कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र छु अथवा झ्यालखानाबाहिर छु’ त्यसपछि सजग हुने शक्ति समेत ममा छैन। म खान्छु, कहिले काँचो खान्छु, कहिले पाकेको खान्छु र बाँचिरहेछु। बाँच्नुबाहेक अर्को कुनै कुरा छ भन्ने कुरामा पनि म वास्ता गर्दिन। कहिलेकाहीँ जब अरु मजस्तै अपराधी साथीहरु बोल्छन्, झगडा गर्छन् र सारा कोठा धूवाँले डम्म भरेर आआफ्नो चूह्लो बाल्छन् र आफू जिउँदै छन् भन्ने साबित गर्छन्, म झस्कन्छु ओह! म अझै जिउँदै छु।

यहाँ यो कोठामा बस्ने मजस्तै अपराधी, ज्यानमारा र डाँकाहरु बीस जना छन्। हामी सबै सँगसँगै टाँसिएर सुत्छौँ र नसुतेको बखतमा परस्परमा कुरा गर्छौं र एकले अर्कोको मुख हेर्छौं। ती सबैको अनुहारको विकृति मलाई यति स्वभाविक लागिसकेको छ कि म त्यसप्रति ध्यानसमेत दिन्नँ।

मैले ज्यान मारेको हुँ, हो, म ज्यानमारा हुँ, हत्यारा हँु। मैले सरितालाई मारेँ। उसको सार सौन्दर्य र उसको जवानी र उसको र उसको हिस्सीलाई यही हातले लुप्त गरिदिएँ। उसको हृदयभित्र भएको उल्लास, प्रेम र स्नेहलाई समेत यहि हातले लुप्त गरिदिएँ। उसको वंशानुक्रमलाई समेत यही हातले सदाकोलागी टुक्र्याइदिएँ। मैले सरितालाई यही हातले मारेँ। यही हातले पाँच वर्षको उमेरमा तोतेबोली बोलेझैँ गरेर ‘क क’ लेख्न सिक्यो, पढेको कुरा लेखेर म्यटि्रक पास गर्‍यो र त्यस्तै मलाई थर्ड इयरसम्म पनि पुर्‍यायो। यही हात बाटोमा पडिरहेका दुःखहिरुको सुश्रूसा गर्न चलबलाउँथ्यो, कलाकृति गर्न उकुसमुकुस हुन्थ्यो। तर अब सरिताको हत्या गरेपछि निःसङ्ग छ, चुपचाप छ, सुषुप्त छ। भात पकाउन अलमलिएको र मुखमा गाँस राख्न उठेको जब यो हातलाई म देख्छु म विरक्त भएर खिस्स हाँस्छु– अझै यो जिएकै छ।

सरिता सबैका लागि व्यतीत समयको एक झिल्का झैँ भैसकी होली, त्यस्तै सपनामा आउने एक आकृतिझैँ भैसकी होली। खालि आमाबाबुको हरेक श्वाशप्रश्वासमा एकली छोरी एउटै मात्र सन्तान भएकीले, स्मृति मात्रै नभएर सजीव भएर सुस्केरा हालिरहेकी होली। त्यो सरिता भावनारुपमा मभित्र पनि सुषुप्त छ। मैले अनुहार सम्झने कोशिश गर्न छोडिदिइसकेँ। मलाई राम्ररी अनुहारको सम्झना हुँदा पनि हुँदैन। त्यो अनुहार आवरणले छोपिएझैँ अस्पष्टले अलमलिएको हुन्छ। मलाई खालि सरिताको पूर्णता, जुन त्यत्तिकै अमूर्त छ, त्यसको आभास भइरहन्छ। शायद म त्यसैको प्रेरणाले जिइरहेछु।

मैले सरितालाई मारे। तर मानिसहरु अडिग विश्वास राखेर सम्झन्छन् कि मैले गहना र लुगाफाटो लिन उसलाई मारे र त्यो गहना र लुगाफाटो कुनै वेश्यालाई दिन उसलाई मारेँ। एकमात्र कारण त्यही हो र त्यो बाहेक अर्को कुनै कारण हुनै सक्दैन भन्ने अनन्त विश्वार लिएर जब मानिसहरु बोल्छन्, मलाई मरी–मरी हाँस्न मन लाग्छ। म हाँस्छु। म प्रति केही सहानुभूति भएकाहरु मलाई त्यस बखत बौलाहा सम्झन्छन् र अरु ज्यानमारा मात्रै सम्झने मलाई राक्षसीय बीभत्स। यी यहाँ भएका ज्यानमारा कैदीहरुसमेतको आँखामा अविश्वासले परिहासको रुप लिन्छ जब म उनीहरुलाई भन्छु– ‘मैले सरितालाई लुगाफाटो र गहनाको लागि मारेको हैन, प्रेमको कारणले मारेको हो।’ म उनीहरुलाई कति सम्झाउन खोज्छु– ‘मैले सरिताको समग्रतालाई अनन्त समयकोलागी प्राप्त गर्न मैले उसलाई मारेको हँु।’ तर उनीहरु सम्झँदैसम्झँदैनन् र मुन्टो हल्लाएर बस्छन्। अपराधपछिको विकृति आफूले अनुभव गरेजस्तै मलाई पनि त्यस्तै विकृति भएको ठानेर उनीहरु आपसमा मुख हेराहेर गरेर हाँस्छन्। मैले अब उनीहरुलाई सम्झाउन छोडिदिइसकेँ। म राति नीदमा पनि हाँसेको हुन्छु र मसँगै टाँसिएर सुतेको अर्को ज्यानमाराले मलाई घचघच्याएर उठाउँछ।

त्यस बखत सरिता जिउँदै थिई। सरिताको अनुहार देख्नासाथ, उसको नजिक पुग्नासाथ मलाई दन्त्यकथा र त्यस्तै पौराणिक कथाका आइमाईहरुको आभास हुन्थ्यो। तर कुन कथाको कुन स्वास्नीमान्छे म ठम्याउन सक्तिनथेँ, तर कथामा भएका कुनै पनि ‘सरिता’ हुँदैनथिई। ऊ आफ्नो छुट्टै व्यक्तित्व लिएकी ‘सरिता’ मात्रै हुन्थी।

सरिता आई. ए.मा पढ्दै थिई। जब–जब ऊ पढिरहेकी हुन्थी किताबमा एकग्र भएर झुकेको उसको वदनको बान्कीलाई म निहारिरहन्थेँ। अनि जब टाउको उठाएर चेतना फुरेको सन्तुष्ट आँखाले मतिर र त्यस्तै चारैतिर हेर्दथिई मलाई उसको चारैतिर आभा फैलिएजस्तो लाग्दथ्यो। ऊप्रति श्रद्धा र प्रेमले देवीको मुर्तीअघिल्तिर आस्तिक घँुडा टेकेर बसेझैँ मलाई आफूँ बसेको भान हुन्थ्यो। जब ऊ किताब बोकेर कलेजतिर हिँड्दथी उसको पाइला कुनै नरम चीज कुल्चेर हिँडेझैँ सन्तुलित हुन्थ्यो। बाटोमा हिँड्ने मानिसहरुको आँखा पनि उसको हिँडाइको साथसाथै सन्तुलित हुन्थे। मलाई त्यस बखत ती सब हेर्ने मानिसहरुको आँखालाई आफ्नो आँखामा समावेश गरेर एकनाससँग सरिता हिँडेको हेरिरहूँजस्तो लाग्थ्यो। उसले पन्जबी लबेदा–सुरुवबल लगाउन छोडिसकेकी थिई र साडीले उसको शारीरिक सौन्दर्यसँगसँगै उसको हिँडाइको चाललाई पनि कलापूर्ण बनाउँथ्यो। उसको लुगाको रङ्ग सधैँ एकरङ्गी हुन्थ्यो। ऊ भन्दथी –’मलाई झिलिमिली मन पर्दैन।’ उसको लुगासँगसँगै उसको सौन्दर्यलृ आँखा तिरमिराउँदैनथ्यो, बरु ऊप्रति शुभ्र एकाग्रता पैदा गर्दथ्यो।

म जब–जब सरितासँग एकलै हुन्थेँ, म राम्ररी उसको मुख हेर्न सक्तिनथेँ र ऊ सँग आँखा जुधाउन सक्तिनथेँ। मलाई आफ्नो आत्मविश्वास हराएजस्तो हुन्थ्यो। मलाई यस्तो लाग्थ्यो – म एकै झम्कामा सरितासँग यस्ता व्यवहार गरुँला जसले गर्दा उ रोली, रिसाउली। मलाई भयले किचेजस्तो हुन्थ्यो। कहीँ उसबाट फैलिएको आभा एकै झम्कामा लुप्त होला र उसको शुभ्र सौन्दर्य कुरुप होला। हामी स्कूल, कलेजको कुरादेखिन् लिएर सिनेमालगायतका कुरा गर्थ्यौ। हामी आफ्नो मगजले भेट्टाएसम्मका ठूला–ठूला कुरादेखि लिएर टोल र घरका साना साना कुरासमेत गर्थ्यौं। तर सरिता यसरी उत्फुल्ल भएर कुरा गदैथी कि म बराबर एकछिन स्तब्ध भएर उसलाई हेरिरहन्थेँ। मभित्र मुटुमा झुन्डिरहेको डरले मलाई अचानक अँठ्याउँथ्यो। तर सरितालाई त्यो कुरा थाहा थिएन र आफ्नै उमङ्ग र उत्साहले अनुप्राणित भएर कोठाभरि व्याप्त भएकी हुन्थी। हेर्दाहेर्दै मलाई उ देखेर लाज लाग्न थाल्यो र म अन्यमनस्क भएको स्वाँग गरेर सकेसम्म उसको मुख हेर्दिनथेँ। तर त्यस दिनपछि एकलै छँदा पनि सरिताको मुख राम्ररी हेर्न सक्ने भएँ र ऊसँग आँखा जुधाउन समर्थ पनि भएँ, जुन दिन म टोलको साथिसँग पैसा तिर्‍यो भने स्वास्नीमान्छेको शरीरसँग मनग्गे खेल्न पाइने गुप्ती ठाँउमा पुगेँ। गुप्ती ठाँउमा पुगेको दिनपछि म आफूभित्र रहेको अकस्मात् मुटु अँठ्याउने डरबाट मुक्त भएँ र सरितासँग आँखा जुधाउन समर्थ भएँ।
मैले सरितासँग के चाहेको हो मलाई अस्पष्ट थियो, खालि रही–रहीकन मलाई यो भावनाले समाउँथ्यो– सरिताको बान्कीलाई बास्ना आउने बगलीको रुमाल पट्याएझैँ पट्याएर छातीमा टाँसिएको बगलीमा सह्मालेर राखूँ। स्वास्नीमान्छेको शरीरसँग खेल्न म त्यस्तै गुप्ती ठाउँमा पाउँथेँ जहाँ राम्रो–नराम्रो स्वास्नीमान्छेको मलाई वास्ता थिएन, त्यस्तै तरुनी र अधबैँसेको पनि मलाई वास्ता थिएन। पछि मलाई ती स्वस्नीमान्छेको अनुहारसमेतको स्मरण हुँदैनथ्यो। मेरो शरीरको रगतको जवानीको वासना र मभित्र भएको पाशविक उत्तेजनाजनित अत्याचारको भावनालाई म ती स्वास्नीमान्छेहरुको शरीरले निभाउँथेँ। तर सरिताको कुमारित्व– त्यो छोयो कि टुट्छ र उसबाट निस्केको आभा– त्यो छोयो कि निभ्छ! मलाई त्यस्तो भान हुन्थ्यो। मलाई लाग्थ्यो सरिता अर्कै महान् कुरा हो जुन मेरा निम्ति ज्ञानातीत छ। ऊ त्यस कुराका निम्ति सृष्टि भएकी हो र त्यस महान् कुराका निम्ति उसको पवित्रता सुरक्षित रहनुपर्छ।

म दिनको एक न एकचोटि सरितालाई भेट्थेँ र त्यस्तै रति शहरको गल्ली–गल्ली चहारेर चिनेका गुप्ती ठाउँहरुमध्ये एकमा पुग्थेँ। म दिनभरि शारीरिक थकानले शिथिल रहन्थेँ। म दिनपरदिन गम्भीर हँुदै गएँ।

त्यस्तै सरितामा पनि केही परिवर्तन भएको मैले अनुभव गरेँ। ऊ पहिलेजस्तो उत्फुल्ल देखिँदैनथिई। उत्तरदायित्वको बोझ बोक्न शुरु गरेझैँ ऊ देखिन लागी। जब म अर्कोतिर फर्कन्थेँ, ऊ मलाई एकटकसँग निहार्दथी र जब म ऊतिर हेर्दथेँ, ऊ ओेइलाएको आँखा अर्कैतिर फर्काउँदथी।

म अचेल कम जान लागेँ।
एक दिन सरिताले आशङ्कित भएर सोधी– “तपाईलाई के भयो?”
मैले त्यसको जवाफमा केही हाँसेर सोधेँ –“तिमीलाई के भयो?”
उसको मुख एकदम रातो भयो। म उसलाई आफ्नो मनको कुरा भन्न खोजिरहेको थिएँ जुन मैले भन्न सकिनँ। मलाई आफैँलाई पनि आफ्नो मनको कुरा अस्पष्ट भइरहेको थियो र म पनि अलमलिएर मुख रातो पारेर बसिरहे। हेर्दाहेदै सरिता उठी र मलाई अचानक आफ्नो मनको कुरा स्पष्ट भएजस्तो लाग्यो। तर मैले त्यो भन्न नपाउँदै ऊ बाहिर निस्किसकेकी थिई। त्यसपछि त्यस्तो परिस्थिति कहिल्यै पैदा भएन र मैले कहिल्यै पनि आफ्नो मनको कुरा भन्न सकिनँ। मैले उसलाई जे भने मलाई लाग्थ्यो, त्यो मेरो आफ्नो कुरा होइन। त्यो मेरो अस्वभाविक अर्कै व्यक्तित्वले बोलेको कुरा हो। मेरो अर्कै रुपले बोलेको कुरा हो। मलाई लाग्थ्यो, म सधैँ बहाना गरिरहेछु र म एकदम अस्वाभाविक छु।
केही दिनपछि मेरो कलेज जान एकदम रोकियो।
एक दिन सरिता मलाई देख्नासाथ एकदम आशङ्गित भई। म उसको कोठाभित्र पसिसकेको थिएँ। ऊ डर र भयले काली–नीली भई। अनि उसले सशङ्गित भएर कोठाको ढोकाबाहिर हेरी र माथि कान थापेर सुनी। त्यस बखत म पनि जिल्लिएर उभिएको उभिएकै भएँ। मैले सोचेँ– होइन, म कुनै अपराध गर्न आएको होइन। मौका यही हो, मैले आफ्नो मनको कुरा भन्नैपर्छ। तर सरिता ढोकाबाट फर्केर आउनासाथ मेरो विचार फेरि एकदम अलमलियो।

सरिताले निसासिएको स्वरमा भनी–“तपाई अब यहाँ आउने नगर्नोस्।”
मैले उसको स्वरैले बुझेँ, उसको अनुहारको भङ्गिमा र ऊ हिँडेकैले बुझेँ– ऊ जे भनिरहेकी छ त्यो ठीक छ। मानौँ म धेरै दिनदेखि यही कुराको प्रतीक्षामा थिएँ, मलाई एक किसिमको सन्चो पनि भयो। तैपनि म कोठाबाट बाहिर निस्कन सकिनँ। म सरितालाई उभिएको उभियै नै हेरिरहेँ।
सरिताले रोएको स्वरमा भनी– “किन किन, त्यसै पनि शङ्का गर्छन्। सारा घरभरि शङ्कैशङ्का! जति जे भने पनि मान्दैनन्। ”
म अझै अवाक् थिएँ।
केही कुराको आवाज सुनेर सरिता आत्तिएर मनिर आई र भनी–“लौन तपाई जानुस्, बा आउनुभएजस्तो छ।”
म गम्भीर पाइला चाल्दै ढोकामा पुगेँ।
सरिताले मेरो पछिल्तिर फेरि भनी–“तपाई किन कलेज जानुहुन्न?”
म टक्क रोकिएँ र फर्केर सरितातिर हेरेँ। मेरो आँखासँग आँखा जुध्नासाथ सरिताका आँखाको भावना एकदम बदलियो। एकैछिन अघिसम्मको त्यो आँखामा सामाजिक डरको साथसाथै खतराप्रति आकर्षण पनि थियो। तर अहिले त्यो आँखा एकदम भयभित थियो र मेरो आँखाले तानिएझैँ सरिताले मलाई झिमिक्क नगरी हेरिरही। मैले आफैँले आँखा ओरालेँ। मैले केही भन्नैपर्छ, मैले आफ्नो मनको कुरो खोल्नैपर्छ, मैले फेरि सरितालाई हेरेँ। अहिले उसको आँखामा फेरि अर्कै किसिको परिवर्तन आयो। अब त्यो आँखामा भय थिएन। त्यो आँखा प्रेम, स्नेह र भक्तिले रसाएको थियो र मलाई हेरिरहेको थियो। मैले भन्न खोजेको फेरि मेरो मनको मनैमा हरायो।
“उसो भए म जाउँ्क?”
म आफ्नै स्वर सुनेर आश्चर्य भएँ , मानौँ त्यो स्वर मेरो होइन। त्यो स्वर यस्तो सुस्केराले भिजेको थियो कि मेरो मानसिक भावनासँग सामञ्जस्य भएको थिएन। म हिँड्न भनेर ढोकातिर पुगेँ। त्यसै बखत सरिताको स्वर सुनियो–“तपाई राति–राति यताउति जानुहुन्छ रे, हो? बदमाशहरुको सङ्गत गरेर गल्ली–गल्ली चहार्नुहुन्छ रे, हो?”
म टक्क रोकिएर टाउको झुकाएर सुनिरहेको थिएँ। ऊ भन्दै गई, “त्यसो किन गर्नुहुन्छ? मानिसहरुले भनेर छुट्टी!”
मैले टाउको उठाएँ र सरितातिर फर्कें। मेरो ओठमा एकैछिनको लागि हाँसो नाचेजस्तो लाग्यो। मैले आफ्नो मनको कुरो खोल्नैपर्छ। मेरो मेरो ओठमा शब्दहरु आएर चलबलाए र फेरि त्यस्तै खामोश भए। मलाई आफैँलाई अस्पष्ट भएको कुरा सरिताले के बुझ्न सक्ली? म विवश भएर उसलाई हेरिरहेँ। सरिताको आँखामा अहिले आँसुको पत्रभित्र र त्यस पत्रभित्र भएको उसको आँखाको नानी मभन्दा पनि पर मलाई निहारिरहेको थियो। म फर्केर भर्‍याङबाट ओर्लें।
त्यस दिनपछि म सरितलाई हेर्न बाटोमा कुरिरहन्थेँ। मलाई लाग्दथ्यो– मैले अरु सब कुरा त्याग गरिसकेको छु, म यही एउटै मात्र लक्ष्यका निम्ति जीवित छु। कहिले म सरिताको सेतो खास्टोले छेपिएको पीठको भाग मात्रै देख्थेँ, जुन बाटोको मोडमा हराउँथ्यो र कहिले फरियाको हल्का फरफराहटसँग हिँडिरहेका उसका खुट्टालाई मात्रै देख्थेँ, उसको अनुहार एकदम विवर्ण हुन्थ्यो र म आफैँ लाजले जिल्लिएर अर्कोतिर फर्कन्थेँ र उसको अनुहार मेरो आँखासामुन्नेबाट हराउँथ्यो।
म कोठामा एक्लै हुन्थेँ र कोठाका दलिनहरु एक अर्कोमाथि खप्टिएर मलाई घेर्न बसेका मलाई लाग्थ्यो। मेरो कोठाको एकातिरको भित्तामा एक ठाउँमा लिउनको चोक्टा उप्केको थियो र त्यसै ठाउँमा विभिन्न विकृत अनुहारहरु बन्दथे र मलाई त्यसमा समावेश हुन ‘आऊ आऊ’ भनेर बोलाइरहेका हुन्थे। कोठाको शून्यमा सदासर्वदा हावामा कसैले व्यथा र पीडाको भारी बोझ बोकेर सुस्केरा हालिरहेको हुन्थ्यो। कहिलेकाहीँ मलाई लाग्थ्यो–म आफैँ त्यहाँ छैन, शून्यमा पग्लिसकेको छु। तर एकैछिनपछि अचानक म शून्यबाट उभरेर आएको मलाई लाग्थ्यो।
एक दिन मेरो ठूलो दाज्यूले मलाई बेसरी गाली गर्दै भन्नुभयो– “तँ किन कलेज पनि जान्नस्, पढ्दा पनि पढ्दैनस्, दिनभरि कोठामा सुतिरहन्छस्?के भएको? किन? फेरि रात–रातभरि बेपत्ता हुन्छस्। क्या हो 129! पढ्न मन छैन भने पसलमा त बस्नुपर्छ। म एक्लैले के गर्नु, मद्दत त गर्नुपर्छ मलाई!”
दाज्यूको कुरा मैले आज्ञाकारीझैँ बसेर मुुन्टो निहुराएर सुनिरहेँ। उहाँले बेसाहा महँगो भएको र जीवनको सङ्घर्षसम्बन्धी धेरै कुराहरु भन्नुभयो। मेरो मेरो सानै उमेरमा वा म दश बर्ष हुँदा आमा पनि परलोक हुनुभएकाले मैले दाज्यूलाई बाबुुजत्तिकै सम्झेको छु। मैले जवाफ दिने कुनै केही थिएन। दाज्यूले जे भनिरहनुभएको छ त्यो सबै सत्य हो र म दिनपरदिन बिग्रिरहेको छु, त्यो पनि सत्य हो। म खलि सुनेर बसिरहेँ। तर त्यहाँ आफैँ रहस्यमय शक्ति थियो, जो मलाई मबाट खोसेर लगिरहेको थियो। पढ्न त मैले एकदम छोडिदिएँ। पसलतिर त मैले पाइला नै टेकिनँ। मैले आफ्नो घडी, फौन्टेनपेन, कोट बेचेर रातिको खर्च चलाउन थालेँ। पछि दाज्यूको खल्ति र सेफमा समेत हात हाल्न थालेँ।
म ती गुप्ती कोठीहरुका स्वास्नीमान्छेहरुप्रति यति त्रू्कर भएँ कि ती स्वस्नीमान्छेहरु मबाट छुटकारा पाउन मलाई टोक्थे, कुटथे र मेरो कपाल लुछ्थे। पछि, भोलिपल्ट अथवा पर्सिपल्ट जतिसुकै धेरै मोल तिरे पनि मसँग परिसकेका स्वास्नीमान्छे फेरि मसँग बस्न मान्दैनथे। त्यसरी नमान्नु मप्रति न्याय गरेको मलाई लाग्थ्यो र म खालि खिस्स हाँसिदिन्थेँ। मछि ती स्वास्नीमान्छेहरुले कुटुनी बुढी अथवा कुरा मिलाउने मानिससँग म त्यहाँ आएँ भने उनीहरु आउने छैनन् भनेको पनि सुनेँ।
एकदिन सरितासित भेट भयो बाटोको मोडमा र त्यो मोड मेरो जीवनको दुःखान्तको चरमतामा पुग्ने मोड पनि थियो। मलाई अहिले अझै पनि त्यस बाटोमा हामी दुईको विरुद्ध योजनाबद्ध षडयन्त्र भएजस्तो लाग्छ। नत्र हिँड्दाहिँड्दै बाटोको मोडमा र खालि दुई–तीन जना भारी बोकेर हिँडेका मान्छेबाहेक चिनेको मान्छे कोही कतै नभएको बखतमा हाम्रो भेट हुनु नपर्ने। तर सरितासँग भेट भयो त्यस ठाउँमा, जुन ठाँउमा भेट हुने आशा थिएन। म हिँडिरहेको थिएँ र हिँड्दाहिँड्दै अचानक सरिता मेरो सम्मुख परी। ऊ सामुन्नेको देब्रेतिरको बाटोबाट आइरहेकी थिई। हामी दुवैले नदेखेको जस्तो गरेर हिँड्ने त्यो परिस्थिति पनि थिएन। हामी दुवै टक्क रोकियौँ र एकले अर्कोलाई हेर्न लाग्यौँ। ओठसँगसँगै उसका आँखा केही हाँसे। मैले उसलाई त्यति नजिकबाट नदेखेको धेरै दिन भइसकेको थियो। अहिले उसको हेराइमा सदासर्वदा टिकिरहने जस्तो विषाद देखेँ र उसको सर्वाङ्गमा जवानीको व्यथाले सुमसुम्याएको मलाई लाग्यो। शायद मेरो आँखामा अपरिवर्तित गाम्भीर्य, जुन त्रू्करताको प्रकाशन पनि हो, त्यो देखेर ऊ केही तर्सी र टाउको निहुराई। उसले भनी, “म मामा बाज्येको घर गएर आएको।”
मलाई लाग्यो, युगौँयुुगदेखि सञ्चित आकाङ्क्षा, इच्छा र प्रकाशन नपाएका अनुभवहरु शब्द बनेर पोखिन खोजिरहेछन्। मेरो छाती फुलेर आयो र घाँटीमा शब्दहरु अटेसमटेस भएर आए। तर अचानक  ती शब्दहरु मानौँ छँदै छैनन् भनेझैैँ एकदम खामोश भए। म बोल्न सकिनँ र मूर्तिवत् विवश भएर खडाको खडै रहेँ।
“उसो भए म जाउँ्क त?”, सरिताले भनी।
“पख।”, मैले अहिले बोल्न सकेँ।
हामी फेरि त्यस्तै चुपचाप खडाको खडै रह्यौँ। शायद त्यो खडा रहेको क्षण अनन्त हो।
“तिमीलाई भेट्नु छ, एकैचोटि भए पनि।”, मैले फेरि भनेँ।
“हुन्छ।”, सरिताले सुस्केरा हालेर भनी।
“कहिले?”
सरिताले मलाई टोह्लएर हेरिरही। एकछिनपछि केही कुराले घोचेझैँ ऊ झस्की र दयनिय अनुहार लगाएर मलाई हेर्न लागी।
“हुन्छ, भोलि दिउँसो दुई बजेपछि। बाआमाहरु कोही पनि हुन्नन्, भोज जान्छन्।”, उसले भनी।
म केही बोलिनँ। मलाई डर लागिरहेको थियो। मैले केही बोलेँ कि सारा कुरा नष्ट–भ्रष्ट हुन्छ, सरिताको निर्दोष कोमलता चूरचूर हुन्छ, उसको आँखाको त्यो विषदलाई मैले कोपरेको जस्तो हुन्छ। तैपनि शायद मैले आफैँले थाहा नपाउने किसिमले ‘हुन्छ’ सूचक टाउको हल्लाएँ। सरिताले मलाई एकछिनसम्म हेरी र भनी,“उसो भए जाउँ्क त?”
ऊ हिँडी। म उसको पीठको बान्कीलाई र सारीबाट निस्केको व्यथाको भारले थिचिएका खुट्टाको चाललाई हेरिरहेँ। हेर्दाहेर्दै ऊ बाटोको अर्को मोडमा गएर हराई।
घर गएर म एक लामो सुस्केरा हालेर बिछ्यौनामा पल्टेँ। मानौँ म प्रसववेदनाले भित्रभित्रै छटपटिइरहेछु, मानौँ म तीव्रतम स्थितिमा पुग्दैछु, जसले मेरो जीवनलाई अर्कै मोडमा लैजानेछ र एक नयाँ अनुभूतिमा मलाई विलय गर्नेछ। म हलचल नगरिकन पल्टिरहेँ। मैले आफ्नो चारैतिर सरिताको लामो–लामो सुस्केरा सुनिरहेँ।
भोलिपल्ट दिउँसो म कुनै रहस्य देखेर भयले स्तब्ध हुँदै र त्यही रहस्यले खिचिँदै निद्रामा हिँड्झैँ सरिताको घरमा पुगेँ। त्यो घर जस्तो पहिले थियो, त्यो त्यस्तै देखेर म चुपचाप टोह्लाएर हेरिरहेँ। मेरो मानसपटमा त्यो घर अर्कै किसिमको भइसकेको थियो। मलाई शङ्का लाग्यो– त्यो घर सरिताको हो, होइन। सरिता झ्यालमा उभिएकी देखेँ। म एक पाइला अघिल्तिर बढेर फेरि ठिङ्ग उभिएँ। मलाई शङ्का लाग्यो– त्यो सरिता हो, होइन। सरिताले मेरो मानसपटमा अर्कै रुप लिइसकेको जस्तो मलाई लाग्यो।
म घरभित्र घुसेँ र भर्‍याङ चढेँ र सरिताको सम्मुख परेँ। अनि म अचानक निद्राबाट बिउँझेजस्तो भएँ र सरिता र उसको चारैतिर भएको वास्तविकतालाई चकित भएर हेरिरहेँ। सरिता त्यस्तै छ, जस्तो पहिले थिई। उसको अनुहारको कट त्यस्तै छ, जस्तो पहिले थियो। उसले त्यस्तै लुगा लगाएकी छ, जस्तो लुगा उसलाई पहिले मनपर्ने गर्थ्यो। खालि उसको आँखाको हेराइ मात्रै बदलिएको छ।
उसले आफैँलाई भनेझैँ सुस्तरी भनी, “घरमा कोही छैन, म एकलै छु। हिजो तपाईंलाई भेट।”
म झल्याँस्स भएँ। हिजै मात्रै हो सरितासित बाटोमा भेट भएको। मलाई लागेको थियो त्यो ‘हिजो’ पनि पहिले–पहिलेकै दिनहरुसँग मिसिएर अनन्त भएको छ। मैले कान थापेर सुनेँ। तर उसले केही बोलेकी थिइन, बोल्दाबोल्दै रोकिएकी थिई।
म एकै झमकमा सरिताको नजिक पुगेँ र उसको हात समाएँ। मैले भनेँ, “सरिता, हिँड हामी दुवै जना भागौँ।”
सरिताको नाडीमा मेरो मुट्ठी कसिँदै गयो, मानौँ अलिकति फुस्केकी सरिता चिप्लेर मबाट हराउनेछ। मैले उसको अनुहार पढिरहेँ, उसको ओठ केही काँपेर चुप भयो र उसको सारा शरीरबाट निस्केझैँ व्यथा भरिएको सुस्केरा निस्किरहेको थियो। उसले मलाई तर साथसाथै केही प्राप्तिको आशाले रातो अनुहार लगाएर हेरिरहेकी थिई, मानौँ भर्खर उसको मगजमा मैले भनेको कुरा घुस्यो। उसले झड्का दिएर आफ्नो हात छुटाई र भनि, “कहाँ?”
“मसँग भाग्ने, आजै।”, मैले फेरि भनेँ। साथसाथै मलाई आभास भयो मैले चाहेको त्यो होइन। मलाई आफ्नो स्वर आफ्नो लागेन।
सरिताले कराएर भनी, “नाइँ!”
म खालि मूर्तिवत उसलाई हेरिरहेँ। मलाई सन्चो भयो या अथाह पीडाले घोच्यो, मैले बुझ्न सकिनँ। उसको नाडी समाएको मेरो हात सुस्त भएर झुन्डियो। मलाई पूरा विश्वास लाग्यो यो “नाइँ!” सरिताको आफ्नै स्वरको शब्द हो। यो त्यत्तिकै दृढ छ, जत्तिको वास्तविक छ, व्यावहारिक छ। सरिता यो “नाइँ!”बाट हट्न सक्तिन र यो उसको अन्तिम शब्द हो। तैपनि मैले आफूलाई छल्न खोजेको हो या वास्तविक हो, हडबडाएको स्वरमा भनेँ, “भागौँ, भागौँ नत्र म………….।”
सरिता अहिले हुत्तिएर पछिल्तिर हटी, मानौँ ऊ मेरो सामुबाट  भग्न चाहन्छे। उसले फेरि परैबाट भनी, “नाइँ!”
म केही नबोली सरितालाई हेरिरहेँ। मलाई लाग्यो, अब मेरो बोल्ने कुनै अधिकार छैन। अब मेरो सोच्ने समेत अधिकार छैन। म कुनामा ठड्याइराखेको मेचमा गएर थचक्क बसेँ। सरिता अहिले मेरो आँखामा धमिलिएर गइरहेकी थिई। मानौँ ऊ पातलो पर्दा पछिल्तिर छे र विवश खडा रहेकी छे। म तन्द्रामा छु र त्यही तन्द्रामा ऊ अकस्मात् प्रकट भएको जस्तो मलाई लाग्यो। ऊ सुस्तरी मेरो सामु बढ्दै आइरहेकी थिई र क्रमशः उसको अनुहारपछि गर्धन, गर्धन पछि स्तन मेरो आँखा सामुन्नेबाट हरायो। मेरो आँखा उसको कम्मरमा गएर अडिरह्यो।
उसले सुस्तरी–सुस्तरी बोलेको स्वर सुनियो, “सत्ते, तपाईं मलाई दोष नदिनुस्, मलाई केही नभन्नुस्। मलाई छोड्नोस्, मलाई बिर्सनोस्। म पनि तपाईंलाई….।”
म खिसिक्क हाँसेँ। ऊ बोल्दाबोल्दै थामिई। शायद ऊ मलाई टोह्लाएर हेरिरहेकी थिई, मैले हाँसेको व्यङ्य हो या वेदनाको प्रकाशन हो बुझ्न।
उसले फेरि भनी, “सत्ते, म तपाईंलाई त्यत्तिकै …! तर मेरो बा हुनुहुन्छ, आमा हुनुहुन्छ। म बाआमाको चित्त दुखाउन्नँ। मैले त्यस्तो गरेँ भनेँ उहाँहरुको मैले कत्रो अपराध गरेकी हुन्छु।”
मैले टाउको उठाएर सरितालाई हेरे। मेरो आँखा ऊसित जुध्नासाथ उसले तुरुन्तै अर्कोतिर हेरी। ऊ अहिले एकदम चुप भई र सुस्तरी हटेर भित्तामा अडेस लाग्न पुगी। मैले बुझेको छु, मेरो जात सरिताको भन्दा सानो छ। सरिताको बाबु शिक्षित भए तापनि उसभित्र सामाजिक संस्कारजनित विवशता हटेको छैन। यो कुरा सरिताले मलाई खोलेर भन्न सक्तिन। अहिले मलाई अचानक विश्वास भयो–हो, जातको अस्तित्व छ र म सानो जातको हुँ। हो, सानो जातको मात्रै होइन, म चरित्रभ्रष्ट पनि छु, म शहरको एक नामुद बदमाश पनि हुँ। योभन्दा सरिताको बाबुआमालाई चोट पर्ने कुरा आर्को के हुन सक्छ?
सरिताले मतिर हेर्दैनहेरी फेरि भनी, “बाबुआमाकी एकली छोरी हुनु जस्तो दुःख केही पनि छैन। म किन एकली छोरी भएँ। ”
म अलि सुनिने गरी हासेँ ा ऊ फनक्क फन्की र म सँग आँखा जुधाउने साहस गर्दै भनी, “बुझ्नुभयो? मेरो बिहे हुने भएको छ यसै साल। कुरासमेत छिनिसकिएको छ।”
म फेरी त्यस्तै गरी हाँसेँ। मेरो हाँसो देखेर ऊ एकछिन वाल्ल परी। अनि सुस्तरी–सुस्तरी ऊ मेरो नजिक आई र भनी, “के गरुँ! मैले बिहे नगरी भएन। म मेरा आमाबाबुकी एकली छोरी भने पनि छोरो भने पनि एकलै।”
अहिले म हाँस्न सकिनँ। सरिता कस्ती अबुझ! मैले चाहेको त्यो होइन, त्यो होइन, त्यो मात्रै होइन। म कसरी उसलाई त्यो कुरा सम्झाउँ्क, जुन मैले आफैँले बुझेको छैन। सरिताको सारीको छेउले मेरो मुखलाई स्पर्श गर्‍यो र उसको खुट्टाले मेरो खुट्टालाई हल्का धक्का दियो। यसको आवाज यस्तरी सुस्केराले भिजेको थियो कि मलाई लाग्यो, मैले उसलाई समाएर सुमसुम्याउनैपर्छ। तर मेरो हात उठेन, मलाई आफैँ देखेर डर लागिरहेको थियो कहीँ मैले उसलाई सुमसुम्याउँदासुमसुम्याउँदै यस्तरी समाउँला कि ऊ फूल कुतिएझैँ कुचिएली र उसको कौमार्य टुटेर–फुटेर नष्टभ्रष्ट होला। सरिताले मेरो अनुहारलाई निर्निमेष दृष्टिले हेरिरही र भनी, “आज घरमा कोही पनि छैन।”
म आश्चर्य मानेर उसलाई हेर्न लागेँ। उसले मुख रातो पारी। मेरो हात यन्त्रचालितझैँ विस्तारै बढ्यो र उसको हातलाई स्पर्श गर्‍यो। उसको हात तातो थियो। उसले हात हटाइन। मैले त्यस्तै बिस्तारै उसको हात समाएँ। उसले हात त्यस्तै रहन दिई। उसले भनी, “कोही आउला।”
मेरो हातको पकड बिस्तारै शिथिल हुँदै गयो र उसको हातबाट झर्‍यो र हावामा झुन्डिरह्यो। सरिताको अनुहारमा नैराश्य व्याप्त भएझैँ निन्याउरो भयो। ऊ बिस्तारै मतिरबाट हटी र केही पर पुगेर भनी, “तपाईं मलाई जे मन लाग्छ गर्नोस्। अनि तपाईं जानेस्। बाआमाहरु आउनुहुन्छ नत्र।”
सरिताको आवाज केही रिसाएझैँ, केही झर्केको झैँ थियो। तर मैले उसलाई स्पष्ट बुझेँ, ऊ मलाई एकैछिनको लागि भए पनि आत्मसमर्पण गर्न चाहन्छे, अङ्गप्रत्यङ्गलाई सुम्पेर एकैछिनको लागि, जिन्दगीमा एकैचोटि भए पनि आनन्द दिन चाहन्छे। म फेरि त्यस्तै खिसिक्क हाँसे। उसले अहिले मैले हाँसेको देखिन। ऊ बिछ्यौनामा बसी र मलाई हेरी। ऊ त्यस्तै बसिरही, मानौँ ऊ मलाई धेरै दिनदेखि, अनन्तकालदेखि पर्खिरहिछ। मलाई त्यस्तो लाग्यो, ऊ पनि एकैछिनको लागि जिन्दगीमा एकैचोटि भए पनि मेरो शरिरको उपभोग गर्न चाहन्छे। म मेचबाट उठेँ र अघिल्तिर बढेँ। उसले वेदनाले भरिएको लामो निःश्वास फेरी र त्यो निःश्वास क्रमशः छिटो हुँदै गयो।
म सरिताको शिरको कालो रौको झुप्पामा अड्केको किलिपलाई हेरिरहेँ। उसले आँखा भुँइँमा ओरालेकी थिई। त्यसै उभिरहँदा मैले सोचेँ, “हो जिन्दगीमा एकैचोटि भए पनि सरिताको शरीरको उपभोग मैले गर्नुपर्छ। तर मैले सरिताको नाङ्गो शरीरलाई देखेको छैन। जिन्दगीमा एकैचोटि भए पनि उसको सर्वाङ्ग नाङ्गो शरीरलाई
तृप्तिपूर्वक हेर्नुपर्छ र सर्वाङ्ग नाङ्गी सरितालाई स्पर्श गर्नुपर्छ।” मैले भनेँ, “लुगा फुकाल, नाङ्गो होऊ।”
उसले मलाई टाउको उठाएर पुलुक्क हेरी। एकछिनपठि उसले भनी, “हुन्छ, लौ।”
“लौ, लौ” भन्दै उसले चोलोका टाँकहरु खोली। हेर्दाहेर्दै उसको चोलो वदनबाट उप्कियो, अनि सारी फुस्क्यो र पेटीकोट झर्‍यो। ऊ सर्वाङ्ग नाङ्गै भई।
मेरो आँखाअघिल्तिर अब सरिता छे, ढाकछोप नगरिएकी वास्तविक सरिता। लुगाको भ्रान्तिलाई फ्याँकेकी सरिताको समग्रता छ, सरिताको पवित्रता छ, तर साथसाथै सरिताको त्यो नाङ्गो पवित्र शरिर कति करुण छ, कति दयनिय छ। मैले चलमल नगरीकन त्यो नाङ्गो शरीरलाई हेरिरहेँ। सरिता बिछ्यौनामा पल्टी र मलाई पर्खिरही।
म अझै अघिल्तिर बढ्न सकेको थिइनँ र त्यसै टोह्लाएर हेरिरहेको थिएँ। अनि अचानक मेरो मनमा हुरीको झोक्काझैँ भएर यो विचार रन्थनिन लाग्यो– मैले सरितासित यति मात्रै चाहेको होइन, मैले यति मात्रै चाहेको होइन, यति मात्रै होइन। मेरो आँखाअघिल्तिर ती मैले उपभोग गरेका गुप्त ठाँउका धेरै किसिमका स्वास्नीमान्छेहरुका विभिन्न नाङ्गा शरीरहरु एकपछि अर्को गर्दै आउन लागे। म रन्थनिएर बस्न खोजेँ, सरिता पनि त्यति मात्रै होइन, ती अरुका नाङ्गा शरीरजति मात्रै होइन। शारीरिक उपभोगको अनुभव मैले प्रशस्तै पाएको छु, मैले त्यति अनुभवकोलागि मात्रै सरितालाई प्रेम गरेको होइन, पाउन खोजेको होइन। वासना र लिप्सा मभित्र पटक्कै पैदा भएन, म नपंुसक भएर त्यस्तै हेरेको हेर्‍यै खडा रहेँ।
म निराश खडा थिएँ। त्यसै बखत अकस्मात् बिजुलीको चमकझैँ मलाई आभास भयो, मैले सरिताको अनन्त गहिराइभित्रको वास्तविक सरितालाई पाउनु छ, उसको शरीरभन्दा परको सरितालाई पाउनु छ, उसको अणु–अणुमा व्याप्त सरितालाई पाउनु छ, अझ उसको वास्तविकताको सार रुपको सरितालाई पाउनु छ। मैले त्यस्तै निराश भएर सोचेँ तर त्यो पाउन म यो जन्ममा सक्तिनँ। त्यसकारण हामी दुवैले मर्नुपर्छ। मृत्युपछि हामी परम्परालाई प्राप्त गर्नेछौँ, परलोकमा प्राप्त गर्नेछौँ।
अहिले म एकदम शिथिल भएर बसेँ।
त्यसै बखत सरिता मलाई हेरेर मुस्कुराई। फेरि म एकदम उठेँ। मलाई एकदम लाग्यो सरिताको समग्रता त्यही एउटै मुस्कानमा केन्द्रीभूत छ। म त्यही वेगमा सरितानिर पुगेँ। अहिले सरितामा भएको त्यो मुस्कान एकदम गायब भयो। त्यही मुस्काननै सरिताको सार हो, म त्यही मुस्कानलाई पक्रन चाहन्छु। मैले दुवै हातले सरिताको गर्धन समातेँ। मलाई फेरी त्यसै बखत एकदम आभास भयो त्यो मुस्कान, सरिताको त्यो सार यति अमूर्त छ कि म यस जन्ममा, यस लोकमा कुनै हालतमा पनि पक्रन सक्तिनँ। मेरा दुवै हात सरिताको गर्धनमा कसिए। मेरो शरीरको अंग प्रत्यंगमा रहेको सारा प्राण ती दुवै हातमा जम्मा भएको मलाई लाग्यो। सरिताको हातलेे मलाई हटाउन खोजेजस्तो मलाई लागेको थियो, तर त्यो हात एकैछिनपछि विवश भएर झरेजस्तै पनि लाग्यो। सरिताको आँखा डरले बीभत्स भएर मलाई हेरेजस्तो पनि लागेको थियो, त्यस्तै एकैछिनपछि पत्थरझैँ विवश टोह्लाएका टोह्लायै भएको पनि लाग्यो। मेरा इन्द्रीयका अरु भाग चेतनाशुन्य भएका थिए र सारा चेतना सोहोरिएर हातमा जम्म भएको थियो। पछि सरितको गर्धनमा कसिएको हात कसिँदाकसिँदै त्यसैको प्रतिक्रिया स्वरुपझैँ भएर फुस्किँदै गयो र एकछिनपछि एकदम फुस्कियो।

मैले उठेर सरितालाई हेरेँ। होइन, त्यहाँ अब त्यो नाङ्गो शरीरमा सरिता छैन। त्यो अनुहारमा, त्यो शरीरमा मृत्यु पोतिएको थियो। मैले त्यो शरीरलाई बिस्तारै छामिहेरेँ, त्यो मृत भइसकेको थियो। सरिताको सार आफ्नो शरीरलाई छोडेर हिँडिसकेको थियो। तैपनि मैले त्यो नाङ्गो शरीरलाई एकछिनसम्म मायाममता र दयापूर्ण भावले हेरिरहेँ र बिस्तारै बसेर सुम्सुम्याएँ। विचरा त्यो शरीरले यतिका समय त्यो पवित्र सारलाई आफूभित्र राखेर हुर्काएको थियो र अहिले टुहुरोझैँ फालिएको छ।

म उठेँ, अब मैले मर्नुपर्छ। म एकछिन चुपचाप उभिएर आफ्नो शरीरको सारलाई हृदयङ्गम गर्न खोजेँ। आफ्नो सारलाई सरिताको सारसँग मिसाउनु पर्छ। मेरो सारले सरिताको सारलाई प्राप्त गर्नुपर्छ र सरिताको सारले मेरोलाई। एकछिन चुपचाप उभिएपछि मलाई आफ्नो सार पूरा हृदयङ्गगम भएको विश्वास भयो। मैले आफ्ना दुवै हातले सरिताको गर्धन किचेझैँ किचेँ। तर मलाई लाग्यो, मेरो गर्धन फलामझैँ साह्रो छ, म आफ्नो बेवकूफी देखेर मुस्काएँ।

यसरी आफूलाई म मार्न सक्तिनँ। मैले यताउति हेरेँ। मैले त्यहाँ कोठामा त्यस्तो कुनै कुरा देखिनँ जसले मलाई मार्न सकोस, र मलाई एकदम हडबडी पैदा भयो। ओहो! कत्रो भुल, मैले हतियार ल्यइनछु। अहिले एकछिन पनि ढिलो गर्नुहुन्न म मर्न, मैेले सोचेँ। मैले फेरि कोठाको चारैतिर हेरेँ। ऊ क्या त्यहाँ डोरी छ। म कस्तो हुस्सु। मैले भर्खर त्यहाँ तन्काएको डोरी देखेँ, जुन सरिताको चोलो र फरियाले छोपेको थियो। म उफ्रेर त्यहाँ पुगे र ती सब लुगाफाटो फालेर डोरीलाई तानेँ। तर डोरी निस्केन, बल गरेँ तैपनि फुस्केन। त्यो डोरी दलिनमा दुईतिर लामो कीलामा कसेर गाँठो पारेर त्यसको दुवै छेउ बााधेको रहेछ। मैले झट्ट मेच ल्याएर  त्यहाँ राखेँ। त्यसमा उभिएर डोरीलाई फुकाल्न खोजेँ तर हात गाँठोमा अलमलिइरहेको थियो। म फेरि आत्तिएँ। त्यसैबखत मेरो मनमा झ्वास्सै लाग्यो, सरिताको सार धेरै पर पुगिसक्यो भनेर पछ्याउँदा पछ्याउँदै मैले पक्रन सकिनँ भने। मेरा औँलाहरु डोरीमा अलमलिरहे मात्रै, गाठो फुकाउन सकेनन्। मैले सहाराको याचना गरेझैँ सरिताको लासलाई हेरेँ। त्यो लाश त्यस्तै नाङ्गै परिरहेको थियो सरिताद्वारा परित्यक्त भएर। त्यो लाश निर्लिप्त भएर सुतिरहेझैँ थियो। मलाई झ्वस्स सरिताप्रति करुणा पैदा भयो, त्यति राम्रो शरीरलाई छोडेर उसले जानुपर्यो। अनि अचानक म झस्केँ र मेरो हात डोरीबाट हट्यो, बिजली चम्केझैँ मेरो मनमा यो विचार पैदा भयो– यदि स्वर्ग पनि छैन, नर्क पनि छैन, परलोक पनि छैन भने! मेरो मुटुमा कसैले छुरा धसेकोले कराएझैँ ‘उह’ गरेर त्यो मेचमा थचक्क बसेँ। म मेचमा त्यसै टोह्लाएँ, सरिताको सार खण्ड–खण्ड भएर भौतिक जगत्का तत्त्वहरुमा विलिन भयो भने म कसरी पाउन सक्छु त्यो सरितालाई। मेरो सार पनि त खण्ड खण्ड भएर सरिताको सारजस्तै भौतिक जगत्का तत्त्वहरुमा मिल्नेछ।
फेरि त्यो सारको खण्ड–खण्ड मेरो र सरिताको एकै ठाउँको तत्त्वमा विलिन होला भन्ने के विश्वास छ। सम्भव छ, मेरो अपेरिकाको लोहा र सरिताको चाहि नेपालको लोहामा मिल्ला, फेरि त्यस्तै मेरो नेपालको क्यल्सीयममा र सरिताको रुसको क्यल्सियमा मिल्ला, त्यस्तै मेरो नेपालको हाइड्रोजनमा र सरिताको भारतको हाइड्रोजनमा मिल्ला। यस्तो भयो भने हाम्रो परस्परको सारको मिलन कसरि हुन सक्छ? मेरो आँखाको सामुन्ने सरिताको लाश त्यस्तै निर्लिप्त थियो। लाशसँगै म टोह्लाएको थिएँ। यदि सरिता धानमा रहेको चामलजस्तै मात्र हो र चामलजस्तै कसैको पेटमा गएर पचेर केही अंश रगतमा मिसिने र केेही अंश विष्ठा भएर निस्कने जस्तै सरिताको सार, सरिताको आत्मा, सरिताको प्राण हो भने? फेरि चामल भएर प्रकट हुन आकस्मिकतालाई पर्खेर अनन्त समय लागेझैँ सरिताल सरिताको रुप पाउन अनन्त समय लाग्ने हो भने म मरेपछि म पनि चामलजस्तै, सरिताजस्तै हुने हो भने या त हाम्रो परस्परको मिलन सम्भव छँदैछैन या छ भने यो विश्वको सृष्टिझैँ अनन्त समय लाग्ने छ। ‘यो होइन, यो होइन।’ म कराएर उठेँ। तर फेरि म थचक्कै बसेँ– ‘यो यस्तै हो, यो यस्तै हो।’ सरिताको निर्लिप्त शरिर त्यस्तै निलिप्त थियो र अहिले मलाई लाग्यो सरिता साँच्चिकै मरिसकी।

मैले सरिताको त्यस नाङ्गो शरीरलाई हेरिरहेँ। मैले आँखा समेत झिमिक्क गरिनँ। मलाई पूर्ण विश्वास भयो, म सरितालाई पाउन्नँ। मेरो सारा शरीर कर्तव्य शून्य, प्राणशुन्यझैँ भएर टोलाएको टोलाह्यै नै रह्यो। यसरी कति समय वित्यो म भन्न सत्तिनँ। पछि म पक्रिएपछि मलाई होश आयो– म जिउँदै छु र सरिता मेरो हातद्वारा मारिई, सरिताको हत्या मैले गरेँ, म ज्यानमारा हुँ
म अझै पनि टोह्लाएर बसिरहन्छु, म भित्र त्यस्तो शङ्गा, त्यस्तो अन्धविश्वास कुन नियतिको षडयन्त्रले पैदा गर्‍यो र किन?
मैले अड्डामा यही कुरो कराएर भनेँ, तर सबै हाँसे।
सरिताको बाबु अझै रोइरहेको थियो। पछि उसले मलाई भन्यो, ‘तैँले त्यति लुगाफाटो, गहना लिनलाई छोरीलाई मार्नुपर्थ्यो? मसँग मागेको भए दिने थिएँ।’

मैले यति हार खाएको थिएँ कि म हाँस्न समेत सकिनँ। मलाई बौह्लाएको सम्झेर ज्यानसजाय दिइएन। मैले कति अनुनयविनय गरेँ र ज्यानसजाय पाउन जानाजान मारेको हुँ भनेँ। तर मलाई मर्नबाट पनि वञ्चित गरियो।
म अझै बराबर यो सोच्छु– ‘हे ईश्वर! यदि तिमी छौ भने मभित्र यस्तो शङ्गा किन पैदा गर्‍यौ? मलाई स्वर्ग, नर्क। परलोक, अर्को जन्मप्रति अविश्वास किन पैदा गर्‍यौ? यत्रो यत्रो घातक अविश्वास!’

(श्रोत :- पच्चीस बर्षका नेपाली कथा)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : मैले सरिताको हत्या गरेँ

  1. You have done reall great!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.