~बुद्धिसागर~
सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी लाएर केही पढिरहेकी थिई। मलाई अघि बढ्नै मन लागेन। भित्तामा छेलिएर उसलाई हेरिरहेँ। थाइकट कपाल। निलो जिन्स पाइन्ट। छातीनेर बुट्टा भएको फिक्का हरियो टिसर्ट। काउन्टरमाथि हल्लिरहेका उसका पैताला नौनीले धोएजस्ता थिए। एकदम कोमल। हिँड्दै नहिँडेर जोगाएजस्ता।
उसलाई लेख्नासाथ मलाई लाज लाग्यो। शरीरभरि मिठो काउकुति फैलियो। चिसो बतासले पनि होला।
मलाई के गरूँ के गरूँ भो।
मलाई के गरूँ के गरूँ भो।
आफैंलाई नियालेँ, रुझेको जंगली बिरालोजस्तो लाग्यो। दिक्कलाग्दो झरी मलाई अचानक रमाइलो लाग्न थालेको थियो।
म घरतिर दगुरेँ।
‘फेरि भिजेर आएछ,’ आमा बम्किनुभो, ‘पख्, तेरा कपडा म धुन्न।’
म बोलिनँ। कोठामा गएँ। हतारहतार सबैभन्दा राम्रा लुगा लाएँ।
‘बौलाइस् कि क्या हो?’ आमाले अचम्म मान्दै हेर्नुभो, ‘यस्तो झरीमा नयाँ लुगा लाएर हिँड्छस्?’
म हाँसेँ। छाता समाएर फुत्त निस्केँ।
मलाई एकपल्ट फेरि उसैलाई हेर्ने रहर जागेको थियो। ऊ हाम्रो दोकानभन्दा छ दोकान उता थिई। हामी मान्म आएको एकवर्ष पनि भएको थिएन। वर्षदिनमा पहिलोपल्ट उसलाई देखेको थिएँ।
एकपल्ट उसकै अघिबाट फुत्त निस्कन्छु, मैले सोचेँ। तर, नजिकै पुग्ने बेला आँट भत्क्यो। सुत्त भित्तामा छेलिएँ। गर्दन तन्काउँदै दोकानतिर हेरेँ। ऊ देखिइन। अझै तन्काएँ। देखिइन।
तन्किँदा-तन्किँदै म त सडकमै पुगेछु। फटाफट दोकान अघिल्तिरबाट प्रतिमातिर लम्केँ। उसको दोकानतिर सोझा आँखाले हेर्न सके त मरीजाऊँ। पहिलोपल्ट त्यो दोकान अघिबाट हिँड्दा मेरो ढुकढुकी बढिरहेको थियो।
प्रतिमा पुगेँ। र, फर्किहालेँ।
फेरि दोकाननेर पुग्ने बेला सास बढ्यो। जे पर्ला पर्ला भनेर दोकानतिर हेरेँ, ऊ रैनछ।
‘ममी,’ माथितिरबाट आवाज आयो, ‘माथि आउनू।’
मैले स्वाट्ट हेरेँ। लौ, आँखा त ठोक्किहाले। छाता पछाडि ढल्किँदा पानी मेरो निधारमा तप्तप् खसिरह्यो। उसले वास्तै गरिन। फेरि बार्दलीबाट तल निहुरेर कराई।
‘हैरान नपार त,’ अल्लि वर आएपछि मैले उसकी आमाको आवाज सुनेँ।
रमेश त मान्म आएको पाँच वर्ष भएको थियो। उसैलाई थाहा होला उसका बारेमा, सोध्नुपर्ला।
मैले भोलिपल्ट रमेशलाई सोधिहालेँ।
‘प्रिया हो नाम,’ उसले भन्यो, ‘झरी बिदामा सधैं आउँछे। नेपालगन्ज बोर्डिङमा पढ्छे।’
हामी ठूलो रानीढुंगामा बसेर पर˜˜ कुम जुधाएर बसेका अछामतिरका पहाड हेरिरहेका थियौं। मसिनो कर्नाली पहाड घुँडानेर टलक्क टल्किरहेको थियो।
‘किन सोधेको?’ रमेशले मलाई नियाल्यो।
‘त्यस्सै,’ म रातो भएँ।
‘लभ पर्यो?’ उसले मेरो कुममा प्याट्ट हिर्कायो, ‘ऊ त साउन सक्केपछि गइहाल्छे।’
मेरो अनुहार अँध्यारो भो।
*******************************************
भोलिपल्टै सुन्दर नाइको सैलुनमा कपाल काटेँ। चिटिक्क परेर हिँड्न थालेँ। प्रियाको दोकानकै छेउमा केटाहरू क्यारेम खेल्थे। मलाई त खेल्नै नआउने। प्रियालाई हेर्न पाइन्छ कि भन्ने लोभमा क्यारेम हेरेको बहाना गर्थें। रेडियोमा बज्ने ‘फुलौसा चेहरा तेरा’ गीत उसैका लागि लेखेजस्तो लाग्थ्यो।
कहिलेकाहीँ प्रिया बार्दलीमा बसेर क्यारेम हेर्थी। कसैको पक्षमा हुटिङ गर्थी। त्यो बेला मलाई लात्तले क्यारेम बोर्ड फोडिदिऊँजस्तो लाग्थ्यो। तर के गर्नु, आफ्नै नुर गिरेजस्तो लाग्थ्यो। म नजर झुकाउँदै उभिरहन्थेँ।
अझै यत्तिले पुगेन।
पुलिसहरू पनि उसैलाई हेरेर हिँड्थे। मुसुक्क हाँस्थे। एउटा कालो न कालो पुलिस सधंै उसको दोकानबाट चकलेट किन्थ्यो। त्यो देखेँ भने त छाती नै चरक्क भएजस्तो लाग्थ्यो।
‘खाऊ मैया मेरो तर्फबाट,’ कहिलेकाहीँ ऊ चकलेट दिँदै हाँस्थ्यो। हाँस्दा त दाँतमात्र देखिन्थे।
‘उल्टो हाँडीलाई गोद्दिऊँजस्तो लाग्छ,’ हतास मैले एकदिन रमेशलाई भनेको थिएँ।
आखिर के गर्नु? लुरुक्क परेर क्यारेम हेरेको बहानामा प्रियालाई हेर्न जान्थेँ। आफूलाई खेल्न नआएकोमा मनमनै मुर्मुरिन्थेँ।
एकदिन उसले गीत गाएको पनि सुनेँ-
रुक रुक रुक अरे बाबा रुक, ओ माइ डार्लिङ गिभ मि अ लुक
त्यो गीत सुन्न मैले धेरैपल्ट रेडियो सर्टवेभमा घुमाएँ तर भाग्यले साथ दिएन। भाग्य त अर्कै कुरामा रैछ। एकदिन भुटुटुटु हेलिकप्टरले सदरमुकाममा फन्का लगायो। सामान आयो कि भनेर म हेलिप्याडतिर दगुरेँ।
‘बाबु, सुन त,’ प्रियाकी आमाको आवाज आयो, ‘हाम्रो सामान पनि आयो कि, हेर्दिनू।’
म नाइँ भनँूला त?
‘हस्,’ मैले ठूलो आवाजमा भनेँ र घोडाझैं दगुरेँ। हेलिप्याड पुग्दा हेलिकप्टरबाट सामान झरिसकेको थियो। मैले आफ्नो समानभन्दा प्रियाको सामान खोजेँ। भेटिएन।
‘सामान आछैन?’
म पछाडि फर्किएँ। प्रिया पो उभेकी रैछ।
एकछिन त आवाजै आएन। मुख प्याक्प्याक् भयो। मैले कन्दै भनेँ, ‘मैले हेरेँ, आको रैनछ।’
‘हेलिकप्टरले उडाको धुलो मन पर्दैन मलाई त,’ प्रिया हाँसी, ‘जाम्।’
म गर्वले पछि लागेँ। अल्लि वरै आएपछि फुलेका तितेपातीको बीचमा उभेर उसले भनी, ‘दगुर्ने हो? कस्ले जित्छ है त!’
म हिस्स हाँसेँ।
‘वन टु थ्री,’ ऊ कराई र बेस्मारी दगुरी। ओरालो लाग्यो, उसैले उछिनिरही। मैले पछ्याइरहेँ। उसलाई जितेर मलाई अगाडि पुग्न मन लागेन। प्रतिमानेर पुग्दा हामी असिनपसिन भइसकेका थियौं। प्रतिमाछेउ एउटा बुढाले डोकोभरि सुन्तला बेच्न राखेको थियो।
‘पैसा छ?’ उसले निधारको पसिना पुछ्दै भनी।
उसका ओठमाथि बिमिराझैं उम्रेका पसिना हेर्दै म रमाइरहेको थिएँ। पैसा त भए पो! मैले लजाउँदै दायाँबायाँ टाउको हल्लाएँ।
‘हुस्सु, दस रुप्याँ पनि छैन?’ ऊ हाँसी।
म वाल्ल परेँ।
‘कटासे साउजीका छोरा हैनौ?’ बुढाले भन्यो, ‘लैजाऊ, पछि दिनू।’
बुढो त भगवान रैछ।
प्रियाले एउटा सुन्तला गोजीमा हाली, एउटा मलाई दिई। एउटाको बोक्रा खोल्साउन थाली।
सुन्तलाको केस्रा मुखमा राखेर ऊ फेरि दगुरी। मैले पछ्याएँ। मलाई यसरी दगुर्न खुब रमाइलो लागिरहेको थियो। ऊ दोकानमा पुगेर भित्र पसी। म बाहिर उभिरहेँ। बोलाउँछे कि भन्ने आस थियो। बोलाइन।
लुरुलुरु घर फर्कें।
एकैछिनमा ऊ टुप्लुक्क मेरो दोकान अगाडि देखा परी।
‘पैसा तिर्न जाम्,’ उसले भनी।
बाले छक्क पर्दै हेर्नुभो तर बोल्नुभएन। म दस रुपियाँ हात मार्ने दाउमा थिएँ। उसका पछि लागेँ। ऊ दगुरी। प्रतिमा पुगेर बुढोलाई पैसा दिई। बुढाले हाँस्दै लियो।
त्यसपछि त कैयौं दिन यसरी बजारमा दगुर्दा-दगुर्दै बिते। एकदिन आमाले मलाई हप्काउनुभएको थियो, ‘किन दगुर्छस् त्यसरी मुटु चुँडिने गरी?’
एकपल्ट ऊ र म घुम्दै पिपलचौतारी पुगेका थियौं। त्यही छेउमा थियो- जिल्ला प्रहरी कार्यालय। काले पुलिस ड्युटीमा रैछ। उसले सोध्यो, ‘तिमीहरू दाजुबैनी हौ?’
म झर्किएँ, ‘होइन, किन?’
‘अनुहार उस्तै लागेर,’ ऊ हाँस्यो।
म भने भित्रभित्रै भुंग्रोझैं डढिरहेँ। दाजुबैनी पो भन्दो रैछ ए!
*******************************************
प्रिया पनि अचम्मकी। कहिले घुम्न जाऊँ भनेर मेरो दोकानमै आउँथी त कहिले मलाई नचिनेझैं गर्थी। दुईतीन दिन त त्यस्सै बोल्दिनथी। बजारमा जम्काभेट भइहाल्यो भने म हाँस्दै सोध्थेँ, ‘कता हिँडेको?’
‘कतै होइन,’ त्यस्सै ठुस्किन्थी।
त्यस्तो भएपछि मेरो त निदै हराम। म रातभरि छट्पटिन्थेँ, अब त बोल्दिन कि क्या हो? मैले केही नराम्रो पो भनेँ कि भनेर सोच्दा दिमाग टनटनी दुख्थ्यो।
एकपल्ट दिनभरि उसको र मेरो कुरा भएन। त्यसदिन उसको आफ्नी आमासित झगडा भएको रैछ। ऊ एक्लै जंगल घुम्न निस्केकी रैछ। जब ऊ बजारतिर उक्लिरहेकी थिई। मैले देखेँ। ओरालोको मुख्खैमा ढेडुझैं टुक्रुक्क बसेँ। उसले उकालो उक्लिँदै दुईपल्ट मलाई हेरी तर हाँसिन। उसका हातभरि फूल थिए। जब ऊ नजिक आई, मैले सोधिहालेँ, ‘के ल्याको?’
‘लौनू,’ उसले एउटा फूल मेरो हातमा राखेर हिँडी। पछाडि फर्केर हेर्छे कि भनेको त हेर्दा पनि हेरिन। म पिलपिल भएँ।
रातभरि निदाउन सकिनँ।
भोलिपल्ट त उसको अनुहारभरि फूल फक्रिए। ऊ हाँस्दै मेरो दोकानमा आई। सुटुक्क बोलाई। घरपछाडि लगी र गीत गुन्गुनाउँदै नाची। नाच्न पनि गजबै रैछ।
मेरो बजारका केटासित संगत छुट्दै गइरहेको थियो। रमेश पनि ठुस्स परेको थियो। प्रिया आएदेखि म एकदमै फरक हुँदै गएको थिएँ। उसले बोलाए, घुम्न निस्किन्थेँ। नत्र, दिनभरि रेडियो सुन्दै दोकानमै बस्थेँ।
मध्यसाउन नहुँदै धेरैपल्ट पानी पर्यो, घाम लाग्यो। ऊ फर्किने दिन पनि आइसकेको थियो। ऊबिनाको मान्म कल्पना गरेर म अत्तालिन्थेँ। निद्रामै झस्किएर उठ्थेँ। झ्यालबाट बाहिर हेर्थें, तारा देखिए भने रमाउँथेँ। किनभने, प्रियालाई राति तारा हेर्न मजा लाग्थ्यो।
आखिर साउन १५ लाग्यो। स्कुल खुल्ने बेला भइसकेको थियो। ऊ फर्किने भई। भोलिपल्ट हेलिकप्टर आउने भइसकेको थियो। हेलिकप्टर चढ्नेको लिस्टमा उसको नाम टिपिइसकेको थियो। ऊ दिनभरि आमासित झगडा गरेर बसिरही। खुब रोई। ‘म यतै पढ्छु’ भनेर बिन्तिभाउ गरी। तर आमाचैंले मानिनन्।
त्यसदिन म ऊसित धेरै कुरा गर्न चाहन्थेँ तर ऊ घरबाट बाहिरै निस्किन। मैले कैयौंपल्ट उसको दोकानअगाडि फन्का लगाइरहेँ।
राति अबेरसम्म निदाउन सकिनँ।
बिहानै दस बजे हेलिकप्टरले फन्का लगायो। म अत्तालिएँ। उसको दोकानअगाडि पुगेँ, ऊ त झोला बोकेर तयार भइसकेकी रैछ। हतार थियो- मतिर हेर्दा पनि हेरिन। म उभिरहेँ।
अनि, उसकी आमा र ऊ हेलिप्याडतिर दगुरे। मैले पछ्याएँ।
हेलिकप्टर चढ्ने बेला ऊ फेरि रोई। उसका आँखा राता भएका थिएँ। उसले आँसु पुछी। बल्ल मलाई देखी। म छेउमै उभेको थिएँ। हेलिकप्टरतिर लाग्ने बेला उसले खिस्स हाँस्दै भनी, ‘हेलिकप्टर उडेपछि बाई गर्नू है!’
मेरो आवाज निस्किएन।
भटटट हेलिकप्टर आकाशतिर उक्लियो। सबैले हात हल्लाए। मलाई त के भो, के भो हातै हल्लाउन सकिनँ। बिस्तारै हेलिकप्टर चरा भयो।
*******************************************
अनि त मलाई के भाको?
प्रियाको सम्झनामा टोलाको टोलायै। रेडियो काखमा राखेर गीत सुन्दै पिलपिल। ‘तिमी नै भनिदेऊ ए जाने निठुरी’ सुन्यो कि रुन आउँथ्यो। बजारका धेरै मान्छे मेरो ताल देखेर छक्क पर्थे। एकदिन आमाले देखेर भन्नुभो, ‘के भो तँलाई, रूँलाझैं गर्छस् त!’
आमाले यत्ति के भन्नुभएको थियो, म त ग्वाँ˜˜ रोइहालेँ।
एकदिन प्रियाको खुबै सम्झना आयो। चिठी लेखेँ- ‘तिमीबिना बाँच्न सक्दिनँ आई लभ यु’ भनेर। उसको स्कुलको ठेगाना मलाई थाहा थियो। चिठी तयार पारेँ। रजिस्ट्री गर्यो भने हातमै पुग्छ भन्ने पनि थाहा थियो। तर, हुलाकसम्म जाने आँट आएन। हुलाकका मान्छेले के भन्लान् भन्ने लाग्यो।
‘नाइँ, म त जान्नँ,’ रमेशले पनि मानेन।
दस रुप्याँ घुस दिन्छु भनेपछि उसले मान्यो। मोरो त हुलाक गएर हुलाकीको टेबुलमा रुपियाँ र चिठी फालेर भागेछ। त्यसदिन म अछामतिर जोल्ठिएका पहाड हेर्दै टोलाइरहेँ। कहिले पुग्ला चिठी?
त्यसको बीस-एक्काइस दिनपछि प्रियाकी आमा दोकानै आइन्। म मात्रै थिएँ।
‘तिम्ले चिठी लेखेको हो?’ उनले सोधिन्।
मैले शिर निहुराएँ।
‘त्यस्तो पनि गर्ने हो?’ उनी बम्किइन्, ‘बिचरीले रुँदै फोन गरेकी थिई। मिसले चिठी नपढी दिनुभो। पढेको भए त रेस्टिकेट हुन्थेँ भनेर रोई। अब यस्तो गर्छौ?’
‘नाइँ,’ मेरो मरेको आवाज आयो।
त्यसपछि त म झन् पिलपिल। एकदिन मेरो ताल देखेर बा बम्किनुभो, ‘पढ्नु लेख्नु छैन। पिलपिल पिलपिल गर्या छ। एक मुक्का हान्छु अनि।’
*******************************************
अर्को असार आयो तर प्रिया आइन। म धेरैदिन छट्पटिएँ। बजारमा हिँड्दा पनि ऊसित दगुरेको याद आइरहन्थ्यो। अर्को असार आयो। मलाई लाग्यो, यसपालि पनि प्रिया आउन्न। एकसाँझ ठुल्ठुलो भारी बोकेका दुईजना मान्छेसित आइछ। हेलिकप्टर पाइनछ। दुईतीन दिन घरबाट निस्किइन। निस्के पनि के, मसित त बोल्दा पनि बोलिन। मलाई बोलाउने आँट पनि आएन। यसपालि ऊ दस दिन घर बसेर फर्किने भई। थाहा पाएँ तर मैले ‘सरी’ पनि भन्न सकिनँ।
ऊ फर्किने दिन म उसलाई पछ्याउँदै हेलिप्याडसम्म पुगेँ। ऊ हेलिकप्टर चढ्ने बेला रोइन। खुरुक्क गई। मलाई त्यहीँ मुर्छा परेर ढल्छुझैं लाग्यो।
भटटट हेलिकप्टर आकाश उक्लियो। सबैले हात हल्लाए। मैले पनि खुसुक्क कसैले नदेख्ने गरी हात हल्लाएँ।
सायद त्यो अन्तिम ‘टाटा’ थियो।
*******************************************
त्यसपछि मैले उसलाई कहिल्यै कतै दखेको छैन। चार-पाँच वर्षअघि मैले सुनेकोथेँ- ऊ अचेल काठमान्डु छ रे। भेट भएको छैन। के उसले यो पढी भने भेट्न आउली?
उसले दिएको फूल सुक्नै लागेको छ।
(श्रोत :- NagarikNews )