~कुसुम ज्ञवाली~
चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।
हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।
उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्याउने मान्छे त अन्धो रहेछ।
अन्धोले नेतालाई डाहोर्याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्याईदै पछि पछि लागिरहे।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)