~कुसुम ज्ञवाली~
ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।
यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो ‘कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।
सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।
मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।
प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्यो ।
आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)