कथा : युद्धकी पात्राको डायरी

~सुरेश प्राञ्जली सापकोटा~

(सिद्धार्थ आर्ट ग्यालरीको प्रेक्षालयबाट ‘लडाइँमा जनता’को फोटो प्रदर्शनी हेरेर निस्केपछि मेरो मानसमा युद्धकालीन ती समयहरू पुनरावृत्त भएर आउँछन् एकपटक । पछिल्लोपटक युद्ध साहित्यहरू पढिरहेको थिएँ म । भियतनामी युद्धबारे पढेँ । टोल्स्टोयको ‘वार एन्ड पिस’ हिजो मात्रै सकेँ । विश्वयुद्धबारे अघिल्लो महिना पढेँ । आज, एउटा डायरी छ मसँग । यसो भनौँ एउटा ‘भर्जिन टेक्स्ट’ हो यो । यसको पहिलो पाठक म नै हुँ । टीएस इलियटले भोगेको भन्दा अलिकति फरक तर उस्तै युद्धलाई प्रत्यक्ष भोगेकी एउटी पात्रको डायरीका पन्नाहरूउपर विभीषिकाजन्य आँखाहरू दौडाइरहेछु यतिबेला । आधाजति पढिसकेपछि मलाई लाग्यो अब अगाडि पढ्न सक्तिनँ । एक मन लाग्यो यो डायरी मैले फेला नपारेको भए पनि हुने !)

युद्धमैदानः “ठोक् ! ठोक् !!” कमान्डर, आफ्ना मातहतका सिपाहीलाई आदेश दिँदै थियो । त्यो आदेश दिने कार्यसँग उसको कुनै रहर गाँसिएको थिएन । न त कुनै स्वार्थ नै । थियो त केवल बाध्यताको एउटा क्लेश । मध्यरात । माघको पूर्वार्द्ध, चिसोको चरमतामा उनीहरू युद्धजन्य बाध्यता बाँचिरहेका थिए । गोली, बारुदका अहर्निस आवाजहरू । ‘ऐय्या’ ‘आत्था’ र ‘पानी पानी’को कारुणिक र दर्दनाक चीत्कारहरू । यद्यपि, ती चीत्कारहरू ‘एम्युनिसन’को वषर्ासँगै शून्यमा विलीन भएर गएका थिए । मोर्टारको गतिसँगै शिथिल भएका थिए । बस्तीभरकिा कुकुरहरूको एकतमास भुकाइमा आतंकको नयाँ पीडा जन्मिएको थियो । एउटै सीमाभित्र, एउटै आमाका छोराहरू निरन्तर बन्दुकको ‘ट्रेगर’ खिचिरहेका थिए- एकअर्काको छाती ताकेर । यो उनीहरूको नियति थियो । बाध्यता थियो, न कि रहर ! एउटै लाम्टो चुसेका छोराहरू युद्धभूमिमा कर्तव्यपालन गररिहेका थिए । त्यो युद्ध केका लागि थियो, सायद यस प्रश्नको एउटै उत्तर थियो उनीहरूसँग- शान्तिका लागि । युद्ध र शान्तिका विम्बहरू अथाह थिए उनीहरूले बाँचेको जीवनसँग तर लियो टोल्सटोयको भन्दा अलिकति फरक ! यी बाँच्ने उपक्रमहरूमा धेरैपटक कंगो र सेरालियनजस्तै देश दुखेका थिए उनीहरूलाई । अनि, उनीहरूसँग देश दुख्नुको पीडा एउटै थियो । दिनरात भोकतिर्खा नभनी बन्दुकसँग साइनो गाँस्नु नै उनीहरूको जिजीविषा हो सायद त्यो प्रहर । दुवैतिरका धेरै वीर सपुतहरूले वीरगति प्राप्त गरसिक्दा पनि युद्ध मत्थर हुने कुनै छाँटकाँट देखिँदैन । एचडी थरुले भनेझैँ ‘डू अर डाई’को युद्ध सिद्धान्त आत्मसात् गररिहेका थिए उनीहरू । समरस्थलमा निरन्तर माइकिङ् भइरहेको थियो- ‘आत्मसमर्पण गर ।’ यद्यपि, बन्दुक र गोलीको आवाज चली नै रहेको थियो ।

एकातर्फ कोही डोकोमा लासहरू बोकेर दौडाइरहेका थिए, अर्कोतर्फ घाइते सहकर्मीहरूलाई चार हातखुट्टामा झुन्ड्याएर सुरक्षित ठानिने स्थलतर्फ दौडाउँदै थिए ।

अचानक, आवाजहरू निस्तेज हुँदै जान्छन् गोला, बारुद र तोपका । एउटा यस्तो अवस्था आउँछ, जहाँ बन्दुकको कुनै पनि आवाज सुनिँदैन । अलिक अनौठो दृश्य देखिन्छ त्यहाँ । दुवैतिर एकएक लडाकू मात्र जीवित रहन्छन् । त्यसपछि हतियार फालेर आ-आफ्नो ‘सेल्टर’का लागि भाग्छन् उनीहरू । वरपिर िघरहरू देखिँदैनन् । अलिक माथि डाँडाको टुप्पोमा एउटा मात्र घर देखिन्छ ।

घरको पूर्वदृश्य ः त्यस घरमा एउटी बूढी मात्र बस्िथन् । दुई छोराहरू दुवैपट्टकिा सेना भएका थिए, बाध्यताले या रहरले । घर नफर्केको वषौर्ं भइसकेको थियो । बूढीआमा छोराहरूकै बाटो पर्खेर बसेकी थिइन् । त्यसो त एक छोरी पनि जनमुक्ति सेनामा भर्ना भएकी थिई । बूढा बा कहिले विद्रोही त कहिले राज्यका सेनाहरूले दिएको धम्की र यातनाका कारण बोल्नै नसक्ने गरी थलिएका थिए । पछि छोराहरूकै पीरले यस संसारबाट बिदा भए । युद्धको दिन बूढीआमा जेनतेन एक्लो ज्यानलाई खाना बनाएर बसिरहेकी थिइन् । खान मन लागिरहेको थिएन सायद उनलाई । अचानक, गोला, बारुद र बन्दुक पड्केको कर्कश आवाजले बूढी मूच्र्छा पर्छिन् । केही समयपश्चात् होसमा आउँछिन् तर पनि निरन्तरको बन्दुकको आवाजले गर्दा बूढीआमा पागलजस्तै बन्छिन् र घर छाडेर भाग्छिन् ।

‘सेल्टर’का लागि भाग्दै गर्दा, संयोगवश ती दुवै लडाकूहरू त्यही घरमा आइपुग्छन् । जूनको मन्द प्रकाशमा उनीहरूको आकृति धूमिल देखिन्छ । झन्डै १४/१५ वर्षकी एउटी छापामार केटी थिई, निधारमा एउटा तारो भएको रातो रुमाल बाँधेकी । अनुहारभर ित्रासका अवशेषहरू पर्याप्त देखिन्थे । अर्को, सिपाही थियो राष्ट्रको । दुवैको जम्काभेट आँगनमा हुँदा झस्केका थिए अलिकति उनीहरू । कम्ब्याट पोसाक तर निःशस्त्र । चिसो मौसम, शीत पररिहेको थियो एकतमास । त्यसरी नै भोकको आगो दन्किरहेको थियो उनीहरूको पेटमा । दुवैका आँखा जुधे तर शब्दहीन थिए उनीहरू । नियतिको लडाइँ लड्ने दुई प्राणी युद्ध मैदानभन्दा धेरै पर थिए । थकान, भोक र तिर्खाको एउटा तूक थियो उनीहरूसँग यतिबेला । बाँच्नुजस्तो ठूलो कुरा केही पनि रहेनछ जीवनमा । अलिकति सन्नाटापछि, दुवैको आवाज एकैपटक, एउटै निस्कन्छ- ‘सरेन्डर’ ! स्िथति सामान्यतर्फ उन्मुख हुन्छ त्यसपछि ।

सिपाहीलाई त्यो केटी कताकता देखेजस्तो लाग्छ यद्यपि गोपनीयताका कारण केही कुराको सोधखोज हुँदैन उनीहरूबीच । हुनसक्छ, सामान्य परचिय पनि छिपाएका छन् उनीहरूले । मानौँ, छद्म परचिय गराएका छन् एकअर्काबीच । त्यसो नहुँदो हो त…!

‘घरमा को हुनुहुन्छ ?’ बोलाउँछन् उनीहरूले । प्रतिक्रिया शून्य भएपछि भित्रै पस्छन् । देख्छन्, एउटा कुनामा एउटा विस्तरा अनि अर्को कुनामा अगेनामाथि खाना झन्डै एक जनालाई पुग्नेजति, मनतातो । मधुरो टुकी तेल सकिएर निभ्नै आँटेको थियो । सायद उनीहरूसँग भोग खप्नुको कुनै सीमा बाँकी रहँदैन अब । पकाइराखेको खाना बाँडेर खान्छन् उनीहरू । खाइसकेपछि उनीहरूको आभामा मन्द सन्तुष्टिको तरंग देखा पर्छ अलिकति । झन्डै अन्तिम प्रहर मात्र बाँकी थियो रातको, उनीहरूसँग आराम गर्नका लागि । एउटा दोलाइँ माग्छ सिपाहीले र छापामार केटीलाई खाटमै सुत्न इसारा गर्छ । आफू भने भुइँको सुकुलमा सुत्छ । त्यसो त अघि खाना खाने बेलामा पनि एक-दुई गाँस भात बढी नै हालिदिएको थियो छापामार केटीको भागमा । र, भोलिपल्ट उज्यालो नहुँदै आ-आफ्नो बाटो लाग्छन् उनीहरू ।

प्रकारान्तरले, समयको परदृश्य फेरिन्छ । युद्धको अन्त्य हुन्छ । ‘क्यान्टोनमेन्ट’मा बस्छन् विद्रोही लडाकूहरू । युद्धमोर्चाका सेनाहरू ब्यारेक फर्काइन्छन् । संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा शान्ति प्रक्रियाको थालनी हुन्छ, युद्धस्तरमा ।

डायरीको अन्तिम पृष्ठः ‘…क्यान्टोनमेन्ट’मा हामीलाई राखिसकेपछि प्रमाणीकरणको प्रक्रिया सुरु हुन्छ । प्रमाणीकरणको क्रममा मेरो उमेर १८ वर्ष नपुगेकाले घर फर्काइन्छु म । फर्केपछि स्कुल भर्ना हुन्छु म पुनः आमाले पर्खाइराखेको बाटोले मुक्ति पाउँछ अब । यद्यपि, अर्को पीडा थियो मेरी आमासँग- मेरो दाइको पीडा । दाइ घरमा नआएको पाँच-सात वर्ष भइसकेको थियो । झन्डै, त्यति नै समयमा फर्केकी थिएँ म पनि । दाइ सेनामा भर्ना भएको पनि १२ वर्ष भइसकेको थियो । मैले त झन्डै अनुहार नै पो बिर्सिसकेँ कि क्या हो ! यति लामो समय भइसक्यो । परदृश्य बदलिइसक्यो । देशले नयाँ कलेवर फेरसिकेको छ । दाइ कता होलान् ! के गर्दै होलान् ! अब त बिदा पनि पाउनुपर्ने ! त्यसो त दाइ पनि देशकै निम्ति लड्न गएका हुन् । म पनि त देशकै निम्ति लडेर फर्केकी हुँ नि ! देश र जनताकै मुक्तिका लागि । आमालाई यसरी रुवाएको, यति धेरै रगत बगेको पनि देशकै लागि त हो नि ! आज किन किन मनका सम्पूर्ण कुराहरू डायरीका पन्नामा सिमांकन गर्न मन लागेको छ ताकि मेरो मनमा ती कुराहरूले पुनः प्रवेश नगरुन् । दाइको एउटै फोटो पनि छैन घरमा । युद्धका बेला सबै नष्ट गरनि् आमाले । मन नहुँदा नहुँदै पनि उनको बाध्यता थियो, छोराप्रतिको ममता थियो । त्यसो त मेरा सम्पूर्ण तस्िबरहरू पनि त त्यसै त गरनि् नि आमाले । किन किन दाइको यादले खुबै सताएको छ आज…। – सिमाना’

उपसंहारः आज तिहारको दिन । भाइटीकाको दिनसम्म दाइ आइपुग्ने खबरले फुरुंग छे, सिमाना । एउटी बहिनी जो दाइलाई टीका लगाउने प्रतीक्षामा छे । सायदै याद छ वर्षौंअघि दाइलाई लगाइदिएको टीका । थालीभर िटीका, सयपत्रीको माला अनि मीठा-मीठा परकिारसहित दाइ आउने बाटो पर्खिरहेकी छे सिमाना । तत्क्षण पर गाउँको बाटो हुँदै यतै आउँदै गरेको आकृतिउपर पर्छ सिमानाको आँखा । आमालाई बोलाउँछे । नजर फाल्छिन् आमाले पनि त्यतैतिर । उनलाई पक्का हुन्छ, त्यो आकृति उनकै छोरो धनेको होे । सिमानाको खुसीको कुनै पराकाष्ठा रहँदैन । धने तगारोबाट भित्र पस्नै लाग्दा सिमाना ऊतिर दौडिन्छे तर नजिक पुगेर टक्क रोकिन्छे । आँखा जुध्छन् उनीहरूका । सिपाहीले त्यो छापामार केटीलाई चिन्छ र त्यो केटीले पनि सिपाहीलाई चिन्छे । उनीहरूको वाक्य घाँटीमै अड्किन्छ । सन्नाटा छाउँछ त्यहाँ । दुवैको आँखाको डिलसम्मै आँसु टिल्पिलाइसकेको हुन्छ । आफूलाई थाम्नै नसकेपछि दाइतर्फ हुत्तिन्छे सिमाना । धने, बहिनीलाई अँगाल्छ र फकाउन थाल्छ ।

(श्रोत :- नेपाल साप्ताहिक ३७० )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.