कथा : समर्पण

~गीता केशरी~Geeta Keshari

हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईँले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”

उनीहरू जति हाँसे पनि हरिले कविता पढ भन्न छोडेन र आफू पनि कविताका पुस्तकहरू किन्दै पढ्दै गरिरहन्छन् । एक साँझ उनी घुम्दैघुम्दै उही किताब पसलभित्र छिर्छन् र यताउति हेर्न थाल्छन् । पारखी पसलेले कुरो बुझ्छ र ऊ एउटा कविताको किताब हातमा लिँदै त्यसको धूलो पुस्दै हरि नजिकै आइपुग्छ र त्यो किताब ‘बिर्सिएका ती पाइलाहरू’ उनलाई दिँदै भन्छ “यो हालसालै विमोचित कवितासङ्ग्रह हो । साह्रै राम्रा कविताहरू यसमा छन् । हजुरलाई मन पर्छ भनेर राखिदिएको छु ।” “कसरी थाहा पायौ मलाई यसका कविताहरू मन पर्छ भनेर ? यसको स्रष्टा को हो ?”, एकैपटक दुइटा प्रश्न राख्छन् ।

ऊ पनि के कम, भनिहाल्छ, “म पनि पढ्छु नि । तपाईँले कस्तो कविता छानेर पढ्न लैजानुहुन्छ भन्ने मैले थाहा पाइसकेको छु । मेरो र तपाईँको चाहना मिल्छ । पहिले यो पढी त हेर्नुस् । लेखक नयाँ भए पनि विचार र भावना गहिरा छन् । शीला दली हुन् यसका लेखक । पेसामा डाक्टर रहिछन् ।”

“ए, त्यसो पो । ल्याउनुहोस् । यही लैजान्छु र म पनि हेर्छु तपाईँको र मेरो चाहना कति मिल्दो रहेछ । त्यसपछि यो छान्ने झन्झट पनि जान्छ, होइन त मित्र ?” भनेर हाँस्छन् । उसले “तपाईँको टेलिफोन नम्बर दिनोस् म अझ नयाँनयाँ पुस्तक आएको बेला घरैमा खबर गरिदिन्छु । अब त के मित्र भइहाल्यौँ” भन्दै हाँसोमा हाँसो थप्दै मित्रताको सहृदयता व्यक्त गर्छ । त्यहाँबाट निस्केको हरि घरमा पुग्नासाथ एक कप चियाको साथमा त्यो कवितासङ्ग्रह पढ्न थाल्छन् ।

पसलेले भनेजस्तै त्यसमा सङ्कलित कविताहरू उनलाई पनि निकै राम्रो लाग्छ । जति उनी पढ्दै जान्छन् उनको मस्तिष्क तरङ्गति हुन थाल्छ र स्मृतिका पानाहरू पल्टिन थाल्छन् । उनलाई लाग्न थाल्छ, कसैले उनकै व्यथा लेखिदिए जस्तो । फेरि एकपटक लेखकको नाम किताब पल्टाएर नै हेर्छन् । सोच्छन् पनि, यी कविताहरू त झन्डै २०/२५ वर्ष पहिले नै लेखिएका रहेछन् । कहाँ हाम्रो जीवनसँग मेल खान गएको भन्ने सोचेको हुँला ? म पनि…। भन्दै मनलाई सम्झाउन खोजे पनि मस्तिष्कले औँल्याउँछ- सत्यले वर्षको गणना कहाँ गर्छ र ? प्रेम सत्य हो ? यसको व्यथा सत्य हो । जीवन त गति मात्र त हो । यस सोचले उनी भ्रममुक्त हुन्छन् र सम्झन पुग्छन् आफ्नो प्रेमिकालाई, जो अघोषित रहिरहिन् र पीडा दिइरहिन्- प्रेमको । सायद ऊ पनि मजस्तै छट्पटाइरहेकी होली- मैले पनि त व्यक्त गर्न सकेको थिइँन मेरो मनमा पलाउन थालेको प्रेम । यो अव्यक्त भावनालाई हामीले बुझ्नै सकेनौँ र बुझ्ने कोसिस पनि गरेनौँ । किन…? धेरै पटक मैले उसको मन बुझ्ने मौका पाएको रहेछु भन्ने कुरा अहिले आएर बुझ्दैछु र पश्चात्तापमा जिउँदैछु ।

मेरी नयना कविता लेख्थी र भेट भएपिच्छे सुनाउँथी नयाँनयाँ आफ्ना रचना । राम्रो लेख्थी र भन्थी- मैले नेपाली विषय लिएर पढ्नुपर्ने, कहाँ विज्ञान लिन गएँछु । अब मेरो यो लेख्ने इच्छा अतिरिक्त क्रियाकलाप भएर मात्र रहने भएपछि यसमा के प्रगति ल्याउन सकिएला खै Û तर जे होस् म यसलाई छोड्न त सक्दै सक्दिन । तिमी मलाई भन्छौ नि कस्ती बौलाहीजस्ती भएकी Û हो, म कविता लेख्न बसेपछि त्यस्तै हुन्छु । अरू त के तिमीलाई पनि बिर्सन्छु । त्यसैसँग प्रेम गर्न थाल्छु । थाहा छ, किन म त्यसो गर्छु ? त्यसले मेरो मनलाई बुझ्छ । मेरो साथ दिन्छ । तिमी जस्तो कपटी त्यो छैन ।”

यति सुनेर पनि म हाँसी मात्र दिन्थेँ । सोद्धिनथिएँ के कसो भनी । न त भन्थेँ, “मैले पनि तिम्रो मन बुझेको छु । तिमी मलाई प्रेम गर्छौ ।”

हामी सानै उमेरदेखिका साथी थियौँ । खाली हाम्रो जात मिल्दैनथ्यो । त्यसको वास्ता हामीलाई थिएन । हामीबीचको बालमित्र प्रेम पनि हामी सँगसँगै हुर्किंदै जवान भयो । हामी अझ नजिक हुन चाहन्थ्यौँ भने बाआमालाई हाम्रो सम्बन्धप्रति दिन प्रतिदिन सतर्क हुँदै जान थाल्नुभयो । भन्न थाल्नुभएको थियो, अब तिमीहरू केटाकेटी छैनौ । धेरै घुलमिल गर्ने होइन । यस्तै के केको अर्ति आउन थालेपछि हामी यस सम्बन्धमा अझ बढी जिज्ञासु हुन थाल्यौँ । बाआमाको कुरालाई नै उठाएर आपसमा भन्थ्यौँ, “के भएको होला हाम्रा बाआमा पनि ? पहिले आफँै खेल्न जाओ । साथै मिलेर पढ भन्ने अहिले भने यस्तो भन्नुहुन्छ ।” के गरेका छौँ र हामीले होइन, हरि ? ऊ भन्थी भने म त्यसको समर्थन गर्थें ।

नयना राम्री छैन भनेर सबै भन्थे । ऊ पनि भन्थी, “म कस्ती नराम्री हगी ?” कहिले त लाग्छ भगवान्ले मेरो रूप बनाउँदा सबै सामग्री सकिएको बेलामा परे जस्तो छ । म पनि ठट्टैठट्टामा भनिदिन्थँे “त्यस्तो त होइन होला । बरु झोक चलेको बेलामा पर्‍यो

कि ?” योभन्दा बढी म उसको रूपबारेको कुरो पन्छाउन अरू केही पनि भन्दिनथिएँ किनकि मेरो ध्यान त्यसतर्फ छँदै थिएन । उसका कुरा मलाई मन पथ्र्यो, हाम्रो विचार मिल्थ्यो, बस् यत्तिमै सीमित थियो । स्कुलको शिक्षा पूरा गरेपछि नयनालाई उनको बाआमाले छात्रवृत्ति मिलाएर भारतमा इन्जिनियरिङ पढ्न पठाइदिए भने मेरो विषय म्यानेजमेन्ट भएकाले यहीँ बसेर पढ्ने भएँ । हाम्रो पत्राचार भइरहन्थ्यो र छुट्टीमा आएको बेला भेटघाट हुन्थ्यो र उही कविता र मित्रताको कुरा भइरहन्थ्यो । ऊ भन्थी, “हेर हरि त्यहाँ कत्तिसँग भेट भयो । धेरै घनिष्ठ मित्र पनि भएर कुरा गरियो तर कसोकसो तिमी जस्तो कुनै पनि लाग्नै सकेन, सत्ते ।” म पनि दङ्ग परेर भन्थेँ, “हो र भन्या । त्यस्तो मसँग के छ र ?”

ऊ भन्थी, “छ, यो प्यार प्यार चल्ने मुख ।” अनि ऊ त्यो कमिजभित्र लुकेको मन पनि भनिहालन भनेर मैले भन्दा ऊ भन्थी, “अहँ  त्यसको त मलाई विश्वास छैन । तिमी चाहिनेभन्दा बढी चञ्चल छौ र आफ्नो विचार खोलेर राख्न सक्दैनौ । त्यसैले त्यो मन बदलिरहन सक्छ । मेरो जस्तो छैन तिम्रो मन । मेरो हेर, यो टाँसिएपछि फुत्कँदै फुत्किन्न ।” हामी दुवै हाँस्थ्यौँ र स्वीकार्थ्यौं पनि ।

त्यसबेला उसले मलाई एउटा कविता सुनाएकी थिई, जुन कवितासङ्ग्रहको जस्तै थियो-

तिमीलाई प्रेरणा भन्न रुचाउँछु

सधैँ सधैँ छातीमा समेट्न चाहन्छु

मेरो हरेक पाइलामुनि

तिम्रो छाप परेको धरती देख्न रुचाउँछु ।

मैले त्यसबेला उसको कविता सुनेर भनेको थिएँ

“ओहो  त्यो त अति राम्रो प्रेममयी कविता पो लेखिछौ । तर यो ‘तिमी’ को हो ?”

“त्यो… तिमी पनि हुन सक्छौ र म आफँै पनि ।” आफ्नो विचार र भावनासँग प्रेम गर्ने प्रेमिका ।

“ए त्यसो भए ठीक छ । म त अर्को कुनै हो कि भनेर डराएको…।”

तिमी डराउनुभन्दा अरू के नै गर्न सक्छौ र ? आफ्नै छायाँलाई देखेर डराएर भागेको मैले कहाँ बिर्सेकी छु र भनेर ऊ हाँसी । मलाई लाज लाग्यो त्यो घटना सम्झेर ।

दुई वर्षजति यस्तैमा बित्यो । मेरो घर परिवारले मलाई विवाह गर्नुपर्छ भनेर एउटी केटी ल्याएर देखाउनुभयो । केटी तस्बिरकी देवीजस्तै राम्री थिई, पढेलेखेकी र हाम्रो व्यापारमा पनि साझेदारी रहेको परिवारकी छोरी थिई । परिवारको दबाब ममा अति नै पर्न थाल्यो । म के भनुँ के गरूँमा परेँ । एकपटक नयनाको विचार यसबारे के छ भनेर सोधुँ कि जस्तो पनि लाग्यो । फेरि अर्को मनले भन्यो, “त्यसले पनि अझसम्म खुलेर केही भनेकी छैन । मैले यस्तो कुरा राख्दा यो त कस्तो रहेछ मित्रता र प्रेम पनि नबुझ्ने ? अहिलेसम्मको हाम्रो मित्रतालाई विवाहमा पुर्‍याएर टुङ्ग्याउन पो खोज्दोरहेछ भन्ने ठानी भने ? म त जनावरीय प्रेमको इच्छुक भइहाल्छ नि ?”

अर्को कुरा उसले म विवाह गरेर प्रेमको अवमूल्यन गर्न चाहन्न भन्न पनि सक्छे । त्यो साह्रै भावुक छे । यता बाबुआमा आजै भन के छ तेरो विचार भन्न थालेका छन् । एकपटक त भनी पनि सके नयनालाई पर्खेको होस् भने त्यसलाई हाम्रो परिवारसँग गाँसेर वंश नै बिगार्ने पक्षमा हामी छैनाँै र अर्को कुरा यता हाम्रो व्यापार पनि यो विवाह भएन भने बिग्रन सक्छ । सबै कुरा सम्बन्धको नै त हो भनेर पिट्टा दिएकाले लौ तपाइर्ंहरूलाई जे मन लाग्छ गर्नोस् भनिदिएको थिएँ ।

विवाह भइहाल्यो । त्यसपछि के कस्तो अवस्था आइपरेर मैले विवाह गर्नुपर्‍यो भनेर सबै कुरा खोलेर साथीको रूपमा नयनालाई चिठी पठाएँ । उताबाट न बधाई आयो, न त घृणाको फूलझरी नै ।

विवाह गर्न पाएँ भनेर उमेर पुगेका दुलाहाहरू जति रमाउँछन् म हुन सकेको थिइनँ । सपनामा जीवनले गति लिएको जस्तो लागिरहेको थियो । म यन्त्रवत भइरहेँ । मेरो अगाडि नयनाको छायाँ मात्र आउँथ्यो । विचलित भएको मनलाई थाम्न सकिनँ र मैले उसलाई ट्रङ्कल गर्न खोजेँ । त्यहाँको लेडिज होस्टेलमा हत्तपत्त टेलिफोनमा बोलाइदिँदैनन् । बरु नयना बिरामी भएकी छे भन्नेसम्मको खबर दिए । झन् यस खबरले एक्कासि उसलाई के भयो त्यस्तो भन्ने कुरा मनमा उठ्न थाल्यो र मलाई पोल्न थाल्यो । म हेर्न जान चाहन्थेँ तर घरबाट यसमा पनि रोक लगाए । नयनाको बाबुआमालाई पनि यसबारे केही थाहा छैन जस्तो लाग्थ्यो । उनीहरू हाम्रो घरमा उस्तै गरी आइरहेका थिए र विवाहमा पनि सहभागी भएका थिए । भनेको सुनेको थिएँ, “नयनाको पनि पढाइ सकेर र्फकनासाथ यस्तै गरी विवाह गरिदिनुपर्छ । के गर्नु त्यसले विवाह गर्छे कि गर्दिन भन्ने लागिरहन्छ । यहाँ हुँदा कति केटाहरूको कुरा आएको थियो । राम्रो घर खानदानबाट । गर्दिन, मलाई पढ्नु छ भनेर पठाई । हामीलाई भन्थी, मेरो विवाहको चिन्ता तपाईंहरूले लिने होइन । म आफैँ लिन्छु र कोसँग गर्छु समय आएपछि बताउँछु । भन्छे, जीवन र प्रेमसँग मेरो सम्बन्ध भइसकेको छ । के भनेकी हो त्यस्तो ? म त केही पनि बुझ्दिन । जुनबेला पनि यसो हेर्‍यो लेखिरहेकी हुन्छे । पढाइबारे लेखेकी होइन, कविता लेखेकी रे । लौ सुना त के लेखिस् भन्यो, सुनाउँछे पनि । तर के गर्नु बुझ्नै नसकिने  के भनेकी हो के  त्यस्तो पनि कविता हुन्छ र मलाई त कताकता पढाइ नै बिगार्ने हो कि भन्ने लागिरहन्छ । त्यस्तो पढ्ने मान्छे । छात्रवृत्ति पाएर त्यहाँ पढ्न गएकी हो । लौ अहिले त के भएकी हो के ?”

यस्तो सुन्दा म अरू दुःखी हुन्थेँ । सोच्थेँ, छुट्टी आउन लाग्यो, त्यस बेला त नेपाल आउली । त्यही बेला पारेर सबै कुरा खोलेर सोध्ने र भन्ने गर्नुपर्ला भनी महिना गनेर बसेको म फेरि पनि छक्किएँ । ऊ आउँदै आइन । त्यहीँबाट एउटा साथीको घरमा छुट्टी बिताउन गइछ । अब मलाई निश्चय भयो, ऊ मलाई मन पराउँथी सायद जीवनसाथी बनाउन चाहन्थी । मैले विवाह गरेको खबर पाएर नै ऊ विरक्त भई । नेपाल आउन चाहिन । एउटा नेपाली साहित्यिक पत्रिकामा कविता पनि छपाएकी रहिछ । त्यो मैले पढ्न पुगेँ । कविता झन्डै यो जस्तो थियो ।

मेरो कल्पनाको मरुभूमि छ

तिमी कल्पित लास छौ

म जिउँदो एक्लिएकी लास हुँ

तिम्रो र मेरो अन्तहीन मिलन छ त्यहाँ

कथाको सुरुआत र अन्तको रूपमा ।

यी कविताका हरफ पढेपछि मेरा आँखा रसाए र मनले पनि स्वीकार्‍यो, “हो त यहाँ वणिर्त कल्पित लास मात्र होइन साँच्चिकै लास नै त म भएको छु । यी कविताले कसरी मेरो जीवनबारे बोल्दैछन् । के यस्तै हुन्छ सबैको जीवन ?” पाना पल्टाउँछन् र त्यहाँ कोरिएको अर्को कविता पढ्छन्-

तिम्रो मुटुमा गढेको तस्बिर हेर्ने रहर छ

तिम्रो सानु संसारको मायालु भेट्ने मेरो मन छ ।

यो कविताले मलाई नयनाको मनस्थिति सम्झाउँछ र म सोच्छु, उसले यस्तै भनिरहेकी होली । म न मेरो मुटुभित्र लुकेको तस्बिर देखाउन सक्छु, न त भताभुङ्ग हुँदै जान थालेको मेरो जीवनका पाटाहरू । यसैले त मैले आफूलाई लासमा स्वीकारेको छु, यो कवितामा लेखेको जस्तै । होइन, यो बिर्सिएका ती पाइलाहरू कसरी मलाई नै उभ्याएर लेखेजस्तो भएको । कहीँ शीला दली नयनाको साथी त होइन ? नत्र हामी दुवैको स्थिति बुझेर किन यस्तो लेख्थिन् ।

गुनासो कसलाई पोख्न सक्छु र

आफैँले बाँधेको बन्धनको

व्यथा कसलाई सुनाउन सक्छु र

आफूले लगाएको चोटको ।

हो, मेरो यस्तै स्थिति भएको छ । उनी पढ्दापढ्दै रोकिन्छन् र मनमनै भन्छन्- के थाहा नयनाको पनि मेरो जस्तै मनस्थिति भएको छ कि ?

जाऊ तिमी मलाई शून्यतामा बिलाउन देऊ

इच्छा आकाङ्क्षाहरू सँगसँगै अनि मुटुसँगै फुट्न देऊ

त्यो तस्बिर नरहोस् मभित्र केही नरहोस् मभित्र

सबैलाई बिर्सेझैँ त्यसलाई पनि मेट्न सकुँ मभित्र ।

यसमा व्यक्त भएका भावना जस्तै नयनाले पनि आफ्नो यस्तो मौन व्यवहारले प्रेमप्रतिको आफ्नो प्रतिकार जनाएकी त होइन ? यस पुस्तकभित्रका कविताहरूले मलाई निकै अकमकायो र नयनालाई बुझ्ने थुप्रै दृष्टि त्यसमा पाएँ । सुनेको थिएँ, नयना पढाइ पूरा गरेर छिट्टै फर्किँदैछे । त्यसैले केही दिन उसले आएर टेलिफोन गर्छे कि भनेर पर्खिरहेँ । अहँ, उसले गर्दै गरिन । एक दिन हाम्रो एउटा साथीले ऊसँग भेटेको खबर ल्यायो र भन्यो, “नयना नेपाल आएकी रहिछे । तिमीहरूको भेट भयो ? क्या बदली छे त्यो त । अहिले पो त यसो हेर्दा कवयित्री भन्न सुहाउने भइछ । गम्भीर त्यस्तै भइछ ।”

ए हो र ? मेरो कहाँ भेट हुन पाएको छ र ? उसलाई अरू साथीहरू भेट्दैमा फुर्सद छैन होला भनेर आˆनो लाज छोपेँ ।

उसको त बाल्यकालदेखिको मित्र होइनस् ? फेरि अरूलाई प्राथमिकता कसरी दिई ? सोच है । यसमा केही रहस्य छ जस्तो मलाई लाग्यो । हामीले भेटेर कुरा गर्दा पनि त्यसले केही पनि भनिन, न त सोधी नै । मित्रता मित्रता भन्थ्यौ कहीँ प्रेमवियोगको पीडामा त छैनौ ? तैँले राम्री र धनी केटी पाएँ भनेर हाम्फालेर विवाह गरिहालिस् अनि…? तैँले विवाह गर्नुभन्दा पहिले सोधेको थिइस् उसको विचार के छ भनेर ? भन्ने प्रश्नहरू साथीले सोध्दा उनी हतप्रभ हुन्छन् र भन्छन्, “अहँ  त्यो त सोधिन, ऊ बाहुनी केटी परी त्यसैले झट्ट सोध्न अनकनाएँ । टेलिफोन गरेँ तर विवाहको प्रस्ताव राख्न सकिनँ । सोचेँ हाम्रो मित्रताको सम्बन्ध स्वार्थपूर्ण हुने त होइन भनेर हच्किएँ । उसले पनि कहिल्यै भनिन, म माया मात्र होइन तिमीलाई प्रेम गर्न थालेको छु । भूल हामी दुवैको भयो । हेर न यार अहिले म पनि कहाँ खुसी छु र ? नयनालाई नै सम्झन्छु । एउटा सानो भूलले कत्रो असर हामी दुइटैमाथि पारेको छ ।”

“दुइटामाथि मात्र होइन तेस्रीमाथि त्यो तेरी स्वास्नी पनि भन । गल्ती तिमीहरू गर्छौ, त्यस नतिजाको सहभागी ऊ पनि हुनु परेको होला । अब यस कुरालाई बिर्सेर आफ्नो नयाँ जीवन अगाडि सार ।” यसो भनेर साथी आफ्नो बाटो लाग्यो । मेरो मनको छटपछी शान्त भएन । मेरा पाइलाहरू नयनाको घर भएतिर बढ्न थाल्छन् । अव्यक्त प्रेम त्यही स्थितिमा रहोस् तर हाम्रो साथीको माया र सम्बन्ध जुन पहिलेदेखि थियो, त्यो मात्र भए पनि कायम राख्नुपर्छ । मैले उसको पढाइको सफलतामा ‘बधाई’ दिनैपर्छ । यस्तै कुरा मनमा खेलाउँदै म उसकहाँ पुग्छु । धेरै बेर मलाई कुराएपछि नयना देखा पर्छे । उसको ओठमा न भेट भएकोमा खुसीको मुस्कान छ, न त आँखामा दुःखको आँसु । न रिसले तमतमाएकी छे । नजिक आएर बस्नलाई भन्छे र म “तिमीलाई हार्दिक बधाई” भन्छु । ऊ पनि भन्छे, “तिमीलाई पनि ।” म अर्थ बुझेर टक्क अड्छु र सम्झन्छु, भरखर पढेको कविताका ती पङ्क्ति, जो आफैँ बोलिरहेका छन्-

तिमी र म

यस्तै थियो सुरुको जीवन

आज पनि तिमी र म

फरक केही देख्दिन

फेरि पनि भन्छन्

जीवनको सुरुआत युगौँ बितिसक्यो रे ।

केही क्षण चुप लागेपछि मैले नै कुरा उठाउँछु र सोध्छु, “आजभोलि तिम्रो कविता लेखाइ कस्तो चल्दैछ ?”

ऊ मेरो प्रश्नको जवाफ दिन्न । मेरो मुखमात्र हेरिरहन्छे । मलाई असजिलो अनुभव हुन्छ र मनमनै दोहोर्‍याउँछु ती कविताका पङ्क्तिहरू-

म के लेख्दैछु म के चाहँदैछु

तिमी कोट्याएर हेर्न नखोज

हेरेर त्यसलाई बुझ्न नखोज

यो अनन्त आकाशजस्तै छ मेरो चाहना

सागरको गहिराइजस्तै छ मेरो कल्पना ।

मौनताको कुरा बुझेर प्रसङ्ग बदल्ने चाहना राखेर भन्छु, “नयना  जे हुनु हुँदैनथ्यो त्यो भइहाल्यो । के हामी यी सबैलाई पन्छाएर फेरि एउटा नयाँ जीवन सुरु गर्न सक्दैनौँ, निःस्वार्थ-अमर मायाको ?”

ऊ बल्ल हाँसी र भनी, “तिमीले मलाई पीडा दिएँ भन्ठानेको रहेछौ । यो सोच्नु तिम्रो भूल हो । मैले त्यसलाई टिक्नै नदिएर फर्काइसकेको छु । बरु जाँदाजाँदै त्यसले मलाई एक्लै आफैँलाई प्रेम गरेर बाँच्ने शक्ति आशीर्वादस्वरूप दिएर गएको छ । तिमी पनि शान्त हुन चाहन्छौ भने आफैँभित्र प्रेम खोज, आफैँलाई प्रेम गर र सो प्राप्त गर । त्यसैले आनन्दानुभूति दिन्छ । स्वप्रेमको नयाँ दृष्टि निकाल्न सक्छौ । यसले मानवको हृदय छाम्न सक्छौ । पि्रया र प्रीतम तिमी आफैँ बन्न खोज, अनिमात्र कसैले प्रेममा धोका दिन सक्दैन, न त पश्चात्ताप नै भोग्नुपर्छ । जीवन अमूल्य छ । शान्ति र प्रेमले बाँच्ने प्रयास गर ।” यति कुराकानी भएपछि म त्यहाँबाट हिँड्छु र हिँड्दाहिँड्दै सम्झन्छु, उही कविता, जसका पङ्क्तिहरूले भनिरहेका थिए-

एक थोपा पानी एक टुक्रा आकाश एउटा सानो तारा

मलाई सीमितताभित्र बाँध्ने परिधिहरू

म उछिट्टनि खोज्दैछु

सिङ्गै धरतीमा आकाशको टोपी लगाई

बाँच्न खोज्दैछु ।

हो नयनाले ठीक भन्दै छे । ऊ अब कसैसँग पनि बाँधिन चाहन्न । उसले आफँैमा सबै प्राप्ति पाइसकेकी छ । स्वप्रेम गरी मुक्त भइसकी । ती अव्यक्त प्रेमका पीडाहरूबाट अर्कै जीवन पाइसकी, जसलाई अरू कसैले छल्न सक्दैन- मैले पनि । उनी फेरि त्यही ‘बिर्सिएका ती पाइला’भित्रको अर्को कविता सम्झन्छन् । त्यो यस्तो भावनाले भरिएको थियो-

म प्रकृतिकी छोरी एक्ली छोरी

मेरोलागि जन्मेको छैन जीवन

जसको उष्णता म पोल्टामा राख्न रुचाऊ

जाऊ त्यसैले र्फक मेरो पिछा छोड

आफ्नो मुटुको मायालु धड्कन

आफैँमाथि सजाउन सकुँ

पि्रय र पि्रयतम म आफैँ बन्न सकुँ ।

हरिलाई लाग्छ, नयना भनिरहेकी छे, “पुग्यो मलाई सांसारिक लीला । म सत्य, प्रेम र शान्तिमा समर्पित हुन चाहन्छु ।

-यस्ता कविताहरूले भरिएका कवि डा. शीला दलीको कवितासङ्ग्रह ‘बिर्सिएका ती पाइलाहरू’ बाट अरू थुप्रै राम्रा कथाहरूको कल्पना गर्न सकिन्छ । मेरो यो कथा पनि उनका ती कविताहरूले कोरेका काल्पनिक एक टुक्रा जीवनको आकार मात्र हो । प्रेमपीडा र मुक्तिको परिधिमा घुमेका यी कविताहरूले के कस्तो दृष्टि प्रवाह गर्न सक्छन्, एकफेर यो सङ्ग्रह पढेर हेर्नोस् । यी कविता धेरै वर्ष पहिले लेखिएका भए पनि सत्य अमर रहन्छ भनेझैं आज पनि सान्दर्भिक रहेको छ ।)

(श्रोत:- मधुपर्क २०६६ चैत)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.