~लीलाराज दाहाल~
नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।
पहिलेपहिले कुबेरप्रसाद झर्कोफर्को गरिरहन्थे । कारण अकारण उनी रिसाइरहन्थे । बाहिर फेर डुल्न, घुम्न पनि बिलकुलै छोडिसकेका थिए । पार्टी, बैठक, भेटघाट, अन्तक्रिर्या, छलफल आदि क्रियाकलापहरूमा पनि उनी निष्त्रिmयजस्तै थिए ।
तर आज उनी एकाएक खुसी भए । पहिलेजस्तो उदास देखिएनन् । उनको अनुहारबाट बेपत्ता भएको खुसी पुनः फर्केको थियो । उनको अनुहार भर्भराउँदो उज्यालो थियो । उनको अनुहार नै आज अर्कै देखिएको थियो ।
उनी शयनकक्षबाट उठेर सीधै शौचालयतिर लम्के । शौचालयबाट निस्केर बाहिर बरण्डामा आए । उनको घर कम्पाउन्ड भित्र रहेको फूलबारीको बीचमा ठूलो टेबल र टेबल वरिपरि लहरै कुर्सीहरू थिए । टेबलमाथि विभिन्न नामका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू थिए । बिहान सबेरैका सूर्यको प्रकाशले टेवल माथिको सनमाइका र आल्मुनियम पाता टल्किरहेका थिए । नेताजी यी सबै कुराहरू नियाल्दै थिए । टेबल चम्केझैँ उनको अनुहार पनि चम्किरहेको थियो नेताजी एकपटक फेरि मुस्कुराए । काम गर्ने केटाले चिया ल्याइ पुर्यायो । आज चियाको कपभित्र अमृत नै भएको महसुस भयो उनलाई । चिया पिइरहँदा उनले अलौकिक आनन्द प्राप्त गरे । फूलबारीमा फूलहरू फुलेका थिए । फूलको सुवासले नेताजीको मन साह्रै आल्हादित भएको थियो । आज नेताजीले फूलको सुगन्धमा पनि ज्यादै मीठो खाने कुराको वास्नाको आभाष पाए ।
बिहानको सात बज्यो । बिस्तारै बिस्तारै नेताजीलाई भेट्न कार्यकर्ताहरू आउन थाले । उनी चुनाव सकेर विजयका साथ फूलमाला र अबीरमा सजिएर काठमाडौँ फर्केपछि गाउँतिर गएका थिएनन् । उनको बुझाइमा गाउँघरको अवस्था नाजुक थियो । आतङ्क र आन्दोलनले गर्दा गाउँतिर जान उनले उचित देखेका थिएनन् । उनको निवासमा आउने उनका क्षेत्रका मतदाता र कार्यकर्ता देखेर उनी रिसाउन थालेका थिए । उनीहरूलाई देख्नासाथ उनी बर्बराउन थाल्थे-खाली जागिर लाइदेउ, विदेश जानलाई कोटा मिलाइदेउ, खानेपानी छैन गाउँमा योजनामा पारिदेउ, विजुली बत्तीका पोल गाउँभरि ठड्याइदेउ, गाउँघरमा बाटोघाटो छैन बनाइदेउ । नेताजी भित्रैदेखि आफैँसँग र्झकन थालेका थिए- यी सबै काम गर्नलाई म माननीय बनेको हो र !
नेताजी सोचिरहेका हुन्थे-उनी माननीय बनेको त आफू र आफ्ना सात पुस्ता सपार्नलाई पो त ! उनले गर्ने काम त कमिसन, ठेक्कापट्टा, भाषण, आश्वासन पो हुन् त ! हैन, के भएका उनका कार्यकर्ता पनि ! खाली गर्न नसकिने, गर्न नहुने जनविरोधी काम पो गराउन आउँछन् । कमिसन लिने, ठेक्कापट्टा, भाषणजस्ता काम गर्न छोडेर फेरि त्यही पुरातनवादी खानेपानी, सडक, रोजगारीजस्ता दलदलमा फँस्न पुगे भने उनले अर्को चुनाव कसरी जित्नु !!
तर आज नेताजी रिसाएका छैनन् । उनको हृदयमा कठोरता छैन । उनलाई भेट्न आउने कार्यकर्तासँग पनि नम्रतापूर्वक बोलिरहेका छन् । सञ्चो, बिसञ्चो, गाउँको हालखबर सोधिरहेका छन् । कार्यकर्ता र मतदाताहरूलाई उनीहरू आउनुको कारण सोधिरहेका छन् ।
कार्यकर्ताहरू फर्केपछि आज नेताजीले आनन्दले बिहानको खाजा पनि खाए । उनलाई आफ्नो जिन्दगी नै बद्लिन आँटेको हो कि जस्तो लाग्यो । उनी अपार खुसीको लिस्नो चढेर आनन्दको शिखरमा पुगिसकेका थिए ।
श्रीमती गोमा आएर आफ्ना नेता श्रीमान्का छेउमा बसिन् । हिजो बेलुकादेखि आफ्ना श्रीमान् अचाक्ली खुसी हुन थालेको घटनाले उनलाई पनि छोएको थियो । नेताजी दुई वर्ष अघिदेखि ठ्याम्मै खुसी हुन छोडेका थिए तर हिजो बेलुकी नेताजीको मोबाइलमा फोन आउनासाथ नेताजीले आफूसँग भएका उदासिनता, छट्पटी, पीडा र ग्लानि सबै एकैचोटि मिल्काएका थिए । उनका नयनमा खुसीका तरङ्गहरू फैलन थाले । ओठभरि मधुर मुस्कान सलबलाउन थाल्यो । नेताजी अचानक हाँस्न थाले । आफ्ना श्रीमान् हाँस्न थालेको देखेर श्रीमती गोमा पनि हाँस्न थालेकी थिइन् ।
नेताजी नजिकै बसेकी श्रीमती गोमाले सोधिन् ”हिजो बेलुकीदेखि हजुरको चेहरामा खुसीको रङ देखिन थालेको मलाई महसुस हुँदैछ । हजुरको अनुहारमा मैले उहिल्यैदेखि नैराश्यताका अक्षर मात्रै पढिरहेकी थिएँ । आफ्नो खुसी मलाई सेयर गर्नुहुन्न ? हजुरको खुसीमा मैले पनि त साथ दिने मौका पाउँ !”
श्रीमतीको सोधाइले नेताजीलाई झन् कुतकुती लाग्न थाल्यो । उनले श्रीमतीका गाला मायाले चिमोटे । एक छिन कपालको चुल्ठो खेलाए । एकपटक कसिलोसँग अँगालो मारे श्रीमतीलाई गोमाले लाज मानेझैँ गरेर चारैतिर हेरिन् बगैँचामा कोही पनि थिएनन् । त्यसैले उनी ढुक्क भइन् ।
“म पनि अब पक्का नेता भएँ । मलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा राखियो । सायद अब सरकारलाई पनि यही संयन्त्रले नियन्त्रण गर्नेछ । विदेशी कमिसन ठेक्का पट्टा पद मनोनयन यसै संयन्त्रले बाँडफाँड गर्नेछ । म अब ठूलै पावरफुल मन्त्री बन्न पनि सक्छु । नभए पनि कमिसन घूस ….आदि त कहाँ जाला ?” नेताजीले श्रीमती गोमासामु रहस्यको बिर्को खोले । नेताजीले सबै कुरा एकै सासमा भनी सिध्याए ।
उनले पुन थपेँ “भरे बेलुकी नै संयन्त्रको बैठक छ । मलाई खाना नबनाउन भन्नु केटालाई । भरे फिर्न पो कति बेर हुन्छ ।”
“विदेशी महँगा रक्सी त धेरै कडा हुन्छन् रे । धेरै नपिउनु होला नि ।” गोमाले नेता श्रीमान्लाई सम्झाउँदै भनिन् ।
“आ धेरै नसम्झाइ राख । बैठकमा पुगेपछि नै थाहा हुन्छ ।” नेताजीले खुइ्य गर्दै श्रीमतीको कुराप्रति दिक्दारी व्यक्त गरे । गोमाले पछुताएको जस्तो अनुहार पारिन् ।
बेलुकीको ४ः०० बज्नै अँाट्यो । नेताजी कपडा लगाइवरी संयन्त्रको बैठकमा जान तयार भए । आफूलाई अरू दिनभन्दा फरक देखाउन नेताजीले आफ्नो पहिरनमा विशेष ध्यान दिएका थिए । बाहिरी गेटसम्म पुर्याउन आएको श्रीमती गोमालाई बाइ ! गरेर नेता कुबेरप्रसाद हातमा ब्याग झुन्ड्याउँदै पर रोकिराखेको ट्याक्सितिर लम्के । गोमाले उनलाई निकैबेरसम्म हेरिरहिन् । नेताजी चढेको ट्याक्सीले मधुरो आवाजका साथ आफ्नो गति लिइसकेको थियो । गोमा फर्केर कम्पाउन्डभित्र प्रवेश गरिन् ।
नेताजी समयमै बैठक कक्षमा पुगे । अरू सदस्यहरू आइपुगेकै थिएनन् । कुबेरप्रसाद यस्तो संयन्त्रमा पहिलो पटक मनोनित भएकाले उनी छिटै पुगेका थिए । उनको निकैबेरको प्रतीक्षा पश्चात अरूअरू पनि आइपुगे । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भयो । बैठकमा अध्यक्षले सम्बोधन गरे र सबै सदस्यहरूलाई आ-आफ्ना आसनग्रहण गर्न आहृवान गरे । उनीहरूबीच छलफल भइरहेकै बेला आठ/दस जना मानिसहरू बैठक कक्षमा प्रवेश गरे अनि सबैको अगाडि टेबलमा विविध परिकारका खानेकुरा सजाउन थाले । दुई/तीन व्यक्तिहरूले सबैका अगाडि गिलास सजाए र विदेशी ब्रान्डका पेय पदार्थहरू सर्भ गर्न थालेका थिए । नेता कुबेरप्रसाद यी सबै कुरा मिहिनरूपमा अनौठोसँग नियालिरहेका थिए ।
यतिकैमा अध्यक्षले आ-आफ्ना इच्छाअनुसारको खानेकुरा लिन सदस्यहरूलाई आग्रह गरिसकेका थिए । सबैले आ-आफ्ना गिलास उठाएर ठोकाउँदै खुसी बाँडे र बैठकको विधिवत सुरूआत गरे । अनि अध्यक्षले कुटिल नेत्रले सबैलाई नियाले र सुस्तरी भन्न थाले, “साथी हो, १२ वटा देशमा राजदूतका पद रिक्त छन् । १६ वटा सार्वजनिक संस्थान महाप्रबन्धकविहीन छन् । १० वटा संस्थामा अध्यक्षको नियुक्ति गर्न बाँकी छ । २० वटा ठूल्ठूला परियोजनाहरूले टेन्डर आहृवान गरेका छन् । तिनमा पनि भाग मिलाउन बाँकी छ । सबभन्दा ठूलो कुरा त ११ वटा मन्त्रालय सचिवविहीन छन् । विवादरहित रूपमा सबै ठाउँमा भागबण्डा मिलाऊँ । हामीहरूबीचमै बिबाद भएमा मिडियाले खोतल्ने ठाउँ पाउँछ । यस्ता कुराहरू मिडियामा आउनु भनेको जनताको सामु हामीहरूको चरित्र नाङ्गिन्छ । त्यसैले आ-आफ्ना भनाइ राखौँ, नेताज्यूहरू !”
अध्यक्षका कुरा सुनेर सबै उज्ज्वल मुहारका साथ मुखामुख गर्न थाले । कोही केही बोली हालेनन् । नेता अध्यक्षको प्रस्तावको कसैले विरोध गरेनन् । मौन समर्थन गरे ।
बैठक कक्ष बाहिर भने महिनौंदेखि अल्भिmएको राजनीतिक गाँठो फुक्ला र समस्याको समाधान निस्केला भनेर विभिन्न पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू व्यग्र भएर पर्खिरहेका थिए ।
भित्र भने अध्यक्ष भनिरहेका थिए, ‘खै त, के थप्ने हो ! इच्छा मुताविक खाउँ, पिउँ है, साथी हो ! मेरो आयोजना कस्तो लाग्यो त यहाँहरूलाई ! अँ, अघि भनेका खाली ठाउँहरूमा पचास प्रतिशत भाग मेरो, बाँकी यहाँहरूको ! तपाईंहरू आपसमा मिलेर आउनोस् । एक साता भित्रै मिलाई हाल्नु पर्छ ।”
अध्यक्षका कुरा सकिने बित्तिकै नेता कुबेरप्रसादले कडा प्रतिवाद गरे, “अहँ, भएन । तपाईं एक्लैलाई ५० प्रतिशत अनि हामी सबैलाई चाहिँ जम्मा ५० प्रतिशत ! यो त अन्याय भो ! हामीलाई ७० प्रतिशत दिनोस्, बाँकी अध्यक्षज्यूलाई ।”
‘हो, हो । कुबेरप्रसादजीको भनाइ ठीकै हो । अध्यक्षलाई ३० हामीलाई ७० ।’ अर्का राजनीतिक दलका नेताले कुबेरप्रसादको कुरामा दृढ समर्थन जनाए ।
”अहँ, ५० प्रतिशत पद मलाई हुनै पर्छ । हैसियत अनुसार पो बाँडफाँड हुन्छ त । म पनि लारेलुरे मान्छे त होइन त, अध्यक्ष पो हुँ त !” अध्यक्षले अलिकता अहमता प्रकट गर्दर्ै भनेँ । सबैलाई भोज लागिसकेको थियो । सबैको बोली लरबराइरहेको थियो । अर्का दलका नेताले अध्यक्षतिर फर्केर भनेँ, ”अनि हामीचाहिँ चानचुने मान्छे हौँ र ! हामी पनि त आ-आफ्ना पार्टीका प्रतिनिधि नेता हौं । ७० प्रतिशत हामीलाई नभए कुनै कुरामा सहमति हुँदैन ।”
”तपाइर्ंहरूलाई मेरो कुरा मञ्जुर छैन भने यो विषय नै छोडौं अहिले ! तपाईंहरू बसेर ठण्डा दिमागले विचार गर्नोस् । पछि फेरि बसेर मिलाउँला ।” अध्यक्षले कुरा टुङ्ग्याए ।
नेताजीहरू खानपिनमा यति व्यस्त थिए कि कसैलाई पनि बोल्ने फुर्सद नै थिएन । सबै आ-आफ्नो सुरमा मस्त थिए । पछि भोज सकेर नेताहरू पालै पालो बैठक कक्षबाट बाहिरिए ।
भोलिपल्टका अखबारहरूमा उच्चस्तरीय संयन्त्रको बैठक फेरि विना निष्कर्ष टुङ्गिएको खबर प्रमुख समाचारका रूपमा पहिलो पानामै छापिएको थियो ।
नेता कुबेरप्रसादले पत्रिका सर्सर्ती पल्टाउन थालेँ । पत्रिकामा छापिएको समाचारले उनको अनुहारमा कुनै पनि प्रकारको प्रतिक्रिया उमारेको थिएन ।
– कर्मैया, सर्लाही
(श्रोत :- मधुपर्क, चैत २०६७ )