कथा : भाग्यमानी

~निलम कार्की ‘निहारिका’~

’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’

न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी ।

सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’

सुत्केरी आमाको मन फुरुङ्ग भयो- ‘मेरी छोरी भाग्यमानी छोरी !’ अनुहार हेरिरही आमा सैलूले ।

भाग्यमानी नहोस् कसरी ? मान्छेलाई यहाँको ग्रीनकार्डको लागि कस्तो मरिहत्ते छ । ऊ सिधै सिटिजन । बाटो खुल्ला छ । हुनसके प्रेसिडेन्ट बन्न खुल्ला छ यहाँ जन्मेका सिटिजनको लागि ।

यति बिघ्न सुविधा छ बालबच्चालाई यहाँ ।

आमाको गर्भमा आएदेखि एक्स्ट्रा खाना दिन्छन् आमालाई, सरकारको तर्फबाट । भनौँ निःशुल्क, कमाइ कम भएकाहरूको लागि यो । जसको आम्दानी कम छ तिनको बच्चालाई जन्मेपछि पुग्दो खाने कुरा होस् भनेर ।

कुनै बच्चा भोको रहनु पर्दैन यहाँ ।

खान नपाएर कुपोषित हुनु पर्दैन ।

भोकमरी लाग्दैन ।

यतिबेला अनामनगर चोकमा मकै पोलेर बेच्ने महिलालाई सम्झन्छे सैलू ।

उसकी छोरी चार नाघेकी थिइन् होली, बेस्सरी कुटेकी थिई मकै बेच्ने महिलाले- ‘दुई घोगा खाइसकी अझै ले भन्छे, अझै खाने रे ! कति नै आउँछ नाफा ? दस घोगा बेच्दा एउटा जस्तो पर्छ, कोइला त्यत्ति महँगो छ, मकै खोज्न कहाँ पुग्नुपर्छ, कति थोते पर्छ ।’ ऊ सराप्दै थिई, ‘तँलाई कालले खान नसकेकी, खानको काल । खानको लागि जन्मेकी ।’

अभावको दरिद्रता ! पटकपटक उसले सम्झने दृश्य ।

ऊ यो सम्झन्छे । त्यो दिनदेखि धेरैलाई यो दृश्यको बयान पनि गरी । जतिलाई सुनाई, बढी जसोले सामान्य कुरा हो भने । केहीले दुःखमनाउ गरे ।

त्यो दरिद्रता यहाँ छैन ।

आमाको दूध नआए डिब्बाको महँगो दूध पाइन्छ निःशुल्क । दूध ? आˆनो देशमा बालमन्दिरमा एकताका बच्चाको दूध, लिटो बाँड्थ्यो’रे सरकारले । तर लिटो मात्रै भेट्थे’रे बच्चाले, दूध कर्मचारीको घरमा बाक्लो चिया बन्थ्यो’रे । सैलूकी आमाले उसलाई सुनाएको कुरा यो । त्यो बेला ऊ निकै सानी थिई या जन्मेकै थिइन ।

मकै खान्छु भन्दा कुटाई खा’की, खरानी दलिएको मैलो जामा लगा’की बच्ची आउँछे सैलूको सम्झनामा । बच्चाले होमवर्क गरेन भनेर शिक्षकले लाठी बर्साउँदा बच्चा अस्पताल भर्ना गर्न परेको घटना नौलो होइन मेरो देशको लागि । त्यस्तो समाचार अहिले पनि आउँछ अनलाइन समाचारमा । यहाँ शिक्षकले त के आˆनै आमा-बाबुले समेत पिट्न पाउँदैनन् त्यसरी । त्यसरी अस्पताल पुग्नु त परै जाओस् थप्पड लाउन पाउँदैनन् । थप्पड टाढाको कुरा, अपशब्द भनेर गाली गर्न, थर्काउन पाउँदैनन् यहाँ । यहाँको निम्ति त्यो कुटाइ महाआश्चर्य हो ।

‘हो, हाम्री आयुषा छोरी पक्कै भाग्यमानी हो ।’ सैलू निक्र्यौलमा पुगी ।

ओह, त्यो बन्द, हडताल, लुटपाट सबैबाट टाढा छ आयुषा ।

पकाउने ग्याँस नपाएर उसको जाउलो पकाउन पाइनँ भन्नुपर्ने छैन ।

बिजुली नआएर होमवर्क गर्न पाइनँ भन्ने छैन ।

दूध पाइएन भन्ने छैन ।

कुनै कुराको चिन्ता छैन ।

‘हो, छोरी भाग्यमानी हो । मेरी छोरी भाग्यमानी छोरी ।’ बलियो निक्र्यौलमा पुग्छे अझ ।

सासूसँग भनी- ‘आमा हाम्री छोरीको भाग्य बलियो रै’छ ।’

बुहारीको सुत्केरी उतार्न आएकी सासुले होमा हो थपी- ‘भाग्यमानी छ, जन्मँदा जन्मँदै हजुरआमालाई यो देश देखाई । अब सबैलाई तान्छे यतै यसले, फुपूहरू, अङ्कल सबैलाई यतै बोलाउँछे यसले । मेरी लच्छिनकी नातिनी Û’ गालामा चुप्पा खान्छे ।

‘अब अरू तिम्रा नन्द देवरको समेत पीर रहेन ।’ थप्छिन् सासुले ।

छ महिनाको लागि आएकी सासू-बुहारीको सुत्केरी स्याहार्न ।

सुत्केरी भनेर सधैँ कोठामा बसेर काम चल्दैन । हो, एक जनाको कमाइ सानो परिवारलाई खान पुग्छ, कोठा भाडा पुग्छ यसो बचाउँ भने पुग्दैन । बचाउँ भन्यो भने छटपटी हुन्छ ।

सासूसँग छोरी छाडेर जागिरमा हिँडी दुई महिनामै सैलू । चार महिनाको लागि ढुक्कसँग काम गरी, छोरी हजुरआमाको काखमा छ भनेर ।

छ महिनाको भिसा सकियो । सासू नेपाल फर्किन् ।

सासू नेपाल फर्केको अर्को दिनमा नै आयुषा ठूलो समस्या बनी आमा-बाबुको कामको । अब के गर्ने ? समाधान त थियो उनीहरूसँग- बेबी सिटर । तर सबैको हेरेर उनीहरूलाई राम्ररी थाहा थियो सहज उपाय पक्कै होइन । तर पनि पुग्नु थियो बेबी सिटरको कोठामा ।

बेबी सिटरकहाँ पुगी पूर्वयोजना अनुसार ।

ऊ नजन्मँदैदेखिको योजना थियो अरूको जस्तै उनीहरूको पनि । केही महिना हजुरआमा बोलाउने अनि बेबी सिटरकहाँ राख्ने ।

बेबी सिटर !

बेबी सिटर दिदी बच्चाहरू जम्मा पारेर आफ्नै कोठामा हेर्थिन् । कहिले दुईजना मात्र हुन्थे बच्चा, कहिले सातजनासम्म । सात भने कहिले नाघेको थिएन । पाँचतलामाथि बस्थिन् उनी, दुईवटा सुत्ने कोठा र सानो कमन-रुम थियो । छोरी ज्वाइ, अनि अर्को एक परिवार एकएक कोठामा, उनी कमन-रुममा सुत्छे । अङ्ग्रेजीको कारणले बाहिर काम गर्न गाह्रो छ, आफ्नै कोठामा हेर्छिन् बालबच्चा । अन्त पनि यसरी हेर्ने अरू छन् । उनीहरूले यिनी दिदीलाई रोजे । अलि सस्ती छन् यिनी दिदी अरूको तुलनामा । तर यसरी बच्चा हेर्नु हेराउनु दुवै कानुनको विपरीत हो ।

बिहान काममा जाने बेला त्यहाँ छाडिदिन्छे सैलू, यो सबै जानेर पनि । उसले झैँ अरूले पनि छाड्छन् । अरूका आमा-बाबुसँग भेट हुन्छ आउँदा जाँदा ।

राति फर्केर आउँदा छोरीलाई बेबी सिटरकहाँबाट लिएर आउँछे । सधैँ साढे आठ बज्छ आउँदा । बिहान ठीक नौ बजे छोड्छे । दुई महिनादेखि बच्चाले खाने दूध छातीमै सुकाई उसले । डिब्बाको महँगो दूध बिनाशुल्क पाइन्छ, तर आमाको हृदय दुख्छ भित्र कतै ।

आफ्नो देशमा हुँदा सरकारी कार्यालयमा अधिकृत थिई सैलू ।

यहाँ आँखीभौँ मिलाउने काम गर्छे । डीभी चिठ्ठा परेको चिठी पाएपछि उसले यो काम सिकिहाली, यहाँ स्टोप छ पहिला नै यता आएकाहरूले । हुन पनि राम्रो ग्राहक आए राम्रै टिप्स मिल्छ । कोही कन्जूस हुन्छन्, एक डलर नदिने पनि आउँछन् । आफ्नो आफ्नो ग्राहक हुन्छ । नयाँ ग्राहक आएकोलाई बाँडेर लिनुपर्छ पालैपालो ।

साँझ र्फकदा आफ्नो ज्यान आफ्नो होइनझैँ लाग्छ । जता छोए उतै दुख्छ । स्टोलरमा छोरी गुडाउँदै आउँछे । आउँदा कहिले पल्लो कोठाको भाइहरू आइसकेका हुन्छन्, कहिले आधा रातमा आउँछन् । आए पनि नआए पनि खाना बनाउने काम महिलाको मात्र हो भनेझैँ गर्छन् । पूरा ˆलेट लिँदा एक जनाको कमाइ सबै रेन्टलाई नै बुझाउनपर्ने हुँदा एक कोठामा दुई विद्यार्थी भाइहरू राखेका छन् । अर्कोमा आफूहरू छन्, सैलूहरू ।

छोरीको पेट सधैँझैँ आज पनि डामो छ । खुवाउन खोज्छे झन् चर्कोसँग रुन्छे ।

फ्रिजभरि खानेकुरा छ तर छोरी खान्न । भोलि बिहानी काममा जानु छ । एकपटक फेरि अनामनगरकी मकै बेच्नेकी छोरीलाई सम्झन्छे ।

सैलू र्झकन्छे, झर्काइमा थकाइ छ, अरू के-के छ… ।

श्याम बन्धु !

जन्मेको देशमा हुँदा जागिरे थियो । अहिले यहाँ काम गर्छ । ऊ सबैलाई काम गर्छु मात्र भन्छ, धेरैलाई थाहा छैन के गर्छ कहाँ गर्छ ? यो कामको इज्जत गर्ने ठाउँ हो, सानो ठूलोको वर्गीकरण छैन । बिहान दस बजे जान्छ, राति एघार नबजी आउँदैन । शुक्रबार, शनिबार र आइतबार मुख्य थाक्ने दिन उसको । छोरीको मुख राम्ररी हेर्न पाउने दिन बिदाको दिन मात्र हो । नत्र आˆनो निदाउन आतुर आँखाले कोक्रेमा निदाइरहेको छोरीलाई यसो हेर्छ अनि सुत्छ ।

छोरी आयुषा ।

यसै गरी दुई वर्ष पूरा भयो । बिहानै बेबी सिटरकहाँ पुग्नु, साँझसम्म आमाको बाटो कुर्नु । कसैले आˆनै कोठामा बेबी सिटर बोलाउँछन् । खर्च महँगो पर्छ । एकजनाको कमाई सबै बुझाउनुपर्छ । बेबी सिटरकहाँ लगेर छाड्दा धेरै सस्तो पर्छ ।

सुतिरहेकी छोरीलाई उठाएर स्टोलरमा गुडाउँदै पुर्‍याउँछे सैलू काममा जानुअगाडि । पहिला त आमा नचिन्दासम्म केही थिएन । अहिले चिन्छे, मान्दिन । स्टोलरमा बसाउनासाथ रुन लाग्छे । छोडेर हिँड्ने बेला चिच्याई-चिच्याई रुन्छे । सैलू त्यहाँ हुँदासम्म बेबी सिटरले समात्छे जब सैलू बाहिर पुग्छे छाडिदिन्छे बेबी सिटर दिदीले… आयुषा रुन्छे, थाक्छे… थाक्छे… रुन्छे… कुनै नयाँ कुरा होइन । बेबी सिटर दिदीलाई पनि कुनै नयाँ कुरा छैन बच्चा रुनु, थाक्नु । रोएको बच्चा फकाएर बसिसाध्य पनि छैन ।

आमा तल नपुग्दासम्म काखमा लिन्छिन् नानी… ज्ञानी नानी… यी भाषामा बोल्छिन् । अनि केहीबेरमा छाडिदिन्छिन् फ्यात्त भुइँमा ।

एक्लै यताउता गर्छे । सामान फाल्छे । खेलौना खोसाखोस पर्छ कहिले अरू केटाकेटीहरू । सक्नेले नसक्नेलाई पिटी पनि हाल्छ । कहिले अति भयो भन्दै दिदी हप्काउँछिन् ।

ढोका खोलेको आवाज आउनासाथ आयुषाको कान चनाख हुन्छन्, कतै मेरी आमा हो कि भनेर । ढोका खुल्नासाथ एक आशाको हेराइ हेर्छे । पाहुना या अरू कोही हुन्छन् । निराशाको सीमा हुँदैन । अब त समय ठम्याउन सक्ने भएकी छ, यो बेला आउने बेला भो भनेर । रुन्छे, पछारिन्छे । डराउँछे उत्ति नै । अलि ठूलो आवाज आउनु हुन्न तर्सन्छे । राति निदमा पनि तर्सेर रुन्छे ।

राति सुत्दा आमासँग सुताउने चलन यहाँ छैन, कोक्रोमा एक्लै सुत्ने हो । आमासँग सुत्दा सुरक्षित हुँदैन भन्छन् । कसैले सँगै सुताए पनि किरिप किनेर कोठामा राख्ने गर्छन् । नभए जो आए पनि खोई किरिप छैन ? प्रश्न यही हुन्छ ।

सुरुसुरुमा अलग सुताउन मन नभए पनि अलग सुताएको जाति भन्न लागेकी छ सैलूले पनि । थाकेर आइन्छ ! केही भयो भने भइहाल्यो नि ।

राति आमाको हातलाई तकिया बनाएर सुत्नु छैन बच्चालाई यहाँ ।

महिना दिनमा बाबुलाई फुर्सद भएको दिन बाबुसँग कारमा कतै लगे भने बाबु-आमा अगाडिको सिटमा हुन्छ । कार सिटमा बाँधिएर पछाडिको सिटमा एक्लै हुन्छे आयुषा । एक वर्ष पुग्नुपहिला पछाडि मुख फर्केर बस्नुपथ्र्यो, अहिले अगाडि र्फकन्छे ।

कुनै दिन पार्क घुम्न लगे त्यो स्टोलरमा नै गुड्ने हो आमाको काखमा होइन ।

‘नानू’ भनेर बोलाउने कोही छैन ।

तोते बोलीमा साथ दिने साथी छैन ।

यसो गालामा चुम्मा गरिदिन्छन् त्यत्ति हो । कतै रेस्टुरेन्ट खान गए स्टोलरमा बाँधिएर बस्ने हो । उसलाई हिँड्ने जमिन छैन ।

भाग्यसँग रेस्टुरेन्टमा पहिलो जन्म दिन मनाए । रमझम पार्टी चल्यो, डीजे चल्यो । ऊ भोकाई, रोई, कराई । सबै नाच्दै रहे । आमा-बाबुलाई सत्कार गर्दै र पाहुनालाई साथ दिँदा ठिक्क भयो । ऊ कति बेला स्टोलरमा निदाई अन्य पार्टीमा जस्तै ।

बाबुसँग जान खोज्दिन, आमासँग टासिन्छे बाबुले बोलाएमा । मानौँ बाबा चिनेकी नै छैन एकै घरमा भएर पनि ।

हिउँ झरिरा’छ । आमा चाहिँले स्टोलर कुदाउँदै बेबी सिटरकहाँ छोडिदिन्छे । पानी परिरा’छ । प्लास्टिकबाट पानी पसेछ । लुगा भिजेछ । ‘बेबी सिटरकहाँ पुर्‍याएर लुगा फेरिदिनू है दिदी’ भनेर गई आमाचाहिँ । फोनमा अल्झिई दिदी झन्डै एक घन्टा चिसो लुगामा नै । ऊ रुन्छे । रुन निषेध छ त्यहाँ । सुकसुक गर्दै डराई-डराई रोई ।

त्यसपछि हप्ता दिन खोकी, रातमा समेत ।

डाएपर पिसाबले झोली पर्छ । ‘ल बिर्सेको’ भन्दै फेरि दिन्छिन् दिदी झ्याकभुक पार्दै । ‘दुब्ला’की छ । खानै मान्दिन जति कोसिस गरे पनि ।’ दिदीको गुनासो दिनदिनैको । अझ भन्छिन्- ‘मैले त नसम्हालेझैँ भा’की छ, सबैलाई भन्दा यसलाई बढी गर्छु ।’

राति निद्रामा रुँदै उठ्छे । रातमा दुई-तीनपटक दूधको बोतल रित्याउँछे निद्रामा नै । ऊ बामे सरेको हेरेर खुसी हुने कोही भएन ।

पहिलो दाँत टुसाउँदा हेरेर खुसी हुने फुर्सद कसैलाई भएन ।

बेबी सिटर दिदीलाई पीर परेको थियो- अब धेरैपटक डाइपर फेरिदिनुपर्ने भो ।

ताते-ताते गरी, उनै दिदीलाई पीर पर्‍यो । अब सामान यताको उता फाल्ने भई । स्याहार्न गाह्रो हुने भयो ।

अलिअलि आवाज निकाल्न लागी, पीर पर्‍यो उनैलाई, अब हल्ला गर्ने भई ।

यो सबै हेरेर खुसी हुने कोही भएन । पहिलोपटक आयुषा आफैँ उभिएको बेला हेर्ने आँखा खै ?

आˆना तालमा दूधे दाँत देखाएर हाँस्थी, तर हाँसोको उत्तर आएको खोइ ?

कति बेला दुवै हात पिटेर ताली बजाउँथी ।

एक्लै गुनगुनाइरहन्थी मीठो गीतजस्तो, सुन्ने कान खोइ ?

झर्को लाग्छ दिदीलाई नै । ऊ कसैले मलाई हेरेका छन् कि भनेर यसो हेर्छे, कोही छैन । उल्टो झर्को लागेको हेराई हेर्दै गरेकी दिदीको अनुहार देख्छे ।

‘यो नगर त्यो नगर । नगर नगर नगर’ भनेको सुनेकी छ । दिदीले टेलिफोनमा कुरा गर्दा नेपाली शब्द सुन्छे, त्यति हो । नत्र धेरै सुनेकी छैन शब्दहरू ।

आज आनीले सिसा फुटाई । सानो घाऊ लाग्यो । भगवान्को सिसा फुटाई ।

‘मलाई अलच्छिन हुने भयो’ दिदीको गुनासो अर्कै छ आज । हिजोआज गुनासो धेरै हुन्छ दिनैपिच्छे सैलूसँग ।

छोरी डराइरहेकी छ । आफ्नी आमासँग पनि आउन्न, अलि टाढा टाढा जान्छे ।

‘भनेको मान्दिन । अलि सानी छँदा सोझी होलीजस्ती थिई । यसले दुःख दिन्छेजस्तो छ बहिनी तपाईंलाई पछि ।’ उनै सिटर दिदीको कुरा ।

घर पुगेपछि पनि बेस्सरी रोइरही । दुःख दिइरही आयुषाले । केही भन्न खोजेजस्तो इसारा गर्न खोजेजस्तो । तर भाषा बुझिन सैलूले, न इसारा नै बुझी । पूरा आमा भन्न पा’को भए पो बुझ्नु… मडारिइरहन्छ नानी । लुगा फेरिदिन खोज्छे ऊ, झन् मडारिन्छे, रुन्छे ।

बल्लतल्ल लुगा खोल्छे छोरीको । देख्छे, पछाडि पिठयूँमा औलाको मेटिदै गरेको डाम । मोटो औलाको डाम । सैलूले यो छुन खोज्छ, झन् रुन्छे । चर्को स्वर रुन्छे नानी । एकाएक उसको हात टेलिफोन समाउन पुग्छ- ‘आज म सजाय नदिई छाड्दिन, कम्प्लेन गर्छुगर्छु पुलिसकहाँ आज । पहिला पनि चोट नै चोट हुन्थ्यो । केटाकेटी एक-आपसमा लडे भन्थिन् दिदी, आज त यति मोटो औलाको दाग ? अझै दाग मेटिएको छैन ।’ नम्बर हान्न खोज्छे । डायल गर्न खोज्छे १११ ।

१११ इमरजेन्सीमा डायल गर्ने नम्बर । यो हानेपछि पुलिस, दमकल, अनि एम्बुलेन्स आइपुग्छ घरमा सेवा दिन ।

डर अनि रिसले हात काँप्छ ।

उसले रिसिभर राख्छे, आफूलाई नियन्त्रणमा पार्दै । सम्झन्छे बाल नेग्लिजेन्स, बालअधिकार हननमा परेका बाबु-आमाहरूका सत्य खबर ।

यहाँ कम्प्लेन गर्नु कसको ?

सैलू सुम्सुमाउँछे । यतिविधि बालअधिकार भएको देशमा जन्मेर पनि पिठयूँमा परेका यी डामहरू ? छोरी ! मेरी छोरी, भाग्यमानी छोरी ! बलियो गरी अठयाउँछे ।

सम्झन्छे, सासू जाने बेला श्रीमान्ले भनेको वाक्य- ‘आमा ! यहाँ छोराछोरीको लागि बस्ने हो । बालबालिकाको भविष्य धेरै उज्ज्वल छ यहाँ । हामी कसरी हुर्कियौ ! भुइँमा नटेकी हुर्कन्छन् यहाँ ।’

(श्रोत :-  कथा संग्रह ‘बेली’ बाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.