~सुबिसुधा आचार्य~
“दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म ।
सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि सोधिन्न थियो होला यो प्रश्न । कुनै–कुनै समय त रिसको पारो दिमागी स्केलमा ह्वात्तै बढेर नियन्त्रण बाहिरकै फरेनहाइटमै पुग्दोरै‘छ क्यार । झम्टने झम्टने अवस्थामा नजर चुलेसीको धार बनाएर रोपिदिन्छु उनीहरूमाथि । तब टाउको कन्याउँदै-कपाल मुसार्दै नाक खुम्च्याउँदै ओझेल पर्थे पातकी-मोराहरू मेरो नजरबाट ।
जिन्दगी चलाउने बहानामा सबै प्रकारका ब्यक्ति सामु हुनुपर्नै साक्षात्कार, गरिनुपर्ने सम्झौता अनि हिँड्नु पर्ने समयका विषाक्त विकिरणले बेलाबेला स्पर्श गथ्र्यो-चुस्थ्यो र ओकल्थ्यो मलाई ।
आगतका महाप्रलयहरूबाट सुरक्षित रहन-बच्न वर्तमानका मीलहरूमा पटकपटक पिसिन्थेँ म । दुखाइको प्रवाह नगरी, बाध्यता र बिवस्थाको सोलीबाट समस्याको ओइरोमंै मिसिएर मीलको दुईपाङ्ग्रा बीच घोटिदै-ठोक्किदै-चेपिदैं अन्तत्व निस्कन्थेँ बाहिर ब्यावहारिकतामा पाकेको पिठो बनेर ।
काठमाण्डुको मुटु न्युरोडगेट, जहाँ असीम मान्छेहरूको चहलपहल-आतेजाते हुने स्थान । सेकेण्ड–सेकेण्ड मान्छेको पैतालाको धुलो र गाडीको पाङ्ग्राले लतारेको डोब चाटेर पनि मुसुक्क हाँस्थ्यो सडक । खुल्ला छाती सुर्यको तप्किदो रापमा सुकाएर ।
गेटमै ढेस्साएर एकापट्टि बिक्रिको सामना अर्कोपट्टि छोरो पसारो पारेर बस्थेँ म । रेडियो-क्याल्कुलेटर-घडी यिनै बेचेर आएको पैसा थियो मेरो जिउने मेसो-आयस्रोतको मुहान वा मेरो परिवारको प्राण धान्ने सञ्जिवनी ।
चि…चि…….गरेर छोरो रून्थ्यो एकातिर, वल्टाइपल्टाइ हेरेर ब्यागमा कोचिसकेको सामान पनि फिर्ता आउँथ्यो अर्कोतिर । उसो त प्लास्टिकको थैलोमा पोको पारेर छोराको सुरूवाल र कट्टुले थिचथाच पारी थन्क्याएको पैसा पनि झिकेर दिनु पथ्र्यो लोदर लागेको समय ।
छोराले आची गरेको सुरूवाल फेर्न लाग्दा ठस्स गन्ध नाकैमा ठोक्किदा किलकिलीमै सास दबाउँथे । त्यै बेला सामान दौडिसकेको हुन्थ्यो राखेको स्थानबाट । सडकको पेटिमा नाङ्गैभुतुङ्गै छोरा पसारो पारेर सामानको पछाडि हाम फाल्न पनि सक्दिन थिएँ म । सन्तानको मायाले न्याकेर राख्थ्यो उसँगै चिप्काएर ।
एउटा आउँथ्यो ठिङ्ग उभिन्थ्यो, निधारमा बत्तिस मुजा बनाउँदै नियाल्थ्यो सामान हो कि छोरालाई “कठैबरा ! जन्मै यस्तै होला यस्को है !” प्रश्नात्मक आँखाले घुथ्र्यो म तिर । तालुबाट चाट्दै घाम पैतालामा पुगेपछि त्यहि टुसुक्क बस्दै “धिक्कारोस् दैवले पनि किन जन्म दिन्छन् सङ्कट भोगाउन ।” निधारको पसिना दाहिने हातले स्वर्काउँदै छोरोतिर हेर्छ थिलथिल हुन्थ्यो अर्को ।
सबैखाले मानिसका यी र यस्तै जिज्ञासाको झटारो थेग्दा थेग्दा पिलित्त हुन थालेको थियो मेरो शिर । कहिले–कहिले त लाग्थ्यो “जाओ न सोध्न सृष्टिकर्तालाई” –भन्दिम् झैं । फेरी पुर्पुरो आफ्नै च्यातिएपछि सिलाइ दिएन भनि अर्कालाई के दोष दिनु ।
मक्किएको चिलौनेको ठुटो लढे झैं पल्टङ्ग लडेको मेरो छोरोलाई देखेर दयाको मूल फुट्दो रैछ कुनै कुनै मानव आत्माको सिमसारमा र त दुईचार रूपियाँ हुत्याइपनि हाल्थे कसैकसैले ।
गरिब मोरो, दुध किनेर उसैलाई पिलाउन हुन्छ भनि टुपुटुपु टिपेर थन्क्याउँथे । खल्तीमा म समक्ष हुत्तिन आएकी लक्ष्मीलाई । मलाई थाहा छ लक्ष्मी बिना यहाँ जीवन हल्लिदैन-चल्दैन अनि चल्मलाउँदैन ।
मेरो जीवन अभावकै सागरमा डुबिरह्यो पलपल, होस् समालेदेखि यावत भोगाइका खुड्किलै भरी मात्र अभावको बेल झुण्डियो कागको सपना देखाएर । आवश्यकताका लोला बर्षन्थे तालुभरी, समाउन खोज्थेँ । फुटेर भिज्थे दिमागसम्म लफलफ्ती ।
सडकमा फुटपाते ब्यापारी बन्नुको पीडा, हर साँझ चपाउथेँ अमिलो गुन्द्रुकसँग । आकस्मिक नगर प्रहरीको उठीबासबाट बच्न सामानै छाडेर छोरो काँखी च्यापी भागेको छु धेरैपटक– लगाएको पाइन्ट चिस्याउँदै ।
नगरपालिकाले उठाएको सामान बुझ्न पुग्दा आधभन्दा ज्यादा सामान खुट्टा पलाएर लापत्ता भैसकेको हुन्थ्यो त्यहाँबाट ।
छनौटा बाँकी रहेको सामानलाई पनि हर्जना तिरेर ल्याउनु पर्नै बाध्यताको अगाडि घुँडा टेक्थेँ म । उसिनेको चामल किन्न जोगाएको पैसा सुम्पन्थेँ उनीहरूलाई खल्ती टक्टकाएर । यसरी पेटलाई एसिडिटीको जिम्मा लगाउँदै आफ्नै सामान आफैँले किनेको पीडाले भुकम्प गएझैँ हल्लिन्थ्यो मुटु बेलाबखत ।
घर गृहस्थीको च्याँदर आफैँले सम्हानुपर्ने विवशता पसारो पर्छ मेरै अगाडि । थकाइ-भोकले हिरिक्क भएर घर भित्रिदा पनि बत्ती झुल्केको हुँदैन साँझमा । नाम मात्रको स्वास्नी चोबिसै घण्टा लमतन्न पर्छे ओच्छ्यानमा । कहिलेकाहीँ मेरी स्वास्नीलाई हेर्दा यस्तो लाग्छ खाली बच्चा जन्माउन मात्र बनाएका हुन् कि सृष्टीकर्ताले । मलाई थाहा छ अरूका स्वास्नी, श्रीमान भन्दा चालु-चलाख-फरवार्ड छन् आफ्नो त खोटो नै खप्पर ।
पिठ्यूबाट माइलो छोरोलाई ओरालेर पसारो पार्छु एक कुनामा । पौठेजोरी खेल्न त छदैँछ स्टोपसँग । नीलोको साटो रातो ज्वाला निस्कन्छ बर्नर फुटेको स्टोपबाट । त्यही रातो ज्वालामा झिल्सिन्छ थकान-आलस्य-दिक्दारी ।
“बाउ मलाई चिज्बल ।” मुख फुलाउँदै अगाडि टुप्लुकिन्छ माइलो छोरो । उसको छोटा हातले घाँटीमा चपक्क अठ्याउँछ मेरो । मलाईं लाग्छ यो पनि पासो छ पारिवारिक जन्जालको । स्टोपलाई दम दिन छाडेर सामानको कुम्लो खोतल्छु, हात लाग्छ सानो चिजवलको प्याकेट । छोराको हातमा थमाइदिएर पन्छाउँछु ओच्छ्यान तिर । दम नपाएर पिलपिल हुन्छ स्टोप । आफूभित्रको रिस-असन्तुष्टी-छटपटी सबै खन्याएर जोडले दम दिन्छु स्टोपलाई । ह्वार्र गर्दै बल्छ मलाई शान्त रहने इसारमा स्टोप ।
डेढ महिने-कान्छो छोरोलाई च्यापेर सुतेकी स्वास्नी उठ्छे । आङ तान्छे-लामो हाइ काड्छे र मलाई नियाल्छे एकपटक ।
“के ल्यायौ तरकारी ?” स्टोप वरपर छरिएका भाडाँकुडामा नजर चोपल्दै सोध्छे ।
“के ल्याउनु र सामान बिक्री भए पो ! फेरी यो रौनक, दाँत दुखेछ क्यार दिनभरी रोइ बस्न-टिक्न दिएन ।” कुच्चेर बिट बटारिएको डेक्चीमा भात पकाउन पानी अड्कल्दै बोल्छु म ।
“उसो भा तरकारी नै ल्याएनौ त ?” अलिकति खिस्रिक्क पर्छे स्वास्नी ।
“तरकारी !” म जुरूक्क उठ्छु, खाटमुनिबाट कालो प्लाष्टिकको पोको निकाल्दै–“ल हेर् यहाँ घ्याम्पाको माछा छदैँछ, के को तरकारीको पिर ।” अलिकति निकालेर राख्छु कचौरामा । ऊ फरक्क मुन्टो फर्काउँछे अनि दुध चुसाउन थाल्छे कान्छो छोरोलाई ।
बुझेको छु उसको सोधाइको मतलब-आसय पनि । ऊ चाहन्छे मैले प्रत्येक साँझ घर फर्कदा मासु लिएर आओस् । यो कहाँ सम्भव छ र ? आजैको चिन्तामा डुबेकी उसलाई भोलिको बारेमा वास्तै छैन-न त चासो नै । उसलाई देखेर यस्तो लाग्छ भोलि भनेकै आज हो । अनि आज भनेको हिजो । भोलि त आउँदै आउँदैन जिवनको खुड्किलाहरूमा !
डिप्चेमा भात छड्कन थाल्छ गुजुजु गर्दै । म भने कचौराको गुन्द्रुकलाई चिमोटी साना-छोटा बनाउन लाग्दा महसुस हुन्छ ऊ भित्तापट्टि फर्केर सुकसुकाउँदै छे । कति सजिलो छ स्वास्नीमान्छेलाई आफूले भनेको जस्तो नभए रोइदियो-रिसाइदियो-मुख फुलाइदियो बस् ।
“ओइ किन के भयो र रोएकी ?” निमोठेको गुन्द्रुकमा पानी खन्याउँछु-माडमुुड पार्छु र अलिकति पर धकेल्छु कचौरालाई । ऊ केही बोल्दिन मात्र सुकसुक बाहेक । कहिलेकाहीँ त लाग्छ यो आइमाईको जातबाट टाढै बस्न पाको भए, पारिवारिक घट्टोले मकै पिस्दा झैँ पिस्दैन थियो होला मलाई– “राँडै बस्यो, फाँडै खायो ।”
फेरी अलिकति विगतको याद हुर्लुक्क उम्लन्छ स्मरणमा । यहि स्वास्नीमान्छेको साथकै लागी त म हिरिक्कै भएको । पहिली स्वास्नी अरूसँगै प्रेम गर्दी रैछ, मसँग बिहे भए पनि खुशी हुन सकिन, सधै हाँडीझैँ मुख फुलाउँदा फुलाउँदै एकदिन भागी छाडी । त्यसपछिका दिनमा सबैको भनाइ-घोचाइ- निल्दै बिताएँ समय ।
“एउटा स्वास्नी रत्याउन-तह लगाउन-मनाउन नसक्ने नार्मद !” यस्तै आरोप लगाउँथे सबैले । जन्मदिने बाउलेसम्म । माया एउटालाई गरेर जीवन अर्कोसँग बिताउन सकस भयो होला र छोडी । दोष उसलाई पनि दिन्न् । ऊ त आफ्नो संसार सजाउन गई । तर म भत्किएको संसार टाल्ने उपाएमा बेचैनी हुन थालेँ । घर सम्हाल्न-गृहस्थी चलाउन अझ भनौँ वंश अगाडि बढाउन पनि एउटी स्वास्नीमान्छे चाहिने नै भयो मलाई । खोजि गर्दा यो आइलागी । शुरू शुरूमा त यस्ती अनौठी थिइन । जब जन्मदै सुस्त मनस्थिती बोकेर जेठो छोरोले जन्म लियो, त्यसपछि यो मात्र एउटा मुर्ती जस्ती लालची-पग्ली बन्न थाली ।
“के निदा’को नि भात डढेको गन्ध आयो ।” फुलेको बेलुन पड्कदाको जस्तो आवाजमा हकारी उसले । नभन्दै डढेको भातको बास पो आइरहेको रै’छ । हत्तनपत्त भात झिकेर कराइ बसालेँ ।
ऊ फेरी सुक्क सुक्क गर्न थाल्छे । “हेर खान मन लागेको खान, लाउन मन लागेको लाउन त धनाढ्यको कोखमा बास लिनु पर्छ-जन्मनु पर्छ बुझिस् । तँ हामी जस्तो एक छाके गरिबले खानाको सोख गर्नु बेकार छ । फेरी लखपतिहरू खानको लागी बाँच्छन् । हामी बाँच्नको लागी खान्छौँ । बाँच्नको लागी खान मिष्ठान्न भोजन हुनैपर्छ भन्ने जरूरत छैन । पानीमै पनि अल्झन्छ सास र अल्झाउनु पर्छ कहिलेकाहीँ ।”
उसलाई सम्झाउँदै गर्दा छातीको दाइने कुनामा दुख्छ ठूलै ढुङ्गामा ठोक्किदा झैँ गरेर । रहर त मलाई पनि थियो परिवारलाई मीठो खुवाउने-राम्रो लगाउन दिने तर अपाङ्ग छोराको उपचार, अर्का दुई छोराको भविष्य पसारो पर्छ आँखा अगाडि र पो सबैको गाँस काट्नुपर्छ -आत्मा मार्नु पर्छ मैले ।
भर्सैको भात टालोले समातेर उतार्छु स्टोपबाट, बास्ना नाकैमा ठोक्किन्छ भातको । सायद दिनभरीको भोकले पनि होला, मुख रसाउँछ बास्नै मात्रले पनि । म सम्झाउन प्रयासरत छु उसलाई । थाहा छ मेरा कुराले उसलाई कुनै असर पार्दैन । माइलो छोरालाई कचौरामा दुध र भात राखेर दिन्छु, आधा मुखमा र आधा भुइँमा पोख्दै खान्छ ऊ ।
“ए उठ् भात खान, दिनभरी खाजा खाइस् कि खाइनस् सुत्केरी मान्छे । मैले पनि बनाएर दिन भ्याएको हैन ।” उसको स्वभाव जस्तो भएपनि मनभरी दयाको महासागर उम्लन्छ ह्वात्त आफैँलाई भिजाउने गरी । थालभरी भात पस्केर उठाउँछु उसलाई ।
“अँ खाए नि टन्न । तिमीले सबै कुरा पु¥याएकै छौ, के कमी छ र ? कोदाको रोटी जस्तो भुक्क मुख फुलाउँदै उठेर टालो बाँध्छे टाउकोमा । असरल्लसँग दुध खुवाउँदा फुकेका चोलाको तना पनि बाध्छे सँगै । चामल, नुन र पानी त थियो नि कोठामा । पकाएर खान सकिनस् त ? भोक टार्न मासु भात नै खानु पर्छ भन्ने छ र ? रिसले वचनको ढुङ्गो ताकेर हिकाउँछु उसलाई ।
ऊ चुपचाप भातको थाल तान्छे लम्केर खाटबाट । ढुसढुस्ती हुँदै खान्छे भित्तातिर फर्केर । उसको पारा खुर्सानीको धुलो बनेर मनमा चह¥याएपनि समाल्छु मनलाई । कहिले पो राम्रो आत्मियता-आफ्नोपन पाएको छु-छ-थिएँ र यसपटक मीठो आस गर्नु ।
खाना खाइसकेको माइलो छोरालाई चुठाएर सुताइदिन्छु खाटको एक कुनामा ।
“अरू भात थपुँ ?” –भातको पन्यू उचालेर उसको भागैमा लगेर सोध्छु म ।
“भो पुग्यो आफैँ खाऊ ।” –ठसक्क परेर बोल्छे स्वास्नी महारानी ।
अर्को कचौरामा दुध र भात हाली मिचेर खुवाउन हाल्छु रौनकलाई । एक गाँस निल्न आधा घण्टा लगाउँछ, के गरोस् शरीरका कुनै पनि अङ्ग-पाटपुर्जाले काम नगरेपछि । एक दुई गाँस त चुपचाप निलेको जस्तो गरेको थियो । त्यसपछि ध्यार्रर गर्दै रून थाल्छ । हुन सक्छ मुखमा घाउ आएकाले खान नमानेको । त्यसो त दिन भरी पनि चुइँकेको चुइँक्यै थियो ।
जेठो छोरो रौनकले खान नमाने पछि बाटामा कचौरा राख्छु, हात धुन्छु । स्वास्नीजी पनि खाना भ्याएर चेठिसकेकी छ । ऊ अझैं बोल्ने मोडमा छैन मसँग । जेठो छोराको गोडामुनि डफल्को पल्टाएर बस्छु टुसुक्क । बगली छामछुम पार्छु, सल्काएर निभाएको ठुटो चुरोट हात लाग्छ देब्रेतिर खल्तीमा ।
लाइटरको सहायताले सल्काउँछु र तान्छु भित्री फोक्सो देखि नै ।
“धुवाँले बच्चालाई असर गर्छ भन्ने बिस्र्यौ कि कसो ? के कुहिरीमण्डल कुकुरको सास फुकेको ?” मनै देखिको टर्रो वचन हुत्याउँछे मतिर ।
यतिखेर बोल्न पटक्कै मन लाग्दैन मलाई । बाहिर निस्कन्छु चुपचाप उठेर । रिसैमा भनेकी भएपनि कुरो त जायज नै हो । चुरोटको धुवाँले असर गर्छ बच्चालाई । थाहा छ तै पनि भ्रान्ती भएर हावामा बतासिएको मनलाई लगाम लगाउने अथक प्रयास हो यो चुरोट ।
बाहिर बरण्डामा बसेर तान्छु चुरोट आकासको तारा नियाल्दै । तारा जस्तै प्रज्वलीत हुनु नि मान्छेको जीवन पनि । साला ! आफ्नो जीवनमा त सधैं तनाव-सधंै चिन्ताको पहाड । छिः कहाँ होला शान्ति !
होस् समालेदेखि सधैँ दुःखका पहाडबाट चेपिदै-थिचिदै जिन्दगीलाई नै त्राइमाम भन्दै बाँच्नु परेको । अरूले देख्नलाई शहरको बसाई । सुन्दर नामधारी शहर भित्रका मान्छेको भोगाइमा क्यान्सर-दम-क्षयरोगले सर्लक्क निलेको कसलाई के थाहा ?
यात्राका पाइलैपिच्छे सङ्कट-अभाव मुख बायर कुरिरहने मलाई । बाबु–बाजेले जोडेको थोत्रा सामान पनि आगो लागेर स्वाहा नास्ती । हैन निरीह मान्छेकै जीवनमा घटना-दुर्घटना आउँदो रै‘छ, मयुरको प्वाख बनी उडेर । जो उसै मरिच झैँ चाउरिएको छ, झन सात सूर्यको जल्जला किन उदाउनु चाउ¥याउन ।
दुःख-आपतको घडीमा आफ्नैले मुख मोड्छन् भन्थे हो रै‘छ । यो गोबरल्वाठ (स्वास्नी) पनि म भिकारी बने पछि माइत गएकी थिई, मुख मोडेर । छोराको माया उम्लेर मलाई नभिजाउँदो हो, आमा कसम ! म लिनै जान्नथेँ राँडलाई ।
चसक्क चुरोटको ठुटोले हातमा पोलेपछि पो म अतीतको महासागरबाट किनारामा मिल्कन्छु । भातले सिङ्ग जुरो हाल्यो होला । सम्झना आउँछ भातको । खानु त प¥यो के गर्नु । सबै समस्याको अजिङ्गरसँग जुध्नु त मैले नै छ । अरूलाई त रोइ दिए काफि । भित्रिन्छु कोठामा ।
ऊ अझैं अल्झेकी छे छोराको सुसुर-मुसुर र तानेमानेमै । डेक्चीबाट एक पन्यू भात पस्केर राख्छु थालमा । त्यहि भात भिज्ने गरी तुर्काउछु गुन्द्रुकको झोल । डोरी फुस्केर क्याङ्ल्याङ्ग भएको मुडा तान्छु-बस्छु त्यसैमाथि । बाँसको चोयाले चसक्क घोच्छ फिलामा । दुखाइको एक चस्को तरङ्गीत हुँदै ज्वाला पुग्छ मुटुमा ।
पचाउँछु-समालिन्छु र भातको स्वादमा निल्छु त्यो चस्काइ पनि । दुई गाँस भात मुखमा लानै लाग्दा चुइकिन्छ जेठो छोरा ।
“मरन्च्यासे मुर्दा ! किन चुइकिन्छ घिचेपछि त पसारिनु नि चुप लागेर ।” नमिठो गाली पिचिक्क थुक्छे स्वास्नी छोरोतिर गर्धन घुमाएर । उसको भनाइले थर्थराउँछ दिमाग ।
“तँ चुप लागेर पसारी न ! किन सराप्छेस् तेरो बाउलाई । सन्चो छैन भनेको सुनिनस् । भात पनि खान सकेन, मुखको घाउ दुखेर होला ।”
एकपटक स्वास्नी तिर झम्टन्छ आँखा । फकाउन थाल्छु छोरालाई । फकाउनु के थियो र ? नरो भनेको न सुन्छ-बुझ्छ । हातले थुम्थुम्याइदिन्छु उसको पिठ्युमा । अस्पटाउँछ-छट्पटाउँछ । कलेटी परेको ओठ चलाउँछ । म चम्चाले पानीका थोपा खसालिदिन्छु उसको मुखमा । मुख बिगार्छ नराम्रोसँग । मैले सोचेँ उसलाई पानीको स्वाद मन परेन । नजिकैको टालोले पुछिदिन्छु उसको मुख ।
शान्त-स्तब्ध हुन्छ छोरो । के यो छोरोलाई उपचार गराएर यो संसारलाई देखाउन-बुझाउन-चिनाउन सकौँला मैले ? नेपालमा त यसको उपचार छैन, देखाएका जति डाक्टरले भनेकै हुन् । विदेश ! विदेश मेरो हैसियत भन्दा धेरै माथिको कुरा । आँटौ कसरी ? आँटेर पनि पूरा गरौँ कसरी ? मेरो क्षमता भनेको यहाँकै नर्सिङहोमहरूमा पु¥याउने छैन । केही दयालु-स्नेही मनहरूले गर्दा खर्चमा भरथेग भा‘को छ अहिलेसम्म ।
गायक-कलाकारहरुसँग हात फैलाएर सास्कृतिक साँझ पनि गरेकै हुँ, त्यहिँबाट जम्मा भएको केही पैसा बैंकमा छ । हो त्यही पैसा देखेर होला स्वास्नीले तरकारीमा मासुको डिमाण्ड गरेकी । दिनभर छोरो अँठ्याएर उभिएकै भरमा मन्दिर-मस्जिदबाट कम दुःखले जुटाएको हो र त्यो पैसा । सहयोगको लागी पत्रपत्रिका-टेलिभिजनको दैलोमा पनि पसारो परेँ ।
यो छोरो निको होला, संसार नियाल्न आफ्नै खुट्टामा दौडदै भित्र बाहिर गरी बाबा भनि बोलाउला । अह ! मैले आश गरेको छैन । सुनेको छु यस्तो बालक निको भएको भनेको नितान्त कमै छन् अरे । यसो भनेर सास छर्दै भिरमा लगेर फाल्न पनि भएन मैले । न म घाँटी अठ्याएर मार्न सक्छु, न त बाटोमा गाडीको पाङ्ग्रा मुनि हुत्याउनै सक्छु । यो छोराको नामबाट दुई चार पैसा जोहो गर्नसके अर्को माइलो-कान्छो छोराको भविष्यको इट्टा थप्न सजिलो होला । यिनै आशले चारैतिर कुदेको हुँ ।
हिजो मात्र एउटा कथाकारलाई भेटेर आफ्नो कथा लेखाइदिन आग्रह गरेँ, उनले लेखेको कथा सञ्चार माध्यमहरुमा प्रकाशन-प्रसारण भएपछि कोही सहयोगी दाता पो टुप्लुकिन्छन् कि मेरो भाग्यमा कुबेर बनेर । के गर्नु लाचारी भएपछि आशावादी बन्दो रै‘छ मन । आफूले कमाएको पैसाले त बिहान बेलुका छाक टार्न मुस्किल पर्छ । दिमाग त घुमाउनै प¥यो ।
“बत्ती ननिभाएर के धुमधुम्ती बसेको, सुत्नु पर्दैन ? भोलि जान पर्दैन कि क्या हो ! ब्यापार गर्न ?” नाके स्वरमा च्याठिन्छे स्वास्नी ।
“तँ सुत् न कुम्भकर्ण । किन कराउनु प¥यो । म सुतौँ या नसुतौँ के को चासो ?” नचाहदै पनि जवाफ हुत्तियो ऊसम्म । एकपटक मतिर गर्धन घुमाएर बलड्याङ्ग्रे आँखा पर्लक्क पार्छे । अनि ओढने च्यादर तानेर सुत्छे भित्तापछि फर्केर ।
“कस्तो मान्छेसँग जीवन गुजारा गर्नु पर्ने भयो धिक्कारोस्, भाविको लखन पनि अनौठो छ, म माथि नै समस्याका हिउँहरू किन फुस्फुसाउँछन् सधैँ कक्रक्क बनाउँदै-अर्कट्ट पार्दै । पछिल्लो जुनीको पाप भनौँ भने म मान्दिन पछिल्लो जुनी र अघिल्लो जुुनी । तीन पुस्ता यहीँ-यसरी नै कोठामा बसेर गुजारा गरे-जिविको पार्जन चलाए । म मात्र किन निसासिरहेछु । यो आकास चुम्ने महङ्गी-अस्थिर राजनीतिले निम्याएको अराजकता । सबै सबै मेरै टाउकोमा थोपरिन्छ बिहानीको शित बनेर ।
ढिडोको पानी छड्केझैँ मनमा कुरा छड्की रहन्छ बेहिसाबसँग-बेमतलवसँग । सोचाइको घट्टोमा मकै पिसिदाझैँ पिसिन्छु म बारबार ।
“भोलि बिहानै छोरालाई लिएर डाक्टर कहाँ जानु पर्ने होला । नसुतेर के चिन्ताको खिचडी पकाउँदै बसेको ।” सिरकबाट थोरै टाउको निकाली, मलाई सुत्न आदेश दिई र फेरि कछुवाले सिरकमै टाउको घुर्साछे स्वास्नी ।
“तँलाई पनि चिन्ता हुन्छ र घर-जहान परिवारको ?” फुस्कियो वचन गुलेलीबाट मट्याङ्गा बनेर । यसपटकको तीखो सवालको जवाफ फर्काउन उचित ठानिन क्यारे, मौन बसी ऊ । ठुस्किन्छ जेठो छोरो, सिरक पल्टाएर हेर्दा दिशामा डुबेर पो रै‘छ । प्रायजसो बच्चाको आमालाई पर्छ यो अभिभारा । तर यो छोरो जन्मेदेखि यो काम मेरै भागमा परेको छ मानांै मेरै गल्तीको सजायजस्तै ।
हत्तेरी ! म पनि किन यस्तो सोच्दैछु, यो मेरो कर्तव्य हो-जिम्मेवारी हो, साथ हो दायित्व । सन्तानले त बाबुआमा वृद्ध-अपाङ्ग-रोगी भएमा घरबाट निकालि दिने-मन्दिरमा लगी छोडिदिने-वृद्धाश्रममा लगिदिने गर्छन् । तर बाबुआमाले कहाँ यसो गर्न सक्छन् र ? स्नेहको पञ्जाले न्याकेर राखिरहन्छन् सधै-सँगै ।
तर्कनै तर्कनामा सुरूवाल फेरेर अर्कै कोल्टे फर्काएर सुताइदिन्छु छोरालाई । तातोपना-न्यानोपनाले गर्दा ऊ निदाउँछ, नाकमुनि हातको चोर औंला लगेर निदाएको छ कि छैन जाँच गर्ने गर्छु सधैँझैं । ओढ्ने पाखा लागेर होला माइलो छोरा ठस्सठस्स कन्न थाल्छ फेरि । ओढ्ने तानेर ओढाइदिन्छु उसलाई पनि । दिनभरीको थकानले होला शरीर करकर खाइरहन्छ, अब त उमेरले पनि डाँडा काट्न थालेर होला यस्तो भएको । दुईटा छोराको गोडामुनि पल्टन्छु स्वास्नीको थोत्रो मयत्रोभित्र गोडा पोको पारेर ।
“हैन उठ्न पर्दैन, घाम तीन जुवा माथि आइसक्यो, दुध लिन जानुपर्ने-पानी भर्नुपर्ने । हेर यतिखेरसम्म सुतेको । रातभरी क्रियापुत्री झोक्राए झैं बस्दैमा ठिक्क । अब यतिखेर उठेर कसरी भ्याउने हो काम । फेरि आजै कथा लेख्ने दिदी रौनकलाई हेर्न आउने भनेको जस्तो पनि लागेको थियो ।”
स्वास्नीको गालीको पुराणले बिउझिन्छु निन्द्राबाट । निन्द्रा त के भन्नु आँखा लोलाएका मात्र हुन् । यसलाई तन्द्राबाट जागेको भन्नुपर्ला । उठेपछि पहिलो दैनिक रूटिङ्ग भन्नु नै छोरो रौनकको मलमुत्रको ठेगाना लगाउनु । ¥याकको तल्लो तखताबाट एकजोडी कपडा निकालेर फेर्दिन तयार हुन्छु रौनकलाई । ओढ्ने निकालेर कपडा फुकाल्न लाग्दा हेर्छु । यत्रो रातभरी दिशा पिसाव केही पनि गरेको रैनछ । यो त अति अनौंठो हो । कुनै दिन यस्तो भएकै थिएन । छोरालाई उठाउन लाग्दा मलाई याद हुन्छ चिलौनेको ठुटो जस्तो अरलो पो छ छोरा । नितान्त, अरलो, पुष–माघको रबरको पाइपझैं ।
सानो छोराको टालो सुकाएर भित्रन्छे ऊ “अझैं सकेका छैनौ यसको काम । कहिले भ्याउँछौ खै सबै काम ।”
“अरू काम भ्याउनु नभ्याउनु त त्यस्तै हो एउटा काम भने भ्याएँ मैले सधैँसधैँको निम्ति । अब मलाई घण्टा–घण्टामा आचीको सुरूवाल फेर्नु पर्दैन, दुई घण्टा लगाएर भात खुवाउनु पर्दैन । मेरो काँधमा तुङ्रूङ्ग कोही झुण्डने छैन । मान्छे बेच्न राखेको हो भनेर कसैले सोध्ने छैनन् । पूर्वजन्ममा गरेको पापको कारण यस्तो छोरो जन्मेको कसैले भन्नेवाला छैन । गायकले उसको लागी गीत गाउनु पर्नै छैन । कथाकारले कथा लेख्नै नपर्नै भो । अरू त अरू यही छोरालाई अगाडि सारेर दुई छोराको लालन पालन गर्ने अनौठो सपना पनि तुहियो गर्भैमा मेरो । बुझिस् तैंले ।” एक सासमा यति लामो भट्टयाएँ मैले उसले के बुझी । सधैं झैँ कान्छो छोरा काखि च्यापेर चकटी समातेर बाहिरिन्छे ऊ । मेरो नजर मृत छोराको लासमा गएर टाँगिन्छ छरपस्ट-अव्यवस्थित ढङ्गले ।
(स्रोत :- अन्तर्जाल )