~शिव सस्मित~
गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी ।
ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी ।
यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी ।
यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई ।
कुरो झिकेर रमाबाट सबै गुह्य कुरा दुहुने मनसायले होला सायद कान्छी प्याच्च बोली- ूरत्यौली त मज्जासँग खेल्न पाइने भो यसपाला । यो गाउँको यसवर्षको पहिलो बिहे ।
कसको रत्यौली नै आच्या…। अनभिज्ञता प्रकट गर्दै रमाले भनी ।
हेर न त्यहाँ स्वाङ पारेकी । बडो हामीलाई लुकाउन खोज्ने हो र कि खुसुक्कै दुलही भित्र्याउने सुर छ कि क्या हो रमा देवरको । यतिाजेल चुप भएकी भुन्टी कुरोको चुरो फेला पर्न थालेपछि खूब टाँठी भई ।
रमा आश्चर्यमा परी । पर्नु पनि स्वाभाविकै थियो । हिजो बेलुका मात्र केटीको घरबाट टीकाटाला गरेर फर्किएका हुन् उसका देवर र लोग्ने । उनीहरु केटी माग्न गएको पनि कसैलाई पत्तै थिएन । बिहेको कुरो न हो भुसको आगोझैं फैलन्छ । हुन त एकदिन थाहा हुनुपर्ने कुरो हो तर पनि थोरै वास्तविकतामा धेरै अस्वाभाविक कुराहरु थपेर कानकान फुक्दै हिँड्छन् मान्छेहरु ।
हो हो हिजो बेलुका मात्र बिहे आँटेर आए चौबिस गतेलाई । कसले भन्याहोला यिनीहरुलाई । घरमा थाहा नहुँदै गाउँलेलाई पत्तो । यस्तो पनि हुने । रमालाई वास्तविक कुरो खोल्न करै लाग्यो । त्यसबेलासम्म पँधेरामा सात, आठजना आइमाइहरु जम्मा भइसकेका थिए । रमाको कुरो सुनेर सबै हाँसे । आआफ्ना गाग्री भरेर सबै घरतिर लागे ।
गाउँघरका महिलाहरुलाई त्यति फुस्रद हुँदैन । बिहान उठेदेखि बेलुकी सुत्नेबेलासम्म उनीहरु काममै व्यस्त हुन्छन् । खेतीपाती गोठधन्दा आदि गाउँलेहरुका जिउने साधनहरु हुन् । हाम्रो समाजमा व्यवस्था जति परिवर्तन हुन्छ तर अवस्था भने जहाँको तहीं रहन्छ । पुरुषको तुलनामा महिलाहरु नै काममा बढी जोतिन्छन् । उनीहरुलाई न कसैसँग बोल्ने फुस्रद हुन्छ न त कसैसँग भेटघाट गर्न नै । त्यसैले त महिलाहरुको महत्वपूर्ण कुराहरु गर्ने ठाउँ नै बनेको हुन्छ पँधेरो । एकाबिहानै पँधेरामा महिलाहरुको जमघट हुन्छ । किनभने घरको कामधन्दाको सुरुवात नै उनीहरुबाट हुनेगर्छ । त्यसैले त आज गगनेको बिवाहको कुरो त्यही पँधेराबाट चारदिशा फैलियो ।
बिबाह हुने नै भयो गगनेको । धुमधामसँगै हुने भयो । बाजा बजाएरै हुने भयो । जन्त जान पाइने भो भनेर गाउँका लोग्नेमान्छेहरु हौसिएका छन् रत्यौली खेल्न पाइने भो भनेर आइमाइहरुका खुट्टा भुईंमै छैनन् ।
सबैसँग हाँसी बोल्ने गगने । कसैसँग कलह र झगडा नगर्ने गगने । आपत परेका बेला अरुलाई मद्दत गर्न तम्सने गगने । इमान्दार गगने । सोझो लपनछपन नजानेको गगने । सबैको प्यारो गगने आँखामा राखे पनि नबिझाउने स्वभाव । त्यसैले त उसको बिहेले यति छिटै चर्चा पायो । उसको बिहेले गावैं उचालेको छ ।
ए ! यता सुन् त बिहे त रातीकै रहेछ नि । उही पँधेरामा उही एकाबिहानै गौंथलीले सुन्तलीलाई भनी ।
केटीको गाउँ अलि टाढा भएर रातमा गर्ने भएका हुन् रे क्या । दिनमा नभ्याउने भएर । सुन्तलीले आपुूले सुनेको कुरालाई ओकेली । अझ थप्दै गई- ूयसपालाको रत्यौली त बल्ल रत्यौली जस्तो हुने भो । रातमा कसैले पनि देख्दैन म त लुठो भएर नाच्ने हो ।
ऊ कुत्कुतिएको देखेर त्यहाँ भएका अरु पनि गलल हाँसे ।
यस्तै पँधेरीबैठक हुँदाहुँदै बिहेको दिन पनि आयो । जीवनको त्यो महत्वपूर्ण घडीमा गगने पनि मख्ख छ । उसको घरमा बिहेको धूमधाम तयार छ । इष्टमित्र पाहुनापाछा सबै आइसकेका छन् ।
बिहेको दिन गगने सुटपाइन्ट र टाइमा चिटिक्क सजियो । टाउकाको ढाका टोपी र खुट्टाका टल्कने छालाका जुत्ताले उसलाई झन् लोभलाग्दो बनाइदिए । गाउँका बूढापाका तन्नेरीहरुदेखि लिएर दशपन्ध्र वर्षसम्मका अल्लारे केटाहरु जन्त हिँडे । साना भुन्टाहरुलाई ुबाटो लामो छ ु भनेर प्रतिबन्ध गरियो । त्यसमा पनि रातको बिहे साना केटाकेटीहरुको जिम्मा पनि कसले लिने उता हिँड्नका लागि लौरीको भर लिनेहरु जान सक्ने कुरै भएन । आखिर पाचेबाजा र जन्तीहरुको बीचमा रहेर गगने दुलही लिन घरबाट प्रस्थान गर् यो ।
यता आइमाइहरु बल्ल फुक्का भए । जन्ती घरबाट अलि पर के पुगेका थिए आँगनमा जमघट शुरु हुन थाल्यो । बाबै नि ! एकछिनमा त आँगन खचाखच भयो । मादलको तालमा आइमाइहरु रत्यौली सुरु गर्न थाले ।
जति जति रात छिप्पिन थाल्यो आइमाइहरुको रत्यौलीको रौनक पनि त्यति नै चरम सीमामा पुग्न थाल्यो । आमै नि ! लाजशरम सबै माटामुनि गाडेर उन्मत्त हुन थाले आइमाइहरु । त्यो उनीहरुको पनि दोष थिएन । किनकि उनीहरु सँधैं स्वतन्त्र छैनन् । आफ्ना इच्छा र चाहनाहरु सामाजिक संस्कारभित्र थुनिएर रहेका छन् । पशुलाई त बाँधेर राखिराख्दा अनि कुनैबेला फुकाउँदा त्यसलाई थाम्न गाह्रो हुन्छ । उनीहरु त मानिसहरु हुन् । समाजले र परिवारले उनीहरुलाई बाँधेर राखिराखेको फल हो त्यो । जे होस् रत्यौलीको माध्यमबाट आफ्ना भावहरु उनीहरु पोखिरहेका छन् ।
कान्छी भुन्टी सुन्तली गौंथली देखि गाउँका सबै सासुबुहारी चेलीबेटी लगायत घरैका सासुबुहारी रत्यौलीमा खूब मात्तिन थाले । चकमन्न रातको त्यो समयमा डरत्रास केही थिएन । केही आइमाइहरु आफ्ना पतिदेवका दौरासुरुवाल कमिज इष्टकोट जे मिल्छन् त्यही पहिरिएर लुठो बनेर लोग्नेमान्छेको नक्कल गरिरहेका छन् । बसेका आइमाइहरुलाई एकएक उठाएर आफ्नो जोडी बनाएर नचाउँदै गरेका छन् । लाजसरम पचिसकेको छ । आफ्ना श्रीमानसँग हुने कि्रयाकलापहरुको नक्कली प्रदर्शन भइ नै रहेका छन् ।
रमा आफ्नो पतिको सर्ट पाइन्टमा लुठो बनेर नाचिरहेकी थिइ । ऊ सुन्दर थिई । बाटुलो अनुहार बदामरुपी आँखा सुडोल शरीर गहुँगोरी कालो र लामो केश चिटिक्कै परेकी । पतिदेवका कपडा निकै सुहाएको थियो उसलाई । त्यत्तिकैमा एउटी आइमाइले उसलाई पाखुरामा च्याप्प समाती अनि उसको गालामा च्वाप्प म्वाइ खाइ । रमा पनि के कम थिई र ऊ त झन् पुरुष बनेकी थिई मर्दको संज्ञा पाएको पुरुष । त्यस आइमाइको गालैमा टोकिदिई । आइमाइ झन् उत्तेजित भई । रमालाई तानेर पिँढीतिर उकाली । आँगनका लुठा र आइमाइहरु आगनमै रौसिइरहे । मानौं अन्धकार रातले सबैलाई निलिरह्यो । यता आइमाइले रमालाई जाँतो भएको कुनामा पुर् याई । दुबै मात्तिएका थिए । आइमाइ तल परी रमा माथि । एकैछिनमा रमा तल आइमाइ माथि अनि त्यसपछि…।
रमा त्यसबेला मात्र झसङ्ग भई । जुनबेला उसले वास्तविक रुपमै पुरुषको संसर्गको अनुभव गरी । ऊ खग्रास भई । झटपट उठेर हेरी आइमाइ त्यहाँ थिइन ।
हँ के भयो यस्तो को हो त्यो आइमाइरुपी पुरुष रमा खूब आत्तिई । बल्ल ऊ पूर्ण रुपमा सचेत भई । तर के गर्नु रत्यौलीले उसको नारी अस्तित्वलाई लुटिसकेको थियो ।
म्याग्दी