कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको पांग्राझैँ गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना

कथाको महासागरमा समायोजन गर्न गइरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौँको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधबँैसे महिला, एक जना ड्राइभर, म र चार जना वयस्क केटाहरू छौँ, झन्डै १८ देखि २२ वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समयसम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बोलिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मंगोलियनजस्तो लाग्छ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्छ । त्यस्तै अरू दुई जो सुनी मात्र रहन्छन्, केही बोल्दैनन्, ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्छ । म आफ्नो सिटमा बसेर मन नलागीनलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु । ऊ भन्छ, “यार ऽ…ऽ, त्यो सहायकमन्त्री छ नि के के हो याँ…ऽ त्यो त क्रिमिनल मान्छे हो नि !”

दोस्रोचाहिँ भन्छ, “हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।”

उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि, एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।

उही पहिलो केटो बोल्छ, “याँ…ऽ…ऽ… नगरकोट जाने हो याँ…ऽ केटी लिएर जाने भा पो यार ?”

दोस्रो बोल्छ, “मलाई भन न म मिलाइहाल्छु नि !”

पहिलो बोल्छ, “छोड् यार. याँ…ऽ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ…? त्यो केटीलाई गुह्येश्वरीमा बोलाएको याँ..ऽ आई क्या !”

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घरपरविारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुई घन्टा फेसबुकमा हराउने गर्छु । फेसबुकको च्याटमा मान्छे चिनिने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन्, त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउँदिनँ र जहिले पनि इन्भिजिएवल अर्थात् अदृश्यमा बसेर काम गर्छु । तर, एकदिन के भएर हो के भिजिएवलमा अर्थात् दृश्यमा रहेछु । कसैले च्याटका लागि आमन्त्रण गर्‍यो । मैले ‘एसेप्ट’ गरिदिएँ । एक-दुईचोटिको गफमा नै उसले ‘आई लभ यू’ भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधेँ, “मलाई चिन्नुहुन्छ, म को हो ?” उसले भन्यो, “अँह !” “त्यसो हो भने यो आई लभ यू शब्दलाई किन यति सस्तो बनाउनुहुन्छ !”

उसले अन्तिममा ‘सरी’ भन्यो । मलाई लाग्यो, यो केटो पनि उही मलाई ‘आई लभ यू’ भन्ने केटोको ड्याङको रहेछ ।

ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझैँ गरी बोल्दै थियो,

“यार ऽ..ऽ मेरो त हेर याँ..ऽ के भा’को याँ..ऽ केटीहरू त्याँ..ऽ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ ऽ गुह्येश्वरी बोलाएको याँ..ऽ.. ऊ आई अनि क्या घर जान्छु भन्दै थिई …याँ ..ऽ मैले काँ..ऽ …घर जाने भनेर बोलाएको हुँ र …याँ..ऽ …गेस्ट हाउस जाने नि याँ..ऽ उसलाई लिएर म गेस्टहाउस गएँ । क्या बोर याँ..ऽ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..ऽ … उसलाई पैसा दिएर पन्छाएँ याँ ..ऽ अनि क्या मज्जा यार !’

उसले यसरी बोल्
न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिएँ । किनभने, मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्ने केटो कुनै लाज, घीन, सरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परविारमा हुर्केको होला ? किनभने, व्यक्तिको चरत्रि र आचरणमा उसको जन्मे-हुर्केको परविेशले पूरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरत्रिहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोड्छन् भन्ने कुरा मलाई थाहा थियो । तर, यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीका अगाडि यस्तो घृणित कार्यको बारे व्याख्यान गर्दा केही सरम-लाज त मान्नुपर्ने हो नि ! मैले त्यो केटोको अनुहार पुलुक्क हेरेँ । अँह ! उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।

त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपेँ । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिएँ । गाडी अझ जाममा थियो ।

“यार ऽ.. छचोटि याँ..ऽ क्या मज्जा या..ऽ च्वाँक !”

त्यसपछिका वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाई पचाउन उसका साथीहरूलाई पनि सायद मुस्किल पररिहेको थियो । किनभने, उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लूं-ओर्लूं लाग्यो । तर, ओर्लने अनुकूलता थिएन । बाटो पूरै जाममा थियो । एक मनले लाग्यो, त्यो केटोलाई भनूँ, “भाइ हेर्नोस्, तपाइर्ंको अगाडि आमा, दिदी-बहिनीहरू छन्, यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाइर्ंमा अलिकति सरम-लाज छैन । तपाईंका आमा, दिदी-बहिनीहरू छैनन् ।” तर, मेरो वाक्य घाँटीको कण्ठमा नै अड्किएर रह्यो । यस्ता सोमतहीन अव्यावहारकि केटाहरूलाई यसो भन्दा आफैँमाथि जाइलाग्ने हो कि ! कुनै ठोस नियम-कानुन नभएको देशमा जिल्लाको सुरक्षाका लागि खटिएको सीडीओ त कुटिनु पर्छ भने हामी सामान्य नागरकिको के मूल्य होस् र ! फेर िउनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूका बारेमा कुरो गररिहेका थिए । हे भगवान्, यो देशको हालत के हुने हो ? भोलि यो समाजको हविगत के होला नि ? म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरूभन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।”

म त्यो अनलाइनकी केटीका बारेमा सोच्न थालेँ, कस्ती केटी हो ! कस्तो घर-खानदानकी होली ! केटोले बोलाउनेबित्तिकै जाने ? हुन त अहिले धेरैजसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढेलेखेका केटाहरू देखेपछि केटीहरू मरिहित्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला यौन संस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको मायाजालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन्, केटीहरूले त्यसको कम उपभोग गरेका हुन्छन् । म सोच्छु, पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजमा जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरूलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर, नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊँ, हराइजाऊँजस्तो लाग्यो । तर, त्यो सम्भव थिएन । एकछिनपछि उनीहरू सहिदगेटमा झरे, मैले राहतको सास फेरँे ।

दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमती कुराहरू मस्ितष्कमा घुमिरह्यो । जति बिर्सूं भन्दा पनि बिर्सन सकिनँ । त्यसपछि काम सकेर म घर फकर्ंे ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्युटरमा बसेँ । कम्प्युटरमा छोरील
े आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्नेबित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुईवटा मेल आएका रहेछन् । त्यो के रहेछ भन्ने उत्सुकताले हेरेँ । पहिलोमा हेरेँ- अंग्रेजीको रोमनमा मुस्किलले बुझ्न सकिने गरी लेखिएको थियो ।

‘मैयाँ …..याँ….क्या त्यो दिन त गेस्टहाउस गएको दिन क्या विक भएँ नि ! दिनभर घरमा रेस्ट गरेर सुतेँ । अनि, तिम्रो के खबर छ ? या फेरि भेट्ने होइन ?”

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पष्ट भएकाले के हो के हो बुझिनँ । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरएिको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ, खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पूरै खुल्यो, तब मलाई ममुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटोसँग छोरीको फोटो थियो । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रँिगटा लाग्दै गयो । मैले दुई दिनअगाडि मात्र ‘छोरीले साथीको घरमा पूजा छ, म त्यहीँ बस्न जान्छु’ भनेको कुरा सम्झेँ ।

मेरा अगाडिका सबै दृश्य घुम्न थाले । थामिनसक्नुको पीडाको भारी पलंगमा बिसाउन सिरक उचालेँ । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफँैलाई फूलको थुँगाजस्तो लाग्यो । यो के भयो, म छक्क परेँ । आफूले आफैँलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिविम्ब पटक्कै देखिएन, यो के भएको ? म छक्क परेँ ।

म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टीका र पोते देखेँ । मलाई लाग्यो, यो ठाउँमा हराइसकेकी रहेछु । यहाँ त मेरो आकृति मात्र नाचिरहेको रहेछ ।

मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.