~टङ्क भट्टराई~
ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा नीलो पानीमा सेता छालहरू उराल्दै बेतलौरीजस्ता बाङ्गएिर नदीहरू बग्थे । रूखका डालीमा बसेर कोहो कोहो कोइली कराउँथ्यो ।
अति रमणीय, मनमोहक र त्यो स्निग्ध वातावरणमा ऊ एक्लै रमाइरहेको थियो ।
ऊ नेपाल भर्खरै आएको । उसको बसोबास विदेशमै भए पनि ऊ पटक-पटक नेपाल आउने गर्छ र ऊ अरूलाई नेपाली नै हुँ भन्ने गर्छ । नेपाल आउँदा नेपाली भेषभूषामै ठाँटिएर हिँड्ने उसलाई नेपाली भाषाको राम्रो ज्ञान छ । त्यसैले उसलाई देख्नेहरूले, भेट्नेहरूले र ऊसँग बोल्नेहरूले उसलाई विदेशी हो भन्नै सक्तैनन् ।
“अहा यो प्रकृतिको भरपुर मादकता, यो अलौकिकता आफैँसँग चोरेर लान पाए म कति भाग्यमानी र सुखी हुन्थेँ होला,” उसले मनमनै कल्पना गर्यो ।
प्रकृतिको रमाइलो आँगनमा रमाइरहेको बेला कता-कता एउटा मीठो नारी स्वर उसले सुन्यो-
‘माथि-माथि सैलुङ्गेमा चौँरी चराउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई’
त्यो सुन्दर नारी आवाजतिर असाध्यै लोभिएर ऊ बिस्तारै उतैतिर लाग्यो । चुल्ठामा रातो गुराँस सिउरिएर एउटी जवान युवती भेडा चराइरहेकी थिई । भेडाहरू चौरीमा निमग्न चरिरहेका थिए । ऊ भने अर्कै सुन्दर संसारमा निर्वाध उडिरहेकी थिई र उसले थाहै नपाई अनेक थरीका गीतका गेडाहरू उसका मुखबाट निस्किएर पूरै वातावरणलाई गुञ्जाएमान तुल्याइरहेका थिए ।
ऊ बिस्तारै त्यहीँ गयो जहाँ युवती थिई ।
रगत चुहिएलाजस्ता राता गाला, हावासँगै सुस्त फर्फराइरहेको कालो केश, लोभलाग्दा बाटुला आँखा, त्यो ओठको मोहिनी लालित्य, सुकसुकाउँदो र लहलह उसको कुमारी जोवन जो त्यही गुराँससँगै फक्रिरहेको थियो त्यो अनुपम जादुगरीले उसलाई लोभ्याउनसम्म लोभ्यायो ।
‘अहा यो त स्वर्गकै परी रहिछ । यसलाई आपmनी बनाउन पाए……।’ उसको मनमा तृष्णा जाग्यो । त्यो एकान्त निर्जन ठाउँमा एउटा अनजान युवक छेउमा आएको देखेर युवती डराई र त्यहाँबाट उठ्न खोजी ।
“तिमी किन डराएकी ? म पर एक्लै बसिरहेको थिएँ । तिम्रो मीठो गीतले मलाई यता तानेर ल्यायो । तिमी असाध्यै राम्री देखिन्छ्यौ । के म तिम्रो छेेउमा बस्न सक्तिन ?”
उसको मुस्कुराहटभित्र खै के अनौठो जादु थियो कुन्नि जसले युवतीलाई लठ्ठ तुल्यायो ।
“तिम्रो नाम के नि ?”
“मेरो नाम प्रकृति”
“तपाईंको नि ?”
“मेरो नाम विकास ।”
प्रकृतिको त्यो रमाइलोपनसँगै उनीहरूले निकैबेर रमाइला कुराकानी गरे । दुवै एकअर्कामा औधी आकषिर्त भए । दुवैको हृदयमा प्रेम अङ्कुरायो । प्रेमको प्रतीक रातो गुराँसको फूल टिपेर प्रकृतिले विकासलाई दिई । विकासले पनि उसको चुल्ठाको फूल निकालेर अर्को ढकमक्क रातो फूल सिउरिदियो ।
“म तिमीलाई बिहा गर्छु प्रकृति”
प्रकृति राजी भई ।
विकास र प्रकृतिको विवाह भयो ।
उसले प्रकृतिलाई सहरमा ल्याएर भव्य महलमा भित्र्यायो र अनेक सुखसयलमा भुलायो ।
प्रकृति गर्भवती भई ।
महिना पुगेपछि उसले सन्तान जन्माई । असहृय पीडा खेपेर जन्मेको सन्तानतिर अपार खुसीका साथ उसले पुलुक्क हेरी तर उसको त्यो खुसी एकै छिनमा कहाँ हरायो कहाँ ?
त्यो शिशुका हात थिए तर औँला थिएनन् । खुट्टाहरू थिए टेक्ने पाइताला थिएनन् । आँखा थिए संसार देख्ने नानी थिएनन् ।
आफूले जन्माएको सन्तानको त्यो रूपविहीन रूप देखेर प्रकृति प्रलाप गरिरही । विकासले रमिता हेरिरहृयो ।
एकछिनमा आकाशवाणी भयो ।
“हे प्रकृति तैँले जन्माएको त्यो शिशु जो जन्मदै अपाङ्ग छ त्यो भित्र पनि नितान्त खोक्रो र शून्य छ । यो अब निरन्तर यसैगरी रोइरहनेछ र तँलाई पनि बाँचुञ्जेल रुवाइरहनेछ । त्यसैले यसको नाम ‘प्रलाप’ रहयो ।
त्यो सुनेर प्रकृति झन् भुइँमा ढलेर रुन थाली ।
विकासले प्रकृतिलाई बिस्तारै उठायो अनि नवजात शिशुलाई आˆनो हातमा लियो र प्रकृतिको काखमा राखिदिँदै भन्यो –
“प्रकृति यो ‘प्रलाप’ तिमीलाई उपहार ।”
त्यसपछि ऊ त्यहाँबाट हिँड्यो र बेपत्ता भयो ।
प्रकृतिले उसलाई कहिल्यै भेटिन ।
केही समयपछि अर्को रूप बदलेर नेपाल आयो ।
उसले नेपाली गाउँघर, तराई, पहाड सबै चहार्यो । दसैँमा गाइने मालश्री, पहेँलो जमरा र रातो टीका, तिहारको देउसी-भैलो, तीजको सङ्गनिी, बालन, रोदी, सोरठी, घाटु, मुर्चुङ्गा र बिनायो, बाँसुरी, डम्फु, मादल सहनाई, नर्सिंहा, ट्याम्को, ढोलक, झ्याम्टा आदि यी नेपाली लोकसंस्कार, चालचलन र पहिचानहरूबाट ऊ मुग्ध भयो ।
उसले रोदीमा नाच्दै गरेकी एउटी अत्यन्त सुन्दरी षोडशीलाई देख्यो जसले गर्दा उसलाई फेरि बिहा गर्ने इच्छा जाग्यो ।
अब ऊ षोडशीलाई दिनहुँजसो पछ्याउन थाल्यो
एक दिन उसले एकान्त पारेर षोडशीलाई सोध्यो-
“तिम्रो नाम के ?”
“संस्कृति ।”
“तपाईंको ?”
“विकास ।”
यो चिनजानको औपचारिकतापछि उसले संस्कृतिलाई प्रेमको नाटक रच्यो ।
संस्कृति मख्ख परी ।
” तिमीलाई बिहा गर्छु ।” उसले प्रस्ताव राख्यो ।
संस्कृति राजी भई ।
विकास र संस्कृतिको विवाह भयो ।
विकासले एउटा नयाँ सुविधासम्पन्न घरमा संस्कृतिलाई भित्र्यायो ।
विकासको सामीप्यमा संस्कृति निकै खुसी र सुखी रही र ऊ दोजिया पनि भई ।
निकै प्रशव पीडापछि उसले छोरी पाई । उसले निकै खुसीका साथ छोरीलाई हेरी । तर ऊ खुसी हुनुको सट्टा अचम्मित भई । किनकि त्यो नवजात शिशुको शरीरभरि दागैदाग थियो । अनुहार हेरि नसक्नुको कुरूप थियो । हात खुट्टाहरू पनि लुला-लङ्गडा थिए ।
आफूले जन्माएको सन्तानको विकृत रूप देखेर संस्कृति पीडाले छट्पटिएर रोई ।
त्यतिखेरै आकाशवाणी भयो-
“हे संस्कृति यो तेरी छोरीको नाम ‘विकृति’ हो । यो विकृति रहुञ्जेल तँ कहिल्यै सुखी रहने छैनस् , तेरो अस्मिता हराउँदै जानेछ ।”
त्यसपछि विकासले बच्चालाई भुईंबाट उठायो र रगताम्मे भएकी संस्कृतिलाई दिँदै भन्यो –
“संस्कृति यो विकृति तिमीलाई उपहार । यसलाई सम्हालेर राख ।”
त्यसपछि ऊ ढोकाबाट बाहिर निस्कियो र अलप भयो ।
संस्कृति र विकासको फेरि कहिल्यै भेट भएन ।
समृद्धि राम्री थिई ,सुवासित फूलजस्ती । मङ्सिरमा खेतका फाँटमा लटरम्म फलेर झुलेका धानका पहेँला बालाजस्ती थिई ऊ । उसको झरिलो जोवन देखेर नलठ्ठनिे को थियो होला र ?
शिरमा सुनको ताज, कानमा ढुङ्ग्री, नाकमा बुलाकी, गलामा तिलहरी, हातमा बाला र खुट्टामा पाउजु लगाएर ऊ साथीहरूसँग हाटबजार गर्थी । चाडपर्वमा नाच्थी, गाउँथी, रमाउँथी । ऊ धर्तीमा हाँस्दा आकाशमा जून फूल्थ्यो । रुँदा झरी बर्सन्थ्यो । ऊ नाच्दा मीठो लयमा कोइली गाउँथ्यो । उसले गाउँदा वनपाखामा मयूरहरू बेस्सरी नाच्थे ।
समृद्धि सधैँजसो रमाउँथी । खुसी देखिन्थी । ऊ रमाउँदा चराचर सृष्टि रम्थ्यो । वसन्त रङ्गीबिरङ्गी फूल फुलाएर उसको अगाडि टुप्लुक्क आउँथ्यो ।
विकास फेरि अर्को रूप धारण गरेर नेपाल आयो ।
यसपाला उसले समृद्धिलाई भेट्यो । समृद्धिको मोहिनी रूप र फकि्रँदो जवानीले ऊ उन्मत्त भयो ।
उसले प्रेमको नाटक मञ्चन गर्यो र आफ्नो जादुगरी व्यक्तित्वले समृद्धिलाई आकषिर्त गराएरै छोड्यो । समृद्धि उसको न्यानो र बलियो बाहुपासमा बाँधिई । अभूतपूर्व खुसीको मनोरम क्षणमा दुवैले एक-अर्कालाई सहस्र चुम्बन गरे ।
विकास र समृद्धिको विवाह भव्यरूपमा सम्पन्न भयो ।
उनीहरूको दाम्पत्य जीवन अत्यन्त रोमाञ्चित र सुखद घडीमा बित्दै थियो । यसैबीच समृद्धिले गर्भधारण गरी ।
उसको कोखबाट छोरो जन्मियो ।
प्रफुल्ल मुद्रामा उसले नवजात शिशुतिर हेरी तर एकै छिनमा आकाशका काला बादलहरूसँगै उसका चेहरामा विषाद्का धर्साहरू दौडिन थाले ।
बालक भोकले मर्न आँटेको ख्याउटेजस्तो थियो । छक्कलाग्दो कुरो जन्मदासाथ त्यो बालकका हातमा खाली कचौरो थियो र ऊ मलाई-मलाई भनेर चिच्याइरहेको थियो । समृद्धिले छाती निचोरी तर अहँ रसाएन ।
एकै छिनमा आकाशवाणी भयो –
“हे समृद्धि तैँले जो बच्चा जन्माइस् त्यो जन्मनेबित्तिकै भिखमङ्गा बनेर जन्मिएको छ । त्यसैले यसको नाम भिखारी रहयो ।”
समृद्धि रुन थाली । त्यही बेेला त्यो भोकले चिच्याइरहेको बालकलाई विकासले हातमा उठायो र समृद्धिलाई दिँदै भन्यो-
“समृद्धि लौ लेऊ, तिमीलाई यो ‘भिखारी’ उपहार ।”
यति भनेर ऊ त्यहाँबाट तुरुन्तै बेपत्ता भयो ।
त्यसपछि समृद्धि र विकासको पनि भेट भएन ।
शान्ति नदीका किनारमा प्रायः टोल्हाउने गर्थी । नीलो र कञ्चन नदीको सङ्गीतमय प्रवाहमा उसलाई बगँू-बगूँ लाग्थ्यो । त्यसको अनन्त गहिराइमा डुबेर माछाहरूसँगै खेलूँ-खेलूँ लाग्थ्यो ।
शान्ति हरिया वनहरूमा गएर रूखका डाली-डाली नाच्ने गर्थी । बुटा र पोथ्राहरूमा लुकामारी खेल्थी । हरिया चहुरहरूमा लडीबुडी गर्थी । वसन्त्ाको बेला लालीगुराँसले आफ्नो चुल्ठो सजाउने गर्थी । शरदको बेला घर-आँगनीमा बसेर मध्यरातमा सेतो टह-टह किरण धितमरुञ्जेल पिउँथी र बिहानको झुल्के घाममा आकाश छुने गरी उभिएर सेता दाँत देखाउँदै लहरै मुस्कुराइरहेका हिमालहरूको चम्किलो र सुन्दर आभासँगै ऊ प्रफुल्ल भएर मुस्कुराउने गर्थी ।
विकास फरि भेष बदलेर नेपाल आयो ।
बुद्ध जन्मेको देश, यो शान्त तपोभूमि, यी पहाडी कन्दरा, हिमाल, नदी र छहराहरू हेरेर ऊ मुग्ध हुने गथ्र्यो । आफ्नो बेचैन, अशान्त र आक्रान्त मनलाई शान्त गर्न ऊ पटक-पटक नेपाल आउने गथ्र्यो ।
एकदिन हरिया पहाडको बीचबाट छङछङ-झरझर आवाज निकालेर बग्दै गरेको सेतो झरनाको सुमधुर सङ्गीतसँगै त्यसैको छेउमा छमछम नाचिरहेकी शान्तिलाई उसले देख्यो ।
अत्यन्त रूपवती शान्ति जो निश्छल, निर्मल र बैँसले फक्रक्क फक्रेकी थिई उसलाई देखेर विकास मोहित भयो ।
विकासले शान्तिलाई प्रेमको जाल फ्याँक्यो ।
शान्ति त्यसमा परी ।
विकास र शान्तिको विवाह भयो ।
केही समयपछि शान्ति गर्भवती भई ।
उसले छोरी पाई । पीडाले थिल्थिलिएर जिउ हलुङ्गो भएपछि अतुल खुसीका साथ उसले आˆनो सन्तानलाई हेरी तर उसको खुसी एकैछिनमा निस्तेज भयो । त्यो नवजात बालिका अत्यन्त आक्रोशित र रौद्र मुद्रामा चिच्याइरहेकी थिई । अचम्मको कुरो के थियो भने उसले जन्मदै हातमा पेस्तोलको जस्तो आकृति भएको वस्तु बोकेकी थिई ।
शान्ति डरले चिच्याउन थाली ।
विकास मुकदर्शक बनेर हेरिरहेको थियो ।
त्यही बेला अचानक आकाशवाणी भयो –
“हे शान्ति तँ आफू शान्ति भएर पनि जन्मदै हातमा हतियार बोकेकी डरलाग्दी बालिका जन्माइस् । त्यसको नाम अशान्ति रहनेछ । तँ अब शान्तिले बाँच्न सक्ने छैनस् ।”
विकासले बेहोसले भुइँमा ढलेकी शान्तिलाई बिस्तारै उठायो र त्यो बालिकालाई हातमा लिएर शान्तिका काखमा राखिदिँदै भन्यो –
“शान्ति मेरो उद्देश्य पूरा भयो ।
यो अशान्ति तिमीलाई उपहार ।”
यति भनेर ऊ त्यहाँबाट हिँड्यो ।
शान्तिले त्यसपछि उसलाई सपनामा समेत देखिन ।
सभ्यतालाई सारी, चोलो र पछ्यौरीले साह्रै खुल्थ्यो । गाउँले जनजीवनमा हुर्किएकी सभ्यता अत्यन्त सोझी, सरल र निश्छल थिई । दुनियाँभरका छक्का-पञ्जा, कोलाहल र रडाकोका खेलहरू न त उसले खेल्न जानेकी थिई न त देखेकी नै थिई ।
ऊ आँगनमा तुलसी रोप्थी । बारीका डिलमा सयपत्री फुलाउँथी । देउरालीमा फूल चडाउँथी । वरपीपलको चौतारीमा गीत गाउँथी । दुःखीहरूको सेवा गर्थी । परिश्रम गर्न लेकबेँसी धाउँथी । माटोमा पसिना पोखेर सुन फलाउँथी ।
सबैलाई सभ्य व्यवहार गर्ने सभ्यता सुसंस्कृत, सहनशील र सबैकी प्यारी थिई । सबैले उसलाई बत्तीस लक्षणले युक्त नारी भनेर प्रशंसा गर्थे । त्यो गाउँ जहाँ सभ्यताले पाइलो टेकी, हुर्की, बढी र जवानी भई त्यहाँ बिस्तारै अर्को लोकबाट स्वर्ग झरेको हो कि जस्तो लाग्थ्यो । उसको आदर्श चरित्र, उदात्त भावना, विचार व्यवहार र गुणले ऊ सुवासित फूलझैँ मगमगाएकी थिई जसको सुवासना टाढा-टाढासम्म फैलिएको थियो ।
विकास यसपल्ट पनि आफ्नो असली रूप लुकाएर नेपाल आयो । उसका लागि यो देशको ढोका सधैँ खुला थियो । त्यसो त ऊ आफूलाई नेपाली नै हूँ भन्थ्यो ।
यसपाला उसले सारी चोलो लगाएर पछ्यौरी हावामा फर्फराउँदै गाउँको देउरालीमा फूल चढाउँदै गरेकी सभ्यतालाई भेट्यो । सभ्यताको रूप लावण्य देखेर ऊ मुग्ध भयो र उसलाई पछ्याउन थाल्यो । सुरुमा सभ्यताले उसलाई शङ्काको नजरले हेरी तर आखिरमा विकासको प्रेम जालमा ऊ फसेरै छोडी ।
एक दिन विकास र सभ्यताको विवाह धुमधामका साथ सम्पन्न भयो ।
विकासले सभ्यतालाई गाउँबाट सहरमा ल्यायो र आलीशान महलमा भित्र्यायो । केही समय उनीहरूको दाम्पत्य जीवनमा वसन्तको हरियाली छायो ।
सभ्यताले पेट बोकी ।
महिना पूरा भएपछि बालक जन्मियो ।
असहृय प्रशव पीडापछिको सन्तानलाई देख्न कुन आमालाई हतारो हुदैन ? उसले नवजात शिशुलाई पुलुक्क हेरी । बालक राम्रो र तन्दुरुस्त देखिन्थ्यो । उसको अनुहारमा एकाएक खुसीको चमक छायो । त्यो आफ्नो प्यारो मुटुको टुक्रा जो दस महिना गर्भमा बसेर यस धर्तीमा ओर्लेको थियो त्यसलाई मुसार्न उसले आफ्ना हातहरू अघि बढाई तर त्यतिखेरै एउटा आकाशवाणी भयो-
“हे सभ्यता रूप र गुणले सम्पन्न भए पनि तँ यस दुनियाँकै अभागी नारी रहिछेस् । तैँले जो बालक जन्माइस् त्यो अहिले स्वस्थजस्तो देखिए पनि त्यसले तेरो गर्भै देखि खतरनाक रोग ‘एड्स’ बोकेर आएको छ । यसको नाम अब ‘एड्स’ रहृयो ।”
सभ्यता डङरङ्ग भुईंमा ढली ।
निकैबेर बेहोस भएर बिस्तारै होस खुलेपछि विकासले उसलाई बिस्तारै उठायो र त्यो नवजात शिशुलाई हातमा लिएर उसको काखमा राखिदिँदै भन्यो –
“सभ्यता तिमीलाई यो ‘एड्स’ उपहार ।”
त्यसपछि अकस्मात् सभ्यताको आँखाबाट विकास ओझेल पर्यो- कहिल्यै नभेटिने गरी ।