कथा : एउटा चियागफ

~नवराज सुब्बा~Nawa Raj Subba

‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो ।

‘के रे, के रे ! ‘ भन्दै समूहमा गएर मैले पनि उनको कुरा सुन्न उत्सुकता जनाएँ । यतिन्जेलमा महेन्द्रजीले दुइटा श्रीमतिसम्मको कथा सुनाइसकेका रहेछन् तर मैले आग्रह गरे पछि उनले मेरो निम्ति पुनः पहिलो श्रीमतिबाटै कथा दोहोर्‍याए । ललितपुर जाउलाखेल स्थित स्थानीय विकास मन्त्रालयको प्रशिक्षण केन्द्रमा २०६५ साल जेठको चौथो हप्तामा एचआइभी/एड्स सम्बन्धी एउटा गोष्ठीमा सहभागी हुन विभिन्न जिल्लाबाट विशेषज्ञ, चिकित्सक, जनस्वास्थ्यकर्मी, प्रशासक तथा विकासकर्मीहरूको राष्ट्रिय भेला आयोजना गरिएको थियो । हलमा बसेर घण्टौं प्रस्तुतीकरण सुन्दासुन्दा सहभागीहरूलाई लागेको दिक्क हटाउन साथीले कुनै ‘पीस’ अर्थात् ठट्यौली पो भन्दै होलान् भन्ठानेर हाँस्न तयार पर्दै म पनि कान सोझ्याउँदै उनी छेऊ गएँ ।

‘लौ सुन्नुस्’ भन्दै उनले मान्छेका चार श्रीमतिहरू को को हुन् बताउन थाले । ‘साथी हो ! मानिस संसारबाट विदा हुने बेलामा सबैभन्दा माया गरेर राखिएकी कान्छी श्रीमतिले पनि साथ दिदैन रहिछन् ।’ ‘संगै जाउ“ न प्रिय !’ भनेर अनुनय विनय गरे पनि कान्छी श्रीमतिले ‘धत् त्यस्तो नि हुन्छ !’ भन्दै छाड्छिन् । मान्छेको त्यो कान्छी श्रीमति भनेको अरू कोही होइन उसको आफ्नै शरीर पो रहेछ । बाँचुन्जेल यसैका लागि भनेर कति पोसिन्छ, श्रृङ्गारपटार गरिन्छ, दुखेमा उपचार गरिन्छ तर मरेर जाने बेलामा यही शरीर आफूसंग साथै जादैन । सबैभन्दा धेरै माया गरिने आफ्नो शरीर मानिसको कान्छी श्रीमति जस्तो मात्र रहेछ ।

यसरी कान्छी श्रीमतिले साथ नदिए पछि मान्छे स्वभाविक रूपमा साइँली श्रीमतितिर लाग्छ र आफूसंगै जान अनुरोध गर्दछ । तर साइँली श्रीमति पनि भन्दछे- ‘हेर, म तिमीलाई तिम्रो सास रहुन्जेल मात्र साथ दिनसक्छु !’ यसरी मानिसले जीवनभर दुःख गरेर कमाएको धनसम्पत्ति मानिसको सास रहुन्जेल मात्र काम लाग्ने रहेछ । मानिस मरेर जादा यसले पनि साथ दिने रहेनछ । त्यसैले सास रहुन्जेल मात्र साथ दिने मानिसको साइँली श्रीमति भनेको हामीले जीवनभर कमाएको धनसम्पति रहेछ ।

अन्तिम अवस्थासम्म मान्छेले माया गर्ने गरेको अनि कहिले काहीँ दिक्क मानेको उसकी माइली श्रीमतिलाई पनि आफूसंग जाउँ भन्छ । त्यसबेला माइली श्रीमति भन्दछे- ‘स्वामी म जान त जान्छु तर म तिमीसंग आर्यघाटसम्म मात्र जान्छु !’ यसरी मान्छेलाई उसका घरपरिवारले पनि आर्यघाटसम्म मात्र साथ दिने रहेछन् । माइली श्रीमतिरुपी घरपरिवारले पनि मान्छेलाई केवल आर्यघाट पुर्‍याएर अन्त्येष्ठी गरे पछि विदा गर्दा रहेछन् ।

तर, जीवनभर त्यति वास्ता नगरिएकी जेठी श्रीमतिलाई मानिसले बाँचुन्जेल उति वास्ता गर्दैनन् । तर त्यही जेठी श्रीमतिले मान्छेलाई मृत्युपर्यन्त साथ दिन तत्पर हुने रहिछन् । यसरी मान्छे मरेपछि पनि साथ दिने अर्थात मान्छेलाई ज्यूँदो बनाएर राख्ने उसकी जेठी श्रीमति भनेको अरू कोही नभएर आफ्नै जीवनकालमा गरिएका राम्रानराम्रा काम, उसले कमाएको ख्याती र इज्जत रहेछन् !

साथीबाट बडो चाखलाग्दो उपदेश पो पाइयो । साथीले सायद कुनै सन्तको प्रवचन सुने अनि आफू प्रभावित भए । आज हामीलाई चियासंगै त्यसलाई मजाले पिलाए । गफको अन्तमा म पनि एकचोटी मज्जाले हाँसौला भनेर उनको कुरा सुन्न कान टाँसेको थिएँ । गफको सुरु सुरुमा अरु बेलाझै सबैजना उनको भनाइ सिद्धिए पछि हाँस्न तम्तयार भएर कान ठाडा ठाडा पार्दै थिए । तर जब तेस्रो र चौथो श्रीममतिको कुरा बताउन थालियो, हामी सबै गम्भीर हुँदै गयौं । अन्तमा उनको कुरा सुनेर हामी सबैले महसूस गर्‍यौं र एकमुखले भन्यौ- ‘हो त नि !’ । यसरी एउटा चियागफले सबैमा गहिरो प्रभाव छाड्यो । यस्ता गफ निकाल्ने अरू साथीहरू पाए हुन्थ्यो । यस्तो चिया गफ फेरी कहाँ होला !

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.