गणतन्त्रको संस्कृति

~कुसुम ज्ञवाली~

लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।

लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -”मैले पनि अब त्यस भू.पु.राजालाई “तँ” भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु ” ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र “बिन्ति” चढायो । प्रवेश गर्न “अनुमति निगाहा” भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । “ए बले किन आईस यहाँ” । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -”मौसुफको पाऊमा दर्शन गर्न महाराज !” बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.