कथा : मञ्जरीको मृत्यु !

~बिटु केसी बराल~Bitu KC Baral

मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे ।

स्वदेशबाट कता हो कता, धेरै टाढा सात समुन्द्रपारी अमेरिका भनिने यो ठाउँमा मलाई देशको खबरले झक्झक्याँछ । सुन्छु – त्यहाँ जाडो खप्न नसकेर न्यानो लुगा नहुनेहरू , घर नहुनेहरू , सडकमा गुजारा गर्नेहरू गरिवहरू मरेरे । मन भित्र कस्तो कस्तो आमिलो फैलिन्छ । आफ्नो लुगा बिछ्यौनाले आफैलाई गिज्याए झै लाग्छ । सडक पेटिमा हात फैलाएर बस्ने बालकहरू , पाटी पौवामा रामनाम जप्दै दिन गुजार्ने ती बुढाबुढीहरूको याद आउछ । यस्तै यादहरुमा मिस्सिएर वर्षोदेखी मेरो मष्तिस्कमा तहतह परेर बसेको मञ्जरीको यादले ३० बर्ष अगाडि को त्यो समयमा मलाई अनयासै फर्काउछ ।

क्षणभरको लागि मञ्जरी मेरो मानसपटलमा जिवन्त भएर उभिन्छे । उसको त्यो बुच्चो कपाल , डेढो हेराइ , छुच्चो बोली मेरो आँखा वरिपरि घुम्छ ।

मञ्जरी गुनिली पनि होईन , राम्री पनि होईन । अचम्म त के भने उ मेरो मानसपटलबाट कहिल्यै ओझेल भैइन । जब जब उसलाई म सम्झिन्छु दुखित हुन्छु , हतास हुन्छु । कहाँ गई मञ्जरी , कता हराइ मञ्जरी ?

३० वर्ष अगाडिको बिशालनगर चण्डोल सानै भएपनि प्राकितिकरुपमा सुन्दर थियो । । हराभरा ,सफा सुग्घर , उचाइमा अबस्थित चण्डोल अति रमाइलो लाग्थ्यो । पारिलो घामको स्पर्श , हावाको मिठासले चण्डोलको आकर्षणमा चार चाँद लगाएको थियो । सडकको दाँयाबाँया निलकाडाँको सपक्क मिलेको बार जसले पर्खालको काम गरेको हुन्थ्यो । मोटर गाडी चड्दा त्यो हरिया काँडाघारी सरर छोडिदै जाँदा गाडीसंगै दौडे जस्तो लाग्थ्यो , मन्त्र मुग्ध हुन्थे म । असाध्यै मन पर्थ्यो मलाई त्यो द्रिष्य , त्यो चण्डोल । अब त काँडाघारीको ठाउँ ठुला ठुला पर्खालले ओगटेको छ । त्यो रमाइलो बस्ती आज अब्यब्स्थित घना बस्तीले गर्दा कस्तो कस्तो उकुसमुकुस देखिन्छ । तर पनि आफू जन्मेको ठाउँ अति प्यारो हुने रहेछ । कवि सिद्दिचरणलाई ओखलढुङगा प्यारो भए जतिकै ।

मेरो भन्दा २३ घर पछाडि एउटा सानो मिल थियो जसलाई हामि कलघर भन्थेऔ । काँचो इट्टाले बनेको कलघरको भित्र एउटा कुनामा सानो कोठा थियो त्यसैमा डेरा गरि बस्थे मञ्जरी र उसको बुढो बाउ । कलघरको ठिक अगाडि ठुलो मयलको रुख थियो र रुखसंगै थियो फैलिएको बारी । त्येतिबेलैको प्राबिधिक बिकासले त्यो पुरानो कलघरलाई इतिहास बनाइ सकेको थियो । कलघरमा कल थिएन , बाँकी थियो मात्र घर । त्यो घर रुङेर बाउ छोरी बस्थे । मयल पाकेपछी केटाकेटी झ्याम्मीन्थे रुख मुनि । हामि पनि बाटो पर्दा मयल खान कल घर तिर जान्थ्यैा कहिलेकाही । पाकेको मयल खुब मिठो हुन्थ्यो । खेतबारिमा जाने बाटोसगैको त्यो झरेको मयल खान मयल धनीको भन्दा नि मञ्जरीको बढी डर लाग्थ्यो । उ आफ्नै मयल हो जस्तोगरी छुच्याँइ गर्थी । घरधनीलाई भनिदिने धम्की दिन्थी । एकचोटी मयलको रुखसंगैको मकै बारिमा तनेबोडी चुडेर खाएछन् सानासाना केटकेटीले ।” बोडी चोर ” बोडी चोर ” भन्दै कराएर मन्जरीले तिनीहरूलाई परैसम्म लखेटी । ती केटाकेटीहरू मन्जरीको अगाडी पर्ननी डराउथे । उसको न पहिरन राम्रो हुन्थ्यो न हिडाँइ । तर, म उसलाई बाटोतिर हिंडेको देख्दा हेरिरहन्थे र मौका मिल्दा बोल्थे । उ सधै ठाडो जवाफ दिन्थी र तर्किन्थी । मञ्जरी सबैसँग ठाडो बोल्थी । बुढो बाउले ज्यालादारीबाट जेजति कमाउथे त्यसबाटनै उनिहरुको छाक टरथ्यो । ज्याला मजदुरीको काम सधैं पाइने होईन , काम नपाउदा र गर्न नसक्दा उनिहरुको पेट कसरी भरिन्थ्यो होला ? विचरी मन्जरी ! आमा गुमाएकी टुहुरी थिइ । मञ्जरी दुधेबालिका छदै बितेकि रहिछीन् आमा । उसका उमेरका अरु केटाकेटी स्कुल जाँदा , मिलेर खेल्दा मञ्जरी भात भान्चामा हुन्थी । ९ १० वर्षकी हुदी हो उ तर बुढो बाउ लाई पकाएर खुवाउने जिम्मा उसैको भागमा थियो । आफूले पढ्न नपाएकोले होला स्कुल जाने आउनेहरूलाई उ खुबै ध्यान दिएर हेरिरहन्थी । कापि कलम लिएर खोइ के के कोरिरहन्थी उ । कठै ! उसको पढ्ने रहर बुझिदिने को थियो र ?

एकदिन उसको बुढो बाउले सौतेनी आमा ल्याएछन् । टोलछिमेकमा गाईगुइँ हल्ला चल्न थाल्यो – ए ठुल्दाइले त फेरि बिहे गरेछन नी ! मेरो आमाले नी भन्नुभयो – ” ठुल्दाइको कान्छी दुलही त कति राम्री रैछीन् ” हाँस्दै भन्नुभयो – ” कहाँ पाएहोलान्, त्यती राम्री दुलही बुढेसकालमा ? ” हेर्ने कौतुहलता जाग्यो , दौडेर गएँ कलघरतिर । हो रहेछ , खुब राम्री लाग्यो मलाईनी , सिनेमाकी हिरोइन जस्तै । मञ्जरीलाई चाँही के लाग्यो खोइ कुन्नी ? केहीदिनपछि कसैले मञ्जरीलाई सोद्धै थियो – सौतेनी आमा ल्याएपछि बाउले माया गर्छन् की गर्दैनन् ? कान्छी आमाले कस्तो व्यबहार गरेकी छिन इत्यादी । सौतेनी आमाप्रति उसले न कुनै रौष प्रकट गरेकी थीइ , न कुनै गुनासो नै । उ सामान्य देखिन्थी । समयको हन्डर र ठक्करले कलिलै उमेरमा उसलाई जोदाहा र जिताहा बनाइसकेको थियो ।

चार महिनानी नटिकी ठुल्दाइकी नयाँ दुलही त टाप कसिछिन् हेर,  आमाले कसैलाई बताउदै हुनुहुन्थ्यो । त्यहाँ उप्रान्त ती सुन्दरीको दर्शन फेरि कहिल्यै पाइएन । शायद ठुन्दाइको गरिबीले उनलाई टिकाउन सकेन ।  ठुल्दाइ धेरै बुढो भैसकेका थिए । उनको शरीर ज्यालदारी काम गरेर पेट पाल्न सक्ने अबस्थाको थिएन । न कुनै खेतबारी र जायजेथा उनिहरुसँग थियो । परिवार र आफन्तको नाममा ती दुबै बाउ छोरी मात्रै । चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन । सानी मञ्जरी निर्भिक , निडर थीई । कसैसँग नझुक्ने र नडग्ने उसको पन शायद मलाइ त्यतिबेला छुच्चो लागेको हुदो हो । उसको गरिवी ,दयनीय अबस्थाको समाजले उडाउने खिल्लीको सामाना गर्दा उ कठोर देखिएकी हुँदि हो ! आफ्नो अबस्थाको ललरी गाएर ती बाबु छोरीले कसैबाट सहयोगको अपेक्षा गरेको समेत थाहा पत्तो पाइएन । न त त्यो समाजका हामिहरूले उसको अबस्थालाई जान्ने चेष्ठा नै कहिल्यै गर्‍यौं । अहिले मलाई लाग्छ , यदि समाजको सानो सहयोग पाएको भए मञ्जरीको जीवन त्यसरी बिलिन हुने थिएन । उ कसैसँग झुकिन तर गरिवीको सघर्षमा उ चाडै नै पराजित भई । एकदिन अचानक सुने मञ्जरी त मरिरे ….. मलाई बिश्वासै लागेन । फेरि दौडेर कलघरमा हेर्न गए , सुनसान थियो घर , त्यहाँ कोइ थिएन । म खिन्न हुँदै फर्किए । बिरामी थिईरे उ । खोइ के को बिरामी हो , मलाई थाहा थिएन ।  मञ्जरी भन्दा १/२ वर्षले ठुली मलाई आजसम्म पनि कुरिकुरी लागिरहन्छ – औषधी उपचार पाएको भए मञ्जरी त्यति चाँडै मर्दिनथी । म सोच्दछु , मञ्जरी बाँचिरहेकी भए आज कस्ती हुन्थी होली ? उसका पनि त आफ्नै रहर र सपनाहरू थिए होलान् । जीवन बाँचिरहने आशा कसलाई हुदैन ? तर सबैको रहर कहाँ पुगेको छ र !  कहीले पुगेको छ र ? केही समयपछि ठुल्दाइ नी मरे भन्ने सुनियो । उनको मृत्‍युमा शोक मनाउने कोही भएनन् ।  समाजले फेरि उनीहरूलाई कहिल्यै सम्झदा पनि सम्झेनन् ।

हुस्टन , टेक्सास

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.