लघुकथा : पर्खाइ

~सिर्जना दाहाल~

त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न सजिलो पर्छ । अनि उनीहरु पढ्ने गर्छन् । त्यही गाउँको केटा हो – घनश्याम । आफ्नो ८ कक्षा सम्मको पढाइ जसोतसो सकाएर थप पढ्नको लागि सदरमुकाम जान चाहन्छ ऊ । तर घर बा-आमा हेर्ने कोही नहुँदा ऊ त्यसै बेकार रहन्छ ।

केही समय पछि गाउँकै केटी राधासँग भेट हुन्छ । राधाले उसलाई पढेर गाउँको लागि केही गर्न हौसला दिन्छे । उसको घर, बा, आमा हेर्न राजी हुन्छे । उनीहरूको विवाह हुन्छ । विवाह पश्चात घनश्याम पढ्नको लागि सदरमुकाम जान्छ । राधा घनश्याम भन्दा उमेरमा मात्र होइन कामकाजमा पनि निकै परिपक्व छे । उसले घरको सम्पूर्ण कामकाज गर्दै बा-आमाको हेरचाहको साथसाथै मेलापात पनि धाउँछे । विवाह पश्चात लोग्ने तथा सासु-ससुरा नै देवता मान्छे ।

घर व्यवहारबाट मुक्त भएपछि घनश्यामले पनि पढाइमा निकै प्रगति गर्दछ । हरेक क्षण ऊ मिहिनेत गरिरहेकै हुन्छ । फलस्वरुप उसले एसžएलसी प्रथम श्रेणीमा पास गर्छ । यो सफलतामा घनश्याम र उसका परिवार निकै खुसी हुन्छन् । त्यस पछि अझ पढ्ने विचारले ऊ काठमाडौँ आउँछ । काठमाडौँमा बसेर सानोतिनो काम खोज्छ र पढाइ खर्च पुर्याउँछ । खाना खर्च जसोतसो गाउँबाट आइपुगिहाल्थ्यो । जसले गर्दा घनश्यामले आइएस्सी पनि सक्छ र एमबिबिएसमा प्रयास गर्छ । मिहिनेति घनश्यामले इन्ट्रान्स परिक्षा सहजै पास गर्यो । तर, पढाइ खर्च धेरै लाग्ने भयो । घर सल्लाह अनुसार खेतबारी धरौटी राखेर अनि आफूले पनि काम गरेर उसले पढाइ खर्च जुटाउने भयो ।

घनश्यामले धेरै मिहिनेत र परिश्रमका साथ पढ्यो । ऊ अब डाक्टर बन्यो । यो अवधिमा उसका बा-आमा दुवैको निधन भइसकेको थियो । राधाले जसोतसो मेलापात गरेर घर चलाइरहेकी थिई ।

आज घनश्याम सक्षम भएको छ । उसले आफ्नो लक्ष प्राप्त गरेको छ । आज ऊ समाजको प्रतिष्ठित व्यक्ति भएको छ । उसले आफ्नो छुट्टै पहिचान बनाएको छ । अब उसले राधा आफूलायक नभइको ठान्छ र सहरमा अर्कै केटीसँग विवाह गर्छ । अब राधा उसको लागि कोही भइन । हिजो जब उसलाई सहायता र आधारको खाँचो थियो त्यति बेला राधा नै सबथोक भई । आफैँले प्रस्ताव राखेर राधासँग उसले विवाह गर्यो । आज जब ऊ सक्षम भयो राधा जेठी भई, असुहाउँदी भई । जुन हौसला र प्रेरणा दिएर राधाले उसलाई पढ्न पठाई, उसको घर र बा-आमालाई आफ्नै सम्झेर स्यहार-सुसार गरी आज त्यही राधा घनश्यामको लायक भइन, गाउँले भई, अनपढ भई । त्यो राधा घनश्यामको मुटुको कुनै कुनामा छैन । राधाको त्यागको कुनै मुल्य रहेन उसको लागि । अब उसले एउटा चिठी लेख्नयो राधालाई – सहरमा मैले अर्को विवाह गरेँ अब फर्केर आउँदिन, तिमी आफ्नो बाटो लागे हुन्छ मलाई पर्खनु पर्दैन … यस्तै यस्तै भनेर ।

चिठी राधाको हातमा पर्यो । बिचरी अनपढ राधालाई के थाहा चिठीमा के लेखेको छ भनेर । उसले त सम्झन्छे सायद घनश्यामको पढाइ सकियो होला । अब छिट्टै गाउँ आएर गाउँकै लागि केही गर्छु भनेर लेखेको होला । राधा घनश्यामको बाटो हेरिरहन्छे । खेतबारी त घनश्यामको पढाइको लागि धरौटीमा थियो । त्यो सानो घरमा नै बडो मुस्किलसँग उसले आफ्नो एकमुठी ज्यान जोगाइरहेकी छे अनि त्यो चिठी छातिमा टाँस्दै आज पनि घनश्यामको बाटो हेरिरहेकी छे ।

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.