~पदम भण्डारी~
काठमाण्डौंमा टेम्पो चढेर धेरै क्षणहरु बाँचिसकेको छु मैले । हुन त मसंग गियरवाला माउन्टेनबाईक छ, होण्डाको साईन मोटरसाईकल छ, होण्डा ब्रियो कार छ, तापनि मेरो मनको कुन अन्तसकरणले डोऱ्यायो कुन्नी मैले यात्राको क्रममा एकदिन बानेश्वर देखि लगनखेलसम्म टेम्पो चढ्ने निर्णय गरें ।
वर्षभरी कति दिन आउँछन्, ती दिनभरि कति मान्छे भेटिन्छन, मेरो यात्रामा कुनै खास मान्छेसंगको भेटले कुनै तादम्यता राख्दैनथ्यो । तर आज एउटी अधबैंसे महिलाको कौतूहलपूर्ण हेराईले मेरो अंतरंग र हेराई उ तिरै मोडियो । हामी टेम्पोको सीटमा आमने सामने थियौं । हाम्रा आँखा जुधे । हाम्रा आँखा जुधेपनि त्यसमा कुनै आकर्षण भने थिएन किनकि उमेरले हामी दुबैमा आँखाको हेराईमै आकर्षण देख़्ने त्यो क्षण पार गरिसकेका थियौं । मैले उसको अनुहार नियालें । उसको हेराई निराकार थियो । उसको अनुहारमा कुनै खास रूप वा बान्की वा सौन्दर्य केहि थिएन । उसको हेराईमा कौतुहलता थियो, मनमा बाँच्नेशैलीको खोजी थियो, अनुहारमा विविध खाले सौन्दर्यशास्त्रको परिभाषा समाहित थियो । उसको मनभित्र आँफू चढेको टेम्पोभन्दा तिब्र गतिको जिज्ञासाहरू अटेसमटेस थिए । भूगर्भमा उम्लिएका ज्वालामुखीका ज्वालाहरूजस्तै उसको मनमा केहि चिजको प्राप्तिका लागि लालायित थिए ।
उसले मलाई नियालिरहेकि थिई । बाहिर फेरो नियालिरहेका मेरा आँखाहरु फेरि उसको अनुहारमा परे । उसका आँखाहरु आँसुले टलपल थिए । बाँध फुटेर निरस गालाहरुमा रहेको निरासको बस्ती बढार्ने शुरमा थियो । निकैबेर उसको अनुहार नियालेपनि मैले बोल्ने आँट गरिन । बरु उसैले बोलि-‘चिन्नु भएन?’
म अकमकाएँ-‘कहिं देखे जस्तो, भेटे जस्तो त लाग्दैछ तर ठम्याउन सकिन ।’
उ बोलि-‘म रमा । रमा अधिकारी । छ सात कक्षामा संगै पढ्थ्यौं नी ।’
रमा नाम सुन्नेवित्तिकै उ मेरो मनकि नायिका नै हो भन्ने लाग़्यो । सार्बजनिक यातायातको साधनको राम्रो सदुपयोग भएको महसुस गरिरहेछु मैले । म बिगतमा हराएँ । उ चौध पन्ध्र वर्षकि हुँदि हो । म पनि त्यहि उमेरको थिएँ । बैंसको उन्माद चढ्ने बेलाका साथी थियौं हामी । कुरकुरे बैंस पोखिएर भाँडामा न भुँईंमा हुने बेलाको बैंस । त्यतिबेलै उसले उमेरले साठी नाघेको बुढोसंग बिहे गरेकि थिई । गाउँको आमा समूहको दबावमा प्रहरीले बालबिबाह गरेको आरोपमा उसको बुढो लोग़्ने र छोरी बेचेको आरोपमा उसकि आमालाई पक्रेको थियो । पछि उसले आफ्नो राजिखुसीले उक्त बुढोसंग बिहे गरेको कागज गरेर हिरासतबाट छुटाएकि थिई ।
मेरो मुखबाट अनायासै शब्दहरु निस्के-‘ओहो! यत्रो वर्ष पछि पनि ठम्याउनु भयो नी । तपाईंमा धेरै परिवर्तन आएछ । त्यो बेला कि रमा र अहिलेकि रमामा धेरै फरक पाएँ ।’
अस्तव्यस्त हुँदै गएको उसको अनुहारमा आँसुका खोला बग्दै थियो । ब्यागबाट रुमाल झिकेर खोलामा बाँध लगाउने असफल प्रयत्न गर्दै उसले भनि-‘मलाई पनि थाहा छ, म मा धेरै परिवर्तन भएको छ । मानिसमा आउने शारिरिक परिवर्तनसंगै मानसिक रुपमा पनि आँफूलाई परिपक्व बनाउँदै लग़्न सकिएन भने जीबन अँध्यारोतर्फ डोरिन्छ भन्ने राम्रो अनुभव लिएकि छु । मैले त्यतिबेला धनसम्पत्ति भए सबैकुरा हुन्छ, मान्छे धनकै पछि जीबनभर दौडन्छ तर धनसम्पत्ति मेरो पछि दौडन थालेपछि त्यसलाई किन नअपनाउनु भन्ठानेर उमेरले हजुर बा पर्ने बुढोसंग बिहे गरें । त्यो बुढोको दिन कम छ, ईनकम छ, पछि त सबै मेरै पोल्टामा आईहाल्छ त्यसपछि मलाई के चाहियो र भन्ने सोचें । आज मसंग प्रशस्त धन सम्पत्ति छ तर मनमा चैन छैन । दुःख सुख शेयरगर्ने साथी छैन । तर दुःख सुख शेयरगर्ने साथी धन सम्पत्तिले दीन सक्दोरहेनछ । धनसम्पत्ति खान बुढोसंग बिहे गरेकि भनेर समाजमा ईज्जत छैन । मसंग धनसम्पत्ति त छ तर मनको अन्तसकरणमा खुसी छैन । मैले जीबन पाएर पनि बाचिरहेकि छु जस्तो लाग़्दैन । मेरा दिनहरु पश्चातापमा जलिरहेछन् ।’
उसले आँसु पुछ्दै बिगतलाई नियालि । आँसु पुछेपनि मूल फुट्न छुटेको थिएन । उ भन्दै थिई-‘तपाईंलाई देख़्नेवित्तिकै स्कुले जीबनका दिनहरु याद आयो ।’
मेरो मनै चिसो भएर आयो । मेरो मनको गोलार्धमा हिउँ पर्न थालेको थियो । मैले सम्झाउने कोशिस गरें-‘मान्छे समय र यथार्थताको दास हो । दास भएर बाँच्न सिक़्नुपर्छ । बिगतसंग सिक़्नुपर्छ । सिकाई र भोगाईसंग निरास भयो भने जीबन झन् कष्टपूर्ण हुन्छ । अरुलाई हेर्नुस् न सबैको जीबन कष्टपूर्णनै हुन्छ । तहहरु फरक फरक हुन सक्छन, भिन्नता त्यतिमात्रै हो । ती अल्झनहरुबाट मुक्त हुने उपाय खोज्दै जानुपर्छ, ती अल्झाइमा फस्दै जानु झन् कष्ट माथि कष्ट थुपार्नुमात्र हुन्छ ।’
मैले सान्त्वनापूर्ण केहि शब्दहरु बोलेपनि उसको अनुहारमा केहि फरकपन देखिन । केही समयको दृष्टिपातपछि ती नायिकाले मलाई नियाल्न छोड्छे र कौतूहलपूर्ण शब्द फ्याँक्छे-‘जीबन र आदर्श फरक फरक वस्तुहरु हुन । जीबन यथार्थमा बाँचेको हुन्छ, आदर्शमा होईन । आदर्शमा जीउन खोज्दा नै आज म यो निरासपूर्ण जीबनको भोगाईमा छु ।’
एकमनले भन्यो-‘झै-झगडा बिनाको समाज, पसिना नबगेको समय, दुःख नगरिकन आर्जेको धनसम्पत्तिको उपयोग र त्यसको नकारात्मक परिणाम हेर्दाहेर्दै मेरा आँखा अभ्यस्त भइसकेका छन् । उसको दुःखमा म किन सामेल हुनु?’ तर पनि मानब सम्बेदना न हो आफन्तहरुको अनि चिरपरिचितहरुको आँसुले भिजेको उदास संसार नियाल्नमा रमाईलो हुँदो रहेनछ, खल्लो लाग़्दोरहेछ । रमाको मनका असन्तुष्टि र वितृष्णाहरु आँखाहरुले पोखिरहेका थिए । उसका आँखाहरुको भाका मेरो मनले पनि छोप्न खोजेछन् । तलाउबाट झरेर गालामा सलबलाएपछिमात्र म आँफैले थाहा पाएँ । पुरुष मन पग़्लिएर आँखाबाट झरेपछि संबादको अन्त्य हुँदोरहेछ । त्यसपछि म स्तब्ध भएँ । मेरो मुखबाट एक शब्द पनि निस्केन ।
उ पनि केहि बोलिन । सृष्टिको सुन्दर फूल पनि एक दिन झर्दोरहेछ । मैले उसको जीबनमा त्यहि पाएँ । उ जावलाखेलमा ओर्लिई । टेम्पोबाट ओर्लिएर जान्छु पनि भनिन । पतझड उत्तिसको रुखजस्तै उसको शरिर र डढेलोले सखाप पारेको उसको जीवनको धूवाँ उसका पाईलाहरुसंगै बिलीन हुँदै गए । हाम्रो बिगतले बर्तमानलाई बिर्साई दियो । न मैले उसको फोन नम्बर मागें न उसले मेरो नम्बर मागि । रंगमञ्चिय शैलीमा रमा मेरो आँखाबाट टाढिई, तर उसको अनुहार भने मेरो मनमा नाचिरह्यो र आजसम्म पनि नाचिरहेछ ।
(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)