~प्रज्ञा निरौला ~
आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो । आफ्नो अनुहारको भावभङ्गमिालाई छिनछिनमा बदलिरहनु भएको थियो । कहिले दाह्रा किट्नु हुन्थ्यो, कहिले मुठी कस्नु हुन्थ्यो, कहिले कसैलाई थुकेझैँ गर्नुहुन्थ्यो, कहिले रुनुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो, कहिले कसैलाई सम्झाए जस्तो गर्नुहुन्थ्यो भने कहिले के के ।
मलाई आमालाई बोलाउने साहसै आएन र दिदी सैपाललाई खबर गर्न थालेँ । दिदी पनि अचम्म मान्दै आमालाई हेर्न थाल्नुभयो । हामी दिदीबहिनी आ-आफ्नो स्थानमा खडा भइरहृयौँ । आमाको अवस्थामा कुनै परिवर्तन आएको थिएन । बरु झन् विक्षिप्त बन्दै जानुभएको थियो । कपाल फिँजारेर उहाँ एक्लै फतफताइरहनु भएको थियो । दिदीले आमालाई हेरेर फेरि मलाई हेर्नुभयो र भन्नुभयो- यालुङकाङ्ग आमा त बौलाहिसक्नु भएछ । विचरा के भएको होला है आमालाई ? दिदीको यस्तो आवाज सुनेर आमाले झस्केर हामीतिर हेर्नुभयो । हामी दुई दिदीबहिनीलाई देखेर झन् विक्षिप्त हुँदै भन्नुभयो-मेरा सैपाल र यालुङकाङ्ग छोरी हो, तिमीहरू मलाई हेरिरहेका छौ ? तिमीहरूको मुटु त लुछेर खाएका छैनन् ? मेरो त हल्लाइसके अब खान्छन् कि के हो ? आफ्नै सन्तानले यस्तो गर्लान् भनेर के थाहा ? म त आफ्नो आँखाले सधैँ सधैँ हरियाली, शान्त र सौम्य हेर्न चाहन्थे तर आज यस्तो विचित्रको दिन हेर्न बाध्य भएकी छु । छोरीहरू हो तिमीहरू मेरो अनुहार हेर त मलाई जबर्जस्ती हँसाउन भनेर मेरा ओठ तानीतानी च्यातिसके । मेरो ओठको दुवै कुनाबाट रगतका धारा बगिसके । मेरा नातिनातीनाका छालसँगै रगतको भेल मिसिएको छ । तिनीहरू विवश छन् मेरा पीडालाई बोकेर समुद्रपार पुग्न । मेरा सन्ततिहरू कस्ता भएका छन्, ल हेर भन्दै आमाले एउटा कुनामा देखाउनुभयो । वाह Û त्यहाँ त हामीले चिनेका थुप्रै मानिस झगडा गरिरहेका रहेछन् । एकअर्कामा काटाकाट, मारामार गरिरहेका, झगडा गरिरहेका, आपसका लखेटालखेट गरिरहेका रहेछन् ।
हामीले केही बोल्न नपाउँदैमा फेरि आमाले अर्को कुनामा देखाउनुभयो । झन् त्यहाँ त लासैलास, मान्छेका टाउकैटाउका, रगतैरगत, मासुका चोक्टैचोक्टा, बीभत्स रूप रहेछ । तिनीहरूका हातहरू एकअर्कामा खप्टिएर जनतालाई एक हुन आहृवान गरिरहेकाजस्ता देखिन्थे भने टाउकाहरू एक ठाउँमा थुपि्रएर आक्रोश पोखिरहेजस्ता देखिन्थे र शरीरका मासुका टुक्राहरू थुपि्रएर पहाडको स्वरूप लिइरहेको जस्तो भान हुन्थ्यो ।
फेरि अर्को कुनामा आमाले हेर्न भन्नुभयो । त्यहाँ त छिन्नभिन्न भएका मृत शरीरलाई पीताम्बरले सजाएर लहरै राखेका रहेछन् । ती लासहरूले विश्वशान्तिको कामना गरिहेजस्ता देखिन्थे । फेरि अर्को कुनामा हेर्दा त एउटा ठूलो खाल्डोमा मरेका थुपै्र मान्छेलाई एकै ठाउँ खाँदेर सिन्की बनाएका रहेछन् । तिनीहरू आफूलाई अमर घोषित गरिरहेजस्ता देखिन्थे । त्यहीँ अर्को कुनामा छटपटाइरहेका अपाङ्ग-अशक्त, घाइतेहरू आँसु र पोखरीमा डुबिरहेका थिए मानौँ तिनीहरूको चीत्कारमा विश्वशान्ति नै गुञ्जिरहेको थियो ।
आमाले अर्को कुनामा लक्ष्य गर्नुभयो हामी दिदीबहिनी त्यता हेर्न थाल्यौँ । त्यहाँ त भव्यभव्य महल, आरामदायी सोफा, भद्रभलाद्मी व्यक्तित्वहरू सजावटका साथ हृविस्कीको चुस्की लिइरहेका देखिन्थे, मानौँ यो संसारको सारा चीत्कारलाई एकै चुस्कीमा रित्याइरहेका छन् । पार्टी र भोजभतेरमा रम्नेहरू एकातिर छन् भने अर्कातिर मर्नेहरूका नाममा समवेदना दिनेहरू टाउको निहुराएर बसिरहेका छन् । यो कस्तो विचित्र संसार हो यो । कसरी सहनु आमाको मनले । विरक्त लाग्न थालिसकेको थियो अमाले जेजे मन लाग्छ हेर भन्दै आफ्नो सारा अवस्था उदाङ्गो पारिदिनुभयो । हामी दिदीबहिनी पनि धेरै दिनदेखि आफ्नो काममा व्यस्त भएर होला सायद यो संसार नियाल्न नपाइरहेका थियौँ, आज हेर्न थाल्यौँ । मठमन्दिर, देवीदेवता, गाउँघर, सहरबजार सबै हेर्न थाल्यौँ । गाउँघरमा लुटपाट, मारकाट, अस्तव्यस्त जीवन भोगिरहेका मानव समुदायहरू, आमाको छातीमा घोप्टो परेर रोइरहेका नावालकहरू, सहरमा त्रसित त्रसित मानिसहरू, मानिसकै गर्मी धेर भइरहेको, मन्दिरका देवताहरू चुपचाप बसेर सिँगारिरहेका, तिनीहरूका पेटीमा थरीथरीका मगन्तेहरू, कोही सडकमा खाते भएर पल्टिरहेका, कोही नशासेवनमा फसिरहेका, कोही हिँडिरहेका, कोही खाँदिएर बसमा गुडिरहेका, कोही कारमा गुडिरहेका, कोही साइकल, मोटरसाइकलमा हुँइकिरहेका, कोही खान नपाएर मागिरहेका, कोही सडक दुर्घटनामा मरिरहेका, कोही पेट्रोलको लाइनमा बसिरहेका, कोही बाढीमा फसिरहेका, कोही नाङ्गा, कोही ठाँटिएका, कोही चिसोमा सुतिरहेका, कोही महलमा उँघिरहेका, कसैका घरमा अन्न कुहिरहेको, कसैका घरमा अँध्यारो मुहार र भोको पेट आदि इत्यादिका दृश्यहरू हेरिरहृयौँ ।
धन्य आमाको छाती, धन्य हृदय भन्दै फेरि आमातिर हेर्न थाल्यौँ । त्रस्त आँखाले आमाले अर्कातिर हेर्न थाल्नुभयो । हामी पनि त्यतैतिर हेर्न थाल्यौँ । त्यहाँ त आइमाई, केटाकेटीहरू, रोदन र चीत्कारसँगका करिब एउटै पीडामा डुबिरहेका १५-१६ वर्षदेखि ६०-७० वर्षसम्मका विधवाहरूको भीड रहेछ । तिनीहरूका फुटेका चुराले सानो पहाड बनेछ, पुछिएका सिन्दूरले त्यो पहाडलाई छोपेछ, राता रङ छातीमा रङ्गिएछन् । फेरिएका सेता धोतीहरू आँखाआँखामा छाइएछन्, ती कपालका काला चुल्ठाहरू आँखामा पट्ट िभएर बाँधिएछन् । त्यसैगरी मुखबाट निस्किएका रोदन र चीत्कारहरू हावामा गएर बिलाएछन्, आँखाबाट झरेका आँसुहरू नदीमा गएर मिसिएछन्, बाँकी रहेका जीवनका खुसीहरू बन्दुक र हतियारबाट खोसिएछन् भविष्यका कल्पनाहरू सबै माटोमा मिसिएछन् । विधवाका छातीमा चिरिएका डोबहरूमा टुहुरा छोराछोरी अटाइएका रहेछन् । एउटा विकृत डरलाग्दो स्वरूप मात्र कङ्काल भएर उभिइरहेका रहेछन् । हामी दुवै दिदीबहिनी पूर्व र पश्चिमबाट हेरिरहेका थियौँ । थाप्लोभरि चिसो हिउँ बोकेर पनि छातीमा दनदनी आगो बलिरहे जस्तो हुन्थ्यो । टाउको तातेर फुट्ला जस्तो हुन्थ्यो । धन्य आमा धन्य तिम्रो सहनशीलता भन्दै हामी दिदीबहिनीका आँखा जुध्न पुग्छन् ।
दिदीबहिनी भेटघाट भएर रमाइला कुराकानी गर्न त कता हो कता टाढाबाट देखादेख हुँदासम्म पनि आँखा ओभाना हुन सकेनन् । आमाको पीडा झन् थपिँदै थियो । हामी दिदीबहिनीले पूर्व र पश्चिमबाट एउटा एउटा औँला समातेर सान्त्वना दिने कोसिस गर्र्यौँ तर आमाले हामी दुवै दिदीबहिनीलाई अँगालो हालेर रुन थाल्नुभयो । युगौँदेखि युगौँसम्म ठडिएकोठडियै हामीले नेपाली सीमाको रक्षा गर्ने गरेको वाचा भङ्ग हुने त होइन ? आमाको त ख्याल नराख्ने सन्ततिले झन् यो देशको सीमाको के ख्याल राख्लान् ? भन्ने पीडाले हामीलाई सताउन थाल्यो । आफ्नै सन्ततिको उपद्रवदेखि वाक्क लाग्न थाल्यो । पवित्र हिउँ बोकेर उभिएका हामीलाई आफ्नै नेपाल गनाएको भान भयो । नेपाल नेपालमा मात्र गनाएन, यो त सारा विश्वमै गनायो । सबैको छिछि र दूरदूर हुने भयो ।
आ-आफ्नो अहं नभाँच्नाले आज यो गति भयो नेपाल आमाको । आमा फेरि रुँदै भन्न थाल्नुभयो- छोरी हो मेरा करोडौँ सन्तति एकआपसमा यसरी झगडा गर्छन् । आफ्नै भाइले आफ्नै दाइलाई मार्छ, आफ्नै छोराले आफ्नै बाबुलाई मार्छ, आफ्नै दाजुले बहिनीलाई बलात्कार गर्छ, एउटै लाम्टो चुसेका सन्ततिहरू एकआपसमा काटाकाट गर्छन्, आˆनै काखमा रमेका छोराछोरी एकअर्कालाई बेचिदिन्छन्, एकअर्काको अपहरण गर्छन्, अनि केही गर्लान् कि भन्ने सन्ततिहरू भ्रष्टाचार गर्छन्, निमुखालाई उठ्न दिँदैनन् । कोही कालगतिले मर्न नपाउने भए यहाँ । लडेर मरेका पशुको जस्तै गरी मान्छेको मासु गनाइसकेको छ यहाँ । कुकुर पनि उचितरूपमा पन्छिन्छ तर मानव सन्तति त्यतिका पनि भएनन् । मैले यस्ता बीभत्स रूपहरू हेर्नु परिरहेको छ, छोरी हो । म मेरा आँखाका ज्वालाबाट जलेर आफैँ मरौँ र खरानी पारौँ ? तर म त्यसो गर्दिनँ, यो सब हेरिरहन्छु, सहिरहन्छु । म केवल माकुराकी आमा त भए नि अरू के भएँ र ? मेरो मूल्य नै के रहृयो र ? आफ्नै छोरीबुहारी विधवा भएको आफ्नै सन्ततिको दुर्दशा हेरिरहन्छु र मर्नु परे पनि म अन्त्यमा यिनीहरूकै हातबाट मर्छु । यदि म मरेँ भनेँ छोरीहरू हो यिनीहरूले तिमीहरूलाई पनि टोक्छन् । तिमीहरूका टाउकामा भएको पवित्र हिउँ पनि राक्षसी जिब्राले चाट्छन् र चाट्दाचाट्दै तिमीहरूलाई नै सक्छन् । नानी हो बाँकी रहेको तिमीहरूको अवशेषलाई पनि यिनीहरूले बेचिदिन्छन् । यदि कुनै असल सन्तान जन्मेर फेरि तिमी हाम्रो अस्तित्व रक्षा गरे भनेँ मात्रै नत्र दास बनेर यी सब कुरा सहनभन्दा अरू उपाय हुनेछैन । आमा आफ्नो कुरा भनिसक्न नपाउँदैमा मुर्छित बनेर विक्षिप्त अवस्थामा जानुभयो, हामी दिदीबहिनी हेरेको-हेर्यैँ भएका थियौँ र भविष्यको त्रासदीपूर्ण समयलाई पर्खिएर बस्न बाध्य भएका थियौँ ।
आमाको छातीमा लागेको आगो अचेल के कति शान्त भएको छ खै कुन्नि ? भेटेर भलाकुसारी गर्न पनि पाएको छैन । दिदीबहिनीले पनि नजिकबाट गफ गर्न नपाएको धेरै भइसकेको छ । नेपालआमाका सन्ततीहरू लडाइँ, झगडा गर्दागर्दै थाकेर केही बेर भयो बिसाएको तर पनि अझै कतिपय लडाइँमा लागिरहेका छन् । यस्तो विपत्ति आमाले अझै कति दिन भोग्नुपर्ने हो ? त्यसमाथि पनि फेरि प्राकृतिक विपत्तिले नेपालआमाका सन्तानलाई सताइरहेको छ । केही मानिस शान्ति स्थापना गर्न तम्सिरहेका छन्, कतिसम्म सफल हुने हुन् ? युद्धका बेला चहर्याएका आत्माले कहिले शान्ति पाउने हुन् ? मृतआत्माले कहिले आफ्नो वीरतामा आनन्द लिने हुन् ? यी सब कुराले आनन्द भएका दिन फेरि हामी दिदीबहिनी एकअर्कालाई आमन्त्रण गरेर आमाका पासमा गई रमाइला कुरा गरौँला नत्रभने आमा रोएकोभन्दा अन्य कुरा सुन्न पाउने छैनौँ । यी कुरा हुन् जजसका तर्फबाट जेजे आवश्यक पर्छ त्यो सबै नेपालीले पूरा गर्ने प्रण गर्नुपर्छ नत्र आमाको रोएको आँखाभन्दा अरू हेर्न पाउने छैनौँ । आमाको धैर्य गर्ने शक्ति बढोस्, यही हामी दिदीबहिनीको शुभकामना ।
(श्रोत :- मधुपर्क बैशाख, २०६७)