~भीष्म उप्रेती~
विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने हो । मेरो मनमा त्यस्तो केही थिएन तर एक किसिमको संशय, त्रास र आशंका भरिएको थियो । इमिग्रेसनमा नेपाली पासपोर्टमाथि कति आशङ्का र अविश्वास गर्ने हो ! संसारभरिका मानिसहरू उभिएका हुन्छन् इमिग्रेसनको लाइनमा । उनीहरूका अघि अपमानित पनि पो हुनुपर्ने हो कि ! मनमा यस्तो भाव उत्पन्न हुनुमा नियमकानुनको एकदमै पालना गर्ने अनुशासित देश जापानमा नेपालीहरूको अवैध बसाइ, अवैध काम गराइ र अन्य कतिपय करामतहरू जिम्मेवार छन् । छापामा गैरकानुनी अभियोगमा नेपालीहरू पटकपटक समातिएका घटनाहरू बाक्लै पढेको छु । जापान पुगेर र्फकने नेपालीहरूको अनुभवबाट पनि नेपाली पासपोर्टलाई अलि बढी नै शोधपुछ र कडाइ गर्छ भन्ने बुझेको छु ।
नभन्दै भयो पनि त्यस्तै । लेखक, साहित्यकारहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनलको ७६ औँ कंग्रेसमा भाग लिन पेन नेपालको तर्फबाट आएका रामकुमार पाँडे, मुरारि सिग्देल र म इमिग्रेसनका तीन ओटा बेग्लाबेग्लै लाइनमा उभियौँ । हाम्रो टोलीमा कवि दुबसु क्षेत्री पनि सामेल हुँदै हुनुहुन्थ्यो टोकियोमै । उहाँ टोकियोस्थित नेपाली दूतावासमा कार्यरत हुनुहुन्थ्यो । हामीभन्दा अगाडिका मानिसहरू फटाफट इमिग्रेसनको औपचारिकता सकेर अगाडि गइरहेका थिए । हेर्दाहेर्दै रामकुमार दाइ पनि इमिग्रेसनको प्रक्रिया सकेर अघि जानुभयो । म बसेको लाइनमा मेरो पालो आएपछि मैले पासपोर्टको साथमा जापान पेन क्लबले पठाएको निमन्त्रणापत्र, मैले जागिर खाने संस्था नेपाल राष्ट्र बैंकले जापानी दूतावासलाई मेरो भिसाको लागि लेखेको पत्रका साथै वास बस्ने ठाउँ लगायतका अन्य व्यवस्थाहरूको बारेमा यकिन हुने व्यहोराका इमेल पत्राचारहरू समेत बुझाएँ । त्यहाँको अधबैंशे कर्मचारीले पासपोर्ट हेर्नेबित्तिकै पुलुक्क मेरो अनुहारमा हेर्यो र सोध्यो – “जापान कतिपल्ट आएका छौ ?”
“यो पहिलोपल्ट हो ।” मैले भनेँ ।
त्यसपछि उसले अन्य कागजातहरू हेर्न त हेर्यो तर केही सोधेन । मेरो औंठाको छाप र फोटो लियो । त्यसपछि एउटा अर्कै फारम भरेर कसैलाई फोन गर्यो । विशेष सोधपुछ कक्षको मानिस आएर मलाई लिएर गयो र एउटा कोठाभित्र लगेर बसायो । अचम्म ! म त्यस कोठाभित्र पुग्दा त्यहाँ सात, आठ जना नेपालीहरू अघि नै लगेर बसालिएका रहेछन् । दुई जना भारतीयजस्ता पनि देखिन्थे । बाँकी देशका भने कोही पनि थिएनन् । मुरारिजी पनि त्यहीँ ल्याइनुभयो । उहाँलाई पनि मलाई गरेकै व्यवहार गरेछ । त्यहाँ नेपालीहरू भेट्दा एक किसिमको खुशी पनि लाग्यो र दुःख पनि । त्यहाँका नेपालीहरूसँग पनि विशेष सोधपुछ चल्दै रहेछ ।
एउटी अधबैंशे महिला कर्मचारी हाम्रो पासपोर्ट बोकेर आइन् । उनले हामीसँग बिजनेश कार्ड लगायत अन्य कागजातहरू मागिन् । मैले यस भ्रमणसँग सम्बन्धित सबै कागजातहरूका साथै योशिको हिगुची शानले जापानी भाषामा अनुवाद गरी प्रकाशित भएको कवितासंग्रह समुद्र र अन्य कविताहरू एक प्रति र नेपाल राष्ट्र बैंकले बनाइदिएको कर्मचारी परिचयपत्र दिएँ । उनले बिजनेश कार्ड नै मागिन् । मैले आउने बेलामा अफिसको बिजनेश कार्ड बोक्न बिर्सेछु । त्यसैले भनेँ – “मैले कार्ड बोक्न भुलेछु । तर कार्डभन्दा त परिचयपत्र आधिकारिक हो । यसमा मेरो फोटो र हस्ताक्षर छ । यसमा मेरो अफिसको लोगो र छाप पनि छ ।” उनले केही भनिनन् र मेरो परिचयपत्र लिइन् । जापानीहरू बिजनेश कार्डलाई निकै धेरै महत्व दिँदा रहेछन् ।
मैले उनलाई भनेँ – “पेन इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका हौँ हामी । यो सम्मेलन भोलि सेप्टेम्बर २६ देखि ३० तारिखसम्म टोकियोमा हुँदैछ । हामी करिब दस दिन बस्छौँ जापानमा ।”
“पेन भनेको के हो म जान्दिनँ ।” उनले भनिन् ।
यिनी सानो तहकी कर्मचारी होलिन् आˆनै रुचिको वरिपरिको सानो संसारमा रमाउँदी हुन् । यत्तिको ठूलो संसारमा सबैथोक एकै जनालाई थाहा हुन्छ भन्ने पनि के छ र ? यिनको साहित्यसँग कुनै सम्बन्ध पनि नहोला । यिनले पेनबारे जान्दिनँ भन्दा अचम्म त लागेन, तर यिनलाई के भनेर बुझाउँदा आफूलाई सजिलो हुन्छ भन्ने चाहिँ थाहा नपाएर अलमलमा परेँ । त्यसैले बहस गर्नुभन्दा चूपै लाग्नु वेश ठानेँ ।
जापानमा होटेलमा नबसेर योशिको हिगुची शानको घरमा बस्न जाँदैथिएँ । त्यसैले उहाँको ठेगाना र टेलिफोन नम्बर पनि यी कर्मचारीलाई दिनु उचित ठानेर दिँदै भनेँ – “उहाँ मेरो कविताको जापानीमा अनुवादक पनि हो ।”
तिनी केही नभनी हामीलाई त्यहीँ छाडेर गइन् । फर्केर आउन निकै ढिलो गरेकाले अनुमान लगाएँ – यिनी हाम्रा कागजातहरूको आधिकारिता परीक्षण गर्दै होलिन्, म योशिको शानकोमा जाने हो कि होइन उनीसँग सम्पर्क गरी यकिन गर्दै होलिन् र शायद मेरो किताबमा योशिको शानले लेखेको मेरो परिचय समेत पढ्दै होलिन् ।
मुरारिजी र म दुवै जना त्यहाँ रहेका अन्य नेपालीहरूसँगै चूपचाप तर वेचैनीसाथ हाम्रो बाँकी यात्राको बारेमा जापानीहरूले गर्न लागेको निर्णय पर्खन थाल्यौँ । केही बेरपछि तिनै महिला आइन् हातमा केही पासपोर्ट र कागजातहरू बोकेर । उनले हामीतिर हेर्दै मुस्कुराउने प्रयास गरिन् र भनिन् – “बधाई छ, तपाईंहरूको भिसा भयो ।”
पासपोर्ट हातमा परेपछि खोलेर हेरेँ, पन्ध्र दिनको भिसा रहेछ ।
“धन्यवाद । अब हामी जाऔँ ?” मैले सोधेँ । उनले हामीलाई इमिग्रेसनभन्दा अगाडिसम्म पुर्याइन् र बाटो देखाउँदै भनिन् – “जापानको बसाइ राम्रो होस् ।”
बाहिरपट्ट रामकुमार दाइ हामीलाई कुरेर बस्नुभएको रहेछ । “ढिला भयो नि, दुःख दियो कि क्या हो ?” उहाँले सोध्नुभयो ।
“हो । अर्कै कोठामा लगेर विशेष अनुसन्धान गर्यो ।” मुरारिजीले भन्नुभयो ।
“पहिलोचोटि आउने नेपालीलाई यस्तै गर्छ यहाँ ।” उहाँले भन्नुभयो ।
अर्कोतिर फर्किएँ । त्यहाँ ब्यागेज लिने ठाउँ रहेछ । हाम्रा सुटकेशहरू पनि रामकुमार दाइले जसरी नै हामीलाई कुरेर बसिरहेका थिए । हामीले आ-आˆनो सुटकेश लियौँ र अघि बढ्यौँ । रामकुमार दाइले जापान पेन क्लबका स्वयंसेवकलाई भटिसक्नुभएको रहेछ । उनी हाम्रा लागि तीन ओटा लेमोजिन सेवाको बसको टिकट लिएर आइपुगे । उनले हामीलाई त्यस भवनबाट बाहिर लगे । त्यहीँबाट लेमोजिन बस चढ्नुपर्ने रहेछ ।
पानी परिरहेको थियो र निकै चिसो थियो । हावा पनि चलेको थियो चिसो बोकेर । मैले आधा बाहुला भएको टिसर्ट मात्र लगाएको थिएँ । त्यसैले जाडोको तीव्र छुवाइलाई अनुभव गर्दै थिएँ ।
“जाडो रहेछ नि ?” मैले जापान पेन क्लबका स्वयंसेवकसँग कुरा गर्न चाहेँ ।
“हो । अघिल्लो हप्तासम्म एकदम गर्मी थियो । यो वास्तवमा गर्मी हुने बेला हो ।” उनले भने ।
बस चाँडै आइदिए हुन्थ्यो भन्ने सोच्तै थिएँ, एउटा बस आयो । तर त्यो सिनागावा जाने नभएर सिन्जुकुतिर जाने परेछ । त्यसमा रामकुमार दाइ र मुरारिजी चढ्नुभयो । उहाँहरू गएको करिव चार मिनेटमा अर्को बस आयो । उनै जापानी मित्रले मलाई बसमा चढ्न इशारा गरे । म उनीसँग हात मिलाउँदै बसभित्र चढेँ । यतिबेला दिनको साढे एघार बजेको थियो जापानको घडीमा ।
अब भने बल्ल उत्सुकता चढ्यो आँखामा, त्यसपछि मस्तिस्क र भावनामा । आँखालाई झ्यालबाट बाहिरैतिर फ्याँकिराखेँ धेरैजसो ।
झन्डै दुई घन्टा लामो यात्रापछि होटेल पि्रन्स एण्ड ग्रान्ड ताकानावा को प्राङ्गणमा आइपुगेपछि ओर्लिएँ गाडीबाट । एउटी चिटिक्क परेकी पुतलीजस्ती किमोनो लगाएकी जापानी युवती हतारिँदै आइन् र स्वागत गरिन् । मैले आफू नेपालबाट आएको मात्र भन्न भ्याएको थिएँ, उनैले सोधिन् – “भीष्म उप्रेती हो ?”
अचम्म मान्दै भनेँ – “हो ।”
उनले मलाई बोल्ने मौकै नदिई भित्र लबीमा बस्न अनुरोध गरिन् र दौडदै काउन्टरमा गएर फोन गरिन् । करिव दस मिनेटपछि नै योशिसो शान सूर्योदयको पहिलो किरणले धोइएको साकुरा फूलजस्तै मुस्कुराउँदै आइपुग्नुभो र भन्नुभयो – “जापानमा स्वागत छ ।” उहाँले मलाई कुनै असजिलो नहोस् भनेर यहाँ लबीमा काम गर्ने महिला कर्मचारीलाई मेरो बारेमा सबै बताउनुभएको रहेछ् र म आइपुग्ने बित्तिकै उनलाई खबर गरिदिन अनुरोध गर्नुभएको रहेछ । मलाई जापानीहरूको विनम्रता र पाहुनालाई गर्ने सत्कारले द्रवित् बनायो ।
अलिकति नुहेर जापानी शैलीमै उहाँलाई शिष्टाचार व्यक्त गरेँ र भनेँ – “यसरी जापानमा भेट होला र तपाईंको घरमा बस्न आइएला भनेर कहिल्यै सोचेको थिइनँ ।”
“ठिक छ नि । नसोचेको भयो भने त आनन्द पनि त बेग्लै मज्जाको हुन्छ नि ।” उहाँले भन्नुभयो । “इमिग्रेसनबाट फोन आएको थियो । त्यसैबाट तपाईं आइपुगेको सूचना पाएँ ।” उहाँको कुरा सुनेपछि भनेँ – “मलाई पनि यही लागेको थियो, फोन गर्यो होला भन्ने किनभने मैले फोन नम्बर दिएको थिएँ ।”
“ठीकै छ । जे भो राम्रो भो ।” उहाँले भन्नुभयो ।
“तपाईं त उस्तै हुनुहुँदो रहेछ यतिका वर्षपछि पनि ।” भनेँ । उहाँ खुशी हुनुभयो र नेपालको बारे भएभरको हालचाल सोध्न थाल्नुभयो ।
करिव दस मिनेटपछि हामी उहाँको घरमा थियौँ ।
(श्रोत :- Onlinekhabar )