लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~

नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

पहिलेपहिले कुबेरप्रसाद झर्कोफर्को गरिरहन्थे । कारण अकारण उनी रिसाइरहन्थे । बाहिर फेर डुल्न, घुम्न पनि बिलकुलै छोडिसकेका थिए । पार्टी, बैठक, भेटघाट, अन्तक्रिर्या, छलफल आदि क्रियाकलापहरूमा पनि उनी निष्त्रिmयजस्तै थिए ।

तर आज उनी एकाएक खुसी भए । पहिलेजस्तो उदास देखिएनन् । उनको अनुहारबाट बेपत्ता भएको खुसी पुनः फर्केको थियो । उनको अनुहार भर्भराउँदो उज्यालो थियो । उनको अनुहार नै आज अर्कै देखिएको थियो ।

उनी शयनकक्षबाट उठेर सीधै शौचालयतिर लम्के । शौचालयबाट निस्केर बाहिर बरण्डामा आए । उनको घर कम्पाउन्ड भित्र रहेको फूलबारीको बीचमा ठूलो टेबल र टेबल वरिपरि लहरै कुर्सीहरू थिए । टेबलमाथि विभिन्न नामका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू थिए । बिहान सबेरैका सूर्यको प्रकाशले टेवल माथिको सनमाइका र आल्मुनियम पाता टल्किरहेका थिए । नेताजी यी सबै कुराहरू नियाल्दै थिए । टेबल चम्केझैँ उनको अनुहार पनि चम्किरहेको थियो नेताजी एकपटक फेरि मुस्कुराए । काम गर्ने केटाले चिया ल्याइ पुर्‍यायो । आज चियाको कपभित्र अमृत नै भएको महसुस भयो उनलाई । चिया पिइरहँदा उनले अलौकिक आनन्द प्राप्त गरे । फूलबारीमा फूलहरू फुलेका थिए । फूलको सुवासले नेताजीको मन साह्रै आल्हादित भएको थियो । आज नेताजीले फूलको सुगन्धमा पनि ज्यादै मीठो खाने कुराको वास्नाको आभाष पाए ।

बिहानको सात बज्यो । बिस्तारै बिस्तारै नेताजीलाई भेट्न कार्यकर्ताहरू आउन थाले । उनी चुनाव सकेर विजयका साथ फूलमाला र अबीरमा सजिएर काठमाडौँ फर्केपछि गाउँतिर गएका थिएनन् । उनको बुझाइमा गाउँघरको अवस्था नाजुक थियो । आतङ्क र आन्दोलनले गर्दा गाउँतिर जान उनले उचित देखेका थिएनन् । उनको निवासमा आउने उनका क्षेत्रका मतदाता र कार्यकर्ता देखेर उनी रिसाउन थालेका थिए । उनीहरूलाई देख्नासाथ उनी बर्बराउन थाल्थे-खाली जागिर लाइदेउ, विदेश जानलाई कोटा मिलाइदेउ, खानेपानी छैन गाउँमा योजनामा पारिदेउ, विजुली बत्तीका पोल गाउँभरि ठड्याइदेउ, गाउँघरमा बाटोघाटो छैन बनाइदेउ । नेताजी भित्रैदेखि आफैँसँग र्झकन थालेका थिए- यी सबै काम गर्नलाई म माननीय बनेको हो र !

नेताजी सोचिरहेका हुन्थे-उनी माननीय बनेको त आफू र आफ्ना सात पुस्ता सपार्नलाई पो त ! उनले गर्ने काम त कमिसन, ठेक्कापट्टा, भाषण, आश्वासन पो हुन् त ! हैन, के भएका उनका कार्यकर्ता पनि ! खाली गर्न नसकिने, गर्न नहुने जनविरोधी काम पो गराउन आउँछन् । कमिसन लिने, ठेक्कापट्टा, भाषणजस्ता काम गर्न छोडेर फेरि त्यही पुरातनवादी खानेपानी, सडक, रोजगारीजस्ता दलदलमा फँस्न पुगे भने उनले अर्को चुनाव कसरी जित्नु !!

तर आज नेताजी रिसाएका छैनन् । उनको हृदयमा कठोरता छैन । उनलाई भेट्न आउने कार्यकर्तासँग पनि नम्रतापूर्वक बोलिरहेका छन् । सञ्चो, बिसञ्चो, गाउँको हालखबर सोधिरहेका छन् । कार्यकर्ता र मतदाताहरूलाई उनीहरू आउनुको कारण सोधिरहेका छन् ।

कार्यकर्ताहरू फर्केपछि आज नेताजीले आनन्दले बिहानको खाजा पनि खाए । उनलाई आफ्नो जिन्दगी नै बद्लिन आँटेको हो कि जस्तो लाग्यो । उनी अपार खुसीको लिस्नो चढेर आनन्दको शिखरमा पुगिसकेका थिए ।

श्रीमती गोमा आएर आफ्ना नेता श्रीमान्का छेउमा बसिन् । हिजो बेलुकादेखि आफ्ना श्रीमान् अचाक्ली खुसी हुन थालेको घटनाले उनलाई पनि छोएको थियो । नेताजी दुई वर्ष अघिदेखि ठ्याम्मै खुसी हुन छोडेका थिए तर हिजो बेलुकी नेताजीको मोबाइलमा फोन आउनासाथ नेताजीले आफूसँग भएका उदासिनता, छट्पटी, पीडा र ग्लानि सबै एकैचोटि मिल्काएका थिए । उनका नयनमा खुसीका तरङ्गहरू फैलन थाले । ओठभरि मधुर मुस्कान सलबलाउन थाल्यो । नेताजी अचानक हाँस्न थाले । आफ्ना श्रीमान् हाँस्न थालेको देखेर श्रीमती गोमा पनि हाँस्न थालेकी थिइन् ।

नेताजी नजिकै बसेकी श्रीमती गोमाले सोधिन् ”हिजो बेलुकीदेखि हजुरको चेहरामा खुसीको रङ देखिन थालेको मलाई महसुस हुँदैछ । हजुरको अनुहारमा मैले उहिल्यैदेखि नैराश्यताका अक्षर मात्रै पढिरहेकी थिएँ । आफ्नो खुसी मलाई सेयर गर्नुहुन्न ? हजुरको खुसीमा मैले पनि त साथ दिने मौका पाउँ !”

श्रीमतीको सोधाइले नेताजीलाई झन् कुतकुती लाग्न थाल्यो । उनले श्रीमतीका गाला मायाले चिमोटे । एक छिन कपालको चुल्ठो खेलाए । एकपटक कसिलोसँग अँगालो मारे श्रीमतीलाई गोमाले लाज मानेझैँ गरेर चारैतिर हेरिन् बगैँचामा कोही पनि थिएनन् । त्यसैले उनी ढुक्क भइन् ।

“म पनि अब पक्का नेता भएँ । मलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा राखियो । सायद अब सरकारलाई पनि यही संयन्त्रले नियन्त्रण गर्नेछ । विदेशी कमिसन ठेक्का पट्टा पद मनोनयन यसै संयन्त्रले बाँडफाँड गर्नेछ । म अब ठूलै पावरफुल मन्त्री बन्न पनि सक्छु । नभए पनि कमिसन घूस ….आदि त कहाँ जाला ?” नेताजीले श्रीमती गोमासामु रहस्यको बिर्को खोले । नेताजीले सबै कुरा एकै सासमा भनी सिध्याए ।

उनले पुन थपेँ “भरे बेलुकी नै संयन्त्रको बैठक छ । मलाई खाना नबनाउन भन्नु केटालाई । भरे फिर्न पो कति बेर हुन्छ ।”

“विदेशी महँगा रक्सी त धेरै कडा हुन्छन् रे । धेरै नपिउनु होला नि ।” गोमाले नेता श्रीमान्लाई सम्झाउँदै भनिन् ।

“आ धेरै नसम्झाइ राख । बैठकमा पुगेपछि नै थाहा हुन्छ ।” नेताजीले खुइ्य गर्दै श्रीमतीको कुराप्रति दिक्दारी व्यक्त गरे । गोमाले पछुताएको जस्तो अनुहार पारिन् ।

बेलुकीको ४ः०० बज्नै अँाट्यो । नेताजी कपडा लगाइवरी संयन्त्रको बैठकमा जान तयार भए । आफूलाई अरू दिनभन्दा फरक देखाउन नेताजीले आफ्नो पहिरनमा विशेष ध्यान दिएका थिए । बाहिरी गेटसम्म पुर्‍याउन आएको श्रीमती गोमालाई बाइ ! गरेर नेता कुबेरप्रसाद हातमा ब्याग झुन्ड्याउँदै पर रोकिराखेको ट्याक्सितिर लम्के । गोमाले उनलाई निकैबेरसम्म हेरिरहिन् । नेताजी चढेको ट्याक्सीले मधुरो आवाजका साथ आफ्नो गति लिइसकेको थियो । गोमा फर्केर कम्पाउन्डभित्र प्रवेश गरिन् ।

नेताजी समयमै बैठक कक्षमा पुगे । अरू सदस्यहरू आइपुगेकै थिएनन् । कुबेरप्रसाद यस्तो संयन्त्रमा पहिलो पटक मनोनित भएकाले उनी छिटै पुगेका थिए । उनको निकैबेरको प्रतीक्षा पश्चात अरूअरू पनि आइपुगे । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भयो । बैठकमा अध्यक्षले सम्बोधन गरे र सबै सदस्यहरूलाई आ-आफ्ना आसनग्रहण गर्न आहृवान गरे । उनीहरूबीच छलफल भइरहेकै बेला आठ/दस जना मानिसहरू बैठक कक्षमा प्रवेश गरे अनि सबैको अगाडि टेबलमा विविध परिकारका खानेकुरा सजाउन थाले । दुई/तीन व्यक्तिहरूले सबैका अगाडि गिलास सजाए र विदेशी ब्रान्डका पेय पदार्थहरू सर्भ गर्न थालेका थिए । नेता कुबेरप्रसाद यी सबै कुरा मिहिनरूपमा अनौठोसँग नियालिरहेका थिए ।

यतिकैमा अध्यक्षले आ-आफ्ना इच्छाअनुसारको खानेकुरा लिन सदस्यहरूलाई आग्रह गरिसकेका थिए । सबैले आ-आफ्ना गिलास उठाएर ठोकाउँदै खुसी बाँडे र बैठकको विधिवत सुरूआत गरे । अनि अध्यक्षले कुटिल नेत्रले सबैलाई नियाले र सुस्तरी भन्न थाले, “साथी हो, १२ वटा देशमा राजदूतका पद रिक्त छन् । १६ वटा सार्वजनिक संस्थान महाप्रबन्धकविहीन छन् । १० वटा संस्थामा अध्यक्षको नियुक्ति गर्न बाँकी छ । २० वटा ठूल्ठूला परियोजनाहरूले टेन्डर आहृवान गरेका छन् । तिनमा पनि भाग मिलाउन बाँकी छ । सबभन्दा ठूलो कुरा त ११ वटा मन्त्रालय सचिवविहीन छन् । विवादरहित रूपमा सबै ठाउँमा भागबण्डा मिलाऊँ । हामीहरूबीचमै बिबाद भएमा मिडियाले खोतल्ने ठाउँ पाउँछ । यस्ता कुराहरू मिडियामा आउनु भनेको जनताको सामु हामीहरूको चरित्र नाङ्गिन्छ । त्यसैले आ-आफ्ना भनाइ राखौँ, नेताज्यूहरू !”

अध्यक्षका कुरा सुनेर सबै उज्ज्वल मुहारका साथ मुखामुख गर्न थाले । कोही केही बोली हालेनन् । नेता अध्यक्षको प्रस्तावको कसैले विरोध गरेनन् । मौन समर्थन गरे ।

बैठक कक्ष बाहिर भने महिनौंदेखि अल्भिmएको राजनीतिक गाँठो फुक्ला र समस्याको समाधान निस्केला भनेर विभिन्न पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू व्यग्र भएर पर्खिरहेका थिए ।

भित्र भने अध्यक्ष भनिरहेका थिए, ‘खै त, के थप्ने हो ! इच्छा मुताविक खाउँ, पिउँ है, साथी हो ! मेरो आयोजना कस्तो लाग्यो त यहाँहरूलाई ! अँ, अघि भनेका खाली ठाउँहरूमा पचास प्रतिशत भाग मेरो, बाँकी यहाँहरूको ! तपाईंहरू आपसमा मिलेर आउनोस् । एक साता भित्रै मिलाई हाल्नु पर्छ ।”

अध्यक्षका कुरा सकिने बित्तिकै नेता कुबेरप्रसादले कडा प्रतिवाद गरे, “अहँ, भएन । तपाईं एक्लैलाई ५० प्रतिशत अनि हामी सबैलाई चाहिँ जम्मा ५० प्रतिशत ! यो त अन्याय भो ! हामीलाई ७० प्रतिशत दिनोस्, बाँकी अध्यक्षज्यूलाई ।”

‘हो, हो । कुबेरप्रसादजीको भनाइ ठीकै हो । अध्यक्षलाई ३० हामीलाई ७० ।’ अर्का राजनीतिक दलका नेताले कुबेरप्रसादको कुरामा दृढ समर्थन जनाए ।

”अहँ, ५० प्रतिशत पद मलाई हुनै पर्छ । हैसियत अनुसार पो बाँडफाँड हुन्छ त । म पनि लारेलुरे मान्छे त होइन त, अध्यक्ष पो हुँ त !” अध्यक्षले अलिकता अहमता प्रकट गर्दर्ै भनेँ । सबैलाई भोज लागिसकेको थियो । सबैको बोली लरबराइरहेको थियो । अर्का दलका नेताले अध्यक्षतिर फर्केर भनेँ, ”अनि हामीचाहिँ चानचुने मान्छे हौँ र ! हामी पनि त आ-आफ्ना पार्टीका प्रतिनिधि नेता हौं । ७० प्रतिशत हामीलाई नभए कुनै कुरामा सहमति हुँदैन ।”

”तपाइर्ंहरूलाई मेरो कुरा मञ्जुर छैन भने यो विषय नै छोडौं अहिले ! तपाईंहरू बसेर ठण्डा दिमागले विचार गर्नोस् । पछि फेरि बसेर मिलाउँला ।” अध्यक्षले कुरा टुङ्ग्याए ।

नेताजीहरू खानपिनमा यति व्यस्त थिए कि कसैलाई पनि बोल्ने फुर्सद नै थिएन । सबै आ-आफ्नो सुरमा मस्त थिए । पछि भोज सकेर नेताहरू पालै पालो बैठक कक्षबाट बाहिरिए ।

भोलिपल्टका अखबारहरूमा उच्चस्तरीय संयन्त्रको बैठक फेरि विना निष्कर्ष टुङ्गिएको खबर प्रमुख समाचारका रूपमा पहिलो पानामै छापिएको थियो ।

नेता कुबेरप्रसादले पत्रिका सर्सर्ती पल्टाउन थालेँ । पत्रिकामा छापिएको समाचारले उनको अनुहारमा कुनै पनि प्रकारको प्रतिक्रिया उमारेको थिएन ।

– कर्मैया, सर्लाही

(श्रोत :- मधुपर्क, चैत २०६७ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.