कथा : ऊभित्रको मान्छे

~पुरुषोत्तम बस्नेत~

केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

दक्षिण-पश्चिम सीमा नजिकैको जङ्गलभित्र शत्रुका सेनाहरू घुसिसकेका छन् । उनीहरू

त्यो जङ्गलको भित्रभित्रै विस्तारै अगाडि बढिरहेका छन् । तिनीहरूलाई त्यहाँबाट लखेटेर हाम्रो अन्तिम सीमामा पुगेर हामीले बस्नुपर्छ । होइन भने पनि, उनीहरूलाई त्यो ठाउँबाट अगाडि बढ्न कुनै हालतमा पनि दिनु हुन्न । सबैले सतर्क भएर, निडरताका साथ अगाडि बढ्नुपर्छ । पछाडि सानो झोला र हातमा राइफल लिएर तयार भइसकेपछि, कमान्डरले ती सबैलाई यही आदेश दिएको थियो ।

सबै सैनिकहरू त्यहाँबाट हिँड्नै लाग्दा, बि्रगेडियरले फेरि भनेका थिए- देशले सैनिकहरूलाई खान-लाउन दिएर, तलब दिएर, तालिम दिएर तयार पारेको यस्तै समयका लागि हो । यो समय पाउन प्रत्येक सैनिकका लागि खुसीको कुरा हो । लडाईं लड्ने अवसर प्रत्येक सैनिकको निमित्त आफ्नो क्षमता र बहादुरी देखाउने अवसर हो । लडाईंले मात्र सैनिकहरूलाई आफ्नो क्षमता देखाउने मौका दिन्छ । आज त्यो मौका तिमीहरू सबैले पाएका छौ । तिमीहरू सबैले बहादुरीका साथ यो काम पूरा गर्नुपर्दछ ।

सबै सैनिकहरू शत्रुपक्षको आगमन र सम्भाव्य आक्रमणका प्रति सजग हुँदै अगाडि गइरहेका थिए । उनीहरू दक्षिण-पश्चिमपट्टकिो अनकण्टार जङ्गलतिर सतर्कसाथ बढिरहेका थिए । कुन बेला आफ्नो अगाडि वा पछाडि वा दायाँ, बायाँ कतातिरबाट शत्रुपक्षका सिपाहीहरूले गोली चलाउने हुन्, कतिबेला मुठभेड हुने हो, उनीहरू सबैको सम्पूर्ण सोचाइ केवल यसमा, यसमा मात्र केन्दि्रत थियो । यसबाहेक अरू सोच्ने अलिकति पनि फुर्सद उनीहरूसित थिएन ।

उसले पनि यसबाहेक अरू केही सोचेको थिएन । केवल यही सोचाइमा, सतर्कतका साथ ऊ गइरहेको थियो । उसको बटालियनका अरू पनि सबै गइरहेका थिए । अहिले यसरी ऊ गएको निकैबेर भइसकेको थियो तर कतिबेर भयो, ऊ कहाँ पुग्यो, उसलाई केही थाहा थिएन । उसलाई थकाइ लागेको, भोक लागेको, तिर्खा लागेको पनि थाहा थिएन । फगत ऊ एउटा सिपाही । मर्न पनि तयार, मार्न पनि तयार । केवल यही दुई विन्दुमा टेकेर हिँडेको सिपाही । सिमाना वरसम्म घुसिसकेका शत्रुपक्षसित लड्न, उनीहरूलाई परास्त गर्न ऊ गइरहेको थियो । उसको अगाडि को गइरहेको छ, पछाडि को आइरहेको छ, त्यसलाई उसले बिर्सिसकेको थियो ।

एकाएक गोली चलेको उसले सुन्यो । त्यसले उसलाई सतर्क पार्‍यो । अनायास उसका खुट्टाहरू एकछिन रोकिए । उसले थाहा पायो, ऊ एक्लै छ । उसका साथीहरू कहाँ छन् ? उसलाई केही थाहा छैन । उसले पनि गोली चलायो । गोली दुवैतिरबाट चल्न थाल्यो । मुठभेड भइरहेछ, उसले थाहा पायो । गोली चलेको ठाउँ निकै नजिकै जस्तो पनि, केही टाढाजस्तो पनि उसलाई लाग्यो । गोलीको आवाज निकै जोडतोडका साथ आइरहेको थियो । अब एउटा लडाईं प्रारम्भ भइसकेको छ । ऊभित्र रहेको सिपाहीको अन्तष्करणले अनुभूत गर्‍यो ।

उसले त्यसै ठाउँमा उभिइरहने कि, अगाडि जाने वा पछाडि वा दायाँ-बायाँ, यीमध्ये एउटा निर्णय लिन ऊ एकछिन अन्यमनस्क पर्खिरहृयो तर युद्धभूमिमा सिपाही यसरी ठिङ्ग पर्खिरहनु हुँदैन । ऊ अघि बढ्यो । गोलीको आवाज अझ नजिकै नजिकै आयो । उसले त्यसबेला थाहा पायो- ऊसँगै हिँडेका अरू सबै साथीहरू या त अगाडि गइसके र त्यो दोहोरो मुठभेडमा अन्धाधु्न्ध गोली चलाइरहेका छन्, या त उनीहरू पछाडि नै छुटे, या दायाँ, बायाँ कतै…. । यही अगाडि, पछाडि वा दायाँ, बायाँ……। त्यसले केही क्षण उसलाई अलमलमा पार्‍यो ।

उसले राम्ररी थाहा पायो- ऊ अनकण्टार जङ्गलभित्र छ । त्यो जङ्गलभित्र एउटा सानो रुखजस्तै ऊ एउटा ठूलो रुखको आड लागेर उभिरहेको छ । अनवरतरूपमा उसको अगाडि, पछाडि दुवैतिरबाट चलेको गोलीको आवाजलाई ऊ सुनिरहेको छ । यो कुन ठाउँ हो, ऊ कहाँनिर आइपुग्यो ? उसलाई केही थाहा छैन । उसले टाउको तन्काएर त्यो बाक्लो जङ्गललाई छिचोलेर परपरसम्म हेर्न खोज्यो । उसले केही देख्न सकेन तर पनि उसले हेर्ने कोसिस गरिरहृयो । त्यही बेला उसको दायाँ र बायाँतिर पनि त्यसरी नै गोली चल्न थाल्यो । अब उसले कता जाने ? अगाडि, पछाडि वा दायाँ, बायाँ कतातिर ? यो प्रश्न फेरि उसको अगाडि उभिइरहृयो ।

उसको निकै नजिकै गोलीको आवाज आउन थालेपछि उसले यी सबै कुरा बिस्र्यो । उसका पाइला अनायास अगाडि, अझ अगाडि बढ्दै गए । नजिकै आइरहेको गोलीको आवाज, त्यसबाट आएको बारुदको गन्धले उसले आफूले आफैँलाई लखेट्दै गयो ।

निकैबेरपछि उसले थाहा पायो, अब गोलीको आवाज कतै पनि छैन । बारुदको गन्ध पनि कतै छैन, ऊ एकछिन उभियो । उसले आफू उभिएको ठाउँलाई नियाल्यो । उसको अगाडि-पछाडि दायाँ र बायाँ सबैतिर अग्लाअग्ला रुखहरू थिए । ती सबैलाई लहराले बेरेर एउटा दुर्भेद्य किल्लाजस्तो पारेका थिए । सबैतिर जङ्गलै जङ्गल, साना-ठूला अनगिन्ती रुखविरुवा, पोथ्रा, झाडी । रातको शून्यतामा खुट्टा यताउति चलाउँदा, उसकै बुटले कुल्चेर आएको आवाजबाहेक सबैतिर शान्ति, सबैतिर निष्पट्ट ।

ऊ बिहानै हिँडेको, लडाईंमा होमिन हिँडेको । लडाईंले लखेटिरहृयो । ऊ कहाँकहाँ पुग्यो ? कसरी यहाँसम्म एक्लै आइपुग्यो । उसलाई त्यसको धुमिल सम्झना मात्र छ । अगाडि, अझै अगाडि जानुपर्छ । यसैमा ऊ अगाडि गइरहृयो । अहिले यसलाई एकैचोटि थकाइ, भोक र तिर्खा सबैले लखतरान पारेको अनुभव भयो । उसले तुम्लेट झिक्यो । त्योभरि पानी थियो । दिनभरिको लडाईंमा होमिएर उभित्रै थाहा नपाई त्यसै रहेको तिर्खा, अहिले तीव्र भएर आइरहेको उसले महसुस गर्‍यो । तुम्लेट आधा रित्याएपछि उसले सम्झ्यो- उसले तुम्लेटमा फेरि पानी भर्न सक्तैन । त्यहाँ कतै पनि पानी छैन । त्यसैले तुम्लेटमा भए जति सबै पानी सिध्याउन हुन्न । उसले आफ्नो तीव्र तिर्खालाई तृप्तिमा नपुर्‍याई बीचमा नै रोक्यो ।

बाक्लो जङ्गलको कापमा अँध्यारो अझ गाढा हुँदै थियो । रात पर्न लागेको उसले थाहा पायो । केही टाढा सुनिएको जङ्गली जनावरको आवाज उसको नजिकै आउन थाल्यो । जङ्गलमा यसरी एक्लै हुनु कति खतरा हुन्छ, जङ्गली जनावरको त्यो आवाज अझ चर्को हुन थालेपछि उसले महसुस गर्‍यो । ऊ सतर्क भयो । आवाज अझ चर्को भएर अझ नजिक-नजिक आइरहृयो । त्यो कुनै हिंस्रक जनावरको भोको आवाज हो । उसले अब उचित सावधानी लिन नसके, त्यो हिंस्रक जनावरले उसलाई अवश्य आफ्नो आहारा बनाउन सक्छ । यसले ऊ त्रस्त हुँदै गयो ।

त्यो आवाज सिंहकै हो । उसले अन्दाज गर्‍यो । उसको हातको राइफलले त्यो सिंहको आक्रमणबाट उसलाई बचाउन सक्छ ? घाइते सिंह झन् खतरनाक हुन्छ भन्ने कताकता सुनेको थियो उसले । सिंह एक्लै हुँदैन, उसको बथान हुन्छ । त्यो पनि उसले सम्झ्यो । आवाज नजिकै नजिकै आइरहेजस्तो लाग्यो उसलाई । उसले सोच्यो, ऊसित रहेको राइफल जुनसुकै शत्रुसित पनि प्रतिकार गर्नका लागि हो । जे होस्, नजिकै आयो भने हिंस्रक सिंहको पनि उसले प्रतिकार अवश्य गर्नैर्पर्छ ।

एक छिनपछि जनावरको आवाज रोकियो तर उसलाई त्यसले झन् त्रस्त पार्‍यो । शिकारको आभास पाएपछि, हिंस्रक जनावरले आवाज रोकेर, लुक्दै-छिप्दै सतर्कतापूर्वक नजिकै आएर एकैचोटि आक्रमण गर्छ भन्ने पनि उसले सुनेको थियो । सिंह त्यसैगरी अहिले कतैबाट सायद उसको नजिक नजिक आइरहेको हुनसक्छ र त्यसले केही छिनमै एकैचोटि झम्टेर उसलाई क्षतविक्षत् पार्न सक्छ । उसको हातको राइफल त्यसबेला ऊ चलाउन पनि भ्याउने छैन । उसलाई अहिले आफू नितान्त असुरक्षित, मृत्युको आमुन्नेसामुन्ने उभिएजस्तो लाग्यो ।

उसले सोच्यो, हिंस्रक जनावरले मारेर उसका अङ्गप्रत्यङ्गहरू सबै चपाइचपाई खाने छ । भोलि उज्यालो हुँदा वा कुनै दिन उसका साथीहरूले उसको लाशको अवशेष भेटे भने……। उनीहरूले उसलाई शत्रुपक्षबाट भागेर हिंस्रक जनावरको मुखमा परेको एक काँतर सिपाहीको रूपमा हेर्ने छन् । सिंहको आक्रमणबाट भन्दा शत्रुको गोलीबाट मर्न पाएको भए….. ।

अहिले उसको नजिकैबाट लुकेर आइरहेको सिंह नभएर दिउँसो अन्धाधुन्ध गोली चलाउने शत्रु त्यसरी आएको भए ऊ कति खुसी हुने थियो । कमसेकम उनीहरूले उसलाई चपाइचपाई खाने थिएनन् । गोली हानेर मार्ने थिए ।

अनायास उसले उसका साथीहरूले केही पहिले पक्रेर लगेको तीन जना शत्रुपक्षका सिपाहीहरूलाई सम्झ्यो कडा निगरानीमा उनीहरूलाई उसको ब्यारेकमा राखिएको थियो । अनि उसले सम्झ्यो -पाँच-सात दिन पहिले गस्तीमा आउँदा, नजिकैबाट शत्रुपक्षले धूवाँधार गोली चलाउँदा उसकै अघिल्तिर ७३ नम्बरको उसको साथीको छातीबाट पसेको गोली उसको पछाडिबाट निस्केको थियो । त्यो साथी तत्काल घोप्टो परेर लडेको थियो । आफू भाग्दाभाग्दै उसले त्यो साथीको ढाडबाट भलभल रातो रगत निस्किरहेको देखेको थियो । केही पर पुगेपछि उसको दायाँतिर उसको नजिकैको अर्को साथीलाई पनि गोली लागेको थियो । त्यस दिन अरू पनि चार-पाँच जना उसका साथीहरू मारिएका थिए । उसले सम्झ्यो- ती सबै शत्रुपक्षबाट, केवल शत्रु भएका कारणले मारिएका थिए । आहाराको निमित्त मारिएका थिएनन् ।

अहिले ऊ उसको छेवैको झाडीबाट लुक्दैलुक्दै आइरहेको सिंहले कतिबेला उसलाई झम्टने हो, प्रत्येक पल, प्रत्येक क्षण त्यसैप्रति सजग भएर, एउटा ठूलो रुखको आड लागेर उभिइरहेको थियो । यदाकदा निद्राले उसको टाउको निहुरिन खोज्थ्यो तर त्यो सिंह उसको नजिक

आइरहेको आभासले ऊ फेरि सतर्क भएर उभिन्थ्यो । यसरी उभिइरहनुपर्दा अनेकपटक उसलाई लागेको थियो-हिंस्रक जनावरको घेरामा मृत्युलाई पर्खेर यसरी उभिनुभन्दा मान्छेको घेराभित्र, शत्रुपक्षको भए पनि, मान्छेको घेराभित्र उभिँदा यति धेरै सतर्क हुनुपर्ने थिएन, यति धेरै त्रसित हुनुपर्ने थिएन । मान्छे जनावरले जस्तो लुकेर झम्टँदैन । मान्छेसित आत्मसमर्पण गर्न सकिन्छ । उसले मार्दा शत्रुपक्षको सिपाहीबाहेक अरू कुनै कुरा त्यससित जोडिएको हुँदैन । जनावरसित उसको आहारा, कति दिनको भोक र जसरी पनि मार्नैपर्ने ऊभित्रको क्रूर पशुत्व जोडिएको हुन्छ । त्यसैले रातभरि उसले शत्रुपक्षको सेना तुरुन्त उसको छेउमा आइपुगोस् भन्ने कामना गरिरहृयो ।

बिहान भइसकेपछि पनि बाक्लो जङ्गलले ढाकिएकोले ऊ उभिएको ठाउँमा उज्यालो राम्रोसित आइसकेको थिएन । उसले नजिकै मान्छेहरू चलमलाइरहेको देख्यो । ती मान्छे शत्रुपक्षका सेना……। उसले फायरिङ सुरु गर्‍यो । केही बेरसम्म उसले अन्धाधुन्ध फायरिङ गरिरहृयो । उसको राइफलको नाल केही तातो भएपछि मात्र उसले थाहा पायो, त्यसरी चलमलाउने मान्छेहरू थिएनन् । सानासाना झाडीलाई हावाले हल्लाएको थियो ।

रातभरि उसलाई झम्टिन नजिकैको झाडीबाट आउने सिंहको त्रासबाट ऊ मुक्त भइसकेको थियो । रातभरि हिंस्रक जनावरबाट त्रस्त भएर उसले शत्रु पक्षको भए पनि मान्छेको नजिक हुने उत्कट कामना गरिरहेको थियो तर बिहान चलमलाउने मान्छे हो भन्ने बित्तिकै ऊ किन त्यसरी आक्रामक भएर मान्छेमाथि गोली चलायो ? के मान्छे सङ्कटकालमा शत्रु भए पनि मान्छेलाई नै खोज्छ ? तर जब मान्छे मान्छेको नजिकै हुन्छ, अनि त्यही मान्छेप्रति किन आक्रामक हुन्छ ? अनायास आक्रामक हुन पुगेको ऊभित्रको मान्छेलाई ऊ सम्भिmरहन्छ र त्यससित सोध्छ- किन ऊ एकाएक आक्रामक हुन पुग्यो हँ ?

(श्रोत :- मधुपर्क जेठ, २०६८ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.