कथा : उपहार

~कृष्ण कुसुम~Krishna Kusum

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा !

खै ! कहिलेबाट लुकाएछु आफ्नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी ।

त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना केटी साथीहरूको समूहमा बस्न पाउँदाको मजा नै बेग्लै हुन्थ्यो । स्वभाव भिन्नभिन्न भएका त्यतिका साथीहरू एउटै परिवार झैं बस्दा त्यस्तै फरक अनुभव पनि त हुँदोरहेछ नि । ती साथीहरूको सानिध्यमा पनि म आफूलाई चाहिँ अलि भिन्न बनाउने स्वभावको थिएँ । प्रायः साथीहरू इमेलका, च्याटका आ-आफ्ना ब्वाइफ्रैण्डका फिल्मी कुराहरू गर्दै व्यस्त रहन्थे पढाइ र ड्युटीबाट फुर्सद भएको समयमा । म ठान्थेंँ यी प्रेमस्रेम सब वाइयात हुन् । हुन पनि त्यस्तै छ भन्या आजकालका केटाकेटीहरूको पारा देखाउनको लागि भने पनि ब्वाइफ्रैण्ड र गलफ्रैण्ड बनाउनै पर्ने रे । केटीहरू आफ्नो ब्वाइफ्रैण्ड छैन भन्नुपर्दा आफूलाई दुःखी बनाउँछन् र लाज मान्छन् मानांै कि ऊ नराम्री छे त्यसैले उसको ब्वाइफ्रैण्ड छैन । त्यसैले आफूलाई राम्री र पर्फ]{ट युवती देखाउनको लागि पनि उसले ब्वाइफ्रैण्डको चाहना गर्छे । केटाहरूको त के कुरा झन् मोबाइल, बाइक र गलफ्रैण्ड नहुनेलाई त कसैले गन्दैनन् रे । यी सबका कारण पनि मलाई प्रेम शब्दसँग नै वितृष्णा थियो । साथीहरू सधंैँंजसो आफ्ना ब्वाइफ्रैण्डहरूसँगका एसएमएसहरू देखाउँथे र आफ्ना प्रेम काहानी सुनाउँदै भन्थे- ”तँ त पार्वतीको जुगमा छेस् यार कुनै सुन्दर पतिको कामना गर्दै बस्ने मात्र, त्यस्तो सोझो भएर चल्दैन अब, यो त २१ औँ शताब्दी हो त्यसमा नि कलियुगको । त्यसैले केटी समयअनुसार चल्न सिक ।”

मलाई यी सबै अर्ति-उपदेशको कुनै परवाह नै हुँदैन थियो । म लगभग एक्ली नै हुन्थेँ यो मामिलामा र हिँडिदिन्थेँ अन्त कतै त्यहाँ बसेर बाझाबाझ गर्नु साटो ।

सौरभसँग भेट भएको दुई वर्ष पनि भएको छैन । म आफ्नो नर्सिङ कोर्षको अन्तिमतिर अध्ययनरत थिएँ उसलाई भेट्दा । उसँगको भेट अलि फरक थियो- एक नर्स र बिरामी कुरुवाको रूपमा । अध्ययनकै सिलसिलामा हामीले अस्पतालको सबै प्रकारका ड्युटीहरू गर्नुपर्थ्यो नाइट, इभिनिङ र मर्निङ सिफ्ट हुन्थे ड्युटीका । त्यसदिन मेरो नाइट ड्युटी थियो । रातभर जागा बसेर बिरामीको स्याहार गर्नुपथ्यो । कहिलेकाहीँ बिरामी कम भएको बेला त यसो सिनियर दिदीहरूको आँखा छलेर एक/दुई घण्टा आँखाको विष मार्न पाइन्थ्यो त कहिले पूरै रात अनिदो नै बित्थ्यो । त्यो दिन पनि बिरामीहरूको सङ्ख्या बढी नै भएकोले म रातैभरि जाग्राम रहनुपर्ने भयो । बिरामी कुरुवाहरू पालैसँग क्रमशः भुसुभुसु निदाउन थाले । त्यो वार्डको कुनामा रहेको बिरामीको कुरुवाको रूपमा आएको सौरभ भने बिरामीको छेउमा रहेको टेबुलमा बसेर कुनै पुस्तक अध्ययन गरिरहेको थियो । सायद त्यतिबेला लगभग रातको १२ बजेको हुँदो हो म बिरामीलाई औषधि दिन राउण्डमा गएको थिएँ । त्यतिबेला नै पहिलोपटक बोलेकी थिएँ उसँग । ऊ आफ्नी आमालाई उपचार गराउन आएको थियो मैले काम गर्ने टिचिङ अस्पतालमा ।

त्यो रात सामान्य चिनाजानी मात्र भयो । उसकी आमालाई एक महिनाका लागि त्यही अस्पतालमा राख्नुपर्ने भयो । अब भने ड्युटी गर्ने क्रममा उसँग मेरो भेट नियमित नै हुन थाल्यो । सुरुका दुई/चार दिन त ‘हाइ हेलो मा सीमित भएँ, जब हामी अलि बढी नै परिचित भयौँ, खाली समयमा सँगै बसेर कुरा गर्न थाल्यौँ । त्यत्तिबेला उसले जीवनप्रति गरेका तर्कहरूले त म पूरै प्रभावित भएकी थिएँ उसँग । उसका हरेक कुराहरूमा म आफ्नो सोच र भावनाको मेल पाउँथे । ऊ बाहिर देख्नमा जति सरल थियो, त्यत्ति नै वैचारिक चतुर र परिपक्व थियो, उसले समाजका हरेक कुरीतिलाई बुझेको अनि जीवन बुझ्ने बेग्लै दृष्टिकोण बनाएको थियो । हरेक कुरामा समान चासो र जानकारी राख्नुुपर्छ भन्ने मान्यताको ऊ कुनै पनि विद्यामा अनभिज्ञ थिएन, सङ्गीत र साहित्यको त झन् पारखी नै रहेछ । त्यो त उसको भावुक र कोमल व्यवहारले पनि प्रष्ट्याउँथ्यो । उसको वक्तृत्वकलाको त म नजानिँदो पाराले डाहा नै गर्दथेँ । उसले बहस गर्न थालेपछि लाग्थ्यो कि ऊ कुनै राजनीतिक दलको शीर्षस्थ नेता नै हो । जीवन के हो ? बाँचुञ्जेलको मोज त हो नि भन्दै बाबुको सम्पतीमा मोज गरेर बाँच्ने जेनेरेसनको भए पनि गीता, रामायण, महाभारतजस्ता धार्मिक एवं सबै प्रकारका राजनीतिक र ऐतिहासिकलगायतका पुस्तकको अध्ययनबाट खारिएको सौरभलाई जो कसैले पनि अलिअलि चिन्नासाथै तारिफ गर्दथे ।

उसलाई मेरा अरू साथीहरूले पनि चिन्दथे तर सामान्यरूपमा उनीहरूलाई सौरभलाई बुझ्ने फुर्सद नै थिएन किनकि ती सबै दिन हाम्रा लागि हुन्, उमेरमा मोज गर्नुपर्छ भन्ने सोचका हुन्थे र फुर्सद हुनासाथ कि त सपिङमा ब्यस्त वा फिल्म हेर्न वा इमेल गर्नमा नै व्यस्त हुन्थे । मेरी एकदमै मिल्ने साथी जो मेरी रुम पार्टनर पनि थिई स्नेहा, उसलाई भने मैले बताएकी थिएँ । सौरभको बारेमा । त्यसैले केही हदसम्म बुझेकी थिई । म सौरभसँगको सङ्गतमा एकदमै नजिक हुन थालेछु मानौँ कि ऊ मेरो धैरै पुरानो साथी हो । ऊ पनि मसँग त्यति नै खुल्दथ्यो, जति म चाहन्थेँ । मेरी साथी स्नेहा पनि नजिकिँदै थिई सौरभसँग तर मभन्दा कम । कहिलेकाहीँ होस्टेलमा कुनै केटाको प्रशंसा गर्नुपर्दा म उसैको नाम लिन्थेँ । त्यतिबेला भने मेरा साथीहरू जिस्काइहाल्थे । ”लौ है हाम्री मैयालाई मोहनी लगाउने तन्नेरी भेटियो, देख्यौ त मैया माया भन्ने कस्तो हुँदो रै छ ?”

एक महिनाको बसाइको क्रममा हामीले आ-आफ्ना रोजाइका कुराहरू आदान-प्रदान गर्‍यौँ । म उसको खुबीको खुलेरै प्रशंसा गर्दथेँ । ऊ हामीले गरेको सेवाको गुनगान गाउँथ्यो । मलाई त त्यो बीचमा ‘आधुनिक नाइटिङ्गेल’ भन्ने उपनाम नै दिएको थियो र बोलाउन पर्दार् नाइटिङ्गेल नै भनेर बोलाउँथ्यो । जब एक महिनाको उपचार सकेर उसकी आमालाई अस्पतालले डिस्चार्ज दियो तब ऊ हाम्रा बीच रहने कुरै भएन । ऊ जाने बेलामा मेरा सबै साथीहरूसँग भेट गरेर एक महिनासम्म उसलाई गरेको सहयोगको प्रशंसा गदैं धन्यवाद दिँदै बेलाबेलामा भेट्न आउने वाचा गर्‍यो र अन्तिममा- ”म तपाईंको सहयोगको ऋणी छु, मलाई यो एक महिनामा मानसिक रूपमा नि सपोर्ट गरेर ठूलो गुन लाउनुभयो, कुनै दिन मैले सकेको सहयोग गर्न पाएँ भने धन्य हुने थिएँ ।” भन्दै आफ्नो मोबाइल नम्बर दियो र मेरो पनि लिएर गयो । मलाई भने अब अस्पताल नै शून्य लाग्न थाल्यो, उसकी आमालाई सुताएको बेड नजिकै जान्थेँ सौरभ छ कि कतै कुनै किताब पढ्दै गरेकोझैँ लाग्थ्यो तर खाली खाली पाउँदा निराशा जाग्थ्यो मनभित्र अनि पो बल्ल चाल पाएँ मैले आफ्नो हृदयमा बास दिइसकेकी रहेँछु उसलाई आफैँले थाहा नपाउने गरी !

त्यसपछिका दिनहरूमा सौरभको उपस्थितिको महìव बढ्न थाल्यो । नियमितजसो फोन र एसएमएसहरू चल्न थाले । समयसमयमा कि त ऊ आफैँ भेट्न आउँथ्यो कि त हामी -म र स्नेहा) उसलाई भेट्न जान्थ्यौँ । हामी यति नजिक भएपछि मलाई औपचारिकतामै सीमित हुन मन लागेन र भनेँ- ”कति औपचारिक बन्नु सौरभ मलाई त कस्तो असहज लाग्छ यो औपचारिकतामा !”

ठीकै छ अनौपचारिक नै बनुँला तर के गर्नुपर्छ अनौपचारिक हुन ? ऊ अलि जिस्काउने पाराले प्रश्न गर्दथ्यो मसँग । यति नजिक भएर पनि किन तपाईं भनेको ? तिमी भनेर सम्बोधन गर न ! मलाई त तपाइँ भन्दा कस्तो टाढाको जस्तो अनुभूति हुन्छ ।

हुन्छ तिम्रै मर्जी तिमीले भनेको के कुरा काट्न सक्छु र म ? ऊ मेरा हर कुराहरूलाई सहजरूपमा स्वीकार्थ्यो । म दङ्ग पर्दथंँे, मलाई मीठो अनुभूति हुन थाल्यो प्रेमको । हरेक दिन हरेक पल उसँग नै बिताउन मन लाग्थ्यो तर असम्भव ! दिनमा सँगै बस्न नपाए पनि राति सपनीमा भने सधैँ सँगै पाउन थालेँ यसो हँुदा ममा अर्कै स्फूर्ति देखिन्थ्यो । जसले गर्दा मेरा साथीहरू छक्क पर्थें ममा आएको परिवर्तन देखेर । एक्लै हुँदा पनि उसैले बोलाएको भान हुन्थ्यो अनि यताउता हेर्दा अरू कोही नपाएपछि खिन्न हुन्थेँ म । कहिले त सौरभसँग रिस उठ्थ्यो । मलाई ग्वाम्लाङ्ग अङ्गालोमा कसेर मायाप्रीतिका कुरा गरोस् जस्तो लाग्थ्यो ।

सौरभको बारेमा कुरा आदानप्रदान गर्ने साथी त्यही स्नेहा हो मेरी, ऊ पनि मख्ख परेर सुन्थी मैले सौरभको बारेमा गरेका प्रशंसाहरू । सौरभ, म र स्नेहा हामी तीनै जना सँगै भएको बेला उनीहरू आपसमा लजाएको भान हुन्थ्यो मलाई । आखिर अप्ठ्यारो त लागिहाल्छ नि स्नेहालाई उसलाई थाहा छ म सौरभलाई प्रेम गर्छु भन्ने । अर्काको युगल जोडीमा मिसिएर हलुवामा बालुवा हुँदा अनि आफ्नी प्रेमीकासँग मात्र मायाप्रीति साट्नु साटो अर्की साथी पनि साथ भएकोले लजाएको हुनुपर्छ सौरभ । म भए पनि त त्यस्तो हुँदो हो नि मलाई ! यस्तै हुन्थे मेरा सोचाइहरू ।

सौरभको जन्मदिन आउनै लागेको थियो । उसको जन्मदिनको दुई दिन अघिको रातमा देखेको सपनाले मेरो मनमा हलचल पैदा गर्‍यो । सपनीमा मेरा बाबा मलाई सम्झाउँदै हुनुहुँदोरहेछ- ”छोरी तिमीलाई हामीले गर्नसक्ने आधारभूत कुराहरू गरिदियौँ, अब तिमी एक सक्षम नर्स भइसक्यौ यहाँभन्दा बढी अरू गर्न सकिएला जस्तो छैन अब तिम्रो विवाह गर्नुपर्छ एक राम्रो घरबाट कुरा आएको छ तिम्रो सहमति चाहिएको छ विचार गर ।”

म झल्यास्स ब्यूझेँ । ब्यूझँदा निथुक््रक पसिनाले भिजेकी पाएँ आफूलाई । मनमा साह्रै डर बढ्यो । एकपटक सौरभलाई सम्झेँ- ‘साँच्चै यस्तै भयो भने ? अब मौन बसेर हँुदैन समयमै सौरभलाई आफ्ना प्रेमका बारेमा बताउनुपर्छ र विवाहबारे पनि सम्झाउनु पर्ला भन्ने सोचेँ त्यसका लागि उपयुक्त दिन उसको जन्मदिन कुरिबसेँ ।’

सौरभको जन्मदिनमा बिहानै उठेँ र जन्मदिनको शुभकामनासँगै आफ्ना त्यही कुरा गर्न फोन गरेँ- ”सौरभ जन्मदिनको शुभकामना तिमीलाई । म आज संसारभरको खुसी तिम्रो पोल्टामा राखिदिन चाहन्छु तिम्रो जन्मदिनको उपलक्ष्यमा, यही दिनको पर्खाइमा थिएँ म आफ्ना तर्फबाट तिमीलाई खुसी दिन, भन के चाहन्छौ मबाट त्यस्तो उपहार आज तिमी ?”

ऊ उताबाट बोल्दै थियो- ”म पनि त्यसको बारे तिमीसँग कुरा गर्ने अवसरको खोजीमा थिएँ, साँच्चै मैले मागेको खुसी दिन सक्छ्यौ भने विनिता ! मलाई तिम्री साथी स्नेहाको साथ मिलाइदेऊ !

फोनको रिसिभर त कानैमा थियो तर त्यसपछि उसले बोलेका कुनै पनि शब्द मैले सुनिनँ ।

-नुवाकोट

(श्रोत :- मधुपर्क २०६६ असार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.