झुल

~तारिणीप्रसाद कोइराला~

मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा सानु नुनतेल-मसलाहरुको पसल थाप्ने साह्रै रहर भएकोले झट्ट एउटा तुच्छ झुलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन । तीनपल्ट हीरा साहुको पसलसम्मन् पुगेँ र थरी थरीका झुलहरु हेरेँ । एक दिन एउटा झुल मन पनि पर्‍यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्म पुर्‍याएँ पनि । थैलीबाट सिङ्गो एक कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भने -”मन परेन ।”

मारवाडी भाषामा के के सराप्यो मैले केही बुझिनँ । कसुर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ । जब राती टुवीँई … ञ … ट्वींई … ञ गर्दै लामखुट्टे कानमा कराउन लागे अनि झुल नकिनेकोमा पछुतो हुन लाग्यो ! आफैँलाई धिक्कार्दै बिहान भयो । रातभरि नसुतेकोले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टार लागी हाईहाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।

दिनभरि त लामखुट्टेको विचारै आउँदैनथ्यो, तर रात के पर्‍यो गाला बजायो, कान पिटयो, एउटा कोल्टेबाट अर्को कोल्टे पर्‍यो र बिहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बितीदनँ भन्थ्यो । एक त वीरगञ्जको लामखुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो गन्हाउने छिँडीको डेरा, बितोस् पनि कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्यो । बाँसको पङ्खा घुमाउँदै घुमाउँदै आँखा लठ्ठिनु के थियो लामखुट्टेको खुट्टीको प्रहार र विनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ – एउटा बगैँचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्ना सुकुमार, सुकिला नाङ्गा गोडा बिस्तार बिस्तार बढाउँदै मधुरो स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् । तर अकस्मात् तीनी थामिइन् । म झल्याँस्स बिउँझे । युवतीको बिहाग त लामखुट्टेको सूर पो रहेछ । गर्मीले खल्खली पसिना आयो, लामखुट्टेहरुले टोक्न लागे, रछानको गन्धले बस्न मुश्किल पर्‍यो । तर के गर्नु, हवादार बङ्गला, बाबरलेटको ठूलो झुल, फूलको सुगन्ध, बिजुली पङ्खाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई सम्झनुपर्छ – फेरि पङ्खा घुमाउन थालेँ । अकस्मात् झुल किन्ने विचार आयो-भोलि त अवश्य किन्छु, रुपियाँ भईभईकन किन दुःख भोग्नु ! ब्याहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झुल किन्ने निश्चय गरेँ । तर विहान त हुनै खोज्दैनथ्यो !

भोलिपल्ट उठ्नासाथ हीरा साहुको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरो बिर्सेछ । ठीक भयो नत्र … !

मैले झुल देखाउनलाई भनेँ । एकै छिनमा मेरो अघिल्तिर थरीथरीका झुलहरुको थुप्रो भयो । तर मलाई त छान्नु थिएन ! चार महिनापहिले नै छानिसकेको थिएँ । त्यसकारण अरु झुलहरुलाई पन्छाउँदै उही “सत्र आने” झुल खोज्न लागेँ । एक्कासि मनमा शङ्का उठयो -”कहीं त्यो झुल बिक्री भइसकेको भए !” मन मनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झुलको मोल गराउनुपर्‍यो । एउटा निकै राम्रो झुल थियो, गौरसँग हेरेँ र दाम सोधेँ । एक रुपियाँ ६ आना भन्यो । तर धेरै बेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम दुई रुपियाँ । पहिलोभन्दा यो नै राम्रो र मजबूत थियो । यही किन नल्यूँ ६ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेरै असल । हुँदा हुँदा बाबरलेटको झुलको दाम सोधेँ, सात रुपियाँ भन्यो । पहिले हेरेको मामूली कपडाको झुलभन्दा यो बाबरलेटको झुलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरु थपेर बाबरलेटको नै नलिनू ? सुनेको थिएँ, बाबरलेटको झुल धेरै वर्ष खप्छ ।

मैले पसलेलाई सोधेँ – “सातभन्दा घट्दैन ?”

उसले भन्यो – “अँहँ ।”

यसरी टाउको हल्लाउँदै उसले यो ‘अँहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्लाझैँ लाग्यो । तर मसँग सात थिएन, मैले साँढे पाँच भनेँ । धेरै मोलतोल हुँदा हुँदा अन्तमा ६ मा मञ्जुर भयो । तर थैली निकाल्दा मेरो हात काम्यो । एउटा झुलको ६ रुपियाँ ! किनुँ कि नकिनुँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लामखुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले टयाप्पटयाप्प पिटेको याद आयो । नाकको टुप्पोमा लामखुट्टे बस्तथेँ ! अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा तीन-चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि ! – तर ६ रुपियाँ किन खर्च गर्नु ?-लामखुट्टेको डरले ? मुटुमा ढ्याङग्रो बज्यो, तर मनलाई दरो बनाई रुपियाँ मारवाडीको हातमा राखिदिएँ, एक किसिमले दान दिएँ-पाँच ओटालाई त उसले हातमा राती हेर्‍यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन्, कहिले आँखानजिकै टाँसी र कहिले कोटयाई कोटयाई हेर्न लाग्यो । केही गरी चलेन भने ? म डराएँ । तर हैन, चल्यो ! भुईँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।

त्यस दिन केही काम गरीनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्‍याउने र पसल थाप्ने विचार, कहाँ एउटा झुल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झुललाई दिनभरी छिँडीमा बसी हेरिरहे । यसका एकनासका साना साना प्वाल, बकुल्लाभन्दा पनि सुकिलो कपडा-हेर्दाहेर्दै मन फेरि रसायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि ! मामूली कपडाको किनेको भए दुवै वर्षमा धूजा धूजा हुन्थ्यो ।

साँझ पर्‍यो-छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगञ्जमा झमक्क साँझ पर्‍यो । अब झुल कस्ने सारसूर गर्नुपर्छ भनी फरियाको पारी खोज्न छिँडीबाट बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यापेर चारोटा लामा लामा त्यान्द्रा बनाई झुल कस्न थालेँ । सक्ला त थिएन, त्यस कारण एकातीरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई लुगा टाँग्ने डोरीमा र अर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटमा बसी रामायण बाच्न थालेँ – “एक दिन नारद सत्योलोक् पुगिगया … ।” झुलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो-टाउको निहुराइरहनुपर्ने । तपाईँहरु भन्नुहोला ६-६ रुपियाँ हालेको झुल पनि कहीँ सानु हुन्छ ? र मेरो पनि त सुन्नुहोस् । झुल सानु थिएन, असाध्य ठूलो थियो ! त्यस कारण ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईँहरुले मेरो छिँडीको कोठा देख्नु नै भएको छेन । देखेको भए भन्नुपथ्र्यो- “तारे ठीक भन्छ ।” झुल त कोठाभरीलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानु । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झुल तपाईँहरुमध्ये पनि धेरै काम मानिसको छ । मलाई एक दिन मालको सुब्बा कहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तो कहाँ पनि मामुली कपडैको झुल देखेँ ।

रामायण बाचीवरी, ढिँडो ओडाली, एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झुल खोली जतनसँग खाटमा लडेँ । लामखुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानु आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् । खल्खली पसिना आयो । पङ्खा हम्केँ । तर कतीबेर सम्मन् हम्किरहनू ? यताउती कोल्टे परेँ । फेरि पङ्खा हम्के । नींद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यही झुलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झुल उठाउनुपर्‍यो । ६ रुपियाँ हालेको झुलले केही काम दिएन । झुल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लामखुट्टेको उपद्रव-कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा–लुगा फुकाली सुतेको थिएँ) । एक घण्टापछि फेरि झुल कसेँ, फेरि उकुसमुकुस, फेरि खल्खली पसिना, थाहा नै पाइएन कैले भुसुक्क निदाएछु ।

भोलिपल्ट राती

झुल ठूलो थियो, खाटमा बस्यो कि माथिको झुलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचेँ ! तर केही बुझिनँ, किनभने टाउकोमा र झुलमा नै मेरो मन अल्झिएको थियो । हातले कतीपल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठयारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा ६ रुपियाँ गाँठमा थियो तर पनि यही नाथे झुलमा फ्याँके । मन मनै झुलदेखि रिस उठयो । एक पटक त जोरसँग माथि फ्याँकेँ पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख र दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ ! एउटा हलुको झुलले छुँदा कन्सिरी तातेर आउँछ ।

रामायणनजिकै मुख लगी पढ्न थालेँ । झुलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्‍यो, फेरि झुल । “धिक्कार यस्तो जीवनलाई”-मैले झोंक्किएर एकपल्ट चिच्याएँ । चिच्याएर के हुन्थ्यो ! झुल माथि उठेन । अनि फेरि झुलको प्रतीक्रोध, जीवनको प्रतीघृणा र गरिबीको प्रतीआँसु जोरले बढ्न थाल्यो । हन त एउटा मामुली झुलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो भनूँ झुल मलाई गिज्याउँदैछ । जस्तो मानिसको टाउकोमा एकएक बूँद धेरैबेर खसालिरहृयो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झुलले बहुलाहा बनायो । एकपल्ट फेरि भएभरको जोरले झुललाई माथि हुत्याएँ । एकातीरको डोरी चुँडियो र सारा झुलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झुल पन्छाइवरी हत्तपत्त खाटबाट ओर्लेर सारा झुललाई अँगालो हाली आफूतीर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।

म क्रोधले बुहलाहाझैँ भएको थिएँ । झुलैको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झुल ! मनमा केही शान्ति भयो ! तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झुलर्ला झट्ट चोकमा लगेर थुप्र्‍याएँ । धुँवाले सारा घर रङ्गमगियो । के के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुत्रुक्क बसेर बल्दो बाबरलेटको झुललाई हेर्दै थिएँ । माथिका मानिसहरुले पनि केही बोलेनन् । ६ रुपियाँको झुलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ । खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरि बिस्तार बिस्तार आफ्नो धुँवा र लामखुट्टेले रङ्गमगिएको कोठातीर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?

(किरण रिमालद्वारा सम्पादित ‘नेपाली कालजयी कथा’बाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.