~भुवन ढुङ्गाना~
उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो । घण्टको टनटन-टनटन स्वर सुनेपछि केटाकेटीमा उसको निद्रा खुल्ने गथ्र्यो, अहिलेको उसको कोठामा राखिएको अलार्म घडीजस्तै थियो आमाले बजाउने घण्ट ।
एकपटक ऊ र उसको भाइबीच सल्लाह पनि भएको थियो बिहानको बेला उनीहरुको निद्रा खलबल्याउने आमाको त्यो घण्ट कतै लुकाइदिन पाए हुन्थ्यो ।
एकदिन दिउँसोपख भाइले त्यो घण्ट कतै लुकाइ दिन खोज्दा कुबेलामा बजेको घण्टको स्वर सुनेर आमाले आत्तिदै कोठा बाहिर निस्किएर भाइलाई गाली गर्नुभएको थियो, “कुबेलामा घण्ट बजाउनु हुँदैन, यो त भगनान्लाई बोलाउन मात्र बजाउने हो- साँझ बिहान । घण्ट खेल्ने कुरा हो र ?”
घण्ट खेल्ने कुरा होइन रहेछ, उमेर बढ्दै गएपछि उसले यो कुरा पनि बुझ्दै गई ।
समयको अन्तरालमा ऊ बालिकाबाट युवती हुन पुगी ।
उसलाई सम्झना छ- प्रथम रजस्वला भएको दिन अँध्यारो कोठामा थुनिएर बस्नुपर्दा अपराधबोधले ग्रसित उसका आँखाबाट बलिन्द्रधारा आँसु झरेका थिए । उसले आफूबाट कुनै पाप भएछ भन्ठानेकी थिई । त्यस अँध्यारो कोठामा बसेका दिनहरुमा उसले आफूबारे धेरै कुरा थाहा पाई । ती दिनहरुमा युवतीको रुपमा पाप र पुण्य के हो भन्ने कुराको उसमा बीजारोपण भएको थियो । रजस्वलालाई धर्मबिम्ब मानेर उसकी आमाले उसलाई सिकाएका नीतिनियम कहिले धर्मजस्तो, कहिले पाप, कहिले अभिसाप त कहिले आफूले पाएको वरदानजस्तो लागेको थियो, पछिसम्म पनि लागिनै रहृयो ।
रजस्वला भएपछिको बाह्रौं दिन बिहानीपख नुहाइसकेपछि पहेंलो सारी ब्लाउजमा धार्मिक विधिअनुसार पूजा गर्न उसलाई आसनीमा बसाइएको थियो । त्यो बेला आफ्नो अगाडि अर्घमा केराको कोसा राखेर जल चढाउन सिकाइरहेको पण्डिततिर हेर्न पनि नसकेर उसले लाजले टाउको निहुर्याएकी थिई । उसलाई त्यो अर्घ स्त्री योनीको प्रतीक र त्यसमाथि राखिएको केराको कोसाले रोमांचित बनाएको थियो । जल चढाउँदै गरेका उसका हातहरु अनयास कामेका थिए । यस्तो अद्भुत तुलनामा ऊ आफैँ छक्क परेकी थिई । बर्सेनि आउने तीज-पञ्चमीका पूजाहरुमा घरका स्वास्नीमान्छेहरु पूजामा एकाग्र भएर अर्घमाथि राखिएको केराको कोसाबाट थालीमा जल चढाइरहँदा उसको मनको कुना पुरुष-स्त्रीयोनि बिम्बमा केन्द्रित भइरहन्थ्यो । अरुजस्तो पूजामा एकाग्र हुन सकिन ऊ । तैपनि उसले यो धर्मबिम्बको रहस्य कतै उद्घाटित गरिन । मनमनै यो पापलाई धर्मको आडमा सँगालेर राखेको वषौँ भइसक्यो, अर्घ र केराको कोसाको रहस्य त्यो धर्मबिम्ब ।
ऊ उसकी आमाजस्ती हुन सकिन ।
समयको चापले ऊ गृहिणी र बाहिर पनि काम गर्ने एउटा आधुनिक युवती हुन पुगी । उसको दिनचर्या अति व्यस्त रहन्थ्यो । कुनै दिन क्लान्त, थकित झमक्क साँझ परेपछि घरभित्र पस्दापस्दै छिमेकमा बजिरहेको घण्टको स्वरसँगै मिसिएर उसकी आमाको अनुपस्थितिमा पनि उनको स्वरले उसलाई सोधिरहेको हुन्थ्यो- ’किन यति अबेर नि ? साँझको घण्ट बजिसक्यो थाकेर आइस् होइन ?’ त्यस बखत आमालाई प्रयुत्तर दिनु अगावै थकाइको लामो श्वास कतै पनि प्रतिध्वनित नभएर ऊ भित्रभित्रै गुम्सिइरहन्थ्यो । बाहिर घण्ट बजिरहन्थ्यो घरभित्र उसको स्वर दबिरहन्थ्यो ।
समयको अन्तरालमा ऊ युवतीबाट आमा हुन पुगी ।
त्यो एक वर्षको जाडोको बिहानी थियो । आफ्नो एकवर्षे छोरालाई घाममा तेल लगाउन नाङ्गै पारेपछि ऊ केही क्षण असमञ्जसमा परेकी थई । तेल लगाउँदालगाउँदै हठात् उसका हातहरु टक्क रोकिएका थिए । आमाको हातबाट बज्ने त्यो सानो घण्टभित्र लत्रिएर, झुण्डिएर बज्ने त्यो बाजाजस्तै सानो आकारको उसको छोराको लिङ्ग । उसले पापपुण्य सबै बिर्सिएर छोराको त्यो सानो ध्वनिरहित बाजालाई निहुरिएर म्वाईँ खाई । काउकुती लागेको जस्तो गरेर उसको छोरो खितितिती हाँसिरहृयो । मातृप्रेममा ऊ पनि मुस्कुराई ।
जीवनको उत्तराद्धमा सम्भोग-इच्छाबाट परित्यक्त एक्लै निष्पाप मनस्थितिमा ईश्वरदर्शन हेतु अर्थात भ्रममा मन्दिरको ढोकामा, लाममाझ भीडमा ऊ पनि उभिरहेकी हुन्छे । मन्दिरअगाडि झुण्डिरहेको घण्ट कसैले बजाइरहँदा हठात् उसको मनमा त्यो घण्ट, त्यो धर्मबिम्बबारे पापपुण्य सँगसँगै मुस्कुराउँछन्, घोप्टिएको स्त्रीयोनी-आकारको घण्ट र यसले छोपेर पनि नछोपिएको, लत्रिएर बाहिर निस्किएको, झुन्डिरहेको बजाउने बाजा, पुरुषलिङ्ग । स्त्रीयोनी-आकारको घण्टको कापकापमा ठोकिएर, बजि्रएर त्यो पुरुषलिङ्ग आकारको बाजाबाट ध्वनि प्रतिध्वनित भइरहेछ । भीडको कोलाहललाई पनि उछिन्ने गरी आवाज घन्किरहेछ । ऊ मन्त्रमुग्ध उभिएर त्यो आवाज सुनिरहेकी छे ।
केटाकेटीमा अर्घ र केराको कोसाको रहस्यजस्तै त्यो घण्टबिम्ब पनि आज उसलाई रहस्यमय लाग्यो र स्त्रीयोनीसँगको स्पर्शविना बज्न नसक्ने, बेकामको ध्वनिरहित, स्वररहित त्यो लत्रिएर, झुण्डिएको बाजा, त्यो घण्टबिम्ब । पुरुषको पुरुषार्थलाई थिचेर, घोप्टिएर बसेको त्यो स्त्रीयोनीप्रति उसलाई गर्व लागेर आयो । मन्दिर परिसरमा बालेको धूपको सुगन्धमा नाक फुराएर सुँघिरहँदा आफ्नो सर्वाङ्ग नै उसलाई सुगन्धमय भएको जस्तो लाग्यो
सम्भोगक्षणका धेरै प्रपञ्चहरु उसले बिर्सिसकी । उसको सम्झना बल्झिने गरी आँखाअगाडि टक्क झुण्डिएको छ घण्टबिम्ब । एउटा धमिलो तर बिर्सन नसकिने दृश्य उसका आँखाअगाडि तस्विर हेरेजस्तै आइरहेछ, घण्टबिम्बले सम्झाइरहेछन् स्त्रीपुरुष-सम्भोगका दृश्य । मन्दिरप्राङ्गणमा उभिइरहेको बेला पनि मनमा उठेको यो पापसोचाइबाट मुक्त हुन उसले लम्किएर त्यो झुण्डिरहेको घण्टमा लत्रिएको बाजालाई बजाउन थाल्छे- टननन-टननन-टननन…….।