~दिलीप शाह~
‘छोरा ! मेरो अन्तिम समय आएजस्तो छ । वर्षौदेखि जप गर्दै आएको दुर्गा कवच पनि आज बिहान जति गर्दा पनि सम्झिनै सकिन । नाडी अति मन्द गतिमा चल्दैछन् । दृष्टि एकदमै धमिलो छ ।’ बूढाले ठस्ठस्ती कन्दै तर स्पष्ट शब्दमा आफ्नो मनको बह पोखे ।
‘चाम्रो सास यति छिट्टै कहाँ जाला ? गए त हुन्थ्यो नि । मर्ने स्वाङ्ग रचेको यही महिनामा चौथो पटक हो । नाटक पनि कति गर्न सकेको होला । मर्ने बेला त यस्तो कलाकार छ । जवानीमा कस्तो कलाकार थियो होला । नौटङ्कविाज !’ छोरालाई टेप खोलेजस्तो भ…र…र…र भन्न मन लागेको थियो तर घाँटीमा आएको बोली खकारसँगै उसले भित्र निल्यो र भरसक रुन्चे स्वर बनाउने प्रयत्न गर्दै भन्यो -’हिम्मत नहार्नुहोस्, बुवा । तपाईका चेत हराएका छैनन् । स्मरण शक्ति गएको छैन । बूढो भएपछि आक्कल झुक्कल यस्तो त भइहाल्छ । म भोलि बिहानै तपाईलाई अस्पताल लैजान्छु । सब ठीक हुन्छ ।’
‘मेरो आठ दशकको उमेरमा धेरैले प्राण छोड्न लागेको एकदम नजिकबाट नियालेको छु । मृत्युका लक्षणहरु पढेको छु । मर्ने बेलामा कन्चट बस्छन् । जिब्रो भित्रतिर धकेलिन्छ । आँखा माथितिर फर्किन्छन् । नसाहरु खुम्चिन लाग्छन् । जिब्रो लरबराउन लाग्छ । नाडी मन्द गतिमा चल्छ । यी सब लक्षणहरु ममा बिस्तारै देखा पर्दैछन् । त्यसैले….।’ बूढाले वाक्य अधुरै छोडे र अन्तिम सलाम भन्ने पारामा आँखाको कुनाबाट त..र…र आँसु चुहाए ।
‘खै, म त त्यस्तो लक्षण केही पनि देख्दिन । मर्ने मान्छेले के यस्तै सुगाजस्तो प्यार्…प्यार् बोल्छन् । कन्जुस बूढो ! कम्मरको कुटिरोमा के राखेको छ, कुन्नि । त्यो कुटिरो फुत्क्याउन पाए बूढो मरे मथ्र्यो । बाँचे बाँच्थ्यो ।’ छोराले बूढोको कुटिरो पाउनेमा अझैं द्विविधा देखिएकोले सुइ…ए सुस्केरा काढ्यो ।
‘चिन्ता नगर्, छोरा ! यो संसारमा आएपछि सबैले एकदिन जानै पर्छ । यो प्रकृतिको नियम हो । कति बज्यो ? रातको दश बज्यो होला । जानुभन्दा अगाडि केही कुरा भन्नु छ । ध्यान दिएर सुन् ।’ बूढाले आदेशात्मक शैलीमा छोरालाई हातको इशाराले नजिक बोलाए ।
उसो त बूढाको घमण्ड नामको कान्छो छोरो भगवान् नामको जन्तुसँग रत्तिभर विश्वास गर्दैनथ्यो । मन्दिरभित्र पस्ने त कुरै भएन । पूजापाठ हुने ठाउँमा पनि बिरलै पाइला हाल्थ्यो । तर घमण्डले अहिले आएर जिन्दगीमा पहिलोपटक भगवान्सँग पूरा श्रद्धा र भक्तिका साथ प्रार्थना गर्दै थियो- ‘हे भगवान् ! यदि तिमी साँच्चीकै साक्षात यो जगत्का सृष्टिकर्ता, पालनकर्ता हौ भने मेरो बाबु खुस्किनुअगाडि उनले कम्मरमा बाँधेको कुटिरो र कुटिरोको रहस्य फुत्क्याउन लगाइदेऊ । तब मात्रै म तिम्रो ‘फ्यान’ हुनेछु ।’ यति विधि भगवान्लाई मख्खन लगाउनुको कारण के थियो भने बूढा अन्तिम अवस्थासम्म पनि टसमस भइरहेका थिएनन् । त्यसैले छोरालाई चिन्ता, हैरानी र रिस एकसाथ उठिरहेको थियो । छोरो अहिलेसम्म बूढाको कम्मरको कुटिरोको बारेमा अनभिज्ञ भएकोले चिन्ताग्रस्त र अन्योलग्रस्त थियो । ऊ अन्योलग्रस्त यस मानेमा थियो कि बूढाको कम्मरको कुटिरोमा भएको यथार्थ जानकारी नपाउन्जेलसम्म भावी योजनाहरु बनाउन सकिदैनथ्यो । उसलाई थाहा थियो – योजना बनाउनलाई नोट चाहिन्छ र त्यो नोटरुपी कुटिरो बाबुको कन्दनीमा बेहि्रएर पटुकाले फन्फनी कम्मरमा सातपल्ट घुमाइसकेपछि कट्टुको इजार बाँध्ने ठाउँमा टुटुल्को उठेजस्तो गरी उठेर रहेको थियो । उसका लागि यो कुटिरो हालसम्म रहस्यमय र दुर्लभ बस्तुको रुपमा रहेको थियो किनभने उसले यो रहस्यमय बस्तुलाई छुन त के नजिकबाट देख्नसम्म पाएको थिएन । ऊ आफ्नी मृत आमालाई भाग्यमानीको संज्ञा दिन्थ्यो किनभने बाबुको नाइटोमुनी राखेको कुटिरोको बारेमा थाहा पाउने उनी पहिलो र अन्तिम भाग्यमानी जीवात्मा थिइन् ।
गाउँ-घर, छर-छिमेकबाट जानकारी पाएअनुसार उसकी आमा सोझी, लजालु र लाटो स्वभावकी स्त्री थिइन् । गाउँमा सबले उनलाई गोरु चन्दको स्वास्नी भन्नुभन्दा लाटी दुलही भनेर पुकार्थे । बाहिर देख्दा लाटीजस्तो देखिए पनि उनको मन भने बाठो थियो । लाटी दुलही बेहुली भएर घरभित्र पसेको समयमा हाल अन्तिम अवस्थामा घिटिघिटी गरिरहेका बूढा त्यो बेलाका जवान, खाइलाग्दा, पठ्ठा जोत्नलाई ठिक्क पारेका बहरजस्ता थिए । जमाना घुम्टोको थियो । सोअनुसार बिहाको पहिलो रातमा दुलहीले माड नलगाएको डम्बर कुमारीको धोतीको घुम्टोसहित बूढा नजिकै उत्तानो भएर पल्टेकी थिइन् । टुकीको धिपधिपे उज्यालोमा दुलाहाको क्रियाकलाप नियाल्न उनलाई आँखी भौं र निधार एकसाथ एउटै ठाउँमा ल्याउनु परेको थियो । यही ‘पोजिशनमा’ जब उनले लोग्नेको क्रियाकलाप ध्यानपूर्वक नियालेकी थिइन् उनलाई कौतुहलताको साथै मनमा अविस्मरणीय अमिट छापसमेत परेको थियो ।
दुलही नजिकै सुतेको चाल पाएर बूढा दोलाइ फालेर उठेका थिए र हनुमन्ते कट्टु लगाएको अवस्थामा आउनुअगाडि खद्दरको भोटो र सुरुवाल खोलेर किलामा झुन्डयाएका थिए । यहाँसम्म त ठिकै थियो । दुलहीलाई आश्चर्यको विषय के भएको थियो भने दुलाहाले कम्मरमा टनटनी पटुका बेह्रेका थिए र नाइटो मुन्तिरको बिच भागमा पर्ने गरी टुटुल्को जस्तो आउने गरी केही रहस्यमय चिज राखेका थिए । त्यो पटुका ननिकालेरै उनले टुकीलाई फू…..गरी निभाएका थिए र ओछयानभित्र घुस्रेर खुट्टाका बूढी औंला चलाउन सुरु गरेका थिए । दुलहीलाई लोग्नेले स्वास्नीसँग गर्ने यावत् कर्मसँग त डर थिएन किनभने उनले यो कामको प्रत्यक्ष अनुभव गर्ने सुअवसर प्राप्त नगरेता पनि बूढी बज्यैहरु, बच्चाका आमा भइसकेका महिलाहरु तथा विवाहित सङ्गनिीहरुबाट अनुभव सुन्दा सुन्दै उनले प्रशस्तै सैद्धान्तिक ज्ञान आर्जन गरिसकेकी थिइन् । तर टुटुल्काको बारेमा उनीहरुले भन्न बिर्से वा यसलाई रहस्य नै बनाएर राखे, दुलहीले छुट्टयाउन सकेकी थिइनन् ।
‘केही गरी दुलाहाले क्रियाकलाप गर्दा गर्दै टुटुल्को समेत भित्र घुस्यो भने …….।’ उनी डरले चिस्सिएकी थिइन् र काम ज्वरो निकालेकी थिइन् । उनका ओठमुख सर्पले टोकेजस्तो कलेटी परेका थिए र कानमा नगारा बज्न लागेका थिए । मुटु हथौडाले टिनमा ठोकेजस्तो गरी ढयाङ्ग….ढयाङ्ग बज्न लागेको थियो । बूढाले सायद उनको दयनीय अवस्थाको अर्कै अनुमान लगाएका थिए र धोत्रो स्वरमा सुस्तरी भनेको थिए -’ नडराऊ दुलही ! पहिलो पटक यस्तै हुन्छ । पछि बानी पर्दै जान्छ ।’
-’होइन के ! नाइ के….. !!’ उनले वाक्य पूरा नगरेरै अनायासै नाइटोमुनिको कुटिरोमा हात राखेकी थिइन् ।
-’यहाँ छुने होइन । छुँदै छुने होइन । यतातिर आँखा लगाइस् भने म लास बनाइदिन्छु । जिउँदै जलाइदिन्छु । टुक्रा टुक्रा बनाइदिन्छु ।’ दुलाहा अकस्मात उकालो चढेर आएको घोडा भएका थिए ।
तत्पश्चात उनीलाई कुटिरोले जति सुकै बिझाउँदा, घोच्दा पनि मुखबाट ऐय्यासम्म निकालिनन् र कुटिरोलाई चलाउने त के उनी बाचुन्जेलसम्म त्यतातर्फ हेर्ने दुस्साहस पनि कहिलै गरिनन् । तर छोराबुहारीले भने धेरै पटक कुटिरोको रहस्य पत्तँ लगाउने मनसायले उनलाई कोट्याउँदा प्रत्येक पटक ‘क्लाइमेक्स’ मा पुग्नुअगावै विज्ञापनजस्तो केही अवरोध आइहाल्थ्यो र छोराबुहारीको कुटिरोको रहस्य थाहा पाउने चाहना अधुरै रहन्थ्यो । लाटी दुलहीले सास फेर्न बिर्सन लागेको अवस्थामा पनि हाल बूढाको नजिक उपस्थित छोराले आमाबाट बूढाको कन्दनीमा बाँधेको कुटिरोको रहस्य फुत्क्याउने भरमग्दूर ‘सत्प्रयास’ गरेको थियो । तर त्यो क्षणमा पनि आमाबाट विवाहको पहिलो रातको उनको औंला ठडयाइ र पतिको भयानक गर्जनभन्दा अगाडि बढ्न सकेकी थिइनन् । आमा सास फेर्न बिर्सेको क्षणमा पनि हालको छोरालाई आमा मरेकोमा भन्दा कुटिरोको महत्वपूर्ण श्रोत गुमेकोमा हुनसम्म पीर परेको थियो र यो पीरले छोराले क्रियापुर्ति बसेकै समयमा पनि तीन दिनसम्म मुुखमा अन्नको दानासम्म हालेको थिएन ।
तर केही समययता छोराले इन्दिरा गान्धीको सङ्कटकालको नाराजस्तो ‘पक्का इरादा’ के लिएको थियो भने ‘कुनै पनि हालतमा चाहे मर्न लागेकोे बूढोको घाँटी न्याकेर होस् वा अरु बल प्रयोग गरेर होस्, कुटिरोको रहस्यसहित कुटिरो फुत्क्याएरै छोड्छु, छोड्छु ।’ उसको पक्का सोच के थियो भने -’उसको गल्लीको कुकुरको हालत हुनुमा कुटिरो नभेट्टाउनु नै हो । कुटिरो भेट्टाउने बित्तिकै उसका सब दुःख, दर्द ‘छुःमन्तर’ भइहाल्नेछन् । छोडेकी स्वास्नी हाम्फाल्दै अङ्गालो मार्न आइपुग्ने छ र उसको बाँकी जीवनमा बहारै बहार आउने छ ।’
बूढाले आफ्नो नजिकै चेहराभरि कृतिम पीडाको लेप लगाएर बसेको छोरालाई नियाल्दै सोचे -’प्राण फुत्किउन्जेलसम्म पनि पर्खिन नसक्ने कस्तो कलियुगे छोरा होला ? म मरेपछि सबै उसैको त हो नि ।’ यस्तो सोच आउनुको पछाडिको एकमात्र कारण के थियो भने बाबु भएको नाताले बूढालाई छोराको चरित्र, आनिबानी, व्यवहार सबै जानकारी थियो । नहोस् पनि कसरी ? छोराले कुटिरो हत्याउनकै लागि उसको हत्या गर्ने षडयन्त्रबाहेक अन्य सम्पूर्ण हथकण्डा अपनाइ सकेको थियो । राती सुतेको बेलामा आएर छामछाम छुमछुम कति पटक गर्यो ? त्यसको त हिसाबै छैन । तर आफ्नो चनाखोपनको कारणले बूढा हरेक पटक छोराले थापेको धरापबाट फुत्किन सफल भएका थिए । प्रत्येक पटकको असफलतामा छोरा दुई चार महिना घरबाट फरार हुन्थ्यो र जब पेट र करङ्ग दुबै दाम्रा पर्ने स्थिति आउँथ्यो ऊ गरुडको छाया परेको सर्पझैं बूढाको खुट्टामा छाँद हाल्दै क्वाँ…..क्वाँ….रुन आइपुग्थ्यो । छोराको घरबाट फरार हुने र करङ्गका पाता मात्र बँाकी भएपछि फर्किने क्रम बूढाको सम्झनामा दश पल्टभन्दा बढी भइसकेको हुनुपथ्र्यो । छोराको प्रत्येक पटकको फर्काइमा बूढाले छोराको मायाले विभोर भएर हैनकि उनको रातबिरात प्राणपखेरु उडेको अवस्थामा धेरै दिनसम्म लास उठाइएन भने लास गन्हाउला वा समयमै सद्गति गरिएन भने स्वर्गको बाटो छेकिएला भनी उनले छोरालाई खुट्टासम्म छुने अनुमति दिन्थे । छोरालाई गृह प्रवेश गर्ने अनुमति दिंदा बूढालाई यो पनि थाहा हुन्थ्यो- ‘छोराले केही दिनमै कुटिरो खोतल्ने अर्को कुटिल प्रयास गर्नेछ र यो पटक पनि ‘माछो माछो भ्यागुतो’ भएर फेरी केही दिनका लागि घरबाट चम्पत हुनेछ ।’ अहिले पनि बूढाले छोराको चेहरामा त्यस्तै प्रकारको कुटिल वा आतङ्ककारी योजना पढे र फुत्किन लागेको माछोको पश्चाताप छोराको आँखामा देखे । छोराको यो रुप देखेर बूढालाई घृणा र त्यस्तो कुलङ्घार छोरो आफ्नी स्वास्नीको कोखमा उनकै वीर्यबाट बास गरेकोमा पश्चाताप हुनु पर्ने थियो तर अहिले उनलाई किन हो कुन्नि ! यो पटक भने छोराप्रति असीम दया र करुणा जागेर आयो । उनले सोचे -’मर्ने बेलामा भनिदिनु पर्यो कि क्या कुटिरोको रहस्य ! किनभने उसले अवश्य पनि मैले सास छोड्नेबित्तिकै कुटिरोमै स्यालले सिनोमा झम्टेझैं झम्टिनेछ र कुटिरो लिएर दम्पच हुनेछ । त्योभन्दा त आफैले कुटिरो हात लगाइदिनु बेस् ।’
-’छोरा ! मलाई ठडया त । तकिया पछाडि राख् । केही कुरा गर्नु छ ।’ उनले झिनो स्वर निकाले ।
-’बूढो आखिरकार लाइनमा आउने नै भयो । मैले अब पितृहत्याजस्तो महापाप गर्नु नपर्ने भयो ।’ पितृहत्याको बिचार उसको दिमागमा किन चम्केको थियो भने- ‘बूढाले अन्तिम अवस्थासम्म पनि कुटिरोको राज नखुस्काएमा बूढो खुस्किनुभन्दा अगाडि साम, दाम, दण्ड, भेदमध्ये जुनसुकै नीति अख्तियार गरेर पनि ‘कुटिरोको रहस्य’ पत्ता लगाएरै छोड्छु ।’ छोराको पच्चीस वर्षे उमेरसम्म कुटिरोको रहस्य निकाल्ने प्रयोजनका लागि धेरै पटक उसले ‘साम, दाम र भेद’को प्रयोग गरिसकेको थियो । दण्डको नीति भने हालसम्म सुरक्षित राखेको थियो । यो हतियार प्रयोग नगर्नुको कारण इज्जत अथवा धर्मको ख्याल गरेर होइन कि यो हतियार प्रयोग गर्दा अप्ठयारो ठाउँमा प्रहार भई बूढो परमधाम गइ जो हालेमा जेलको चिसो छिंडीमा बास होला भन्ने डरले थियो । अब यो हतियार प्रयोग गर्नसमेत पछि नपर्ने कटिबद्ध भएको अवस्थामा बाबुको बोलावटले छोरालाई तुरुन्तै सिङ्गारु नाच नाच्न मन लाग्यो । तर यो हर्षोन्मादलाई बडो मुश्किलसाथ नियन्त्रण गर्दै घोसे मुन्टो लाएर छोराले बाबुको ढाड सिधा बनायो र ढाड र गर्धन अझै सिधा भएकोले एक हप्ता जति बाबु ‘सीताराम’ नहुने अड्कल काटयो ।
-’मेरो कम्मरको कुटिरोले तँ जान्ने भएदेखि तेरो निद हराम भएको छ । मेरो हत्याको कुत्सित र जघन्य आपराधिक बिचारसमेत तेरो दिमागमा सिङ्गौरी खेल्ने गरेका छन् । तँलाई थाहा छ – कुटिरोमा पैसो छ र तँ त्यो पैसाले भौतिक सुविधा खरीद गर्न चाहान्छस् । तर सम्पत्ति हुँदैमा आत्मिक शान्ति त परै जावस् सांसारिक शान्ति पनि प्राप्त गर्न सकिदो रहेनछ भन्ने जिउँदो उदाहरण म छु । यही कुटिरोको कारणले तेरी आमासँग बिहा भएको दिनदेखि ऊ मरुन्जेलसम्म हाम्रो कहिलै न्यायो सम्बन्ध हुन सकेन । तेरी आमाले यो कुटिरो चोर्ली भन्ने त्रासले मैले उसलाई कहिलै नजिक ल्याइन । ऊ लोग्नेको वास्तविक माया नपाएरै मरी । जेठो, माहिलो छोराबुहारीहरुले पनि मेरो कुटिरोमै आँखा गाडेका थिए । पाउने आस रहुन्जेल बसे । पछि कतैबाट पनि चुहिने आस नदेखेपछि लाखापाखा लागे । तैंले पनि यो कुटिरो पाउनकै लागि मेरो छिटो मृत्युको कामनासहित घोर तपस्या गरेको छस् । यो सब कुरा तैंले नभने पनि तेरो चेहरामा लेखिएको छ जुन म सहजै पढ्न सक्छु ।’
बूढाले घाँटीमा आएको खकार भित्रतिर निल्दै पुनः आफ्नो बयान शुरु गरे – ‘पैसो भन्ने चिज यस्तो कुजात हुन्छ भन्ने थाहा पाएको भए म थुक लगाएर जुम्राको छाला काढेजस्तो गरी कमाएको पैसो जति पटुकामा जम्मा गर्दिनथे होला । मैले पैसो थुपार्नका लागि के पो गरिन ? मेरो जमानामा पनि बारीका अम्बा, आरु बेचिन कि ? गोलभेंडा, गुन्द्रुक, मुला बेचिन कि ? चामल, पिठो बेचिन कि ? यही पैसो जम्मा गर्नकै लागि मैले जिन्दगीभरि टाला हालेको चिथ्रा कपडा सिबाय केही लगाइन । स्वास्नी केटाकेटीलाई नयाँ कपडा, मीठो खाना दिने त कुरै भएन । यो कुटिरो जम्मा गर्न मैले कति पापड बेल्नु परेको छ ? मेरो आत्मालाई मात्र थाहा छ । अनि मलाई यो कुटिरोको लाग्दैन त मोह । तर यति विधि मोह किन गरें ? मलाई नै थाहा छैन । तैले- ‘लोभी Û चाम्रे बूढोको चाम्रो सास । सास जान पनि किन नसकेको होला ? भन्दै सत्तँेसराप गर्छस् होला । तर चाम्रोसाम्रो केही होइन । जब म मृत्यको सङ्घारमा पुग्छु तब मेरो सोच जति कुटिरो जम्मा गर्दा पाएको दुःख, यातना, पीडामा ठोकिन्छन् र अनायासै मेरा हातहरु कुटिरो छाम्न पुग्छन् । यसले कुन औषधीको काम गर्छ कुन्नि ? बाहिर निक्लन लागेको सास पुनः भित्रतिर फर्किन्छ । आज पहिलो पटक जिन्दगीप्रतिको मोहको साथै कुटिरोको मोह पनि मरेर गएको छ । अब म शान्तिसँग यो लोकबाट बिदा लिन सक्छु होला । बिन्ती छ, छोरा ! मलाई मुक्ति दे । मेरो पटुका फुकाइ दे ।’
फुकाइ दे को ‘द’ निक्लन नपाउँदै छोरो चितुवाको फुर्तिमा ब्रुदुक्क उफ्रियो र पटुकामाथि झम्टियो । छोराले पटुका समात्नु र बुढाले घ्या…र…र गर्दै फुस्रा आँखा पल्टाउनु एकसाथ भयो । छोराले बाबु स्वर्ग सिधारेकोमा भन्दा कुटिरो पाएकोमा अपार सन्तुष्टिको सास फेर्यो र अन्ततः बाबुले कुटिरोको रहस्यसहित कुटिरो थमाएकोमा कृतज्ञताका दुई थोपा आँसु तुरुक्क खसाल्न भने बिर्सेन र काजक्रिया गर्ने झन्झेटबाट मुक्त हुन ढोकाको आग्लो खोलेर खुसुक्क अज्ञात स्थलतर्फ कुलेलम् ठोक्यो ।
भोलिपल्ट बूढाको एक्लो कट्कटिएको लासमा गु झिङ्गाको बास, चोरले खोतलेको बाकसजस्तो उसका जीउका कपडा, खुला ढोकाको निरीक्षण गर्दै, अझ महत्वपूर्ण, हेरचाह गर्ने छोरोको झलकसम्म नपाइनुले छिमेकीहरु खासखुस गर्न लागे – ‘यो साँच्चिकै कलिजुगको पराकाष्ठा त होइन ?’
(श्रोत : ‘मुर्दार काठमाडौं’ कथा संग्रहबाट)