~सीता पाण्डे~
रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ ।
सुन्दरिया सानैमा पनि निकै राम्री थिई । दुःखनालाई यस कुरामा निकै गर्व थियो । ऊ सुन्दरियालाई खुबै माया पनि गर्दथ्यो । उसलाई गाउँका अरु केटाकेटीहरुभन्दा टाढा राख्न चाहन्थ्यो । साथै संस्कारगत काम जस्तैः गुइठा पार्नु, ओख्ली कुट्नु, भाँडाकुँडा टिलिक्क ऐनाझैँ चम्किलो पारेर माझ्नु या लिपपोत गर्नबाट उसले आफ्नी छोरीलाई कोसौँ टाढा राखेको थियो । कहिलेकाहीँ आमाचाहिँले आँगन बढार्न लगाई भने पनि ऊ स्वास्नीलाई काँचै खाउँलाझैँ आग्नेय नेत्रले हेर्दै खरेटो डगरपारि पुग्ने गरी हुत्याइदिन्थ्यो ।
छोरीको सुन्दरतालाई लिएर ऊ नानाथरीका सपना बुन्थ्यो । छोरीलाई कुनै पनि काम गर्न दिँदैनथ्यो । ऊ आफू भने रिक्सा चलाउँथ्यो र मजदुरी गरी खान्थ्यो । रिक्सामा राम्रा-राम्रा तरुनीहरुका तस्बिर टाँस्न उसको विशेष सोख थियो । तिनीहरुका लोभलाग्दा अनुहार, गोरा चिल्ला, सुकुमार हातगोडा देखेर ऊ कहिलेकाहीँ सोच्ने गर्दथ्यो, ‘के मेरी सुन्दरिया तरुनीमा यत्तिकी राम्री देखिन सक्दिन होली त ?’
एकपल्ट सानैमा छोरीको नाम राख्ने कुरामा उसकी स्वास्नीसँग झगडा परेको थियो । यति गरिबी हालतमा छोरीको नाम सुन्दरिया राख्नु धनीहरुको संस्कारलाई मानहानी गर्नु हो भन्ने उसकी स्वास्नीको तर्क थियो । तर उसले आफ्नो कुरालाई अनुमोदन गराउन लात्तीले भकुर्ने स्थितिको पनि झन्डै सिर्जना गर्यो । छोरीको नाम सुन्दरिया नै राखिछाड्यो ।
दुःखना रिक्सा चलाउँदा सधैँ छोरीका बारेमा सोचिरहन्थ्यो । उसको जीवनमा एक मात्र अभिलाषा छोरीलाई जतिसक्दो राम्री बनाउनु थियो र उसका लागि सरसुबिधा जुटाइदिनु थियो । दुःखनाको रिक्सामा कहिलकाहीँ राम्रा कुनै सम्भ्रान्त परिवारका केटी पनि बस्न आइपुग्थे । त्यस्तो बेला ऊ आफूमा अझ फूर्तिलोपन ल्याउने कोसिस गर्दथ्यो र रिक्सा हाँक्दथ्यो । हाँक्दाहाँक्दै उसलाई लाग्थ्यो, रिक्सामा आफ्नी छोरी छे । जिस्क्याउन अझ जोडले पाइडल माथ्र्यो, ठीक त्यसैबेला ‘रोक’ भन्ने आवाजले मात्र ऊ झसङ्ग हुन्थ्यो ।
हरेक साँझ घर फर्किनुअघि दुःखना एकपल्ट जोगेन्दरको दुकानमा जान्थ्यो । जोगेन्दर उसको हित्तचित्त मिल्ने साथी थियो र उसको पानको दुकान थियो । दिउँसो बीच-बीचमा दुःखना आफ्ना यात्रुहरुलाई बसालेर जोगेन्दरकै दुकान अघिल्तिरबाट जोडले रिक्सा हाँक्थ्यो र पान बनाउन व्यस्त जागेन्दरलाई हे….हे…. गर्दै हात हल्लाउने गर्दथ्यो । सट्टामा जोगेन्दर पनि पान चपाउँदै-हाँस्दै हात हल्लाइदिन्थ्यो ।
जोगेन्दरले ग्राहकहरुका ठीक अघिल्तिर पर्ने गरी एउटी राम्री तरुनी केटीको तस्बिर प|mेम गरी झुण्ड्याइराखेको थियो । हावाले जब त्यो तस्बिर बिस्तारै हल्लाउँथ्यो त्यो केटी कहिले जोगेन्दरतिर र कहिले ग्राहकहरुतिर फर्केर पालैपालोसँग आँखा झिम्क्याउने गर्थी । दुःखना धेरैबेरसम्म निश्चल र मुग्ध भएर हेरिरहन्थ्यो । ‘आज दिनभरिमा कति कमाइयो ?’ भनी जोगेन्दरले सोध्दा मात्र ऊ झल्याँस्स हुन्थ्यो र आफ्ना लागि एक बिंडा पान र छोरीका लागि केही सस्ता चकलेट र बिस्कुट किन्थ्यो । खुकुलो भइरहेको लुङ्गी कम्मरमा कस्तै भुइँमा एकपल्ट पिच्च थुक्थ्यो र काँधको गम्छाले मुख पुछ्दै कुनै चल्ती फिल्मको गीत गुनगुनाउँदै वा ‘चल गोरिया मेला देखन मेलवा हो, अरे मेलवा मे मिलि है, सजनवा…..’ भन्दै रिक्साको पाइडल बेस्सरी चलाउँथ्यो ।
समयसँगै दुःखना बूढो हुँदै गइरहेको थियो । अब ऊ पहिलेजस्तो छिटो-छिटो रिक्सा चलाउन सक्दैनथ्यो । केही गरी चलाइहाल्यो भने पनि छिट्टै स्याँ-स्याँ हुन्थ्यो । उता छोरी भने झन्-झन् राम्री र तरुनी हुँदै गइरहेकी थिई । उसका आवश्यकताहरु पनि बढ्दै गइरहेका थिए र ऊ आफ्नो शृङ्गारमा पनि विशेष ख्याल राख्दै गइरहेकी थिई । यी सब देखेर अब दुःखनालाई कहिलेकाहीँ लाग्थ्यो, छोरीको नाम सुन्दरिया राख्न त खास गाह्रो परेन तर यसलाई जोगाइराख्न भने निकै गाह्रो हुँदो रहेछ ।
दुःखना अब निकै कमजोर र रोगी पनि भैसकेको छ । अब ऊ हिँड्डुल गर्न सक्दैन । उसको शरीरमा बिलकुलै तागत छैन । चुपचाप डोरीको खाटमा बसेर चिलिम तानिरहन्छ । अब ऊ छोरीको फर्माइस पूरा गर्न नसक्ने मात्र होइन कि घरका आवश्यकतासमेत टार्न नसक्ने भइसकेको छ । यतिन्जेल छोरीका दौँतरीहरुको भने गौनासमेत भएर दुई-तीनवटा छुचुन्द्राजस्ता बच्चा भइसकेका थिए । उसकी छोरी भने अझैँ त्यो गाउँका लागि फोहोर पोखरीको बीचमा टपक्क फुलेको कमलको फूलजस्तै थिई ।
बस्तीका अल्लारे ठिटाहरु र एक-दुई मालिकबाबुहरु पनि अब पोखरीको डिलवरपर बिहानदेखि साँझ अबेरसम्म पनि मडारिन थालेका थिए । दुःखनालाई यो सब थाहा थियो र’पनि विवश थियो । चुपचाप सहनुसिवाय त्यसको अर्को विकल्प थिएन । फेरि न त ऊसँग आम्दानीको कुनै स्रोत नै थियो न उसकी छोरी कुनै काम गर्न सक्थी । उसले कुनै सीप सिकेकी थिइन अर्थात् सिकाइएको थिएन । मात्र ऊ रुप र यौवनकी खानी थिई । सुन्दरियाले पनि यस कुरालाई राम्ररी बुझेकी थिई एकातिर भने, अर्कोतिर बाबुको कमाइ नहुँदा ऊ आफ्ना आदतमा सहजै कटौती गर्न पनि त सक्दिनथी ! कारण ती सब उसको यौवनसँगै पलाएका थिएनन्, बालककालदेखि नै स्वभावसँग टाँसिएर आएका थिए । यसरी नै कुनै पनि काम नगर्नु वा गर्न नसक्नु पनि उसको स्वभावको अर्को पक्ष थियो ।
बूढो दुःखनाले यस कुरालाई बढो गम्भीर रुपमा लिएको थियो र आफूलाई अपराधीझैँ महसुस गर्दै सधैँ झोक्राइरहन्थ्यो । छोरीलाई कहिल्यै ठाडो भएर हेर्न पनि सक्दैनथ्यो । बेला-बेलामा ऊ ग्लानि सहसुस गर्दथ्यो र एक्लै आफैँलाई धिक्कार्दथ्यो । यसकारण कि उसले किन आफ्नो जात नै गरिबी हो भन्ने कुरा बिर्सन खोज्यो ? किन उसले सुन्दरताको सुरक्षा र कदर गर्ने ‘विसहरा भगवान्’ मात्र हुन सक्दैनन् भन्ने कुरालाई समयमै विश्वास गर्न सकेन ?
सुन्दरिया पनि धेरै दिनसम्म बेचैन भइरही । सोच्थी, बाबुले उसको लागि जिन्दगीभर दुःख सहे र अब उनी कामलायक पनि रहेनन् । आमा-बाबु र आफ्ना लागि पनि अब कुनै कामको थालनी गर्नु छ । फेरि आफ्नो केही आदतहरु पनि यति बलिया र महँगा छन्, जसलाई न छोड्न सकिन्छ न सजिलै पूरा गर्न । तर उसले निर्णय छिट्टै निकाली र एक मध्यान्ह आफूलाई निक्कै शृङ्गारेर फूर्तिसाथ घरबाट निस्की । बाबु-आमा दुवैले आश्चर्य मानेर हेरी मात्र रहे । केही सोच्न र सोध्न पनि सकेनन् ।
बेलुकी भयो, सुन्दरिया घर फर्किन । बाबु-आमा आत्तिन थाले । ठूलो साँझ पनि छिप्पिन थाल्यो । छोरी अझै आइन । उनीहरु झन् आत्तिएर आँगनमा घुम्दै आँखा तानी-तानी परसम्म हेर्न थाले । बूढा-बूढी आपसमा पनि बोल्न सकिरहेका थिएनन् । केवल दुवैका आँखामा विभिन्न आशंका र छटपटी मात्र थियो । रात निक्कै बितिसकेपछि सुन्दरिया एउटा ठूलो पोको हातमा झुन्ड्याएर थाकेको अनुहार लिएर फर्किई । बूढाबूढी ट्वाल्ल हेरिरहे ।
उसले बूढाबूढीका अघिल्तिर बिस्तारै पोको खोली र एउटा असल जातको धोती, केही औषधी एवम् तागतका बोतलहरु र केही फलफूलहरु आमा-बाबुका अगाडि राखिदिई । अनि कतिखेर हो कुन्नि उसले एउटा सानो पर्स भुइँमा फ्याँकेकी रहिछ, जसबाट सय-सयका केही नोटहरु चियाइरहेका थिए र केही भने बाहिर खसिरहेका थिए । बाबु यो सब देखेर केही क्षोभ, पीडा र घृणाले खोक्तै घोप्टो परेर भित्र पस्यो । आमा भने केही अनिष्टको आशङ्काले छोरीलाई एकोहोरो यसरी हेरिरही मानौँ ती आँखाले यही सोधिरहेथे ‘न तँलाई काम गर्ने आदत छ न कुनै सीप छ, न तँसँग लगानी गर्ने पुँजी नै छ, तर तैँले कुन त्यस्तो काम पाइस् कि यत्तिका महँगा सामान र रुपियाँसमेत ल्याइस् ?’
सुन्दरिया पनि मौन थिई । उसको थाकेको शरीर, हारेको अनुहार र शून्य आँखाले मानौँ यही जवाफ दिइरहेथ्यो, ‘मैले आजदेखि त्यही कामको थालनी गरेँ, जसलाई सीप, दक्षता र लगानी गर्ने पुँजीसमेत चाँहिदो रहेनछ । मात्र अलिकति रुप र यौवनको घडालाई तिर्खालुहरुबीच छचल्काइदिए मात्र पनि पुग्दो रहेछ ।’
(स्रोत:- Onlinekhabar )