~टीका बिष्ट~
‘कहाँ हो कमरेड ?’ कतिपछि धनकलीले फोन गरी, ‘काठमाडौंमा आ’छु । भेटौं न मिल्छ भने ।’
कसरी सम्झिछ ! भनें, ‘आज अलि व्यस्त छु । भोली भेटौं न ल ।’
मनमनै सोचें, कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने साथी । लाग्यो, निकै क्रान्तिकारी भइछे । हुन त पार्टीको भाषा नै प्यारो लाग्दो हो उसलाई । उनीहरू प्रायः सबैलाई कमरेड नै भन्छन् । उमेरले मभन्दा छिप्पलै भए पनि पाँचसम्म सँगै पढियो । तँ तँ चल्ने । ६ पढ्न म सहर झर्नेबित्तिकै क्रान्तिमा लागेकी हो ऊ । त्यसयता हाम्रो भेट पातलियो ।
गाउँलेको नजरमा खासै केही गरिन उसले । बिहे गरेर भुरा पाउनुलाई महिलाको सबैभन्दा ठूलो प्रगति ठान्छ समाज । मानौं, उसले कमाएको परिचय प्रगति नै होइन । काली भए पनि मान्छे राम्री हो । तर के चिन्ता लिन्छे कुन्नि ?
हाडछालाकी मात्र भएकी छ रे । तीस पनि काटी होली । कुरा काट्नेहरू अनेक व्यंग्य गर्दा हुन् । कसले पो बिहे गर्ला र यस्तीलाई?
जिल्लामा ‘कमरेड धरती’ भनेर चिनिन्छे ऊ । भर्खरै भएको अधिवेशनबाट डिसिएम भइछे । गोपी नहराएको भए र उसका बाबुले कान्छी नल्याएको भए माओवादी नै हुन्थिन कि !
दमाईकी छोरी । गाउँभरमा एक्लो दलित परिवार थियो । स्कुल जाने उमेरमा आमा गुमाई । बाउको पनि माया पाइन । स्वास्नी मरेको तीन महिनामै बाउले अर्की ल्याए । सुत्केरी कष्टले आमाको ज्यान गएको हो भन्ने थाहा पाएर बिहे नै गर्दिन भन्थी । सौतेनी आमाको रुखो व्यवहार, बाउको पिटाइ, समाजको हेपाहा दृष्टि सबै सम्झेर होला, भक्कानिन्थी मसँग । अर्की ल्याएपछि ‘कान्छा बा’ भएका उसका बाउको पेसा नै रक्सी खाने । बाजेबज्यै उहिल्यै बिते । मैले गाउँ छाडेपछि झनै एक्ली भई । सहर आउँदा जिम्मुवालका घरसम्म पु¥याउन आएकी हो । कम्ता नरमाइलो मानेकी थिइन । साँच्चि, अचेल कस्ती भा’होली ?
…
भोलिपल्ट बिहानै फोन गरें । शिक्षण अस्पताल महाराजगञ्ज बोलाई । यसै पनि ऊ बच्चैदेखि रोगी हो । के भएछ ? सोच्दै नेपाल यातायात चढें । पानी परेकाले काठमाडौं हिलाम्मे थियो । अस्पतालको गेटमै कुरेकी रैछे । उसले नै बोलाई, ‘पुतली’ । सहर झरेपछि म ‘प्रभा’ भएको उसलाई थाहै रैनछ । ठूलो झोला । गोल्डस्टार जुत्ता । झट्ट हेर्दा उही भूमिगत पहिरन । मरन्च्याँसे । अनुहारभरि कालो पोतो । ४५ वर्षकी जस्ती ।
‘के भो धनकली ? किन यस्ती भ’की ?’
जवाफमा गम्लङ्ग अँगालो हालेर रोई । धनकलीले सबैका सामुन्ने यसरी डाँको छोडेको पहिलोपल्ट देखें । क्रान्तिमा लागेका मान्छेहरूको मन यति कमजोर हुन्छ भन्ने मैले कल्पना पनि गरेकी थिइन ।
सानोमा ऊ जति हाँस्थी, त्योभन्दा दोब्बर रुन्थी । आज बाल्यकालको याद आयो । एक दिन उसलाई बाउको पिटाइबाट जोगाउन हाम्रो गोठमा लुकाएकी थिएँ । आमाले थाहा पाएर मलाई सिस्नुपानी लगाउनुभयो, तल्लो जातकी धनकलीले गोठ छोई भनेर । मिल्ने साथीलाई गाईभन्दा तल्लोस्तरको सोचेकोमा दिक्क लाग्यो । त्यो गाई अघिल्लो वर्ष धनकलीकै घरबाट हामीले किनेर ल्याएका थियौं ।
तल्लो जातसँग संगत गरेको भन्दै घरकाले गाली गर्थे । देखे भकुर्थे । म भनें उसलाई खानेकुरा लुकाएर लगिदिन्थें । यस्तो सोच्थें, उसलाई कुनै भुत नलागोस्, मेरा भगवानले पनि उसैलाई हेरुन् ।
मेरो उमेर मिल्ने गोपीमात्र थिई । ऊ एकाएक हराएपछि धनकली झन् राम्रो साथी भई । दुबैसँग मिल्ने गोपीलाई उसकै भिनाजुले बम्बैतिर लगेर बेचे रे भन्ने सुनियो धेरैपछि ।
…
उसका आँखा ओभाएपछि नजिकैको क्याफेमा लगें । आमनेसामने गरी बस्यौं ।
‘भन्, के खान मन छ ?’
‘मन पर्ने चाउमिन त हो नि, त्यै खाम् ।’
‘यति बिहानै किन चाउमिन ?’
‘यो खाए खाना खानु पर्दैन के । त्यै भ’र ।’
फिस्स हाँसी । मलाई ब्ल्याक कफी भनें ।
‘के छ त खबर ?’
रुँलारुँलाजस्तो गरी उँधो मुन्टो लगाई धेरै बेर । मानौं ऊ पहिलोपल्ट बोल्ने अभ्यास गर्दैछे, मान्छेको अगाडि । उसको बोली फुटेन ।
‘किन गार्हो मानेकी ? बोल् न । म उही पुतली त हुँ क्यार ! मसंग नि अप्ठेरो मान्छेस् ?’
सायद उसले विगत सम्झिई । अलि सहज भई ।
‘थाहा छ पुतली, मेरो बारेमा तँलाई ?’
‘के ?’
‘मेरो बारेमा केइ था’पाइछैनस् ?’
‘अहँ,’ मैले भनें ।
‘कमरेड ‘नदी’ (सन्दीप) सँगको सम्बन्ध बारेमा के ?’
‘छैन । भन् न, के भयो ?’ म जान्न उत्सुक भएँ ।
‘पापी रैछ पुतली, त्यो सन्दीपे त ।’
‘किन र ?’
‘सम्बन्ध तोड्यो । मलाई घर न घाटको बनायो मोरोले ।’
नरोएर सबै कुरा भन्नै सकिन उसले ।
चाउमिन आयो । चाउमिनमा सस फिट्दै गर्दा भित्र पसेका गाला हुँदै बगेको आँसु प्लेटमा तप्प खस्यो । झस्केर पुछेझैं गरी । मानौं आँसु बेखबर झर्यो ।
कफी आयो । चुस्की लिंदै भनें, ‘रोएर केही हुँदैन धनकली । आफैलाई कमजोर पार्ने मात्र हो । अरुको मुक्तिको लागि क्रान्तिमा लागेकी तँ । जे हुनु भइसक्यो । आफुलाई सम्हाल् । मलाई सबै कुरा भन् । पीडा जति सुनायो त्यति घट्छ भन्छन्।’
मैले सम्झाउन खोजें ।
‘तँ सहर आएपछि एक दिन हाम्रो गाउँमा पार्टीले सांस्कृतिक कार्यक्रम गर्यो । कार्यकर्ता घर घर बाँडिएर बास बसे । हाम्रोमा आएका दुई जना दिदीको कुराले उनीहरूसँगै जाउँ जाउँ लाग्यो ।’
‘त्यसको केही दिन पछि बा’ले खरीबोटे साइँला दमाईका छोरासँग बिहे छिन्दिएछन् । त्यो था’पाको साँझ नै म दिदीहरूको सेल्टर पुगें र पार्टीको एरिया कलाकार भएँ ।’
सबै कुरा कथा झैं सुनाउन थाली ।
…
पार्टी जातीय विभेदविरुद्ध थियो । पार्टीकै अगुवाइमा धेरैको अन्तरजातीय विवाह भए । सल्लेरीको सन्दीप केसीसँग मेरो बिहे गरिदिने पार्टीको प्रस्ताव आयो । हामी दुवै राजी भयौं । ०५८ सालमा जनवादी बिहे भयो । हामी आआफ्नो जिम्वेवारीमा खटिएका थियौं । जिल्लाभित्रै तर अलगअलग । बीचबीचमा भेट हुन्थ्यो । अरुहरु जस्तो क्रान्तिका लागि मर्नेभन्दा बाँचेरै युद्ध जित्ने संकल्प थियो दुबैको । पार्टीमा लागेपछि मैले धेरै कुरा सिकें । पार्टीभित्र हुने प्रशिक्षणहरुले वैचारिक ज्ञान मात्र दिएन, समाज बुझ्न सहयोग गर्यो ।
२०६१ को अन्त्यतिर सेनाले माओवादी निर्मुल पार्ने भन्दै हाम्रो सेल्टरहरु खोज्न थाल्यो । एक दिन हामी दुश्मनको घेराबन्दीमा पर्यौं । घरको झ्यालबाट हाम फालेर बारीका ठुल्ठुला कान्ला र भिर छिचोल्दै घेरा तोडियो । धन्न ज्यान जोगियो । अर्को सेल्टरमा नपुग्दै मलाई असहजजस्तो भयो । महिनावारी रोकिएको पनि दुई महिना नाघेको थियो । भोलिपल्टैबाट त रगत नरोकिने भयो । बच्चा रहेछ, खस्यो भन्ने लख काटें ।
कसैलाई भनिन । सन्दीप कमरेड पनि टाढा । अहिलेजस्तो फोन पनि नाइँ । थकाइ मार्न पनि पाइएन । बिनाउपचार खटिइरहें पार्टीकै काममा । चोक्टाचोक्टा भएर बग्यो रगत । शरीर कमजोर हुँदै गयो । तल्लो पेट दुखिरह्यो । खलंगाबाट औषधी मगाएर खाएँ । के हुन्थ्यो ? भएन । आफैं अस्पताल जाने स्थिति थिएन । घर जाउँ, सेनाले थाहा पाउँथ्यो । तीन महिनापछि मात्र सन्दीपसँग भेट भयो । भेटमा सबै कुरा भनें ।
मैले कफी दुईपटक सुरुपसुरुप पारें ।
उसले पुलुक्क मलाई हेरी ।
भनी– त्यति माया गर्ने सन्दीपले मेरो कुरामा ध्यानै नदिए जस्तो गर्यो । भेट्न पनि मन नमानेजस्तो । मलाई अमिलो भयो । मृत्युलाई हत्केलामा राखेर हिँड्दा सँगै बाँच्ने सँगै मर्ने कसम खाएका हामीमा कुनै पल नमीठो होला भन्ने कल्पना समेत थिएन । हतार छ भन्दै सन्दीप हिँड्यो ।
युद्धविराम भयो । पार्टीले बन्दुक बिसाउने चर्चा चल्यो । सोचें, त्यसपछि सन्दीपसँग खुलस्त कुरा गरौंला । वैैधानिक रूपमा पार्टी बन्दुक बिसाएर शान्ति प्रक्रियामा आयो । घर जाने वातावरण बनाउँछु भनी गएको ऊ बेखबर भयो । मसँग टाढिन खोजेको महसुस गरें ।
एकदिन खोज्दै उसको गाउँमै गएँ । म आएको थाहा पाएर चौतारोमै भेट्न आयो । मन खुशी भयो । कतिबेला ‘घर जाउँ’ भन्ला भयो । तर, उसको पहिलो वाक्य नै ‘डिभोर्स गरौं’ भन्ने थियो । त्यसै पनि म लखतरान । कुरा सुनेर उभिरहन सकिन । थचक्क बसें । कारण बुझ्दा म तल्लो जातकी रे !
ऊ रोकिई ।
मेरो मन जिज्ञासाले गह्रौं भयो । सोधें, ‘दमाईकी छोरी भन्ने पहिल्यै थाहा थिएन र ?’
‘किन नहुनु । पार्टीलाई समेत थाहा थियो नि ।’
‘के जातीय समानता पार्टी भूमिगत भएको बेला मात्रै हो ?’ ऊ बर्बराई ।
‘हाम्रो विवाह गरिदिने धेरैजसो कमरेडहरू सहिद भइसक्नु भो । बाँचेकापनि कता छन् कता ? म कहाँ जाउँ मेरो विवाहको प्रमाण माग्न ?’
‘सरकारी विवाह दर्ता पनि छैन । तै पनि नजिकका नेताकहाँ कुरा राखें । उनीहरूले पनि खासै वास्ता गरेनन् । सन्दीपबाहेक मेरो को नै थियो र ? आखिर पार्टी पनि तिनै ठूला जात भनाउँदाहरूको न रै’छ । पार्टीकै सहयोगमा डिभोर्स भयो । हेर् न पुतली विचल्ली भो । धन्न गाउँमा यो कुरा थाहा भएन ।‘
एकै सासमा उसले कुरा सकी ।
मैले कफीको अन्तिम घुट्को लाएँ।
…
पार्टीमा लागेर मुक्तिको सपना देखेकी विचरीको कथा सुनेर नमीठो लाग्यो । बाउले विहे गरिदिन खोज्दा पार्टीमै आफ्नो भविष्य देखेकी धनकलीको कुन हविगत भएछ अहिले । दुःखीलाई जहाँ गए पनि सुख छैन ।
के भनौं भनौं भो । सोचें, अस्पताल किन आइहोली ?
‘अहिले कस्तो छ त स्वास्थ्य ?’
‘खै । पेट दुखिरहन्छ । एक्सरे गरेको । डाक्टरले पाठेघरको मुखको क्यान्सर भा’छ भन्छ । पहिले चेक गराउनै पाइन । अपरेसन नै गर्नु पर्छ रे ।’
‘खर्च कसरी चलाकी छेस् त ?’
मेरो प्रश्नले एकछिन मौन भई ।
‘पार्टीले केही सहयोग गरेन ?’
‘के गथ्र्यो ? जस्तो अवस्थामा पनि होमिने कार्यकर्ताको लागि रैनछ यो पार्टी । अनि, त्यो क्रान्ति पनि हामीजस्तालाई हैन रैछ पुतली । हिजो ज्यान जोगाउन जो इन्डीया गए, अरु पार्टीको खोल ओढर सदरमुकाममा बसे र बाँचे, तिनै मान्छेलाई पार्टीले भएभरको सहयोग गर्दोरैछ ।’
‘हेर् न पुतली मर्न पनि सकिंदो रैनछ । बाँचेर पनि सास्ती । युद्धकालमै मरेको भए सहिद त भइन्थ्यो ।’ उसले खुइय्य गरी ।
‘हाम्रो कति भयो ?’ मैले बिल मागें ।
वेटरले कप र प्लेट उठायो ।
द्वन्द्वपिडितलाई राहत दिने भन्ने सुनेपछि धनकली पहिलोपल्ट काठमाडौं झरेकी रैछ । पार्टीकै कमरेडहरूको सहयोगमा सिंहदरबार पनि छिरिछ । शान्ति मन्त्रालय पनि धाइछ पटकपटक । राहत वितरणका लागि बनाइएका विभिन्न समितिसम्म पुगिछ । पार्टीका माथिल्ला नेताहरूको निवास पनि गइछ ।
‘मेरो नाम कहीं पनि राख्न मिल्दैन रे पुतली, हेर् न । कस्तो आपत् ।’
‘के म द्वन्द्वपीडित होइन ?’ आफैंसँग सोधी उसले ।
‘द्वन्द्वपिडित हुँ’ भन्ने प्रमाणसहितको गह्रौं ब्याग निकालेर देखाई ।
‘यी हेर् । के द्वन्द्वकै कारण मेरो यो हाल भा’हैन ?’ मानौं म नै उसलाई निसाफ दिने अधिकारी हुँ ।
वेटरले बिल ल्यायो ।
मैले पर्सबाट १ सय १० रुपैयाँ झिकेर दिएँ ।
‘पार्टीले उपचार त व्यहोरिदिनु पर्ने नि,’ मैले भनें ।
सुनेकी थिएँ, ‘क्रान्ति सत्तामा पुग्ने भर्याङ हो ।’ लाग्यो, साँच्चै रहेछ ।
(श्रोत :- Setopati )