~जयन्ती ‘स्पन्दन’~
लौन चाँडो गर्नुपर्यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् ।
‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ अर्की सिस्टर निर्मलाले भनिन् ।
अँ, अँ,सवथोक दिएँ र पनि ती महिलाको ब्लिडिङ रोकिँदै रोकिएन, पूरै नीलो हुन थालिसकिन् । चाँडै सिनियर डाक्टरलाई बोलाउनुपर्यो,’ सिस्टर कमलाले जवाफ फर्काइन् ।
तुरुन्तै डा. शर्मालाई फोन गरेर बोलाइयो , बिरामी महिलालाई अरु थप औषधीहरु दिइयो, सलाइन पानी चढाइयो । एक, दुई घन्टापछि वल्ल विरामीको होश खुल्यो ।
‘अँ साँच्चि के भएर यस्तो ब्लिडिङ रोकिँदै नरोकिएको, डा. शर्मा ?, हामी त आत्तिइसकेका थियौ,’ सिस्टर कमलाले सोधिन् ।
‘के हुनु नि, कम ग्यापिङमै बढी बच्चा जन्माउने, स्याहार सुसार नगर्ने, भिटामिन कमी त हो नि ।’ डा. शर्माले जवाफ फर्काए ।
‘तर कुनै औषधिहरुले छुँदै छुएन नि !’ सिस्टर उर्मिलाले भनिन् ।
‘कहिलेकाहिँ यस्तै हुन्छ । अँ प्यासेन्टको कोही छैन र यहाँ ? डा.’ शर्माले दुवै सिस्टरहरुतर्फ फर्किएर सोधे ।
‘हिजो नाइटमा एउटी छोरी कुर्न बसेकी थिई । विहान् कान्छी छोरी आएर खाना खुवाई अनि कता क्याम्पस पढ्न जाने भन्दै निस्किएकी थिई । अहिले चैं कोही छैन’, सिस्टर कमलाले जवाफ फर्काइन् ।
‘बूढीका पाँचवटी छोरी रे, तीनचोटी त छोरा पाउने भन्दै भिडियो एक्सरे गर्दै एबर्सन गराएकी रे । अनि यस्तो नभए के हुन्छ त’ सिस्टर निर्मलाले रिस पोखिन् ।
डा. शर्मा मुस्कुराए, ‘ल मलाई अर्को प्यासेन्ट पनि हेर्नुछ, यो प्यासेन्टको आफन्त आएपछि बिस्तारै फलफूलको जुस, गेडागुडीको रस खुवाउनलाई भन्नु होला । आवश्यक परे सलाइन थप्नुहोला’ उनी कोठाबाट बाहिरिए ।
एकघन्टापछि सिस्टर कमला बिरामीको कोठामा गइन् । बिरामी महिला अर्धनिद्रामा थिइन् । सिस्टर कमलाले बिरामीको निधार छामिन्, बिरामी महिलाले आँखा खोलिन् । ‘ आमा बिउझिनु भयो ।’ अहिले कस्तो छ ? भोक लागेको छ कि छैन ? तपाईकी छोरी कतिखेर आउने भनेकी छन् ।’ कमलाले सोधिन् ।
‘अहिले त ठिकै छ । म त मर्छुजस्तो लागेको थियो, धन्न तपाईहरुले गर्दा … । भोक लागेको छैन अहिले त, एकैछिनमा छोरी आउँछे नि । बिरामी महिलाले सकिनसकी जवाफ फर्काइन् ।
‘अँ अब चै छोराछोरा भनेर मरिहत्ते नगर्नुहोला नि, नत्र तपाईको ज्यानै जान पनि सक्छ । ‘ सिस्टर कमलाले बिस्तारै रोगीको प्रेसर जाँचेर सल्लाह दिइन् ।
‘हवस्, अव त किन सोच्थे र ….।’ बिरामीले जवाफ दिइन् ।
ती महिला एकदमै कमजोर भएकी हुँदा तीनचार दिनसम्म हस्पिटलमै राखियो । पालैपाले गर्दै छोरीहरुले कुरे । बेलाबेलामा श्रीमान् पनि खाना बोकेर आइरहे । अन्तिम दिन डिस्चार्ज गर्न हस्पिटलमा पुर्याउनु पर्ने सबै प्रक्रिया पूरा गरियो ।
जाने बेलामा सिस्टर कमला ती महिलाको रुममा गइन् र मुस्कुराउँदै सोधिन् ‘ कत्तिको कमजोर फिल गर्नुभएको छ ? अहिले त राम्रै छ हैन ।’
बिरामी महिलाले हाँस्दै जवाफ फर्काइन् ‘अहिले त तगडा भैहाले नि, मर्छु भनकी यस्ती भएँ । तपाईहरु त मेरो लागि देउतै हुनुहुन्छ ।’
‘ल राम्रोसंग जानुहोस् शरीरको ख्याल राख्नुहोस् अलिदिन अझै आराम गर्नुहोस् है ।’ सिस्टर कमलाले कोठाबाट र्फकदै गर्दा बिरामी महिलाले सोधिन् ।
‘अँ नानी, एउटा कुरा भनुँ जस्तो लागेको थियो’,सिस्टर कमला र्फकदै गर्दा विरामी महिलाले सोधिन् ।
‘भन्नुहोस् न के भन्न खोज्नुभएको हो ।’ सिस्टर कमलाले ढोकानिर अडिएर भनिन् ।
‘नानी मलाई एउटा निर्णय लिऊँजस्तो लाग्यो । अब एकपटक चाहिँ हेरौ कतै छोरै हुन्छ कि । हुन्न र नानी ?’ ती महिलाले बिस्तारै भनिन् ।
(श्रोत :- OnlineKhabar )