कथा : विसर्जन

~मणि लोहनी~Mani Lohani

म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् र धेरै मीठा सम्झनाहरु लिएर जान्छन् । फ्रान्स पर्यटकको मक्कामदिना हो । साइन नदीको किनारमा अवस्थित फ्रान्सको राजधानीमा पेरिसको पर्याय नै बनेको छ आइफेल टावर । जसलाई हेर्न हरेक वर्ष लाखौं मानिस पेरिस ओइरिन्छन् । मक्कामदिनामा हजयात्री गएजस्तो ।’ घरि घरि मलाई हेर्दै उसले बोली रह्यो । मैले सुनिरहें । अग्लो, हिस्टपुष्ट ज्यानको यो आकर्षक युवक , नसोच्दा नसोच्दै पनि ऊ तिरै तानिन्छन् मेरा आखाहरु ।हुन पनि हो । साच्चि कै सुन्दर मानिन्छ फ्रान्स । विश्वको सुन्दर देश मध्ये एक ।

‘फ्रान्स यस्तो देश हो जहाँ प्रेम, शौन्दर्य र फेशनको अविरल श्रृंखलाहरु जोडिएका छन् इतिहास वाटै ।’ यतिखेर भने उ मतिर नै फर्किन्छ । उसको हेराइले म आत्तिन्छु वषौं पहिले कलेजमा राजेससंग आत्तिए जस्तै । उसको हेराइवाट भागेर पाखुरासम्म पट्याएर लगाएको नीलो टाइट सर्ट, नीलै जिन्स र खुट्टामा लगाएको कालो बुटतिर सर्छन मेरा आँखाहरु । कालो बुटले मलाई रिदमको सम्झना आउँछ । कालो छालाको बुट निकै मन पर्ने मेरो छोरो रिदमले कति पटक मसंग जिद्दी गरेर कालो बुट किनेको थियो । एउटै छोरो । न किनिदिउँ पनि कसरी ? रिदमले बोलाएर नै हो म फ्रान्स आएकी । त्यसो त मेरो लागि फ्रान्स नयाँ होइन । बिहे भए लगत्तै म पेरिस आएकी थिएँ, राजेशसंग ।

यो २४ वर्ष अघिको कुरा । म मुश्किलले २० वर्षकी थिएँ । हामी हनिमुन मनाउन पेरिस आएको । मलाई लाग्छ, त्यतिबेला रिदम गर्भमा आएको हुनुपर्छ । २५ दिनको पेरिस बसाईपछि काठमाण्डौं फर्के लगत्तै राजेश अमेरिका गएको थियो । र राजेश अमेरिकामा हुँदा नै रिदम जन्मिएको थियो । गीत गाउन रहर गर्ने राजेश कहिल्यै सफल गायक बन्न सकेन । दुइटा गीति एल्बम उसले निकालेको पनि थियो । अमेरिकाबाटै उसले छोराको नाम राखिदियो ‘रिदम’। ‘तीन सय मिटर अग्लो यो टावरको निर्माण सन् १८८९ मा सम्पन्न भएको हो । निर्माता आर्किटेक्ट गस्टैव आइफेलको नामबाट यो टावरको नाम राखिएको हो । यो आइफेल टावरको जति प्रंशशा भयो त्यति नै आलोचना पनि भयो । आलोचकहरुको आरोप थियो, यो टावर चाडै ढल्नेछ । तर आलोचकहरुको आंशका विपरित आज सवा सय वर्षपछि सम्म पनि यो शानले ठडिएको छ ।’ घरि राजेश त घरि रिदम झै देखिने यो ‘इटालीयन गाइड’ आइफेल टावरबारे हामीलाई बताइरहन्छ । टावरको फेदमा बसेर म उसको कुरा सुन्छु । मसंगै रहेका केही पर्यटक फोटो खिच्न थाल्छन् ।

मलाई खिच्नु छैन फोटो । कसलाई देखाउन खिच्ने ? को छ र मेरो फोटो हेर्नलाई ? किन यस्तरी झुक्किएँ म । कहाँनेर विथोलियो मेरो जीवनसंगीतको सुर ? किन यसरी एक्लीएँ म । असख्य प्रश्नहरु छन् आफैलाई सोध्नु पर्ने । के थिएन मसंग ? सबथोक थियो । तर अहिले मसंग केही पनि छैन । विर्सजन गरेका सम्वन्ध र आफैले बुझ्न नसकेको यो रित्तो मन सिबाय ।  आफ्नो भन्नेहरुबाट छुटेपछि आफ्नै भन्नेलाई पच्छाउदै म यहाँ आएकी । मैले आफ्नै मनलाई बुझ्न सकिरहेकी छैन । हैन हामी स्वास्नीमान्छेको मन केले बनेको हुन्छ ? छिन मै कसैसंग मन बस्नु र छिन मै कोही मन नपुर्न किन यस्तो हुन्छ ? मलाई आफैसंग दिक्दार लागेको छ । २४ वर्षदेखि एउटै ओच्छयानमा सुतेको लोग्ने, मुटुभन्दा प्यारोसंग हुर्काएको छोरो र जिन्दगीको उत्तरार्धमा गरेको प्रेम – सबैबाट म असन्तुष्ट छु यतिखेर ।

म हिजो मात्र पेरिस आइपुगेकी । किन पेरिस आएकी हुँला झैं लागिरहेछ अहिले । त्यसो त यहाँ नआएको भए जाने अर्को ठाँउ पनि त थिएन । हरे, कस्ता कस्ता क्षण पनि आउँछन् मान्छेका जिन्दगीमा । सम्वन्धसंगै जाने ठाँउहरु रित्तिदा रहेछन् । सम्वन्धहरु निखारेर यतिखेर म प्रेमीहरुले कसम खाएर छाडेको मन्दिरजस्तो एक्लो भएकी छु ।पेरिस विमानस्थलमा आइपुग्दा मलाई लागेको थियो, मलाई लिन रिदम आउनेछ । तर होइन । विमानस्थल बाहिर लबीमा होटलकी एक परिचारिका मेरो नेमप्लेट लिएर बसेकी थिई । नेमप्लेटमा ठुलो अक्षरमा लेखिएको थियो – चाँदनी हमाल । म उसकै पछि लागें । एउटा भव्य होटलको आकर्षक कोठामा उसले मलाई छाडिदिई । कोठमा बस्न पनि पाएको थिइन रिदमले फोन गर्‍यो, ‘मम्, म लिन आउन पाइन । आज होटलमा नै बस्नु । बिहान ब्रेकफास्टपछि गाइड हजुरलाई लिन आउनेछ । उसंगै पेरिस घुम्नु होला । म हजुरलाई पर्सी भेट्छु ।’

दुःख लागेन । तर मन अमिलो भयो । छुट्न थालेपछि मानिसको जीवनबाट सब कुरा एकसाथ छुट्दा रहेछन् । किन आउने बित्तिकै नभेटेको होला उसले ? संसारमा आमालाई भेट्नुभन्दा ठुलो काम अरु के हुन्छ होला मान्छेको ? के म आमाको मानमा रहन सकिन ? कि मेरा ससाना रहर र सपनाहरुले नै बिटुल्याइदिए मलाई ? त्यही कारणले रिदमले मलाई घृणा गर्न थालेको त होइन ? घृणा गर्ने भए किन बोलायो उसले मलाई । आफ्नी आमालाई पनि घृणा गर्छन कसैले ? जे जस्ती भए पनि म उसकी आमा पो हुँ त ।’पेरिसबाट एक घण्टाको यात्रामा तपाईहरु शतो द फाउन्टेन ब्लो पुग्न सक्नुहुन्छ । त्यसलाई नेपोलियनले राजाहरुको घर भनेका थिए । राजपरिवारका सदस्यहरुको शिकारको रहर पुरा गर्न त्यसको प्रयोग गरिन्थ्यो । १२ औं शताब्दीमा त्यसको निर्माण भएको थियो र १९ औ शताब्दीसम्म विभिन्न राजाहरुले त्यसको बिस्तार गरिरहे ।’ मेरो सोचाइको श्रृखला भंग हुन्छ घरि घरि उसको आवाजले । यो इटालियन गाइड पेरिस बस्न थालेको तीन बर्ष भएछ । विदेशी पर्यटक बोकेको यो सुविधासम्पन्न गाडीभित्र हामी २२ जना छौं । यो भीडमा किन उसले मलाई मात्र हेरेको होला ? या मेरै भ्रम हो ।

विभिन्न ठाँउको जानकारी दिदैं मलाई हेरिरहदाँ मैले उहि राजेशलाई सम्भिmन्छु । जो त्रिचन्द्र क्याम्पसमा हामीलाई पढाउथ्यो । उसको क्लास लिन विद्यार्थीहरु कक्षाभरि खचाखच हुन्थ्ो । लोभलाग्दो ज्यान र सुन्दर अनुहार भएको राजेश केटीहरुको पि्रय शिक्षक थियो । सबै लोभिन्थे उसंग । उ भने मलाई मन पराउँथ्यो । सुरु सुरुमा म निकै आँत्तिन्थे, डराउँथे उसको हेराईसंग । पछि उसको हेराई मेरो बानीमात्र होइन आवश्यकता नै बन्यो ।’नबोल तिमी ।’ पहिलो भेटमा मैले उसलाई भनेकी थिएँ, ‘तिमी मलाई हेरिराख ।’
उ केही बोलेन पनि । चुपचाप कफि पिउँदै मलाई हेरी मात्र रहृयो । राजेशले मलाई हेर्ने क्रम विवाहपछि पनि रोकिएन । उसको हेराई मेरो कमजोरी नै बन्यो । कतिसम्म भने, म रिसाएँ की उ मलाई एकटकले हेरिदिन्थ्यो र मेरो रिस कता भाग्थ्यो कता ।
के थियो कुन्नी उसको हेराईमा ? म अचम्मले पग्लिन्थें ।
सम्पन्न हाम्रो बैबाहिक जीवन त्यतिखेरसम्म सहज रहृयो, जतिखेरसम्म रिदम हामीसंग थियो । प्लस टु सकेपछि रिदमले चित्रकला पढ्न पेरिस जाने कुरा गर्दा मलाई निकै अप्ठेरो भएको थियो । आफु भन्दा प्यारो छोरालाई कसरी बाहिर पठाउने ? तर बाबुछोराको जिद्दीको अगाडी मेरो के लाग्नु ? ‘दुई तीन वर्ष विदेश पढ्न जाँदा केही हुदैन , छोराले संसार देख्नु पर्छ ।’ राजेश मलाई सम्झाउँदै थियो, ‘पीर नमान , दुई वर्षको कुरा त हो ।’
रिदमको पेरिस गमनमा म त्यति दुःखी भएकी थिइन, जति राजेशले घर छाडेर हिड्दा म भएँ । रिदम गएको छ महिनापछि एकाएक राजेश हरायो ।
म हैरान भएँ । कहाँ गयो होला राजेश ? त्यसो त एउटै घरमा भएर पनि राजेश र म संगै थिएनौं । दुबै मिलेर बनाएको संसार हामी दुई एक्ला एक्लै बाँचिरहेका थियौं । तर उ हराए पछि मलाई आफ्नै परिभाषा हराए झैं लाग्यो । पछि थाहा पाएँ उ मभन्दा १८ वर्ष कान्छी केटी लिएर बसेको रहेछ । म उसलाई भेट्न गएँ ।
मलाई ढोकामा देख्ने बित्तिकै राजेश आँत्तियो । मैले उसलाई नडराउन आग्रह गरेँ । उसले भगाएको केटी उसंगै छेउमा उभिन आई । ठुलो आँखा, लाम्चो अनुहार केटी राम्री रहिछ ।
‘किन खवर नगरेको ?’
‘म यिनीसंग थिएँ । तिमीलाई दुःख दिन मन लागेन ।’ राजेशले केटीको कुममा हात राख्यो ।
‘खवर नगर्दा मलाई दुःख हुन्छ भन्ने लागेन ?’
ऊ मौन बस्यो । सायद वास्ता गरेन मेरो कुराको ।
‘घरमा खवर गर्नु भनेको उहाँले मान्दै मानिस्ये न ।’ संगै उभिएकी केटी बोली । ‘बसिस्यो न ।’ केटीको अनुहार र आँखामात्र होइन बोली पनि मीठो रहेछ । फराकीलो सोफाको एक छेउमा म बसें । सामुन्नेको सोफामा उनीहरु बसे ।
एक छिनमा उ उठी र भित्र छिरी । भित्र छिर्दै गर्दा उसको शरिरको पछाडीको भागलाई मैले हेरिरहेँ । शरिर पनि निकै मिलेको रहेछ । सम्भिmए, क्याम्पस पढ्दा म पनि त्यस्तै थिएँ । अहिले अल्छी भएर पो ।
‘किन यस्तो गरेको ?’ मैले सोधें ।
‘तिमीसंग बाँचिहालें । अव उसंग बाँच्न मन लागेको छ । फेरि तिमीलाई पनि स्वतन्त्र जो छोड्नु थियो ।’ अति सामान्यसंग भन्यो राजेशले । मैले हेरी मात्र रहे उसलाई , ‘तिमी जिन्दगीलाई माया गर्ने मानिस हौ । मलाई थाहा छ चाँदनी, तिमीले मेरो अवस्थालाई बुझ्न् सक्छयौ ।’ उसले मलाई सम्झाउन चाह्यो ।’म्याडम, मलाई सरसंग बाच्न दिइस्योस है, अब सरसंग मेरो सपना जोडिइ सकेको छ ।’ सिसाको अग्लो गिलासमा जुस लिएर आउदै गर्दा भनी केटीले । सायद हामी बीचको वार्ता सुनी उसले । म पनि यस्तै कलिली थिएँ राजेशसंग बिहे गर्दा । उसले मलाई दिदी नभनेर किन म्याडम भनेकी होली ? मैले राजेशको आँखामा हेरिरहें । अहँ राजेशले मलाई हेरेन । उसैलाई हेरिरहृयो । एकचोटी भए पनि राजेशले मलाई हेरोस् भन्ने लागेको थियो । तर हेरेन ।मैले केटीको दुबै हात समाएँ, ‘राजेशको ख्याल गर है । प्रेसरको बिरामी छ औषधी समयमा नै दिनु ।’ यति भनेर म उनीहरुको घरबाट निक्लिएकी थिएँ । जीवनमा पहिलो चोटी आफु एक्ली भएको आभाष भएको थियो । कसैलाई छोड्दै छु झैं लाग्यो । कोही छुटेको अनुभव भयो ।

मैले अखा चिम्ले फेरी एक पटक राजेशलाई बिर्सिन । थाहा नै भएन कुन बेला म गाडीभित्र छिरिसकीछु । मलाइ नै हेरी रहेको गाइडसंग आखा ठोक्कीए पछि म होसमा आए । अरु एक दुई जना पर्यटक पनि मसंगै गाडीमा थिए । बाँकी तल फोटो खिच्दै । मलाई हेरिरहेको गाइडले स्टीलको बट्टाबाट चुरोट निकाल्यो । आकशतिर हेर्दै चुरोटको धुँवा फुर्रर फाल्दै गर्दा , धुँवामा रंगमग्गिएको उसको अनुहार मैले एनपी सिंहको झै देखें । एकाएक घिन लागेर आयो, उसको अनुहार भरि थुकिदिऊ जस्तो लाग्यो ।सेनाको अवकास प्राप्त एनपीको शौख भन्नु नै चुरोट फुक्नु थियो । कति पटक मैले उसलाई ‘चुरोट ज्यादा भयो ।’ भने पनि । मेरो शब्दको उसलाई कुनै अर्थ थिएन । उ चीरपरिचित आफ्नै शैलीमा चुरोट तानिरहन्थ्यो ।
राजेशको नयाँ घरबाट फर्किएर म आफ्नो घर पुग्दा एनपी आकाश तिर हेर्दै चुरोट तानेर बसिरहेको थियो यहि गाइडले जस्तै । राजेशले मलाई छाडेर अर्की केटीसंग बस्छ भनेर मैले कहिल्यै सोचेकी थिइन । घर पुग्दा म एक्ली थिइन, रोइरहेको मन थियो मेरो साथमा । हुन त रिदम प्लस टु पढ्न थालेदेखि नै एनपीसंग मेरो सम्वन्ध थियो । एनपीको रोमाण्टिक हाउभाउले म बौलाएकी थिएँ । उसंग बिताएको हरेक क्षणले मलाई आनन्द दिन्थ्यो । रिदमलाई त कुन्नी तर राजेशलाई एनपीसंगको मेरो सम्वन्धको बारेमा थाहा थियो ।

‘मैले केही कतै गल्ती गरें र ?’ राजेशका यस्ता प्रश्नहरुले बेला बेलामा मलाई गंभीर बनाउँथ्यो । सिधै भन्ने आँट उसले कहिल्यै गरेन । एनपी मलाई माया गथ्र्यो । म पनि उसलाई माया गर्थे । एनपी राजेशभन्दा दुइचार वर्ष जेठो भए पनि राजेशभन्दा फुर्तिलो देखिन्थ्यो ।’भेट्यौ त राजेशलाई ?’ एनपीले चुरोटको धुवा फ्याक्दै सोध्यो ।
‘मोडेलजस्ती केटी बिहे गरेर बसेको रहेछ ।’ ’मलाई त पहिले नै थाहा थियो । उसको चाला ठीक छैन भन्ने , एक नम्वरको हण्टर हो उ ।’ एनपी मेरो नजिकै आयो । मलाई अंगालोमा कस्यो र निधारमा चुम्बन गर्‍यो । यो उसको पुरानै बानी हो । तर मलाई उसले राजेशको बारेमा बोलेको मन परेन । मलाई सर्वाधिक मन पर्ने उसको स्पर्श पनि नमीठो लाग्यो । खस्रो र अनुभूतिरहित । ’मस्त तरुनी भेटेपछि तिमीजस्ती बुढीसंग के बस्थ्यो उ ?’ एनपीले मेरो ओठ नजिकै आफ्नो ओठ ल्याइपुर्‍यायो । हृवास्स चुरोटको नमीठो गन्ध आयो । मैले उसलाई रोकें । बल गरेर उसको अंगालोबाट फुत्किएँ ।
‘के भयो ?’

‘मलाई मन परेन तिम्रो व्यवहार ।’ मैले भनेँ ।
‘किन त्यस्तो भनेकी महारानी, यो सिंगो हबेलीमा अव तिमी र म मात्र राजेश छैन क्यारे ।’ हाँस्दै उसले मलाई फेरी अंगालोमा कस्यो । अब त मलाई पटक्कै मन परेन उसको अंगालो । निस्सासिएँ म । उम्किने प्रयास गरेँ , सकिन । र उसको नाडीमा टोकेर म फुत्किएँ ।
‘तँलाई । के गरेकी यो ?’
उ आफ्नो हैसियतमा ओर्लियो । सधै महारानी भनेर मेरो शरिरका प्रत्येक अंग अंगमा चुम्ने उसले जथाभावी शब्द बोल्दै मलाई कुट्न थाल्यो । उसको प्रत्येक प्रहारमा दुखाईभन्दा ज्यादा मलाई ग्लानी महशुश भइरहेथ्यों । फूलको थुङगालाईजस्तो सधै हत्केलामा उचालेर राख्छु भन्ने एनपी यतिसम्म निर्दयी हुन्छ भन्ने मलाई लागेको थिएन ।
बर्षौदेखि मैले कस्तो मानिसलाई प्रेमी ठाँनेर बसेकी रहिछु भन्ने लाग्यो । राजेशको सम्झना आयो । आफैभित्र पोल्न थाल्यो । अपराधबोध भयो । दौडेर राजेशकहाँ जाउँ र खुट्टा समाएर माफी मागुँ झै लाग्यो । तर त्यो केटीलाई सम्झिएँ , उसले भनेको ‘म्याडम, मलाई सरसंग बाँच्न दिइस्योस न, सरसंग मेरो सपना जोडिएको छ ।’ सम्झिएँ ।
हरे, उसले के भन्ठानेकी हेाली, राजेशसंग मेरा सपना मात्र होइन विपनाको ठुलो सिलसिला हुर्किएको छ । आफ्नो जिन्दगीलाई हामीले एकसाथ बनाएका हौं । हो पछिल्लो समय हामी दुई एक्लाएक्लै बाँचिरहेका थियौं । आआफ्नै तरिकाले बाँच्न खोज्दा पत्तै नपाई हामीले हाम्रो सम्वन्ध विर्सजन गरिसकेका रहेछौं । कँहा पो बाँकि रहृयो र मेरो सम्वन्ध ? राजेशकहाँ कसरी जानु म ? कुन मुख लिएर जानु ?

राजेशकहाँ जाने आँट आएन । रिदमलाई फोन गरें । सबै कुरा सुनाएँ ।
‘पेरिस आउनु । केही समय यतै बस्नु । सबै ठीक हुन्छ ।’ रिदमले फोनमा नै भन्यो ।
र म पेरिस आएँ । पेरिसमा आएपछि मैले महशुश गरेँ, म सम्वन्धको समाधिमा उभिएकी रहिछु ।

(स्रोत :- कथा संग्रह निर्वस्त्र मन बाट ।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.