~पदम भण्डारी~
यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि साथी भेट्टाएर ठीकै भयो भन्ठानें ।
चिसापानीमा नेपाली सेनाको चेकपोष्ट छ । जीप चेकजाँच गर्न त्यहाँ रोकियो । एकजना सेनाका जवान आएर मलाई सोधे । मैले मेरो नाम र काम गर्ने अफिस बताएँ । सभासदलाई पनि मैले नै वहाँ फलानो जिल्लाको फलानो सभासद ज्यू हुनुहुन्छ भनेर जिल्लाको नाम र सभासदको नाम भनेर चिनाउने प्रयास गरें । सेनाका जवानले सोधे-‘वहाँ कुन अफिसको सभासद?’ म अकमकाएँ । सभासदले पुलुक़्क मेरो अनुहारमा हेरें । मैले सभासदको बारेमा पूनः बेलिबिस्तार लगाएँ । सेनाको जवानले भने-‘त्यो त बुझें तर वहाँ कुन अफिसको कर्मचारी भनेर सोधेको । ल भैहाल्यो जानुस ।’
जीप अलि पर पुगेपछि सभासदले लाज मान्दै भने-‘मलाई यो सभासद पदबाट नचिनाउनु अब । मैले संस्कारको कुरा गरें-‘हाम्रो समाजमा एकचोटी जिल्ला सभापति भयो भने जीबनभरी सभापति ज्यू र एकपटक मन्त्री भयो भने जीबनभरी मन्त्री ज्यू भनेर चिनिन्छ नी । त्यसैले तपाईंलाई पनि सभासद ज्यू भनेर किन नचिनाउनु भनेर हो । सभासदले तिक्तता पोखे-‘अरु पदमा बस्नेले त सानो तिनो काम गरेर देखाए तर सभासदले अरु धेरै काम त कता हो कता जे गर्ने भनेर सभासद बनेका थियौं त्यो पनि गर्न सकेनौं नी त ।’
काम गर्न सकिएन भन्ने सभासद ज्यू को ईमान्दारिताको भने मैले प्रसंशा गरें ।