कथा : डानियल

~जया राई~Jaya Rai

लुलु उसको ब्वाइफ्रेण्डलाई पच्छ्याउँदै महिना दिनको लागि बिदा मनाउन मेक्सिको उडी। लुलु फेसाङकी बालसखा हो । ऊ लुलुको बारेमा बढी नै चिन्ता गर्छे । उतै हत्या गरिदेला कि भन्ने कत्रो पीर छ । किन त्यस्तो डरलाग्दो, भरोसा नहुने ब्वाइफ्रेण्डसँग जाँदै छे भनेर फेसाङ पीर गरिरहन्छे ।

जान अगाडि लुलुले सबै सामान फेसाङको कोठामा राखेर गई । ऊ अन्तै कतै बस्थी । कोठा खाली गरी, गर्दै गरेको काम पनि छाडी । जान अधिल्लो रात लुलु हामीकहाँ नै बस्न आई । एकाबिहानै फेसाङले उसलाई हिट्थ्रो एयरपोर्टमा छाड्न गई ।

फेसाङ भन्छे,“लुलुले म्याक्सिकोबाट हामीलाई राम्राराम्रा पोष्टकार्ड पठाउँछे”ऊ खुशी हुन्छे यी कुरा सम्झेर ।

फेसाङ आफू पनि टुरमा गइरहन्छे । पुग्न साथ घरका हामी सबैलाई राम्राराम्रा पोष्टकार्ड पठाउँछे । कार्ड, ऊ आइपुग्न अगाडि नै हुलाकबाट आइपुग्छ । तर कुनैचाहिँ ऊ आइपुगेको दुई–चार दिनपछि मात्रै आइपुग्छन् । त्यो बेला फेसाङ हाँस्तै भन्छे, “हाऊ फन्नी ! युरोपीयन मेल सर्भिस ऊ टुरबाट आइपुग्दा खालखालका राम्रा–राम्रा कोशेली लिएर आइपुग्छे । फेसाङ्ग सँधैभरी टुर मै गइरहे हुने जस्तै लाग्छ । हनु त उसलाई युरापेका सबै देशहरू पानी पधेरा जस्तै छन् ।

गत साल नर्वे क्याम्पिङ जाँदा पानी परेर बिजोक । रातभर सुत्ननसेक्ने कथा सुनाउँदा धेरै दुःख लागेको थियो।

लुलु गएको दुई हप्ता भयो, न त पोष्टकार्ड नै आउँछ, न त इमेल नै पठाई । हामी बडो सोचमा पर्छौं ।

फेसाङ एक बेलुका मेरो कोठामा आएर उसको सुन्दर बाटुलो अनुहारले मलाई हेर्दै भन्छे, “लक्ष्मी ! खै लुलुको इमेलधरि आएन, सायद ऊ मरी क्यार !”
“हो र !” म शोक र विस्मातको तीतो निश्वास छाड्छु ।

हामी अति नै चिन्तीत छौं ऊ फर्की न आउली कि !

एक दिन फेसाङलाई, डानियलले ठूलो पूmलको बुके सप्राइज वर्थडे उपहार पठाएछ । तर त्यो दिन घरमा कोही नभएकोले पूmल ल्याउने व्यक्तिले फेसाङलाई नै फोन गरेर बोलाउनु परेछ । क्या बोर ! सरप्राइज, उपहार पहिले नै थाहा भयो ।

कोठामा ठूलो बुके छोडेर त्यो बेलुका फेसाङ डानियलसँग डिनर खान गइछे । मचाहिँ बेलुका कामबाट फेर्केर खानाको काम सकीवरी सुत्ने तरखरमा छु । अरू साथीहरू आ–आफ्ना कोठामा पसिसकेका छन् ।

तल मूल ढोका खोलियो । फेसाङ तलैबाट कराई, “लक्ष्मी ! तिमी सुतिसकेकी क्या हो !”

ऊ सिढी चढ्दै आएर मेरा ढोका ढक्ढकाउँछे । म ढोका खोल्छु, ऊ हातमा ठूलो केकको बट्टा बोकेर उभिएकी छे । यमानको डानियल पछाडि हाँस्तै उभिरहेको छ । म स्वागत गर्छु, “आऊ न भित्रै, कस्तो छौ डानियल ”
फेसाङ हाँस्दै भन्छे, “आज मेरो वर्थ डे !”
म झस्केर भन्छु, “हो र !”

फेसाङले मलाई तान्दै लगी उसको कोठातिर । ड्रेसिङ टेबलको देब्रेपट्टि भूँईमा ठूलो राम्राराम्रा रङिचङी पूmलको रास ‘बूके’ देखेर तर्सें । ल्याउनेले पनि कस्तरी ल्यायो त्यो एक अँगालो पूmल ।

पूmलको माथि बर्थडे गर्ल लेखेको बार्बी बेलुन हावामा हाँस्तै फर–फर उडिरहेको थियो ।मैले उसलाई त्यै क्षण अँगालो हाल्दै ‘ह्यापी वर्थडे फेसाङ !’ भन्दै दुवै गालामा म्वाई खान्छु ।

अरू कोठाका सबै साथीलाई पनि निम्ता गरेर उसको वर्थडे केक काटियो । केक त काटियो तर उपहार त उधारो पो हुने प¥यो है भन्दै जीस्काउँछौं । ऊ ‘नेभर माइन्ड’ भन्दै केक कागजका प्लेटमा सबैलाई भाग लागउँछे ।
तर मैले सेरामिकको एउटा राम्रो खेलाउना दिएँ । क्याम्ब्रिज टुरमा जाँदा किनेथेँ । मेरो कोठामा पस्दा उसका आँखा सधैँ त्यो खेलाउनामा परेकै हुथ्यो । अरू साथीहरूले बन्द खाममा केही बौण्ड राखेर दिए वर्थडे यसरी नै मनायौं । जे होस् ऊ खुशी भई ।

ऊ आज सुन्दर, झन् सुन्दर देखिएकी छे । उसको ओभल सेपको अनुहार, टिपीकल सिँगापुरे लवजकी, कालो सागीकट काटेको कपाल, झिम्झिम् गरिरहने स–साना चम्किला आँखा । होची होइन, सानो कद्की फेसाङ ! हामीहरूले उसलाई उपनाम दिएका छौँ । ‘पेङगुइन’ भन्छौं ऊ साच्चै नै पेङ्गुइन जस्तै छे । राम्री लाग्छे, सिंगापुरे ठिटी 

एक दिन कोठाबाट कराउँदै पेङ्गगुइन निस्की, “ए लक्ष्मी ! लुलु बाँचिरहेकी रहिछे, इमेल पठाइछे ।”

उसको त्यो खबरले मलाई कताकता परेको भित्री पीरले छुट्कारा पाएँजस्तै भयो । हलुका भयो मन । खुशीलाग्यो । ऊ जुलाईको तीस तारिक हिँटथ्रो एरपोर्टमा ओर्लन्दै छे । लिन भने जानु पदैेन रे । यी सबै जानकरी पेङ्गुइनबाट भयो ।
हामी नजानिन्दो पारामा उसको प्रतिक्षामा छौं । सकुसल फिर्ती सवारीको कामना गर्दैछौं ।

लुलु र पेङ्गुइनको उचाई उत्रै छ । तर लुलुको छाला र कपाल खस्रो छ र जीउ कस्सिएको छ । त्यति सुन्दरी होइन है । तर मिलेका सेता दाँत, मिलनसार र आट्टिली छे, लुलु ।

पेङ्गुइनले चीन्ता गर्छे, उसकी बालसखा लुलुको बारेमा । कारण लुलुको म्याक्सिकन व्वाइफ्रेण्ड झगडालु र आक्रमक छ । स्वार्थी र प्ले व्वाई छ । तर मैले भने भेटेकी छैन है । भन्नेहरू भन्छन् यिनीहरु त्यति असलचाहिँ हुँदैनन् भनेर । तर लुलु भने त्यो म्याक्सिकनलाई ज्यान गए छाड्ने होइन । माया भन्ने त कति गर्छे कति ! उसले कुनै बेला कोठाभाडा तिरिदिनु पर्छ, पाल्नु त छँदै छ । प्रायः झगडा गरिरहन्छ । जिमहल जाने भनेर हिँडेको पाँच–छ घण्टै हराउँछ । किन, कता गएर ढिलो भएको, भनेर सोधे रुखो जवाफ फर्काउँछ, “म कहाँ गएँ के गरेँ, त्यो तिम्रो विजिनेस होइन ।”

कुनै रात अन्तै विताउँछ, त्यो पनि लुलुले सरोकार राख्नु पर्ने विषय ठान्दैन ऊ । तर पनि लुलु माया गर्छे ।

लुलु सिंगापुरबाट होलिडे वर्किङ्ग भिषामा दुई वर्षको लागि लण्डन आएकी हो । ऊ बास्तवमा फेसन डिजाइनर, तर आफ्नो खुबी अनुसारको काम भेटीन। काम त उसले क्याफे र रेष्टुरेण्टमा गरी।त्यही मौकामा भेटी स्वार्थी व्वाइपे्रmड ।
पेङगुइन भन्छे, “लुलुको यो पहिलो व्वाइफ्रेण्ड हो रे । त्यसैले छाड्न सक्तिन रे।जस्तै दुःख दिए पनि आजसम्म सहेर बसेकी छ ।”

म मनमनै भन्छु— हे आमाजाति ! प्रकृतिले नै तिम्रो हृदय कोमल दिएको छ । परिस्थिले कठोर पारेर हुन्छ ?
लुलु आइपुगी बल्ल ढुक्क लाग्यो, बाँचेर फर्किछे । पेङ्गुइन र मचाहिँ यता पीर लिएर भुट्भुटिने, लुलु आट्टी छे, म्याक्सिको घुमेर आइपुगी ।

हामी सबैलाई डरलाग्दा मुखुण्डो उपहार लिएर आइपुगी । त्यो रात पेङ्गुइन ती डरलाग्दा मुखुण्डा लगाउँदै फेर्दै मलाई तर्साउन धेरै पटक आइरही । मलाई हैरानै पारी तर्साएर
० ० ०
कालो छाला हुनाको कारणले अठार वर्षको केटालाई ०५ जुलाईको अन्तीम सातातिरको शुक्रबार राति आफ्नी गोरी ग्रर्ल फ्रेण्डको अगाडि नै बञ्चरोले टाउकामा हानेर गोरे केटाहरूले हत्या गरे लिभरपुलमा । एउटा होनाहार विद्यार्थीको दुःखद अन्त भयो । बा–आमाको मुटुको टुक्रा गयो । दिदी बहिनीको माइतको बत्ती निभ्यो । साथीभाइमा फुटबल र भलीबलको टीम अपुरो भयो ।
चर्चमा शान्ति द्विप बालियो । सबै समुदायले सद्भावनाको प्राथ्ना गरे । फेरि यस्तो दूर घटना नदोहोरियोस् भनेर । उसले अन्तिम प्राण छाडेको ठाउँमा पूmलको चाँङ लाग्यो । यो बेला पूरै लिभर पुल त के पूरै यु.के. स्तव्ध भयो । मानव सभ्यतामा एकअर्काे कालो धब्बा पोतिया े।

जुलाई सात र एक्काइसको बम आक्रमणले लण्डल त्यसै त स्तब्ध थियो नै अरू रङभेद आक्रमणले फेरि अर्काे त्रास छायो ।

पेङ्गुइन निन्याउरो मुख लगाएर कोठामा आई । सोधें, “किन आज तिम्रो अनुहार त्यति ताजा छैन नि ! कि डानिपलसँग झगडा प¥यो ?”

“मेरो डानियललाई गोरेहरूले त्यो एन्थोनी वाकरलाई जस्तै गरी मारिदेलान् भन्ने पीर लागेको छ ।” ऊ सोफामा बस्तै उसका चम्किला आँखा झिम्झिम् पार्दै आँशु झार्छे ।

म पनि उसको भावनामा भाबुक हुन्छु । भरखरै घटेको घटनाले कति तिर तीर हानिसकेछ । अरू कति यस्ता जोडी होलान् तिनलाई पनि यस्तै पीर परेका होला ।जती, धर्म र रङमा होली खेलेर कहिले नसक्रिने खेल त्यति सजिलै त कहाँ पो सकिएको छ ? खै त सकिएको इजरायल र प्यालेस्टाइनको मुद्धा !
म पेङगुइनलाई, “तर तिम्रो डानिपल त्यति कम्जोर छैन । ऊ टिनएजर पनि त होइन नि ! धेरै सक्षम छ । चारजना गोरे त के आठजनालाई फाँडेर दौडन सक्छ । फेरि ऊ त्यति कालो अफ्रिकन जस्तो पनि छैन । ऊ त क्योरेपियन हो क्यारे ! चितुवा जस्तै चलाख र वलिष्ट छ । भद्र र इमान्दार छ । मेहनती र मिलनसार छ । भन्छु । उसले मेरो भनाईमा केही ढाडस पाइकी क्याहो आँशु पुच्छदै उठी ।

फेसाङले भरखरै एमिनेसनको डिप्लोमाको जाँच दिएर फुर्सदैमा छे । तर यी फुर्सदिला समयमा अरू साथीसँग मिलेर अरू प्रोजेक्टमा समय सदुपयोग गर्दै छे ।

एक साँझ पेङगुइन मूलढोका खोल्नासाथ कराउँदै आई, “लक्ष्मी ! म आउँदा तिम्ले कहिले पनि वास्ता गरिनौं जहिले पनि तिम्रो ढोका बन्दको बन्दै हुन्छ ।”

मैले उसका यी भनाइहरूमा खुशीको गन्ध पाएँ । म उसको त्यो खुसी किन रहेछ भनेर निस्कन्छु । ऊ हाँस्तै आई । ऊ भन्छे, “लक्ष्मी ! मैले हेण्डसम बुल्गेरियन अर्काे व्वइफ्रेण्ड भेटेँ ।”
म आश्चर्य मान्दै सोध्छु, “कहाँ ?”

“आजको मेरो प्रोजेक्ट्मा ! फ्रेञ्च जस्तै अग्लो, गोरो र भलाद्मी छ । मलाई उसले बाहिर जाने अफर गरेको छ ।” म उसको उत्तेजित अनुहारलाई पढिरहन्छु । ऊ भित्रभित्रै हाँस्छे, उसको अनुहार हाँसेको हास्यै छ ।

“अनि तिम्रो डानियललाई के गर्ने नि ?” म उसलाई प्याच्चै सोध्छु ।
उसले भन्छे, “ऊ त कालो छ । उसले धेरै पटक ठूल्ठूलो स्वरले हप्काएको पनि छ । मलाई आजसम्म घरपरिवारमा ठूलो स्वारले यत्री भएँ कराएको छैन । उसको कुनै बेलाको व्यवहारले भित्रभित्रै पीडा दिन्छ । म सायद ऊसँग अब रहन्न होला ! हुन त ऊ मेरो पहिलो प्रेमी हो माया कति छ कति ! तर कुनै बेलाको उसको व्यवहारले मैले उसलाई त्याग्ने विचार गरेँ ।”

आप्mनो निर्णय मलाई सुनाई ।
डानियल पेङ्गुइनको सहपाठी हो र क्लासको उत्तम विद्यार्थी । ऊ हामीकहाँ आइरहन्छ । खानासँगै धेरै पटक आएका छौं । जोक भन्ने राम्रो कला छ । अग्लो डानियलको ऊ काखी मुनी मात्रै पुग्छे ।

उसले हाम्रो घरेलु कामहरू धेरै सघाउँछ । किचनको चुला ओभन सफा नगरेर कात्ती परेको हुन्छ । ऊ आएको बेला सफा पारेर जान्छ । ल्यापटप टी.भी विग्रेमा ऊ नै हो हाम्रो मेकानिक, फ्री मा बन्छ । ट्वाइलेट टिसु र किचनमा चाहिने सामान हातभरि बोकाएर पेङगुइन पिटिक्–पिटिक् स्याण्डल वजाउदै अगाडि अगाडि कुरा गदैे आउँछे । त्यो दृष्य एक प्रकारको हुन्छ ।
कुनै दिन डानियल हामीकहाँ दुई–तीन दिन बसेर फर्कन्छ, उसको घर । अनि फेसाङ पनि पच्छाउँदै उतै जान्छे । चार–पाँच दिनपछि फर्केर आइपुग्छे।अर्थात् रिसाएर आइपुग्छे । ठूलो भोटेकुकुरले सानो बेलाइतीलाई हाँऊ ! गरेर भुक्ता बेलाइती डरले पुच्छर लकाउँदै कुइकुइँ गर्दै कोठामा फर्कन्छे ।

म, ‘डानियललाई कस्तो छ हँ ?’ भनेर सोध्छु ।
‘छैन, म¥यो ।’ भन्दै जबाफ दिन्छे ।
म मनमनै हाँस्छु, “ए रीसाएर फर्किस् बेलाइती !”
डानियललाई पनि उसले मानसिक र आर्थिक पीडा दिएकी छे । पेङ्गुइनलाई पैसाको खाँचो छैन । उसलाई टुरमा गैरहन पर्छ, हप्ता दिन,, कुनै विकएण्ड विताउन । युरोपियन देशहरूलाई उसका साना खुट्टाले नापी सकेकी छ । एक पटक मात्र होइन, पटक–पटक । हामीले जस्तो पढाइ खर्चको लागि उसले काम गर्न पर्दैन ।

डानियलले ऊसँग सँगै पटक–पटक युरोप घुम्न जाना सत्तैmन र सत्तैmन उसलाई हरेक विकएण्डमा बाहिर खाना खुवाउन । यिनै पीडाले रन्थनिएर उसले ‘हाऊँ !’ गार्दाको पीडा पेङगुइनलाई असहनीय वेदना भएको हो । त्यो ऊ बुझ्दिन ।

डानियलकी आमाले दोस्रो बिहे गरेर बसाएको घरलाई कसरी धान्दै छे । पहिलो र द्रोस्रो लोग्नेबाट जन्मेको सन्तानलाई हुर्काउने कसरत कसरी हुँदैछ । घरको मोर्गेज, इन्सुरेन्स्, काउन्सिल ट्याक्स धेरै बिलले ढाँड कति पिल्सिएको होला । त्यो फुर्किएकी पेङ्गुइनलाई थाहा छैन । ऊ त हेण्डसम गोरो व्याइफ्रेण्डलाई हन्ट गर्ने दाउमा छे।दुई तीन वर्षे प्रेमलाई तिलांजली दिन पनि तयार छे।
डानियल तिमी अर्काे भिक्टिम् भयौ । कालो छाला हुनुमा दुःख नमाने है !
यी, यहाँ यस्तै रहेछ त ।तिम्रोमा मात्रै कहाँ हो र ! हामीकहाँ पनि चुच्चे र थ्याप्चेको च्यापोमा च्यापिन्छ ।

अनि धोती र टोपीले नापिन्छ, छुत र अछुतको कोलमा पेलिन्छ ।
धनी र गरीबको खाडल त कता हो कता । जनता र नेतामा धरती र आकासको फरक छ ।
खै ! के गर्ने डानी ? यहाँ यस्तै हुँदोरहेछ ।

लण्डन

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.