~गौतम “उदय”~
बिकसित देशहरुमा काम पाउनु भन्दा पनि एकाध बाहेक जुन स्तरको काममा पनि दुख चाहिँ औधी हुने। थकाइ सान्त पार्न र ताजकीपन पाउन विविध प्रकारका साधन र ठाउं प्रसस्तै उपलब्ध भए पनि यी सबै व्यक्तिगत रुचीमा भर पर्ने रहेछन। एक दुई पटक गए पनि पब र डिस्कोहरुमा मदसंगै घोलिएर आउने अलिकति मात्र मिनी स्कर्टले छोपिएका सुडौला तिग्रा, तलबाट निचोरेर माथिबाट झन्डै खसाउनै लागेका जस्तै बक्ष्य, हाउभाउ कटाक्ष्य सहितका मन्द मुस्कान उति मन परेन मलाई। समग्रमा बेग्लै संस्कारमा हुर्के बढेको र मद्को बानी पार्न नसकेको मलाई त्यस्ता ठाउँहरुको प्रभाब सून्य भयो भनौं । तसर्थ सधै काम सकिने बित्तिकै सिधै घर तर्फ हानिन्थ्यें । बेलुकाको खाना पछि मेरो थकाइ बिसाउने र तजकी पाउने साधन सधै नै कम्पुटर र इन्टरनेट नै बने र अहिलेसम्म पनि बनिरेहेकै नै छन् ।
बायु सेवाको पिक सिजन नजिकिंदै भएकोले काम धेरै नै ब्यस्त थियो। थुप्रै बोइंगका सि-चेक, टेस्ट फ्लाइटले थकाउनसम्म थकाउँथे प्रत्येक दिन। उसै त वर्कोहोलिक जापानिजसंगै गर्नु पर्ने म, जहाँ आठ बजे पुग्ने काम तालिका भए पनि छ बजे नै कार्यकक्ष पुग्ने अनि पाँच बजे काम सकिने भए पनि राती आठ बजेसम्म काम गरिरहने कमिला जस्ता जापानिजहरु संगको काम, त्यस माथि पनि त्यो दिन एक घण्टा गर्नै पर्ने ओभर टाइम सकेर बीच बाटो मै खाना खाएर लखतरान हुँदै घर छिरेर हतार मै इमेल चेक गरी सुत्नै आँटेको बेला सधै जसो नै लग अन नै रहने मेरो याहू च्याट रुममा “हाई देयर, हाउ आर यू डुइंग?” को मेसेज आयो। अर्थ न बर्थका च्याट भन्दै वास्तै नगरी भुनभुनाउँदै बिस्तरा तताउने तर्फ लागेँ।
भोलि पल्ट शनिबार बिदा थियो। आठ बजे नै निद्रा खुले पनि हाइ काड्दै यता तन्किदै र उता तन्किदै पल्टिरहें नौ बजे सम्मै। नित्य कर्म सकी ठूलो कपमा ब्ल्याक कफी र दुई वोटा क्रसाँट बोकी कम्प्युटर अगाडि बसें र कम्प्युटरलाई स्लिप मोडबाट बिउँझाउँदा त “हलो! व्हाई डोनचू से सम्थिंग!” आदि आदि भएका करीब दस पटक जति पठाईएका मेसेज र अन्तमा रोमनमा “कस्तो निष्ठुरी” लेखिएको मेसेज रहेछ। अरु मेसेज त केहि जस्तो पनि लागेन तर “निष्ठुरी” भन्ने शब्दले भने मलाइ तरंग्याई रह्यो। तरंगमै बि.बि.सि. सुन्दै सर्र एकपटक अनलाइनखबर, नेपालप्लस, डिसीनेपाल, बिश्वनिउज, नेपालजापान आदि पढेर याहू मेल खोल्न मात्र के लागेको थिएँ, फेरि उताबाट भयो “हाई देअर, अलरेडी गट अप? डिज्यू ह्याभ अ गुड नाइट स्लिप ?” टू अर्ली !” को वर्षा !
कहिलै कुनै माध्यमबाट सम्पर्क नभएको मान्छेले पागल प्रेमीले जस्तै मलाइ किन लखेटी रहेको होला ? राम्रै चिनेकै मान्छे होकी? कुनै अरु माध्यमले चिनेको होकी? कुनै नातेदार नै पो होकी? भन्ने लख र जिज्ञासासंगै मैले पनि लेखि दिएँ “ हाई, क्यान आई आस्क यू हू यू आ एंड होयर यू आर फ्रम?” यताबाट मैले मेसेज सेन्डमात्र के गरेको थिएँ सेकेण्ड मै पप्कोर्न पड्के जस्तै उताबाट पटट उत्तर आयो “डोनचू नो मी? हा!हा!हा! फनी! आई एम फ्रम ज्यापान!” र पछाडी पट्टि हाँसेर आँखा झिम्क्याएको सानो ईमटिकन पनि! म तिर्मिर भएँ! इमेल र च्याटमा धेरै जसो केटा केटी बन्ने, फेक आइडी, नाम, फोटो प्रयोग गर्ने, आफ्नै साथीले रयाक गर्ने, चक्मा दिने र बेबकूफ बनाउने चलन त दालभात जस्तै छन् यो जमानामा! त्यस माथि पनि चाइल्ड हरयासमट बारे अति कडा कानुन छन् बिकसित देशमा। टिनेजर्स पनि अडलट बनेर च्याट गर्ने गर्छन । त्यसैले डर पनि लग्यो। अनि म थुप्रै बेर केही नलेखी बसिरहें। फेरि उतैबाट आयो “ यू आ लस्ट!”
धेरै पटक उतैबाट एकोहोरो मेसेज आए पछि मैले पनि कहाँबाट रहेछ भनी निश्चित गर्न “गिभ मी योर नम्बर, आई वान कल यू” भनी मेसेज पठाएँ। उताबाट तुरुन्त ०१० ९७७ ९८४१ १२५१७७ आयो। अनि मैले तु फोन लगाएँ। मन्द मीठो हाँसो र मृदु भाषाका साथमा उठ्यो फोन! हलो, नमस्कार भने मैले! उतापट्टिबाट दर्शन, आराम होइसिन्छ? ब्रेकफास्ट खाइसियो? भनी सोधिन एउटा महिलाले। हजुर, खाएँ! हजुरले नि भनी सोधें। कफी खाँदै छु भनिन् उनले। नाम सोधें, किर्तिका राणा, तुरुन्तै जवाफ फर्काइन। मेरो नाम चाहिंदैन? सोधें मैले। फेरि तुरुन्तै जावाफ फर्काइन, मलाइ थाहा छ हजुरको नाम जेम्स। मैले मेरो प्रोफाइलमा राखेको सबै विवरण सहि थियो। त्यहिबाट मेरो विवरण थाहा रहिछन उनलाई। साधारण कुराकानी पछि तुरुन्तै उनले पनि मेरो फोन नम्बर मागिन। निस्चियता गर्न होला सायद! मैले पनि इमान्दारिताका साथ ०८०- ६०७२ ४२६१ पठाई दिएँ। तु फोन गरिन उनले पनि। छोटो कुराकानी पछि फोन सम्बाद बन्द गर्यौं। त्यस पछि निश्चित भयो की यो कुनै प्रकारको झुक्याउने च्याट सम्पर्क थिएन।
त्यस पछि हामी घन्टौंसम्म च्याटमा ब्यस्त भयौं। च्याटमा हाम्रा थुप्रै कुरा भए। पारिवारिक कुरा, व्यक्तिगत कुरा, , अध्यनकाक कुरा, बैबाहिक कुरा, जबका कुरा, जीवनका भाबी लक्ष, उमेर, रुची आदि आदि। उनका हरेक कुरागराईहरु, प्रस्न सोध्ने र उत्तर दिने तरीकाहरू एकदम सटिक र अर्थपूर्ण थिए। उनको सोंच बहु प्रतिभाशाली थियो, अनि दिमाग मल्टि टासकिंग थियो। भर्खर २७ लगिकी उनी एक प्रखर विद्वान जस्ती थिइन। साच्चै नै स्मार्ट नेपाली केटी थिइन किर्तिका!
च्याटमा ब्यस्त भै लन्च समेत भुलेका हामी एक घण्टामा पुन भेट्ने बाचाका साथ च्याट स्टेटस अन नै छाडी दुई बजे तिर छुटेका थियौं। हस्यांग फस्यांग गर्दै लन्च खाई सकेर पुनः कम्प्युटर अगाडि मात्र के बसेको थिएँ, म आएर बसेको देखे जस्तै गरी मेसेज पठाइन “यू ब्याक?”मैले पनि यताबाट पठाएँ “याप”! यस प्रकार फेरि शुरु भयो हाम्रो कुराकानी। रोमनमा लेखेर मेरो फोटो पठाउन अनुरोध गरिन उनले मलाई। मैले पनि आफूलाई राम्रो लाग्ने खालका फोटोहरु छानी चार पाँच वोटा क्रमशः अपलोड गरिदिएँ र कमेन्टस् सोध्दै गएँ। हरेक फोटो बारे उनले गरेका कमेन्टस् पनि सटिक र यथार्थ नै थिए। मैले पनि फोटो पठाउन अनुरोध गरें। उनले ६ जना साथीहरु संगैभएको एउटा ग्रुप फोटो पठाईन र ती मध्येबाट उनलाई चिन्नु पर्ने कुरा बताइन। म कोशिस गर्छु त भनी दिएँ तर जब फोटो आयो, म ठुलै फसादमा परें किन की फोटोमा भएका सबै ६ जना एकसेएक सुन्दरी थिए। सबै जना उभिएका थिए त्यो फोटोमा। दुई तीन गेस त गरें तर सबै कुठाउँमा परेछन। अझै असफल हुनु भन्दा हात उठाई दिएँ र उनैलाई भन्न लगाएँ । अगाडि रेड ब्राउन डाई गरिएको कुम सम्म झरेको सलक्कको सिल्की कपाल, चौडा निदार, ठूला ठूला आँखा माथि सिनित्त परेका आँखीभौं, हिउँ जस्तै सेतो र सफा अनुहार, पुष्ट छाती, ठिक्कैकी पातली र अग्ली बिछट्टै सुन्दरी। साच्चै नै ड्रप-डेड गोरजस नै थिइन किर्तिका। उनको अगाडि अफ्नो तौल धेरै नै कम भएको महसुस भयो।
तत्पश्चात हरेक दिन, हरेक फुर्सदका क्षण हामी फोन वा च्याटमा ब्यस्त रहन थाल्यौं । च्याटमा हाम्रा हरेक कुरा हुन्थे। केहि लुकाउदैनथिन उनी। आई.ए.फेल भएको, केटाहरुले रयाक गर्दा कुट्न गएको, साहसिली बन्न जिउँदो माछा निलेको, अडभेन्चरकोलागि सगरमाथा बेस क्याम सम्म गएको र अरु पनि थुप्रै थुप्रै कुरा! अति फरासिली, अति स्पस्ट, स्मार्ट, रोमान्टिक र साहसिली! कता कता अलि टाढाको नाता साइनो पनि पर्दो रहेछ हामी बीचमा। उनका बाजे जुद्द शमशेरका खलक रहेछन, मेरा बाजे नर शमशेरका खलक। संयोग भनौ या के भनौ हामी दुबैका मुवा बाबाको इन्टरकास्ट म्यारेज थियो।
शुरुमा मेरो कम्प्युटरमा वेब क्याम थिएन। उनकै जिद्दीले किनेर ल्याएँ मैले पनि । त्यस पछि त झन के चाहियो र! उठबस नै बनाउन थालिन मलाइ उनले। कहिले टाउको दायाँ त कहिले बायाँ घुमाउन लगाउँथिन, कहिले छाती फुलाई देखाउन लगाउँथिन, कहिले उठ्न, कहिले बस्न, कहिले मूख बिगार्न, केके हो केके सबै कुरा त भनी साध्यै छैन ! तर यो कुरा एकोहोरो भने थिएन। उनी पनि जे भन्यो त्यहि गर्थिन। कुकुरकी सौखिन किर्तिका कहिले काखमा कुकुर राखी च्याट गर्थिन, कहिले आफ्नी मम्मीलाई साथमा राखेर हेरिस्योस हजुरको जुवाई भन्दै मलाइ फोटोमा किस गर्दै उनको ममीको अगाडि लाजले भुतुक्कै बनाउथिन, कहिले आफू सुत्ने ठूलो बेड देखाउँदै हामी सुत्ने बेड भन्थिन। एक पटक त आज हजुरलाई नयाँ फोटो देखाऊ छु भनी कोठाको ढोका बन्द गरी पुरै गाउन नै फ्यात भुइँमासम्म झार्न समेत भ्याइन्! हुन सक्ने जति सबै कुरा भए हाम्रा च्याट र फोनमा !
स्प्रिंगबाट शुरु भएको हाम्रो सम्बन्ध समरसम्म आइपुग्दा हुर्केर, बढेर, झांगिएर एउटा उत्तिसको रुख नै बनिसकेको थियो। हाम्रो उमेरको अन्तराल करीब नौ बर्षको भए पनि संगै जीवन बिताउने करार गरिसकेका थियौं हामी। आमाबाबु, नातेदार अनि शुभचिन्तकले धेरै पटक कर गर्दा गर्दै पनि बिबाह गर्न नमानी करियर बनाउनपट्टि लागेको म अब बिबाह गर्ने उमेर टल्यो भनी चाम्रिएर बसेको बेलामा २७ बर्षकी कन्या किर्तिका मेरो जीवनमा बाहर बनेर आएकी थिइन। समरमा म काठमाडौँ जाने र भब्य रुपले बिबाह गर्ने पक्का भएको थियो। किर्तिकलाई सोधी सोधी उनलाई मन पर्ने सोनी ल्यापटप, मुभी क्यामरा, एप्पल आईप्याड, ब्लुबेरी आइफोन सहितका थुप्रै सामानहरु किनेको थिएँ। अगस्टको पाँच तारिकबाट मेरो बिदा शुरु हुने भएकोले त्यहि दिन बिहान एघार बजेकोलागी एयर टिकेट लिएको थिएँ मैले। लगेज सबै प्याक गरिसकेको थिएँ। भोलिको फ्लाइट भरि किर्तिकासंग च्याट गर्न, बोल्न नपाउने भएकोले यो राति अलि धेरै नै लामो फोनबार्ता भैरहेको थियो हामी बीचमा। तर, हरेक बार्तालापमा किर्तिका डराएको वा संकोचित भएको अनुभव भैरहेको थियो मलाइ। पहिलो पटक कसैलाई, त्यसमाथि पनि जीवनमा कहिलै भेट नभएको आफ्नै बन्नलागेको जीवन साथीलाई भेट्ने क्षण नजिकिँदो भएर होला उनलाई त्यस्तो भएको भन्ने सोचेर लत मैयाँ म भोलि बिहान फेरि फोन गर्छु आजलाई सुतौं है मात्र के भनेको थिएँ, पखिस्योस, हजुरलाई भन्न एउटाकुरा बाँकी छ भनिन् किर्तिकाले! मैले सोचें कुनै अर्को राम्रो बस्तु जापानबाट ल्याइदिन फर्माइस गर्दैछन् उनले र तु भनी दिएँ “ल भनन त!” त्यस पछि उनले बिस्तारै त्यो एउटा कुरा भन्न शुरु गरिन ।
“हेरिस्यो हजुर, मैले हजुरलाई कुनै कुरा लुकाएकी छैन। यो कुरा सुनेपछि हजुरले मलाइ घृणा गरिसिन्छ, तर म यो कुरा हजुरलाई नभनी सक्दिन। पाँच बर्ष पहिलेको कुरा हो, म कलेज पड्दै थिएँ, अल्लारे थिएँ । त्यस बेला एक जना आर्मी सफिसर मेरो पछि लग्यो। बिस्तारै हामि बीच प्रेम बस्यो। त्यस बेला छाउनीमा कार्यरत उसले मलाइ कुपन्डोलमा डेरा लिई राख्यो। हाम्रो सम्बन्ध एकदम राम्रो थियो। मलाइ उसले कुनै कुराको कमी गराएन शुरु शुरुमा। एउटा मात्र समस्या भनेको ऊ हप्तामा चार दिन जस्तो काठमाडौँ बाहिरका ब्यारेकमा फिल्ड जानु पर्छ भनी डेरामा आउंदैनथ्यो। हामीबाट एउटा छोरी पनि जन्मिन। त्यस पछि मैले बिबाहाकोलागि जोडबल गर्न लागें, तर ऊ टार्दै गयो। बिस्तारै थाहा लाग्यो की ऊ बिबाहित रहेछ अनि उस्को घर पनि काठमान्डौ सामाखुसी मै रहेछ। अर्की पट्टि पनि उसका दुई सन्तान रहेछन। हाल ऊ कंगो मिसनमा छ । पैसा र चाहिएको कुरा अहिले पनि पठाई रहन्छ। ऊ भन्छ म तिमीलाई औधि मायाँ गर्छु तर देशको कानुन अनुसार म तिमीलाई बिबाह गर्न सक्दिन। मलाइ पनि ऊ मन पर्छ तर उस्कोलागि म मेरो जीवन यसै फाल्न चाहन्न। म यो ठाउँमा र देश मै बस्न चाहन्न। अब हजुर भानिस्यो, मलाइ अंगाली बक्सिन्छ की के गरिसिन्छ?” मसंग यो बखत उनलाई दिने उत्तर थिएन । मैले मोबाइलको स्विच अफ गरें अनि औषधि खाएझै शोकेसको एक क्वाटर व्हिस्की सास नफेरी सकें। भोलि पल्ट होसमा आउँदा दिउसोको बाह्र बजेको थियो। किर्तिकालाई फोन लगाएँ तर उनको मोबाइलको स्विच पनि अफ थियो !
(श्रोत :- Onlinekhabar )