कथा : यहाँ किन आएको ?

~डा. बेञ्जु शर्मा~

पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप चियासम्म पुग्ने । जे होस् बसले घरसम्म पुर्‍याइदिने भयो, खाना त घरमै गएर खाउँला, मनमनै यति सोचेर म लामो सास तान्छु । मनको थकाइ, शरीरको थकाइ, उमेरको थकाइले म थिलथिलो भइसकेको छु, कमजोर अनुभव गर्छु । गोडा कमाउँदै म बस खोज्न थाल्छु । कुन बस कहाँबाट जान्छ, केही लेखिएको हुँदैन । एउटालाई सोध्छु पल्लो कुनामा बस लागिरहेको बताउँछस त्यहाँ पुग्छु, बस हुँदैन ।

”जनकपुरको बस कहाँबाट लाग्छ ?” म त्यहींको नाङ्लो पसलमा सोध्छु ।

”यहाँ होइन, उता पर कुनाबाट”

म अर्को कुनामा पुग्छु । त्यहाँ पनि बस हुँदैन । सोध्दै र खोज्दै यताबाट उता उताबाट यता गर्दै, बल्ल बस फेला पार्छु । बस हिंड्ने तयारीमा हुन्छ, कन्डक्टरलाई आफ्नो टिकट देखाउँछु । कन्डक्टरले ‘सिट खालि छैन’ भन्दै स्टूल ल्याएर राखिदिन्छ । म टिकट देखाउँदै भन्छु- ”म किन स्टूलमा बस्ने, मेरो नम्बरको सिट मलाई दे ।”

पचहत्तर वर्षको सुकेको, थाकेको, काँमेको, मैलो मेरो शरीरतिर हेय दृष्टिले हेर्दै कन्डक्टर भन्छ- ”यहीं हो, यहीं बस ।”

”म मेरो सिटमा बस्छु, यहाँ बस्दिनँ । ”

उ मेरो टिकट लिएर सिट खोज्न जान्छ । त्यो सिटमा त्यही नम्बरमा अर्को मानिस बसिरहेको हुन्छ । उ आएर भन्छ- ”सिट खालि छैन, यहीं बस ।”

”मेरो पाँच नम्बरमा मलाई बस्न दे, मेरो सिट खोइ ? मैले अरूको सिटमा बस्न खोजेको होइन ।”

पाँच नम्बरमा बस्ने मानिस चिच्याउँछ- ”यो मेरो नम्बरको सिट हो, कसरी तपाईंको हुन्छ ?”

म कन्डक्टरलाई सोध्छु- ”मेरो नम्वरको सिट उहाँको कसरी भयो ?”

”दुइ जनाको टिकटमा एउटै नम्बर छ, एउटा सिटमा मैले कसरी दुइ जना राख्ने ? टिकट बेच्नेलाई गएर सोध्नुस् ।”

म सोध्न जान लागेको हुन्छु, बसले हर्न दिएर हिंड्ने तयारी गर्दै अघि बढ्न थाल्छ । मानिसहरू हतार हतार सबै आ-आˆनो स्थानमा बस्न थाल्छन् । बस अगाडि बढिहाल्छ । बस छुट्नु भन्दा सिट छुट्नु नै ठीक संझी म त्यही स्टूलमा गएर बस्न खोज्दा, त्यहाँ पनि अर्को बसिसकेको हुन्छ । तर कन्डक्टरको निगाहले म त्यो स्टूल सम्म पाउन सफल हुन्छु । बूढीले पोको पारिदिएको चिउरा र सख्खरको बाँकी रहेको सानोपोको काखमा राखेर, लौरो भूइँमा राख्दै म लामो सास फेर्छु । बस चल्छ, जीवनको यात्रा जस्तै ।

उमेरको शक्ति अब शरीरमा छैनस जाँगर, जोश उत्साह, उमङ्ग सबै सेलाउँदैछ । राणा शासनको विरोधमा चल्दा पाएका सास्ती र सकस, एक तन्त्रीय, निर्दलीय शासनभरि भोगेका अनगिन्ती दुःख ! पार्टीको लागि गरेको दौडधूप, दुःख कष्ट सबै आँखामा तरल भएर ऐना जस्तै स्पष्ट भएर आउँछ । आफूले दुःख पाए पनि भावी सन्ततीको सुःखको लागि एउटा स्वच्छ व्यवस्थाको सपना आँखामा बोकेर गरेको दौडधूप सबै मनभित्र चित्रित भएर आउँछ । आफू पार्टीभित्रको राम्रो कार्यकर्ता हुँदाहुँदै पनि बसको सिट जस्तै आफ्नो सिटमा अरू नै आसिन छन् । अब मलाई प्राप्ति वा अप्राप्तिको केही सुख वा दुःख पनि छैन । तर पनि बाँचुन्जेल, बाँच्नको लागि चाहिने अत्यावश्यक वस्तुहरूबाट विमुक्त हुन नसकिने वाध्यताले, विवशताले धकेलेर म काठमाडौंमा आफ्ना नेतासंग भेट्न आएको हुँ ।

२०५३।६।१५।३

”म नेताजीलाई भेट्न आएको, जरुरी काम थियो ।”

”यसबेला आएर नेताजीलाई भेट्न पाइन्छ ? भोलि बाह्र बजे आउनुस्” पी.ए.अर्डर गर्छ ।

२०५३।६।१६।४

बाह्र बजे म पार्टी अफिस पुग्छु । एक घण्टा कुरेपछि नेताजी आइपुग्नु हुन्छ । सबैले घेरेर उहाँलाई भित्र लैजाँदै हुन्छन् । भीडमा मलाई उहाँले देख्नु पनि हुन्न । उहाँलाई भेट्न म पालो कुरेर बस्छु । दुई घण्टासम्म भेटघाट चलिरहन्छ । म मनमनै सोच्छु- नेताजीलाई सबै आˆना गुनासा पोख्छु । जिल्लामा जस्तो अविवेकपूर्ण व्यवहार यहाँ हुने छैन । स्वयं नेताजीकै अगाडि समस्या राखेपछि समाधान त भइहाल्छ । कुरा धेरै नै के छ र पाँच मिनेटमा सबै कुरा सुनाइहालिन्छ ।

म ढोका बाहिर कुरेर बसिरहेको हुन्छु । अनायास नेताजी र साथमा अरू मानिसहरू निस्केर जान लागेको देख्छु र अगाडि बढेर भन्छु –

”मेरो दुइटा कुरा निवेदन गर्नु थियो ।”

”बाह्र बजे आएर दुइटा कुरा गर्न खोज्ने ? यहाँ नौ बजे देखि आएकाले एउटा कुरा त गर्न पाएका छैनन् । भोलि नौ बजे आउनू” भन्दै नेताजी हिड्नु हुन्छ ।

नेताजी गएपछि नेताजीको आज्ञा शिरोपर गर्दै म र्फकन्छु ।

२०५३।६।१७।५

भोलिपल्ट नौ बजे नै म पार्टी अफिस पुगेको हुन्छु । अफिस बन्द हुन्छ, कोही हुँदैन । म मूल ढोकामा टुक्रुक्क बसेर बूढीले बाँधिदिएको चिउरा र सख्खर बुक्याउँदै भोको पेटलाई केही आराम दिन खोज्छु । दश बजिसकेपछि पी.ए.आउँछ । म एक नम्वरमा नाम लेखाएर, आज चाहिं भेट हुने निश्चित भयो भनेर, खुशी मनले लहरै बाहिर राखिएको बेञ्चमा गएर बस्छु । मनमनै नेताजीसंग गर्ने कुराका विनम्र शव्दहरू संझन थाल्छु, भाषा मिलाउन थाल्छु । एक बजे नेताजीको आगमन हुँनासाथ म दौडेर आˆनो उपस्थिति देखाउन पुग्छु । नेताजी कुनै प्रतिक्रिया विना सरासर भित्र पस्नु हुन्छ । मन्त्रीज्यूहरू र सांसदज्यूहरूको फटाफट भित्र प्रवेश हुन थाल्छ । म कुरेर पालो पर्खेर बस्छु । नेताजी आएको पनि एक घण्टा बितिसकेपछि म निन्याउरो स्वरमा पी.ए.लाई सोध्छु-

”मेरो पालो आएन ? दुइ मिनेट मात्र भए पनि पुग्थ्यो ।”

”म सोधौंला, अहिले उहाँ व्यस्त हुनुहुन्छ । एकछिन कुरेर बस्नुस् ।”

म फेरि मेचमा गएर बस्छु । भोकले पेट बटारिन थालिरहेको हुन्छ ।

म मनमनै सोच्छु, आज भेट त भइहाल्ला अनि भरे त हिंडिहाल्नुपर्छ । भोलि त घर पुगिहालिन्छ । बूढीलाई तीन दिनमा आउँछु भनेर हिंडेको ।

ढोकानिर भीड देखर, दौडेर पुग्छु । नेताजी मंत्रीहरू र सांसदहरूद्वारा घेरिएर निस्कदै हुनुहुँदो रहेछ । म हात जोडेर भन्छु- ”नौ बजेदेखि कुरेर बसेको, एकैछिन समय पाउँछु कि ?”

”म एक बजे आउँछु, किन नौ बजेदेखि कुर्ने ? भोलि पाउने एक बजे आउनू, अहिले फुर्सद छैन ।”

”हिजो यहाँले नौ बजे आउनू भन्नु भएकोले नै नौ बजे आ को ।”

मेरो कुरै नसुनेर नेताजी कारभित्र पस्नु हुन्छ, कार चल्छ । म त्यही कारको धूवाँ र धूलोको पछि पछि डेरातिर लाग्छु ।

२०५३।६।१८।६

नेताजीको आज्ञा अनुसार ठीक पाउने एक बजे म पार्टी अफिस पुग्छु । एक बजे नेताजीको आगमन हुन्छ । म हात जोडेर नेताजीको अगाडि पुग्छु । नेताजी अकस्मात् झोक्किएर सोध्नु हुन्छ- ”के कारणले ? यहाँ किन आएको ?”

कोही कसैकहाँ किन आउँछ, आफ्नो संझेर आउँछ । त्यो मेरो घर भन्दा पनि प्रिय घर हो, त्यो मेरो संपूर्ण यौवन लगानी लगाएको पार्टी अफिस हो । त्यहाँ म जानु मेरो अनाधिकार धृष्टता होइन । नेताजीको आवाजबाट लाग्छ, म कु ठाउँमा आइपुगेको छु ।

म हडबडाएर भन्न पुग्छु- ”हिजो यहाँले भन्नु भएको समयमा आइपुगेको छु ।”

नेताजी ‘हुँ’ गर्दै भित्र पस्नु हुन्छ । त्यो ‘हुँ’ भित्र एउटा हुँकार थियो । शक्तिको साँढे कुर्लाइ थियो ।

नेताजीसंगको परिचय, अब अपरिचित व्यवहारमा परिणत भइसकेको थियो ।

‘आज पनि भेट्न नसकिने भयो’, म साह्रै असमञ्जसमा परिरहेको थिएँ ।

‘एउटै कुरा थियो, यहीं बाहिरै सुनिदिए पनि त हुन्थ्यो’ म मनमनै सोच्न थाल्छु ।

यो चाकरी र ढोका कुराइले म भित्रभित्रै गल्न थाल्छु । जीवनभर आत्मसंमानमा बिताएर, कसैसंग नझुकेको यो शीर, केवल आˆनो नेता भनेर मात्र झुकाइरहेछु, धाइरहेछु । अब यो आˆनोपन पनि बिरानो भइसकेको रहेछ ।

नेताजीसँगको परिचय अब अपरिचित व्यवहारमा परिणत भइसकेको थियो । नेताजीसँगै जेलनेलमा बिताएका दिनहरू ती सुख दुःखका साथहरू अब कुनै पुरानो गर्तमा खसेर पुरिइसकेको रहेछ । मैले संझेको आˆनोपन समयको पहिरो नै पहिरोले पुरिइसकेको रहेछ । मन नलागि नलागि फेरि म पी.ए.को कोठामा पस्छु ।

पी.ए.भन्छ- ”उहाँले त्यसो भन्नु भएपछि भेट्न संभव छैन । भोलि समयमै आउनुहोस् न ।”

त्यही बसेको अर्को कार्यकर्ता भन्छ-

”भोलि त शनिबार ।”

”त्यसो भए पर्सि आउनुस्” पी.ए.भन्छ ।

‘यिनीहरूलाई भन्न कति सजिलो छ । तर के गर्ने ? काम आˆनै हो ।’ म फेरि भोलि होइन पर्सिको भेट्ने आशमा अड्कन्छु ।

”कुन समय आउँ” म सोध्छु ।

”एक बजेबाट भेट्ने समय शुरु हुन्छ । त्यही समय मिलाएर आउनुहोस्” पी.ए.भन्छ ।

समयसंग मिल्न सक्ने भए, समय मिलाउन जान्ने भए म आज होइन, हिजै मंत्री भइ सक्ने थिएँ । समयसंग म कहिले पनि मेल खान सकिनँ । समयले सधैं मलाई लत्याएको छ, फ्याँकेको छ, धोखा दिएको छ । पी.ए.को आशय म बुझ्न सक्दिनँ । म नेताजीको समय अडकल्नै नसक्ने भएको छु । दोष मेरै हो समयलाई पक्डन नजान्ने ।

२०५३।६।२०।१

कुरेरै बस्नु परे पनि म समयमै पुगेको हुन्छु । एक नम्बरमै लगेर पी.ए.ले मलाइ भेट्न कोठाभित्र लैजान्छ ।

”के भयो ?” नेताजीको खह्रो आवाजको प्रश्न ममा तेर्सिन्छ ।

”बूढेसकालको एउटै छोरो, पढाइ पूरा गर्न लागि सकेको छोरो, प्रजातन्त्र प्राप्ति भन्दा ठूलो मेरो छोरोको ज्यान अवश्य थिएन । मैले नै उसलाई आन्दोलनमा भाग लिन उत्साहित गरेको थिएँ । त्यसो त उ पनि धेरै सचेत र सजग थियो । त्यसबखत उसको रगतमा क्रान्तिको खून दौडिरहेको थियो, मलाई गौरव नै लागेको थियो, केही वर्षको आयु भन्दा, जीवनभर अमर भएर, शहीद भएर मेरो छोरो गयो । तर जति पछि हुँदै गयो, मनभित्र सहनै नसकिने खोप रोपेर उ गएछ । बूढी पीरैपीरले आधा भइसकी । बूढेसकालमा मेरो त सर्वस्व भएछ ।” म भन्दै जान्छु ।

”कुरालाई छोटयाएर भन्नुस, नेताजीको समय कम छ । भेट्ने मानिसको भीड छ” पी.ए अर्डर गर्छ ।

”अब त्यही शहीदका परिवारले पाउने भत्ता भए पनि पाइन्थ्यो कि भनेर निवेदन दिएको थिएँ, के भयो भनेर ?” मैले गलित स्वरमा भनें ।

”जिल्लाबाट रिपोर्ट आइरहेछ, तपाइको छोरो आन्दोलनमा मरेकै होइन भनेर । यसै मरेको छोरोलाई शहीद भएको भन्ने ?” नेताजी कुर्लिनु हुन्छ ।

”होइन, यो सरासर झूठो हो । अन्दोलनमै मरेको हो, घटनास्थलमै साराले देखेको कुरा ।” म आश्चर्य चकित हुँदै भन्छु ।

”शहीद भएको हो भन्ने प्रमाण बिना कसरी सहयेाग मिल्छ, प्रमाण चाहिन्छ । हो भने प्रमाण जुटाएर ल्याउनु पर्‍यो ।”

नेताले त्यति बोल्न पाएका थिएनन्, पी.ए.ले मलाई बाहिर हटाएर अर्कोलाई बोलाउछ ।

फटाहाहरूको हात लामो हुँदो रहेछ । पञ्जा बाक्लो हुँदो रहेछ । सेतोलाई कालो र कालोलाई सेतो बनाउने सल्लाह रातारात चल्दो रहेछ । जिल्लाको षड्यन्त्रको आगोले केन्द्रलाई पनि ढपक्कै ढाकेको रहेछ । मेरो एक्लो, निरीह आवाजको त्यहाँ कुनै अर्थ थिएन । सत्यलाई असत्यले ढाकेको थियो, जताततै असत्यको बोलवाला थियो ।

आफ्नै पार्टीका ‘क’ पक्षकाले भन्थे- ”यो त ‘ख’ नेता पक्षको मान्छे हो, यसको छोरो शहीद भयो भनेर हामी किन प्रमाणित गर्ने । ‘ख’ पक्षकाले भन्थे यो त ‘ग’ नेताको पक्षको हो, हामीलाई के मतलब । फेरि ‘ग’ पक्षकाले घुमाईफिराई ‘क’ मै पुर्‍याउँथे । आन्दोलनमा भाग नै नलिएकाहरू जो झ्यालमा बसेर रमिता हेर्दा मरे, बजारमा किनमेल गर्न लाग्दा मरे, तिनीहरूको नाम शहीदमा दर्ता भएको थियो तर मेरो छोरो प्रजातन्त्र पुनस्र्थापनाको लागि आफ्नो विचार,सिद्घान्त र पार्टीको लागि काम गर्दा गर्दै गोली खाएर मर्‍यो, उसको मृत्युलाई प्रमाणिकता चाहिएको छ । ‘क’ नेताको विचार छ- उनका पक्षका शहीदले मात्र भत्ता पाउनुपर्छ, त्यस्तै ‘ख’ र ‘ग’ का नेताको पनि । एउटै पार्टी भित्रको विभाजित मनस्थिति र कुर्सीको होडबाजीको लडाइले दन्केको आगेामा म पनि हो मिइ सकेको रहेछु मेरो योगदान लागि मेरो व्यक्तित्वलाई यसरी टुक्रा टुक्रा पारेर नेताहरूको बीचमा भाग लगाएर, बगरेको मासु बनाएको मेरो मनले पटक्कै स्वीकारेको थिएन । म प्रजातन्त्रको लागि युद्ध गर्ने योद्धा हुँ । मैले कुनै नेताको लागि लडेको होइन । व्यक्ति पूजा गर्न मैले कहिल्यै जानेको छैन । व्यक्तिसंग मेरो कुनै सरोकार छैन । म मैले पाउनु पर्ने हक खोज्न गएको थिएँ । षड्यन्त्रको पिसाइले म जिल्लामै पिसिएर, थलिएर काठमाडौं आएको थिएँ- न्याय खोज्न । तर ती चाकडी र चुक्ली गर्नेहरूको माझमा, म न्याय खोज्ने, हक र अधिकार खोज्ने मानिस यसै हराएको थिएँ ।

बसले वेग लिइसकेको थियो । बाटाका जोल्टिङहरूमा ठक्कर खाँदा मेरो मनको तरङ्ग भंग हुन्थ्यो र फेरि बससंगै मन पनि दौडन लाग्थ्यो ।

व्यवस्था जति छीटो परिवर्तन हुन सक्दो रहेछ, संस्कार र संस्कृति तुरुन्तै अगाडि बढ्दो रहेनछ । राणा कालदेखिको चाकडी, चुक्ली, चाप्लुसी, शोषण र भ्रष्टाचारको संस्कार जस्ताको तस्तै रहेछ । नेताजीको मुखारविन्दबाट निस्किएको दुइ शब्द सुन्नलाई मलाई दुइ हˆता चाकडी गर्नु परेको थियो ।

म संगै बस्नेले रेडियो खोलेको थियो । नेताजीको भाषण आइरहेको थियो- ‘चाकडी, भ्रष्टाचार, तस्करी र चुक्लीको अन्त्य भएर देश प्रजातान्त्रिक अभ्यासमा अगाडि बढिरहेछ ?’

मसँग बस्ने विदेशी समाचार सुनेपछि सोध्छ-”के अहिले तपाइँको देशमा यस्तै छ ?” मेरेा देशको प्रजातन्त्रको छविलाई म बिगार्न चाहदैनथे । म मेरो व्यवस्थालाई विदेशीको आँखाबाट खस्न दिन चाहँदैनथें र भनें -”देशमा प्रजातन्त्र स्थापना भएको छ सबै राम्रो हुँदैछ, राम्रेा छ ।”

यी शब्दहरू बोलिसक्नासाथ झूठा शब्दहरूको मुड्कीले छातीमा एक घुस्सा हान्छ । आफ्नै शव्दहरूले आफैंलाई छलेको हुन्छ ।

म पनि यिनै नेताहरूको कार्यकर्ता भएकोले यिनीहरूकै केही अंश म भित्र पनि गडिरहेको रहेछ – बोलाइ र गराइको द्वैधता ।

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.