संस्मरण : पिलोको पिरोलो

~ध.च. गोतामे~

Dha Cha Gotame

रोगहरु पनि अनौठा किसिमका हुन्छन् । उदाहरणका लागि पिलो कै चर्चा गरौं । पिलो एक प्रकारको सानो खटिरा हो, जो मानव शरीरको कुनै भागमा पनि एकपट हुन सक्दछ । तर यो खटिरा आफ्नो स्थानीयकरणका लागि प्रसिद्ध भैसकेको छ । प्राचीनकालमा छोरीको छोराबाट पीडित भएका कुनै बुढाबाजेले पिलोको प्रोटोकल कायम गरी यसका लागि शरीरको ज्यादै महत्वपूर्ण र सुखद स्थान निर्धारित गरिदिएका थिए । त्यस बखतदेखि यसले मानिसको आसन कहिल्यै थिर हुन पाउँदैन । कि त उसले निर्जन स्थानमा डुलिरहनुपर्छ अथवा ज्यादै नरम शैयामा सधैं पल्टिरहनु पर्ने हुन्छ । यी दुवै अवस्थामा मानिसबाट कुनै काम हुन सक्दैन । डुल्दा चुरोट खाइरहने र पल्टिदा घटिया उपन्यास पढिरहने बाहेक । मलाई लाग्दछ विष्णु र शिव दुवैलाई पिलोले सताएको हुँदो हो, त्यसैले एकजना सर्पको नरम शैयामा सुतिरहन्थे र अर्को सदैव डाँडा काँडा चाहारिहन्थे । दुवैबाट श्राप र वरदान दिनेबाहेक अरु कुनै काम भएन । ब्रहृमालाई कहिले पिलोले सताएन, अतः उनी आसन थिर गरेर बसे र कामको चप्ज लेखे ।

म पनि केही दिनदेखि पिलोले पीडित छु । आसन थिर राख्न सक्दिन तसर्थ कुनै काम नगरी पल्टिरहेको छु । यता मेरो मनमा बडो राम्रा-राम्रा विचारहरु फुर्न थालेका छन् । केही काम नगरी पल्टिरहनु मनुष्यका लागि निकै आनन्ददायक कुरा हो । कुनै विकासशील मुलुकका लागि त पल्टिरहनाले नै साहित्य विज्ञान र नाना किसिमका कला कौशलको विकास भएको देखिन्छ । यहुदीहरु दिनरात पल्टिरहन्थे, अतः उनले अनेक ग्रह नक्षत्रहरुको पत्तो लाएर खगोल विज्ञानको विकास गरे । कुनै काम नगरी पल्टिरहने गुण हामीमा पनि नभएको होइन, तर त्यो धैर्य र लगनशीलताको अझै अभाव छ, जसले अद्भुत उदाहरण विष्णुले प्रस्तुत गरे । उनी यति धैर्य साथ पल्टिरहन्थे कि उनलाई समयको कुनै ज्ञानै रहेन । पल्टिंदा वर्षौ विते, नाभीमा कुण्ड जम्यो, कमल फुल्यो र त्यसमाथि ब्रहृमा प्रकट भएर आदि साहित्यको सृष्टि समेत गरे ।

यही सब विचार गरेर चाहन्छु कि केही क्षण फुर्सद झिके र पल्टिहालुँ र थोर बहुत देशहितको कार्य मबाट पनि हुन सकोस् । तर म पल्टेको मेरी पत्नीका लागि सहृय छैन । यो हक उनले आफ्नै लागि सुरक्षित राखेकी छिन् । यता म पगरी लाएर अड्डातिर लाग्यो कि उनी लम्पसार पर्छिन् र तबसम्म उठ्दिनन् जबसम्म दुई चार छिमेकी जम्मा भएर ढोका फोर्ने तरखर गर्दैनन् । यसबारे केही सम्झाउने चेष्टा गर्‍यो कि भन्छिन्- “दिनभरि तपाईं सिंहदरवारमा सुत्न हुन्छ भने मैले घरमा सुत्न किन नसुत्नु ?” सिंहदरवारजस्तो पवित्र स्थानबारे यस्तो भ्रामक धारणा कुन अखबार पढेर उनले बनाइन् त्यो पत्तो पाउन सकेको छैन ।

कहिलेकाहीँ यसो पल्टिहालुँ भन्यो कि उनी परैबाट पड्किन्छिन्- “यो कुवेलामा सुतेर के कामज्वरो झिक्ने विचार छ ?” -स्पष्टिकरण जिउ कमाउने भएकोले कामज्वरो भनिएको, काम, क्रोध, लोभपट्टी यसको कुनै तालुक छैन ) त्यसबाट पनि अटेरी गरेर सुतिरहें भने नजिक आएर सोध्छिन्- “के भो जिउ त ठीक छ ?” पाँचै औला (नङ्गसमेत) निधार छाम्न थाल्छिन्, मानौं यसरी आराम गर्नका लागि मेरो ललाटमा कुनै अनुकूल रेखा छ छैन, त्यो खोजिरहेकी हुन् ।

“अलिकति ज्वरांश जस्तो छ ।” पल्टिरहनको लागि मलाई यही भन्नु उपयुक्त लाग्यो । “अस्ती दही नखानुस् भन्दै थिएँ, आज ज्वरो फुटिहाल्यो ।” उनको स्मरण शक्ति देखेर मलाई सदैव ईष्र्या हुन्छ । दुई महिनाअघि आचमनी आकारको तीन चम्चा दही खाने सौभाग्य पाएको हेक्का मलाई पनि भयो ।

“आज निस्लाम बस्नुस् भरे एक कप वार्ली बनाइदिउँला ।” उनलाई थाहा छ मेरो ज्वरोको सत्यता पत्ता लाउने ठूलो हतियार वार्ली भन्ने वस्तु हो । आश्चर्य छ एउटै अनाजबाट तयार हुने दुई किसिमका पेय पदार्थहरुमा कसरी यति अन्तर आयो । पत्नी आफ्नो निर्णय दिएर जानै आँटेकी थिइन्, मैले छेकारो काटें- “पि्रय, म त देश विकासको लागि केहीवेर पल्टेको मात्र थिएँ, वास्तवमा मलाई केही भाछैन ।” पत्नीले भनिन्- “गजवको अभिनय गर्नु हुँदोरहेछ । अब विरामी पर्नुभयो भने म डाक्टरको सट्टा डाइरेक्टर पो डाकिदिनेछु । अब उठ्नुस् असन सम्म गएर एक झोला साग किनेर ल्याउनुस् । भरेलाई तरकारी छैन ।” मैले देखेँ पत्नी एउटा रित्तो बोरा लिएर उभिएकी छिन् । अनि प्रसन्न भएर भनेँ- “पि्रय, धन्य छ, तिम्रो माया । तिमीले बोक्नु पर्दा झोला बोरा भैदिन्छ अरुलाई बोकाउनु पर्दा बोरालाई झोलामा परिणत गरिदिन्छयौ । कहिले आउँला त्यो स्वर्ण युग जब संसारबाट सधैंका लागि बोला र झोलाको भेद समाप्त भएर जाला ।” म बोरा बोकेर साग किन्न जानै आँटेको थिएँ, उनले पुनः सावधान गराइन्- “अस्ति जस्तो नहोस्, अलि होस् गरेर तरकारी ल्याउनु होला । “अस्ति के भो पि्रये । यता इसवगोल खान छाडेदेखि मेरो संझना क्षीण हुँदै गएको छ ।” मैले बडो कातर भएर सोधें ।

“के भो ? सारा साग बाटो भरी खाँदैखाँदै साँढे घरसम्म आइपुग्यो ।”

“देवी, धन्यवाद देऊ नगरपालिकालाई जसले केवल शाकाहारी साँढे पालिराखेको छ । नत्र भने त्यसदिन मैले पनि साग रंगको बुशर्ट लाएको थिएँ । तर आज कुनै साँढेसँग सम्पर्क हुने चान्स छैन ।”

“त्यो कसरी ?”

“जुन किसिमको वनस्पतिको जाती आज म ढुवानी गरेर ल्याउँदै छु त्यसलाई खाने त के कुरा कुनै पनि जीवजन्तुले सुँघ्न समेत मन पराउने छैन ।” यस वृत्तान्तपछि म असनतिर लागेँ । उनी झ्यालमा बसेर मैले सुन्ने गरी गीत गाउन थालिन् ।

जेहोस् आज त्यो अवस्था थिएन । सौभग्यले मलाई पिलोले थल्याईराखेको थियो र आराम गर्ने पूर्ण अवसर मैले पाएको थिएँ ।

रोग-शोकको जस्तो सुकै सानातिना घटना घरमा घटोस् कसरी कसरी छिमेकीहरुलाई तत्काल थाहा भैहाल्छ । यो वोधार्थ कसले तिनलाई दिन्छ, आजसम्म बुझ्न सकेको छैन । यसैगरी एकजना बुजु्रक छिमेकीले मेरो गोप्य ठाउँको पीडाबारे सुइँको पाएछन् । मुखमा हालेको गाँससमेत निल्न भ्याएनन्, चपाउँदै मकहाँ आइपुगे- “हेरुँ कहाँ छ पिलो ?” आफ्नो हात मेरो सुरुवालको गाँठोसम्मल्याई पुर्‍याए । भ्रम रहेछ । उनी मेरो पेट छाम्न थाले- “के खानु भएको थियो ?” मैले भनें- “छिमेकीज्यू पिलोसित खाद्यको के सरोकार छ ?” मेरो उत्तरबाट उनले उमेरको अपमान हुन गयो, कसरी चुप लाग्थे- “त्यसो नभन्नुस् शरीरका सबै रोग, क्लेश र पीडाहरु खाद्यको विकारबाटै निस्केका हुन्छन् ।

“त्यसो भए हात भाँचिनाले जुन पिडा हुन्छ, त्यो कुन भोजनले गर्दा भएको हो ?” मलाई लाग्यो छिमेकी अब निरुत्तर हुनेछन् ।

“हात भाँचिनु स्वयं कुनै रोग होइन, त्यो त दुर्घटनाको परिणाम मात्र हो । दुर्घटना के सेवन गर्नाले हुन्छ त्यो सर्वविदितै छ ।” उनले भने ।

यस बखत तर्क सुनेर लज्जित हुने मेरो पालो थियो । तर मलाई त झन् एउटा कक्षा सम्झेर हाँसो पो उठ्यो । एकजना खाद्यवादी बैद्यसित उनको नोकरले प्रश्न गर्‍यो- “आज रोगीको नाडी हेरेर उसले चना खाएको कसरी भन्नुभयो ? मलाई उदेक लाग्यो । बैद्यले भने- “यसमा उदेक मान्ने कुरा छैन, यसो हेरें चनाका छोक्राहरु खाटमुनि थिए, मैले चना खाएको अड्कल गरें ।” केही दिनपछि बैद्यराज नभएका बेला नोकर स्वयं कलमा गयो । उसले रोगीको नाडी समात्यो र खाटमुनि चियायो । त्यहाँ उसले केही चप्पल जुत्ताह देख्यो । परिणाम स्पष्ट छ – आफ्नो तर्कनाले गर्दा बैद्य भृत्य स्वयं बाटा र बाँसबारी भोजन गरेर फक्र्यो ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.