग्यो । होइन रहेछ फाटेको धोतीले पनि सुरक्षा दिएको । लाखलाख धन्यवाद दिई उसले आफ्नो कुरुपतालाई । किनभने सबैभन्दा बढी सुरक्षा कुरुपताले गरेको रहेछ ।
निश्चिन्त भई । प्रश्न गरी आफ्नै अगाडिको शून्यतालाई- ‘कसले छुन्छ मलाई ? कसले समाउँछ मलाई ? कसले म्वाइँ खान्छ मलाई ? कसले सम्भोग गर्छ मलाई ? कुरुपताले यी सबै कुराबाट सुरक्षित गर्दो रहेछ । सबैभन्दा बढी पवित्रता, सबैभन्दा बढी कुमारित्व त कुरुपतामा हुने रहेछ ।’ सम्झिएर आफूलाई, आफ्नै कुरुपतालाई म्वाइँ खाई ।
कति पुरूषहरु उसको नजिकै आएर टाढिएको सम्झी । हेर्न खोजेर नहेरेको, छुन खोजेर नछोएको सम्झिएर ऊ आफूलाई सुरक्षित महसुस गरी र आनन्दित भई ।
सोची- देखेपछि उसलाई, हेर्न खोज्नेहरुको चिसिएला एक्कासि उम्लिरहेको पानी । बाफ भएका भए एक्कासि पानी बन्लान् । ओठसँग चित्त बुझाउन चाहनेहरु पिर्लिक्क परेका फोहोर तलाउजस्ता आँखा देखेपछि तर्सेलान् । आँखासँग चित्त बुझाउन खोज्नेहरु सुनिएजस्ता नमिलेका ठूलठूला ओठहरु देखेपछि टाढिएलान् । पूरै अनुहार अनि अनुहार धानेर उभिएको कुरुपता देखेपछि प्रत्येक पुरूषहरु अपुरूष भएर फर्केलान् । फर्किरहेछन् ।
जस्तो बाआमा, दाजुभाइ, लोग्ने, प्रेमी, प्रशासन, सेना, भगवान कसैले गर्न नसकेको सुरक्षा कुरुपताले नै गर्दो रहेछ एउटी कुरुप युवतीलाई ।
फेरि उसले आफ्नो कुरुपतालाई माया गरी । र नाम दिँदै बरबराई, धन्य कुरुपेश्वरी भगवती ! तिम्रै सुरक्षाले बाँचिरहेछु ।’
-’सुरक्षा चाहने युवतीहरु यसरी सुरक्षा दिने कुरुपतालाई किन यति धेरै घृणा गर्छन् ? किन प्रेम गर्न सक्तैनन् असुन्दरतालाई ? किन जस्तोसुकै अप्ठ्यारो पनि सहन तयार हुन्छन् राम्री देखिनका लागि आइमाईहरु ?’ उसले फेरि आफ्नो कुरुपतालाई म्वाइँ खाई ।
तर किन सन्तुष्टि मिलेन म्वाइँबाट ? उसलाई यतिन्जेल सुनिरहेका कुराहरु सुन्दासुन्दै अनायास दिक्क लाग्यो । यतिन्जेल सोचिरहेका कुराहरु सोच्तासोच्तै सोचाइसँग नै वाक्क लाग्यो । कताकता मनभित्रबाट एउटा ज्वार विस्फोट हुन खोजेजस्तो, एउटा असन्तुष्टि छताछुल्ल पोखिन लागेजस्तो भयो ।
सधैं देखिरहेकै हो तर एक दिन मनभित्रैबाट देखी- वागेश्वरीको पार्क प्रेममय भएको । चराहरुले जस्तै केही युवायुवतीका प्रेममय जोडीहरु प्रेमलीला गरिहेका । उनीहरु बगैंचाका फूलहरुजस्तै सुहाएका थिए उसका आँखामा । तिनै जोडीहरु, कोही हात समाएर, कोही अँगालोमा बाँधिएर मन्दिरतिर आए । सँगैसँगै घुमेर मन्दिर, देवीको मूर्तिअगाडि उभिएर कुन्नि केके मागे । एकअर्कालाई टीका लगाइदिए, प्रसाद दिए, ध्वजा लगाइदिए । कताकता ऊभित्र तृष्णा बढेर आयो । उम्लिएर आयो ।
सधैं लाग्ने निद्रा लागेन अचानक । सधैं आउने निद्रा कहाँ गयो ? किन बिर्सियो ? किन घात गर्यो निद्राले ? तर, सोचेर हेर्दा उसलाई त्यो अनिद्रा नै प्यारो लाग्यो । ननिदाएरै रात रोएको हेर्ने मन भयो ।
ती प्रेमलीला गर्नेहरुले उसको मनमा फूलको थुँगा नहानेको भए ऊ निदाउने थिई कि ? भित्रको छटपटी ब्यूँझने थिएन कि ? एउटा मीठो निद्रा र मीठो सपनाको सृजनाबाट वञ्चित हुनुपर्ने थिएन कि ? भित्र आगो सल्किन थाल्यो । बल्न थाल्यो । दन्किन थाल्यो । आफैभित्रको आगोले जलाएर खरानी बनाओस् र आनन्दित बनाओस् बरू भन्ने पनि सोची ।
तिनै प्रेमालाप गर्नेहरु नै हुन्, जसले उसको बैंसमा सलाई कोरेर गए । आगो पारेर जानेलाई सोचेर तिनलाई धन्यवाद दिई । कमसेकम एउटा छटपटी, उकुसमुकुस र बेचैनीको ज्वालामुखी त फुट्यो । आरनमा तताइएको फलामलाई पानीमा डुबाएपछि फलाम शान्त हुन्छ । तर, तलाउमा जति डुबे पनि ऊभित्र सल्किएको आगो झ्वाइँ…अँ भएन । अचानक उसलाई असुरक्षित हुन मन लाग्यो ।
+
आफ्नो कुरुपताले दिएको सुरक्षा उसलाई बोझ भयो । सुरक्षितै नहुने कुरा मान्छे सुरक्षित गर्न खोजिरहेछ सुरक्षाको भ्रम बोकेर ?
सुरक्षामा भन्दा असुरक्षामा कत्रो आनन्द लुकेको हुँदो रहेछ Û सुन्दरी हुनु कति आनन्दको कुरा । किनभने, सुन्दरी हुनु भनेको असुरक्षित हुनु हो । बहुमूल्य गहनाहरुले सजिनु कति आनन्दको कुरा । किनभने, गहना लगाउनु भनेको असुरक्षित हुनु हो । अर्धनग्न लुगामा विभिन्न फेसन गरेर दुनियाँका अगाडि आफूलाई प्रदर्शित गर्नु कति आनन्दको कुरा । किनभने, अर्धनग्न हुनु भनेको असुरक्षित हुनु हो ।
उसलाई पनि असुरक्षित आनन्द लिने मन भयो । असुरक्षामा आनन्द लिने मन, तर उसलाई उसकै कुरुपताले सुरक्षा गरिरहृयो । ऊसँग कहिल्यै नछुट्टिने कुरुपतालाई आफूबाट मात्र एक दिनका लागि अलग गरेर भए पनि उसलाई असुरक्षित हुने मन भयो ।
के सबै युवतीहरु प्रेमिका हुन लायक हुँदैनन् ? उसलाई कसैको प्रेमिका हुन मन लाग्यो । के सबै स्वास्नी मान्छेहरु स्वास्नी हुन लायक हुँदैनन् ? उसलाई कसैकी स्वास्नी बन्न मन लाग्यो ।
उसलाई लोग्नेको न्यानो ओडेर सुत्न मन लाग्यो । बजारमा बेच्न राखिएका त्यतिका सिन्दूरका रासहरु कतै बतासले उडाएर उसको सिउँदोमा ल्याएर छरोस् र सिउँदो भरिपूर्ण बनाओस् । कतैबाट पराग उडाएर ल्याओस् बतासले र छरिदिओस् उसको गर्भासशयको मुखमा, फूलमा भमराका खुट्टाले झैँ ।
एकपटक आएको थियो एउटा लेठेब्रो । दिउँसो मात्र बात मारेर गयो । त्यसैलाई भए पनि लोग्ने बनाउँछु भन्ने थियो उसलाई । दिनभरि कुरा गरेर गएको मान्छे साँझ आउँछु भनेर आएन । कुनै साँझ पनि आएन । राति आएन । कुनै राति पनि आएन । दिनमा पनि त्यही एक दिन हो । त्यसपछि नजिकिन कुनै लेठेब्राहरु पनि आएनन् । उसलाई ग्लानि भयो ।
एकाएक उसको मनमा सुन्दरी आइमाईहरुप्रति ईष्र्या र घृणा सँगसँगै पलायो । तिनीहरुको सौन्दर्य एक दिनका लागि सापटी मागेर यही मन्दिरमा बाटो कुरेर बस्न मन लाग्यो । किनभने, सुन्दरी आइमाईहरु मात्र वेश्या हुन लायक हुँदा रहेछन् । कुरुप आइमाईहरु वेश्या हुन पनि लायक हुँदा रहेनछन् ।
समाजमा आदर्श बोकेर बाँचेका पुरूषहरुले आइमाईमा खोज्ने पवित्रता कुरुप आइमाईहरुमै पाउँछन् । तर ती आँखा फुटेका पुरूषहरु असुन्दरीहरुलाई घृणा गरेर किन सुन्दरीहरुकै चाकडी गर्छन् ? दास हुन्छन् ?
प्रत्येक पुरूषहरु सद्दे आइमाई खोज्दै हिँड्छन् । तर कुरुप आइमाईलाई कहिल्यै सद्दे देख्तैनन् । उनीहरु सुन्दरीहरुलाई सद्दे देख्छन् । कुमारी देख्छन् । गङ्गा देख्छन् । दुनियाँले उसको सौन्दर्यमा पौडी खेलेको देख्तैनन् ।
सद्दे आइमाई खोज्दै हिँड्ने लोग्ने मान्छेहरु किन सुन्दरीलाई मात्र सद्दे देख्छन् ? जसले पुरूषको स्पर्शसम्म पाएकी हुन्न उसलाई किन ँभालु’ देख्छन् ? उसले आफ्नै कानले छाडा केटाहरुको मुखबाट आफूलाई ँभालु’ भनेर घृणाले मुख फालेको धेरै देखेकी र सुनेकी छ । प्रत्येक सुन्दरीहरुलाई एकाएक घृणा गर्दै, पुरूषहरुलाई सराप्तै निकै बेरसम्म बरबराई ।
धेरै बेर बरबराएपछि थाकेझैँ शान्त भएर सोची- मधेसको बाटो त सीधा, फराकिलो र पूर्ण होला भनेको उस्तै घुमाउरो, उकालो, ओरालो, खाल्टाखुल्टी, मैलो पानी जमेको, अपूर्ण हिँड्दाहिँड्दै कति ठाउँमा बाटो आफै हराएको पो रहेछ ।
कात्तिके सङ्क्रान्तिको पहिलो रात । गर्मी सकिइसकेकाले चिसो सुरू भइसकेको थियो । तर उसलाई हपहपी भएको थियो छटपटी, उद्विग्नता । उसलाई आˆनै शरीर निचोर्न मन लाग्यो कागती निचोरेझैँ । पेल्न मन लाग्यो, उखु पेलेझैँ कोलमा र लोग्ने मान्छेको जातलाई पिलाउन मन लाग्यो । घटघटी पिओस् ठाडो घाँटी लाएर । र तृप्त होस् । उसलाई पनि तृप्त बनाओस् ।
बरू बलत्कारै होस् । एकपटक मौका मिलाएर उसलाई बलात्कृत हुन मन लाग्यो । लगाएको एकसरो धोती फुकाली, सुतेको ठाउँबाट उठेर मध्यरात चिर्दै । पेटिकोट थिएन । ब्लाउज फुकाली र निर्वस्त्र बनाई होइन, भएकैलाई देखाई । र, भित्ता पनि तोडेर फाटेको धोतीको, निसङ्कोच पल्टी ।
आकाशमा जून आधा थियो- देख्यो । ताराहरुले देखे । तलाउले देख्यो । तलाउको माझमा उभिएको जुँगे महादेवले देख्यो । देखिरहृयो । तलाउवरिपरिका फूलहरुले देखे । रुखहरुले देखे । नजिकै दुई कुकुर र एक कुकुर्नी रहेछन् । तिनले देखे । देख्नेहरु कसैले उसलाई केही गरेनन् ।
मात्र उसको नग्नता हेर्ने त्यहाँ कुनै मर्द थिएन । भएको भए पनि नपुंसक हुन्थ्यो कि ? अरु त केही लागेन, तलाउको माझमा उभिएको जुँगे महादेव भने सबैभन्दा बढी नपुंसक लाग्यो उसलाई । नामर्द लाग्यो । नग्नता पनि चुपचाप हेर्ने नपंुसक त हुन्छ नि- बिस्तारै बोलेर आफैलाई सुनाई । सुन्न त कुकुरहरुले पनि सुने होलान् Û के बुझ्थे ?
कोही लोग्ने मान्छे आओस् तर नग्नता ढाक्ने छैन- सोचेर पल्टी । बलत्कारै गरोस्, चिच्याउने छैन । बदलामा उसले पुण्य पाउनेछ । बरू एउटा बतासे सन्तान जन्मोस् । ऊ आफू हुर्किएझैँ यही वागेश्वरीको आँगनमा हुर्किएला । तर, त्यस्तो कोही मर्द त्यो मध्यरातलाई चिर्न उसका सामु प्रकट भएन ।
गगनगन्जमा बदिनीहरुको धन्दा नरोकिएको भए बरू बदिनी भएर त्यतै जानुहुन्थ्यो । तर, बदिनी भएर बस्ता पनि आँखामा फुलो परेका लोग्ने मान्छेहरु राम्री बदिनी खोज्दै हिँड्लान् । नराम्री भए पनि एउटा न एउटा त फसिहाल्थ्यो कि बैंसले खरिएका मध्येबाट ।
थाहा पाउने न हो । एकपटक भोग्नु हो । त्यसपछि, एकपटक पाएको अनुपम आनन्द सम्भिmएर पनि त आनन्द मान्न सकिन्छ नि पछिसम्म । होस्, पीडा नै हुने भए पनि बरू, पीडा बाँचिरहन हुन्थ्यो । कमसेकम एउटा रहस्य त च्यातिन्थ्यो ।
कुन्नि के सोचेर हो, उसलाई एकाएक चोर्नी बन्न मन लाग्यो । तर, के गर्नु बनेर ? कसैको सुन्दरता चोर्न सकिँदैन । उसलाई ग्लानि भयो । मिल्ने भए त कमला, दुर्गा, लक्ष्मी उसका साथीहरुमध्ये कसैले एक-दुई दिनलाई आˆनो रुप पैंचो दिँदा हुन् । चोर्नी बन्नै पर्दैनथ्यो ।
एक्लै बोली-’बैंस त पाएँ, सुन्दरता पाइनँ । बरू बैंस नै नआएको भए हुने । बैंस कुरुपता सम्झाउन आउने रहेछ कुरुपहरुका लागि । सुन्दरता बोध गराउन आउने रहेछ सुन्दरीहरुका लागि । बैंस सबैले पाउने रहेछन् तर सुन्दरता सबैले पाउने रहेनछन् !’
नराम्री भएपछि प्रेमिका हुन गाह्रो, वेश्या हुन गाह्रो, बलात्कृत हुन गाह्रो, स्वास्नी हुन गाह्रो, जिन्दगी नै गाह्रो । आँखा चिम्लेर छटपटाउँदा उसलाई कसौंडीमा उम्लिरहेको पानीमा ढकनी लगाएजस्तो भयो । कामुक तन्द्राले उसलाई स्वप्निल बनायो ।
+
किन न्यानो भएको यो शरीर र यो मन ? उसले बुझ्न सकिन, तर न्यानो लागिरहृयो । त्यो न्यानोसँगै ऊ मस्त निदाई । सपनामा ऊ कुनै सुन्दर पुरूषको अँगालोमा बेरिएकी थिई । तर, जब ऊ बिहान आँखा खोल्छे त रातको जाडो छल्न एउटा कुकुर ऊसँग उसको ओछ्यानमा घुसि्रएको पो रहेछ ।
यसो कोल्टो फेर्दा देखी- उसको ओछ्याननजिकै घिनलाग्दी कुकुर्नीसँग एउटा मज्जाको कुकुर, यो सहरकै नायकजस्तो देखिने मस्तको, कामलीलामा कति खेरदेखि हो कुन्नि मस्त… !
(स्रोत : न्यौपानेको पुस्तक ‘पानीको घाम’बाट)