~नारायण तिवारी~
मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।
श्रीमतीले सबै गरिसकिन् – बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु – अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्याउनु हुँदैन…।
त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ…।
एउटा ससानो जागीर रोगी भएकैले छुट्यो – प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो ।
गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन – जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो ।
”के दियो यो परिवर्तनले तपाईंलाई…? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?……!” श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले…जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन…।
आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि ‘दलित’ भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें – म गरिब रोगीलाई एक पैसा छैन ।
अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे…!
बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु – पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु…! उनी बोल्दिनन् । रून्छिन् केवल…! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ….!
(श्रोत :- शनिबार – गोरखापत्र )