थोत्रो घर

~कुसुम ज्ञवाली~

“हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।” …….. मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले कब्जा गरेको सामान्तको यो घरमा अब हाईस्कूल खोल्ने छौं ।” ……. लालसेनाका कमाण्डरको भाषण ठूलो तालिका साथ समाप्त भयो । घरधनी भागेर बेल्जिएम गएको थियो ।
“यी कोठाहरु भत्काएर ठूलो हल बनाउनु पर्छ, क्षेत्रीय स्तरका प्रशिक्षणहरु समेत गर्न सकिने गरी” भु.पु. छापामारले प्रस्ताव राखे ।

“त्यसो नगर्दा वेश हुन्छ कमरेड, बच्चाहरुको स्कूल भएकाले र धेरै वटा कक्षाकोठा चाहिने हुनाले यी स-साना कोठा ठिकै छ” जनसरकारका योजनाकारले विमती जनाए ।
“यी विलासी सोफा टेवुल भत्काएर टेवुल बनाउनु पर्छ, यी सबै सामान्तवादका चिन्हहरु हुन” जनमिलिसीया प्रमूखले प्रस्ताव राखे ।

“अफिसका लागि यी सोफा काम लाग्छ, बनाउने बजेट छैन यसैलाई रुपान्तरण गरी प्रयोग गर्नु राम्रो हून्छ ।” जनशिक्षा विभागका प्रमुखले सल्लाह दिए ।
“यो घरको ढोका दक्षिण फर्केको छ यसलाई उत्तरतर्फ फर्काउनु पर्छ” प्लाटुन कमाण्डरले सुझाव राखे ।
“यो अलि जाडो ठाउँ हो । दक्षिण मोहडा हुँदा घाम बढी लाग्छ त्यसैले बच्चाहरुको स्वास्थ्य चिसोवाट वचाउनका लागि यसलाई परिवर्तन नगरौं । वास्तुशास्त्रको अर्थमा हेर्दा पनि यो ठिकै छ ।” वास्तुविद कमरेडले विमति जाहेर गरे ।

अघिदेखि छलफल सुनेर बसेका गाजस प्रमुखलाई चित्तै बुझेन र भने- “यस पुरानो सामन्तको घरमा केही पनि परिवर्तन नगर्ने भए क्रान्तिको के अर्थ भो ? हामी कसरी क्रान्तिकारी भयौं ? क्रान्ति भनेको त परिवर्तन हो नी, यति चाडैं विर्सिदिने ?”

सबैजना गम्भिर भए । युद्धको विभिषिका उनीहरुका मानस पटलमा सिडीको चक्का झै घुम्यो ।
“यसका भित्तामा पहेंलो माटोले लिपेको छ । यसको सट्टामा रातो माटोले लिपौं । रातोमाटोको रंगले हाम्रो झण्डा र सहिदको रगतको सम्मान गर्नेछ रुपान्तरण भनेको यही हो” । योजनाविदको कुरा सबैले माने । भित्रका कुनै चिज परिवर्तन नगरी बाहिर रातो माटोले लिपियो मात्र आवरण परिवर्तन गरि नयाँ क्रान्तीका लागि स्वीकार्य भयो त्यही थोत्रो घर ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.