~डा. बेञ्जु शर्मा~
पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप चियासम्म पुग्ने । जे होस् बसले घरसम्म पुर्याइदिने भयो, खाना त घरमै गएर खाउँला, मनमनै यति सोचेर म लामो सास तान्छु । मनको थकाइ, शरीरको थकाइ, उमेरको थकाइले म थिलथिलो भइसकेको छु, कमजोर अनुभव गर्छु । गोडा कमाउँदै म बस खोज्न थाल्छु । कुन बस कहाँबाट जान्छ, केही लेखिएको हुँदैन । एउटालाई सोध्छु पल्लो कुनामा बस लागिरहेको बताउँछस त्यहाँ पुग्छु, बस हुँदैन ।
”जनकपुरको बस कहाँबाट लाग्छ ?” म त्यहींको नाङ्लो पसलमा सोध्छु ।
”यहाँ होइन, उता पर कुनाबाट”
म अर्को कुनामा पुग्छु । त्यहाँ पनि बस हुँदैन । सोध्दै र खोज्दै यताबाट उता उताबाट यता गर्दै, बल्ल बस फेला पार्छु । बस हिंड्ने तयारीमा हुन्छ, कन्डक्टरलाई आफ्नो टिकट देखाउँछु । कन्डक्टरले ‘सिट खालि छैन’ भन्दै स्टूल ल्याएर राखिदिन्छ । म टिकट देखाउँदै भन्छु- ”म किन स्टूलमा बस्ने, मेरो नम्बरको सिट मलाई दे ।”
पचहत्तर वर्षको सुकेको, थाकेको, काँमेको, मैलो मेरो शरीरतिर हेय दृष्टिले हेर्दै कन्डक्टर भन्छ- ”यहीं हो, यहीं बस ।”
”म मेरो सिटमा बस्छु, यहाँ बस्दिनँ । ”
उ मेरो टिकट लिएर सिट खोज्न जान्छ । त्यो सिटमा त्यही नम्बरमा अर्को मानिस बसिरहेको हुन्छ । उ आएर भन्छ- ”सिट खालि छैन, यहीं बस ।”
”मेरो पाँच नम्बरमा मलाई बस्न दे, मेरो सिट खोइ ? मैले अरूको सिटमा बस्न खोजेको होइन ।”
पाँच नम्बरमा बस्ने मानिस चिच्याउँछ- ”यो मेरो नम्बरको सिट हो, कसरी तपाईंको हुन्छ ?”
म कन्डक्टरलाई सोध्छु- ”मेरो नम्वरको सिट उहाँको कसरी भयो ?”
”दुइ जनाको टिकटमा एउटै नम्बर छ, एउटा सिटमा मैले कसरी दुइ जना राख्ने ? टिकट बेच्नेलाई गएर सोध्नुस् ।”
म सोध्न जान लागेको हुन्छु, बसले हर्न दिएर हिंड्ने तयारी गर्दै अघि बढ्न थाल्छ । मानिसहरू हतार हतार सबै आ-आˆनो स्थानमा बस्न थाल्छन् । बस अगाडि बढिहाल्छ । बस छुट्नु भन्दा सिट छुट्नु नै ठीक संझी म त्यही स्टूलमा गएर बस्न खोज्दा, त्यहाँ पनि अर्को बसिसकेको हुन्छ । तर कन्डक्टरको निगाहले म त्यो स्टूल सम्म पाउन सफल हुन्छु । बूढीले पोको पारिदिएको चिउरा र सख्खरको बाँकी रहेको सानोपोको काखमा राखेर, लौरो भूइँमा राख्दै म लामो सास फेर्छु । बस चल्छ, जीवनको यात्रा जस्तै ।
उमेरको शक्ति अब शरीरमा छैनस जाँगर, जोश उत्साह, उमङ्ग सबै सेलाउँदैछ । राणा शासनको विरोधमा चल्दा पाएका सास्ती र सकस, एक तन्त्रीय, निर्दलीय शासनभरि भोगेका अनगिन्ती दुःख ! पार्टीको लागि गरेको दौडधूप, दुःख कष्ट सबै आँखामा तरल भएर ऐना जस्तै स्पष्ट भएर आउँछ । आफूले दुःख पाए पनि भावी सन्ततीको सुःखको लागि एउटा स्वच्छ व्यवस्थाको सपना आँखामा बोकेर गरेको दौडधूप सबै मनभित्र चित्रित भएर आउँछ । आफू पार्टीभित्रको राम्रो कार्यकर्ता हुँदाहुँदै पनि बसको सिट जस्तै आफ्नो सिटमा अरू नै आसिन छन् । अब मलाई प्राप्ति वा अप्राप्तिको केही सुख वा दुःख पनि छैन । तर पनि बाँचुन्जेल, बाँच्नको लागि चाहिने अत्यावश्यक वस्तुहरूबाट विमुक्त हुन नसकिने वाध्यताले, विवशताले धकेलेर म काठमाडौंमा आफ्ना नेतासंग भेट्न आएको हुँ ।
२०५३।६।१५।३
”म नेताजीलाई भेट्न आएको, जरुरी काम थियो ।”
”यसबेला आएर नेताजीलाई भेट्न पाइन्छ ? भोलि बाह्र बजे आउनुस्” पी.ए.अर्डर गर्छ ।
२०५३।६।१६।४
बाह्र बजे म पार्टी अफिस पुग्छु । एक घण्टा कुरेपछि नेताजी आइपुग्नु हुन्छ । सबैले घेरेर उहाँलाई भित्र लैजाँदै हुन्छन् । भीडमा मलाई उहाँले देख्नु पनि हुन्न । उहाँलाई भेट्न म पालो कुरेर बस्छु । दुई घण्टासम्म भेटघाट चलिरहन्छ । म मनमनै सोच्छु- नेताजीलाई सबै आˆना गुनासा पोख्छु । जिल्लामा जस्तो अविवेकपूर्ण व्यवहार यहाँ हुने छैन । स्वयं नेताजीकै अगाडि समस्या राखेपछि समाधान त भइहाल्छ । कुरा धेरै नै के छ र पाँच मिनेटमा सबै कुरा सुनाइहालिन्छ ।
म ढोका बाहिर कुरेर बसिरहेको हुन्छु । अनायास नेताजी र साथमा अरू मानिसहरू निस्केर जान लागेको देख्छु र अगाडि बढेर भन्छु –
”मेरो दुइटा कुरा निवेदन गर्नु थियो ।”
”बाह्र बजे आएर दुइटा कुरा गर्न खोज्ने ? यहाँ नौ बजे देखि आएकाले एउटा कुरा त गर्न पाएका छैनन् । भोलि नौ बजे आउनू” भन्दै नेताजी हिड्नु हुन्छ ।
नेताजी गएपछि नेताजीको आज्ञा शिरोपर गर्दै म र्फकन्छु ।
२०५३।६।१७।५
भोलिपल्ट नौ बजे नै म पार्टी अफिस पुगेको हुन्छु । अफिस बन्द हुन्छ, कोही हुँदैन । म मूल ढोकामा टुक्रुक्क बसेर बूढीले बाँधिदिएको चिउरा र सख्खर बुक्याउँदै भोको पेटलाई केही आराम दिन खोज्छु । दश बजिसकेपछि पी.ए.आउँछ । म एक नम्वरमा नाम लेखाएर, आज चाहिं भेट हुने निश्चित भयो भनेर, खुशी मनले लहरै बाहिर राखिएको बेञ्चमा गएर बस्छु । मनमनै नेताजीसंग गर्ने कुराका विनम्र शव्दहरू संझन थाल्छु, भाषा मिलाउन थाल्छु । एक बजे नेताजीको आगमन हुँनासाथ म दौडेर आˆनो उपस्थिति देखाउन पुग्छु । नेताजी कुनै प्रतिक्रिया विना सरासर भित्र पस्नु हुन्छ । मन्त्रीज्यूहरू र सांसदज्यूहरूको फटाफट भित्र प्रवेश हुन थाल्छ । म कुरेर पालो पर्खेर बस्छु । नेताजी आएको पनि एक घण्टा बितिसकेपछि म निन्याउरो स्वरमा पी.ए.लाई सोध्छु-
”मेरो पालो आएन ? दुइ मिनेट मात्र भए पनि पुग्थ्यो ।”
”म सोधौंला, अहिले उहाँ व्यस्त हुनुहुन्छ । एकछिन कुरेर बस्नुस् ।”
म फेरि मेचमा गएर बस्छु । भोकले पेट बटारिन थालिरहेको हुन्छ ।
म मनमनै सोच्छु, आज भेट त भइहाल्ला अनि भरे त हिंडिहाल्नुपर्छ । भोलि त घर पुगिहालिन्छ । बूढीलाई तीन दिनमा आउँछु भनेर हिंडेको ।
ढोकानिर भीड देखर, दौडेर पुग्छु । नेताजी मंत्रीहरू र सांसदहरूद्वारा घेरिएर निस्कदै हुनुहुँदो रहेछ । म हात जोडेर भन्छु- ”नौ बजेदेखि कुरेर बसेको, एकैछिन समय पाउँछु कि ?”
”म एक बजे आउँछु, किन नौ बजेदेखि कुर्ने ? भोलि पाउने एक बजे आउनू, अहिले फुर्सद छैन ।”
”हिजो यहाँले नौ बजे आउनू भन्नु भएकोले नै नौ बजे आ को ।”
मेरो कुरै नसुनेर नेताजी कारभित्र पस्नु हुन्छ, कार चल्छ । म त्यही कारको धूवाँ र धूलोको पछि पछि डेरातिर लाग्छु ।
२०५३।६।१८।६
नेताजीको आज्ञा अनुसार ठीक पाउने एक बजे म पार्टी अफिस पुग्छु । एक बजे नेताजीको आगमन हुन्छ । म हात जोडेर नेताजीको अगाडि पुग्छु । नेताजी अकस्मात् झोक्किएर सोध्नु हुन्छ- ”के कारणले ? यहाँ किन आएको ?”
कोही कसैकहाँ किन आउँछ, आफ्नो संझेर आउँछ । त्यो मेरो घर भन्दा पनि प्रिय घर हो, त्यो मेरो संपूर्ण यौवन लगानी लगाएको पार्टी अफिस हो । त्यहाँ म जानु मेरो अनाधिकार धृष्टता होइन । नेताजीको आवाजबाट लाग्छ, म कु ठाउँमा आइपुगेको छु ।
म हडबडाएर भन्न पुग्छु- ”हिजो यहाँले भन्नु भएको समयमा आइपुगेको छु ।”
नेताजी ‘हुँ’ गर्दै भित्र पस्नु हुन्छ । त्यो ‘हुँ’ भित्र एउटा हुँकार थियो । शक्तिको साँढे कुर्लाइ थियो ।
नेताजीसंगको परिचय, अब अपरिचित व्यवहारमा परिणत भइसकेको थियो ।
‘आज पनि भेट्न नसकिने भयो’, म साह्रै असमञ्जसमा परिरहेको थिएँ ।
‘एउटै कुरा थियो, यहीं बाहिरै सुनिदिए पनि त हुन्थ्यो’ म मनमनै सोच्न थाल्छु ।
यो चाकरी र ढोका कुराइले म भित्रभित्रै गल्न थाल्छु । जीवनभर आत्मसंमानमा बिताएर, कसैसंग नझुकेको यो शीर, केवल आˆनो नेता भनेर मात्र झुकाइरहेछु, धाइरहेछु । अब यो आˆनोपन पनि बिरानो भइसकेको रहेछ ।
नेताजीसँगको परिचय अब अपरिचित व्यवहारमा परिणत भइसकेको थियो । नेताजीसँगै जेलनेलमा बिताएका दिनहरू ती सुख दुःखका साथहरू अब कुनै पुरानो गर्तमा खसेर पुरिइसकेको रहेछ । मैले संझेको आˆनोपन समयको पहिरो नै पहिरोले पुरिइसकेको रहेछ । मन नलागि नलागि फेरि म पी.ए.को कोठामा पस्छु ।
पी.ए.भन्छ- ”उहाँले त्यसो भन्नु भएपछि भेट्न संभव छैन । भोलि समयमै आउनुहोस् न ।”
त्यही बसेको अर्को कार्यकर्ता भन्छ-
”भोलि त शनिबार ।”
”त्यसो भए पर्सि आउनुस्” पी.ए.भन्छ ।
‘यिनीहरूलाई भन्न कति सजिलो छ । तर के गर्ने ? काम आˆनै हो ।’ म फेरि भोलि होइन पर्सिको भेट्ने आशमा अड्कन्छु ।
”कुन समय आउँ” म सोध्छु ।
”एक बजेबाट भेट्ने समय शुरु हुन्छ । त्यही समय मिलाएर आउनुहोस्” पी.ए.भन्छ ।
समयसंग मिल्न सक्ने भए, समय मिलाउन जान्ने भए म आज होइन, हिजै मंत्री भइ सक्ने थिएँ । समयसंग म कहिले पनि मेल खान सकिनँ । समयले सधैं मलाई लत्याएको छ, फ्याँकेको छ, धोखा दिएको छ । पी.ए.को आशय म बुझ्न सक्दिनँ । म नेताजीको समय अडकल्नै नसक्ने भएको छु । दोष मेरै हो समयलाई पक्डन नजान्ने ।
२०५३।६।२०।१
कुरेरै बस्नु परे पनि म समयमै पुगेको हुन्छु । एक नम्बरमै लगेर पी.ए.ले मलाइ भेट्न कोठाभित्र लैजान्छ ।
”के भयो ?” नेताजीको खह्रो आवाजको प्रश्न ममा तेर्सिन्छ ।
”बूढेसकालको एउटै छोरो, पढाइ पूरा गर्न लागि सकेको छोरो, प्रजातन्त्र प्राप्ति भन्दा ठूलो मेरो छोरोको ज्यान अवश्य थिएन । मैले नै उसलाई आन्दोलनमा भाग लिन उत्साहित गरेको थिएँ । त्यसो त उ पनि धेरै सचेत र सजग थियो । त्यसबखत उसको रगतमा क्रान्तिको खून दौडिरहेको थियो, मलाई गौरव नै लागेको थियो, केही वर्षको आयु भन्दा, जीवनभर अमर भएर, शहीद भएर मेरो छोरो गयो । तर जति पछि हुँदै गयो, मनभित्र सहनै नसकिने खोप रोपेर उ गएछ । बूढी पीरैपीरले आधा भइसकी । बूढेसकालमा मेरो त सर्वस्व भएछ ।” म भन्दै जान्छु ।
”कुरालाई छोटयाएर भन्नुस, नेताजीको समय कम छ । भेट्ने मानिसको भीड छ” पी.ए अर्डर गर्छ ।
”अब त्यही शहीदका परिवारले पाउने भत्ता भए पनि पाइन्थ्यो कि भनेर निवेदन दिएको थिएँ, के भयो भनेर ?” मैले गलित स्वरमा भनें ।
”जिल्लाबाट रिपोर्ट आइरहेछ, तपाइको छोरो आन्दोलनमा मरेकै होइन भनेर । यसै मरेको छोरोलाई शहीद भएको भन्ने ?” नेताजी कुर्लिनु हुन्छ ।
”होइन, यो सरासर झूठो हो । अन्दोलनमै मरेको हो, घटनास्थलमै साराले देखेको कुरा ।” म आश्चर्य चकित हुँदै भन्छु ।
”शहीद भएको हो भन्ने प्रमाण बिना कसरी सहयेाग मिल्छ, प्रमाण चाहिन्छ । हो भने प्रमाण जुटाएर ल्याउनु पर्यो ।”
नेताले त्यति बोल्न पाएका थिएनन्, पी.ए.ले मलाई बाहिर हटाएर अर्कोलाई बोलाउछ ।
फटाहाहरूको हात लामो हुँदो रहेछ । पञ्जा बाक्लो हुँदो रहेछ । सेतोलाई कालो र कालोलाई सेतो बनाउने सल्लाह रातारात चल्दो रहेछ । जिल्लाको षड्यन्त्रको आगोले केन्द्रलाई पनि ढपक्कै ढाकेको रहेछ । मेरो एक्लो, निरीह आवाजको त्यहाँ कुनै अर्थ थिएन । सत्यलाई असत्यले ढाकेको थियो, जताततै असत्यको बोलवाला थियो ।
आफ्नै पार्टीका ‘क’ पक्षकाले भन्थे- ”यो त ‘ख’ नेता पक्षको मान्छे हो, यसको छोरो शहीद भयो भनेर हामी किन प्रमाणित गर्ने । ‘ख’ पक्षकाले भन्थे यो त ‘ग’ नेताको पक्षको हो, हामीलाई के मतलब । फेरि ‘ग’ पक्षकाले घुमाईफिराई ‘क’ मै पुर्याउँथे । आन्दोलनमा भाग नै नलिएकाहरू जो झ्यालमा बसेर रमिता हेर्दा मरे, बजारमा किनमेल गर्न लाग्दा मरे, तिनीहरूको नाम शहीदमा दर्ता भएको थियो तर मेरो छोरो प्रजातन्त्र पुनस्र्थापनाको लागि आफ्नो विचार,सिद्घान्त र पार्टीको लागि काम गर्दा गर्दै गोली खाएर मर्यो, उसको मृत्युलाई प्रमाणिकता चाहिएको छ । ‘क’ नेताको विचार छ- उनका पक्षका शहीदले मात्र भत्ता पाउनुपर्छ, त्यस्तै ‘ख’ र ‘ग’ का नेताको पनि । एउटै पार्टी भित्रको विभाजित मनस्थिति र कुर्सीको होडबाजीको लडाइले दन्केको आगेामा म पनि हो मिइ सकेको रहेछु मेरो योगदान लागि मेरो व्यक्तित्वलाई यसरी टुक्रा टुक्रा पारेर नेताहरूको बीचमा भाग लगाएर, बगरेको मासु बनाएको मेरो मनले पटक्कै स्वीकारेको थिएन । म प्रजातन्त्रको लागि युद्ध गर्ने योद्धा हुँ । मैले कुनै नेताको लागि लडेको होइन । व्यक्ति पूजा गर्न मैले कहिल्यै जानेको छैन । व्यक्तिसंग मेरो कुनै सरोकार छैन । म मैले पाउनु पर्ने हक खोज्न गएको थिएँ । षड्यन्त्रको पिसाइले म जिल्लामै पिसिएर, थलिएर काठमाडौं आएको थिएँ- न्याय खोज्न । तर ती चाकडी र चुक्ली गर्नेहरूको माझमा, म न्याय खोज्ने, हक र अधिकार खोज्ने मानिस यसै हराएको थिएँ ।
बसले वेग लिइसकेको थियो । बाटाका जोल्टिङहरूमा ठक्कर खाँदा मेरो मनको तरङ्ग भंग हुन्थ्यो र फेरि बससंगै मन पनि दौडन लाग्थ्यो ।
व्यवस्था जति छीटो परिवर्तन हुन सक्दो रहेछ, संस्कार र संस्कृति तुरुन्तै अगाडि बढ्दो रहेनछ । राणा कालदेखिको चाकडी, चुक्ली, चाप्लुसी, शोषण र भ्रष्टाचारको संस्कार जस्ताको तस्तै रहेछ । नेताजीको मुखारविन्दबाट निस्किएको दुइ शब्द सुन्नलाई मलाई दुइ हˆता चाकडी गर्नु परेको थियो ।
म संगै बस्नेले रेडियो खोलेको थियो । नेताजीको भाषण आइरहेको थियो- ‘चाकडी, भ्रष्टाचार, तस्करी र चुक्लीको अन्त्य भएर देश प्रजातान्त्रिक अभ्यासमा अगाडि बढिरहेछ ?’
मसँग बस्ने विदेशी समाचार सुनेपछि सोध्छ-”के अहिले तपाइँको देशमा यस्तै छ ?” मेरेा देशको प्रजातन्त्रको छविलाई म बिगार्न चाहदैनथे । म मेरो व्यवस्थालाई विदेशीको आँखाबाट खस्न दिन चाहँदैनथें र भनें -”देशमा प्रजातन्त्र स्थापना भएको छ सबै राम्रो हुँदैछ, राम्रेा छ ।”
यी शब्दहरू बोलिसक्नासाथ झूठा शब्दहरूको मुड्कीले छातीमा एक घुस्सा हान्छ । आफ्नै शव्दहरूले आफैंलाई छलेको हुन्छ ।
म पनि यिनै नेताहरूको कार्यकर्ता भएकोले यिनीहरूकै केही अंश म भित्र पनि गडिरहेको रहेछ – बोलाइ र गराइको द्वैधता ।
(श्रोत :- Onlinekhabar )