~दिनेश बस्नेत~
”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा राखेको ठाउँबाट गन्ध नै आउँछ जसरी जता राखे पनि चट् पार्ने ! कस्तो नराम्रो बानी हो । उता फिस तिर्न बाँकी रहेकोले बच्चा जाँच नै दिन पाइन्न भन्दै रुँदै थियो ।बल्लबल्ल फकाएर स्कुल पठाएँ । रोएर कत्रो विलाप, कत्रो मुस्किल पर्यो स्कुल पठाउन । घर व्यवहारपट्ट ित अलिकति पनि चिन्ता छैन, खाली धोकेर हिँड्न पाए भयो । रक्सी भए पुग्ने भएपछि रक्सीसँग बिहे गरेको भए हुने नि ! किन बनाउनु परेको परिवार ?” एउटी आइमाई कड्केर बाझिरहेकी थिई ।
”खुरुक्क घर जान्छेस् कि अहिले लात्तैलात्ताले गोदी दिउँ, इज्जत नभएकी होटेल होटेलमा आएर यसरी कसका श्रीमतीले पोइ थर्काएका छन् । भाले हुन खोज्दिरहिछे, गतिलाको खलक भित्र्याएको भए पो । अगतिलासँग साइनो जोडेको फल हो, सबै यो । फेरि गाम्लेले के भन्लान् पनि नसोच्ने ?” लोग्नेले भित्रपट्टबिाट धम्कीको भाषामा भन्यो अझ मैले लाज मान्नु पर्यो ? अझ मैँ बेइज्जती कहलिएँ ? मैँ अगतिलाकी छोरी भएँ ? त्यत्रो इज्जत भएको आफू बिहान बिहानै भट्टीमा धाउने । खै दिनोस् त्यो हजार रुपियाँ म चामल किन्न जान्छु नत्र गधाकी छोरी यहाँबाट डेग चले ।” उसले अलि अड्डी कसेर भनी ।
”तेरो यत्रो हिम्मत, तं वातले मान्ने खालकी मान्छे होइनस् । उसको पोइ जमजमाउँदै भट्टीबाट तल ओल्र्यो । हात हाली हाल्न भने पाएन, त्यहाँ उपस्थित मान्छेले बीचमै छेके । त्यसपछि डडेलोले खाएको वनजस्तै गरी उसको मुहार बिग्रियो ।
”ठडिया थापेका छन् के रे नकटीहरूले, किन घर जान्थ्यो त नि । सताउन विधि सतायो ।” ऊ दुखेसो पोख्दै बाटो लागी ।
म आफ्नो घरको कौसीबाट त्यो संवाद, त्यो चरित्र मनन गरिरहेको थिएँ । यस्ता घटना मेरो लागि कुनै नौला थिएनन् । रोजरोज घट्ने प्रक्रिया थियो । वास्तवमा मलाई यो ठाउँमा आफ्नो घर छ भनेर कसैलाई भन्नुपर्दा लाज लाग्छ ।
आजकल त यस ठाउँ अर्थात् हाम्रो टोलको नाम नै ढुलमुले चोक राखिएको छ । कारण साँझपख यहाँ रक्सीले ढुलमुलिएका मान्छे बढी भेट हुने हुँदा यो नाम रहेको हो अरे । यस नामको प्रवर्तक को हो, त्यसलाई मान्नुपर्छ । अझ त्यसको सिर्जनात्मक बुद्धिलाई तारिफ गर्नुपर्छ ।
समयले परिस्थितिलाई यति छिट्टै यति विघ्न बदल्न सक्दो रहेछ ।
हिजो यस ठाउँलाई गहिरी खेत भनिन्थ्यो । गह्रागह्रामा विभाजित यहाँको माटो भरपुर उब्जाउ तथा मलिलो मानिन्थ्यो । कारण गहिरो हुनाले गाउँभरिको गुहेमाटो, मलयुक्त लेदो मल पानीले त्यहीँ बिसाउँथ्यो । त्यसैले बाली लाउँदा मल त्यतिधेरै प्रयोग गर्नुपर्ने हुँदैनथ्यो । उसो त यहाँ धेरै जग्गा कसैको थिएन, थोरै हुनेको पाँच मुरी माटो, धेरै हुनेको त्यस्तै २० मुरी माटो मात्र हो । खेतीपातीको बखत हप्ता दिनभित्र रोपेर सकिन्थ्यो , हप्ता दिनभित्र भित्र्याएर ।
जब गाविसलाई प्रत्यक्ष रकम विनियोजन गर्ने नीति सरकारीस्तरबाट तय भयो, तब गाउँका गोरेटो बाटामा डोजर डुल्न थाले । सोहीअनुसार गहिरी खेत पनि बीचबाट चिरियो । अर्थात् भनौँ गहिरी खेतलाई मोटरबाटोले बीचमा चिर्यो ।
बाटोको दुवै छेउमा घर बन्न थाले । छुट्टँिदा बारीमा घर बनाउने टुक्रासम्म पनि भागबण्डामा नपर्नेहरू, जग्गा भएर पनि निकासको राम्रो प्रबन्ध नहुनेहरू र सुविस्ताको मोहमा डाँडापाखाबाट झर्नेहरू नै त्यहाँ घर बनाउन आतुर देखिन्थे ।
अचम्म लाग्छ, आज गहिरी खेत ढुलमुले चोकमा परिणत भएको छ, आरसीसी घरहरूको एउटा मेला नै लागेको छ । बनेका घरहरू व्यापारिक दृष्टिबाट सवल देखिन्छन् । प्रायशः भाडामा कोठा लिएर बस्नेले विभिन्न पसल थापेका छन् । जे जस्ता पसलहरू पनि यहाँ पाइन्छन् । त्यसैले वल्लोपल्लो गाउँका मान्छेहरू पनि यहीँ जम्मा हुन्छन् ।
‘जाँउ ढुलमुले चोकमा ।’
‘त्यहीँ रमाइलो छ, अरू कता जाने ठाउँ छ र यहाँ ।’ केटा एवं बूढाहरूको मुखबाट त्यस्तै त्यस्तै कुरा सुनिन्छ । यहाँको प्रगति तथा परिवर्तन यसरी दू्रतगतिमा हुन्छ, भनेर सायद कसैले कल्पनासम्म गर्न सकेका थिए गाउँसहरमा गाभिएको त छैन तर पनि देशभरि सहरीकरण विस्तार सरकारी कार्यक्रम नीतिका कारण आजकल ढुलमुले चोकसम्म नगरपालिकामा चल्ने बस आउन थालेको छ, अन्तिम स्टेसन पनि यहीँ हो । बजार जानेलाई त्यहाँबाट उठाउँदै उठाउँदै लैजान्छ, बजारबाट फर्किने मान्छेहरूलाई बीचबीचमा ओराल्दै ढुलमुले चोकसम्म ल्याउँछ बसले । सहरबाट गाउँमा बस चल्न थालेपछि सबै गाउँलेले यहाँ विकासको एक सिँढी थपिएको महसुस गर्न थालेका छन् तर मेरो दृष्टिकोण भिन्न छ, मैले विकासका अतिरिक्त थप विकृति, थप विसङ्गति र थप बिरामी गाउँमा थपिएको अनुभव गरिरहेको छु । जसले गाउँको स्वच्छ वातावरण धमिलिएको छ । मेरो यस्तो दृष्टिकोणका पछाडि प्रशस्त जरियाहरू छन् । ती सबै प्रष्ट्याउन अहिले म जरुरी ठान्दिनँ तर पछि आफसे आफ केही कारण खुल्लान् त्यो छुट्टै कुरा । जुन तपाईं महसुस गर्न सक्नुहुनेछ ।
हो ढुलमुले चोकमा सबैथरी पसल छन् माथिल्लामाथिल्ला गाउँबाट झरी आवश्यक सामान यही लिन आउँछन् मान्छेहरू । चारैतिरका बेरोजगारहरूको यहाँ एक प्रकारको कचहरी लाग्ने गर्दछ । आफ्नो कामधन्दा बेवास्ता गरी कुलतमा पल्केकाहरूको प्रमुख थलो हो, यो भन्दा हुन्छ तास खेल्नेहरू तास खेलिरहेका हुन्छन्, क्यारेमबोर्ड खेल्नेहरू क्यारेमबोर्ड खेलिरहेका हुन्छन्, हेरेर मनोरञ्जन लिनेहरू ठेलमेल झुम्मिएका हुन्छन् जस्तै कुनै जादुगरको चित्रमय दृश्य हेर्न उभिएका मान्छेहरूझैँ ।
तासको निम्ति योगेन्द्र पराजुलीको घर एवं दोकान प्रचलित छ । खेलाडीहरू टाढा टाढाबाट आउँछन् । लौ त भनौँ कता सिट फुत्किन्छ भनेर खाने बित्तिक्कै चिसै हात पाइला तताउँछन् । त्यहाँ प्रायः जसो तीन/चार खालसम्म हुने गर्दछ । अचम्म लाग्दो कुरा के भने, खेल्नेभन्दा हेर्ने अधिक हुन्छन्, त्यहाँ अझ दर्शक दीर्घामा पृथक रसटक अनुभूति गरिरहेका हुन्छन्, उनीहरू बढी जोसिला र जसिला देखिन्छन् ।
त्यो फाल…………….यो फाल ।
थुक्क………………तैँले बिगारेर फालिस् । नत्र……… त्यो तास फालेको भए यसरी………..बाजी खान पाइन्थ्यो ।
त्यो तास यता राख अब जोक्कर या लाग्ने तास आयो भने बाजी हुन्छ ।
आडमा बस्ने दर्शकबाट त्यस्तै पाराका निर्देशन हुन्छन् । ‘यसो भएको भए यसो हुन्थ्यो…..त्यसो भएको भए, त्यसो हुन्थ्यो ।’ एक प्रकारको वाकयुद्ध नै चल्थ्यो, हेर्नेहरूबीच ।
रक्सी खानेहरूका लागि साहिली भट्टी प्रसिद्ध छ । यसो त यो ठाउँमा सबैभन्दा बिक्ने चीज नै रक्सी हो ।
यहाँ रक्सी पार्ने तथा बेच्ने भट्टी अरू पनि छन् । तीमध्ये जसले बढी सुविधा, सहुलियत र सन्तुष्टि दिनसक्छ, उसैको भट्टी चल्नु स्वभाविकै हो । साहिलीको भट्टीमा तानिनुमा त्यस्तै त्यस्तै कारण छन् । त्यो के भने, उसको भट्टी सहरी हिसावको रेस्टुरेन्टभन्दा हुन्छ । उसले तीन वटी काम गर्ने मस्तका तरुनी आकर्षणका लागि राखेकी छे । भट्टीकी साहिली गुरुङसेनीको चतुर्याइँ मान्नुपर्छ । तिनीहरू ग्राहकका लागि रामरमाइलोका विषयवस्तु बनेका छन् । त्यहाँ आउने ग्राहक कसरी परितृप्त हुन्छन्, अनि सम्झीसम्झी अर्को पटक आउँछन्, उसलाई राम्रो ज्ञान छ । अरू त के भनौँ, भट्टीभित्र दुई वटा कोठा छन्, दुईवटा कोठामा वेटरको रूपमा एकएक वटी ती केटी बस्छन्, एक जना अर्डर गरेको चीजबिज ल्याउने काम गर्दछे, साइंली हिसाब मिलाउन काउन्टरमा बस्छे ।
यो भट्टीमा पस्ने जो कोही ग्राहकले पनि तिनीहरूबाट कृत्रिम मुस्कान र सीमित स्पर्श पाउँदछन् । त्यसो हुनाले जँड्याहा केटाहरू र मन्द रसिला अर्द्ध बूढाहरू त्यहाँ खचाखच हुन्छन् ।
आजकल मलाई अचम्म लाग्न थालेको छ -अवकासमा घर बसेका एवं जागिर तथा रोजगारयुक्त मान्छेहरूलाई त जुनसुकै नसामा रङ्गीन केही हदसम्म सुहायो ल । आमाको होटलमा टन्न खाएर, बाको लजमा पालीमाथि घाम आउञ्जेल सुत्ने उद्यम न पौरखका, गधे २५ नकटेका नाथे केटाहरू के विधि बिग्रेका होलान् ? कहिले सिङ जुरो पलाउँछ र बुद्धि फिर्ने होला ?
म सम्झन्छु – हाम्रो पालामा यो समाज एउटा सङ्लो र स्थिर तलाउजस्तो थियो । आपसमा सहयोगी भावना थियो । कुनै कुलत र नसामा डुबियो भने एकातिर इज्जत जान्छ भन्ने महसुस थियो, अर्कातिर बाआमासँग एक प्रकारको भय हुन्थ्यो । आफूभन्दा ठूलाले भनेको मान्नुपर्छ, तिनलाई हामीले सम्मान दिनुपर्छ भन्ने एउटा संस्कार थियो तर आजकलका केटाहरूमा कुनै त्यस्तो मानवीय आचरणहरू छैनन् । आफ्नै बाटो र आफ्नै किनारमा हिँड्दा पनि तिनीहरूसँग ठोकिन्छ कि ? या अनाहकमा झगडा एवं पिटाइको मर्कामा परिन्छ कि ? जगजगी मनमा सधैँ बोकेर हिँड्नुपर्ने भयग्रस्त अवस्था छ । मै जान्ने, मै ठूलो, मै राम्रोजस्ता विभिन्न प्रकारको अहम्ता बोकेर यहाँका केटाहरू हिँडेका छन् ।
आजकल मलाई चिन्ता लाग्न थालेको छ । यस ठाउँको माहौल बिग्रिएको छ, त्यो आफ्नै ठाउँमा अपरिमित छ तर मेरो चिन्ताको मुख्य कारण भाइ कविराज हो । अहिले ऊ २२ वर्षमा हिँडिरहेको छ । एसएलसीमा चार पटक फेल भएपछि पढाइबाट मुक्ति पाएको उसका साथमा विलक्षण कुलत छन् । दुईवटै कानमा पित्तलका मुन्द्रा हल्लिएका छन् । व्यायामशालामा गएर केके उचालेर शरीर अप्राकृतिक र डरलाग्दो बनाएको छ । गाँजा र रक्सी साथी नबनाई हिँड्न सक्दैन, सङ्गत पनि त्यस्तै त्यस्तैसँग जमेको छ । कति सम्झाउँदा पनि लागेन, कुकुरको पुच्छर सोझ्याउन खोजेजस्तै मात्र भयो ।
सायद कसैप्रतिको माया, कसैप्रतिको चिन्ता हट्यो भने त्यस ठाउँमा नपग्लिने खनिज पदार्थ भरिदोरहेछ कि कुन्नि ! या त छोराको बिग्रँदो आचरणबाट वाक्क दिक्क भएर हो, एक दिन अस्ति भर्खरै भाइको झ्यापुल्ले साथी, हरिका बाले भन्थे – ‘के गर्ने ? जति भने पनि लागेन, यस्तो छोरो हुनुभन्दा नहुनु वेश । कस्तो कुपुत्र जन्मेछ । घरिघरि त लाग्छ, भातमा विष हालेर दिउँ र कसरी छट्पटाइछट्पटाइ मर्दोरहेछ ? कसरी प्राण जाँदोरहेछ हेरिरहुँ । साँच्चै कुन दिन त्यसो गर्न पनि बेर मान्दिनँ, म त झोक्की पो छु ।
‘सोच्नै नहुने कुरा कस्तो गर्छु भन्न सक्नु भएको हो हजुरले, सुध्रेलान् नि अब !’ मैले यति मात्र भनेको थिएँ ।
वास्तवमा यिनीहरू सुध्रनेखालका जन्तु रहेन छन्, आजकल मलाई यस्तै लाग्न थालेको छ । पानीजस्तै स्वभाव भएको कहिल्यै माथि हेर्न नजान्ने, सधैँ उँधो मात्र हेर्ने, मेरो भाइको टिप्पणी उठाउन मन लाग्छ ।
कहिले ड्राइभिङ सिक्छु, कहिले पासपोर्ट बनाउछु, अनि विदेश जान्छु, आदि-इत्यादि यसो गर्छु र उसो गर्छुभन्दा सोझी आमालाई फस्ल्याङफुस्लुङ पारेर पैसा फुत्काइहाल्छ । जब हातमा पैसा पर्छ, भनेअनुसार गर्नु त परै जाओस् दुई चार दिन घरैसमेत आउँदैन । सोच्छु फेरि कहिल्यै राम्रो सुन्न पाइने होइन, कसैलाई पिटेको, कसैको फलफूल चोरेको, कसैसँग सापट पैसा मागेर नदिएको, कसैलाई नमज्जासित ठगेको, कसैको दोकान तोडफोड गरेको सिवाय ।
अचेल त उसको नामले ‘दादा’ उपाधिको माला लगाएको छ अरे । उसँग आजकल सबै भयभीत हुन्छन् अरे । उसको नाम कविराजबाट संशोधन, प्रशोधन भई केबी भएको छ, सबैले उसलाई त्यसै भनेर बोलाउँछन् – केबीजी, केबी सर, केबी दाइ । कति जना सो नाम प्रकट गरी ‘कता जानु भएको बारे सोध्छन् । म छक्क पर्दै थाहा नभएको बताउँछु । क्या राम रमितामा बिताएको छ, समय । सधैँ यसरी बिताउन सके त जाती नै हुन्थ्यो तर एकपटक नराम्ररी पछुताउँछ, यो समय खेर फालेबापत ।
हिजो रात निक्कै छिप्पिएको थियो । म सुत्न लागेको थिएँ । आमाले ढोकामा उभिएर भन्नुभयो-’हेर त बाबु ! त्यो तेरो हरामी भाइ अझसम्म आएन । जा त ढुलमुले चोकतिर छ कि ? सायद टिल्ल भएर बसेको होला ।’
‘साध्य नहुने कुरा नगर्नोस् आमा, त्यो कहाँ बस्छ ? के गर्छ ? किन घर आएको छैन ? म पुच्छर लाग्न सक्दिनँ । बानी राम्रो भए पो हुन्छ । कि त पशु भएको भए खोज्न जानु ? ढोका लाएर सुत्नोस्, आए आउँछ, नआए आउँदैन, त्यो जड्याहा ।’ मैले सुतीसुुती भनेँ ।
आमा गएपछि मैले खुब सोचेँ, मस्तिष्क सोहोरिने गरी सोचेँ-एउटै कोखबाट जन्मेको, एउटै लाम्टो चुसेको भाइ हो । सम्भवतः मलाई जन्माउँदा आमालाई जस्तो पीडा भएको थियो, उसलाई जन्माउँदा पनि उस्तै । म जन्मदा जति खुसी बाआमा भएका थिए, सायद ऊ जन्मदा पनि बाआमा त्यति नै खुसी भएका थिए होलान् । आज बा हुनुहुन्न । उसको मतलब यो होइन कि ऊ जता मन लाग्छ, उतै हिँड्न सकोस्, एउटा अभिभावकीय रोकतोक नहोस् । कमसेकम त्यता खाल्टो छ, त्यता भीर छ भनेर बुझाउन त मैले सक्नुपर्छ नि । नत्र भने म जतिको बुजु्रक दाइ भएको के अर्थ भयो । भोलि पनि यही गतिमा मति बिगार्दै गयो भने ‘मेरो के नाक रहला ? मेरो केही इज्जत उसँग पनि त जोडिएको छ नि ! आखिर गाउँले यिनै हुन्, राँडीले हुर्काएको छोरो कस्तो हुन्थ्यो त नि भनेर हिस्सिखिस्सी गर्लान् शत्रु, हाँस्ने अवसर बन्ला । अझ, त्यस्ताको सङ्गतले हाम्रो छोरो पनि बिग्रियो भन्लान् । उसलाई भौतिकरूपमा माया गर्ने सामथ्र्य त मसँग छैन, कमसेकम भाइको हकमा भावनात्मक सर-सल्लाह त दिन सक्छु । अन्त्यमा राम्ररी सम्झाउने विचार गरेँ । विभिन्न शैलीमा सम्झाउँदा यदि मानेन भने आफ्नो हैसियतले भ्याएसम्म थर्काउने निधो गरेँ ।
भोलिपल्ट बिहान ताजा मानसिकतामा उसलाई मैले भनेँ- यसरी समय र जीवनलाई कतिञ्जेल धोका दिन्छस्, कुनै दिन आफूले आफूलाई ऐनामा हेरेको छस् । हेर भाइ ! आफ्नो आँखाको कसिङ्गर झिक्न अरूको मद्दत लिनुपर्छ । मैले भनेको मान्, तँ हिँडेको बाटो, सर्वथा गलत छ । एक मिनेट आफ्नो बानी व्यहोराबारे समीक्षा गर त ! कुनै दिन त्यस्तो छ कि जुन दिन आज मैले सबैको मन जित्ने, जसिलो काम गरे भन्नु ।
मैले जति भने पनि ऊ सुनिरहन्छ ।
म भन्न छाड्दिन अर्थात् बोलिरहन्छु -किन यसरी लक्ष्यहीन र दीनहीन भएर हिँड्छस् । तैँले पनि राम्ररी बुझ्न सक्छस्, गाँजा-रक्सीमा डुब्नु, झै-झगडा गर्नु नराम्रा काम हुन् भन्ने तर किन बुझ पचाएझँै गरेको छस् । बरु स्पष्टसँग भन्, आमा र मैले तेरो लागि कुनै चित्त नबुझ्ने काम गरेका छौँ कि ? त्यस्तो केही छ भने भन् हामी बाधक बन्दैनौँ । नत्र तैँले यस्तो नराम्रो बानी लिएर आफूसहित हामीलाई धोका दिन पाउन्नस् । म मान्छु, नशामा डुबेका मान्छे पानीमा फलेकझैँ एक्कासि उत्रन सक्दैनन् । बिस्तारबिस्तार तिनलाई छोड्न त सकिन्छ नि । कस्ताकस्ता सडिसक्न लागेका मान्छे त बुद्धि फिरेर पुनर्जीवन जिउन थालेका छन् । हेर भाइ, असम्भव भन्ने केही छैन, मुख्य कुरा त आफू नै सचेत हुनुपर्दछ । अरूले भनेर हुँदैन आफैँले नै छोड्न तयार हुनुपर्दछ । पढ्न नसक्नु, जागिर नपाउनु जस्ता समस्या आफ्नै ठाउँमा छन्, चरित्र सुधारमा तिनको कुनै माने हुँदैन ।
ऊ मैले भनिञ्जेल स्तम्भित मुद्रामा भुइँतिर हेरिरहृयो, उसँग न त प्रतिवादको भाव थियो, न त पश्चातापको भाव । जब म बोल्न छाडेँ, उसले सामान्य भाषामा भन्यो-दाइको कुरा सकियो होला, ‘मलाई अलि हतार छ, म जान्छु है त ।’
म ऊ गएतर्फ हेरिरहेँ, असफल मुडमा । ऊ जतिजति मेरा आँखाबाट टाढिँदै जान्छ, मलाई लागिरहन्छ-दाइ हुनुको नाताले मैले ऊमाथि राखेका धारणाहरू, मैले माया मानेर बोलेका अर्तिहरू, आज बालुवामा पानी खन्याएझैँ पोखिरहेका छन् । साँच्चै कसैलाई माया गर्नु पनि एउटा कमजोरी रहेछ ।
ऊ अचेल ढुलमुले चोकको दादा कहलिन थालेको छ ।
-पोखरा, कास्की
(श्रोत :- मधुपर्क २०६७ असोज )