~दिलिप आचार्य ~
रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं थिए ।
” हेर … देश त झन झन बरबाद हुदैँ जान लाग्यो …” यौटा व्यक्तिले आफ्नो रित्तिन लागेको गिलास पूनः भर्दै चिन्ता व्यक्त गर्यो।
“त्यै त! यौटा गतिलो नेता पनि भएन यहाँ , न त ईमान्दार नेता न त स्वच्छ राजनीती ….” चुरोटको धूवाँलाई गोलो पारेर उडाउँदैं दोस्रोले सहि थाप्यो ।
” सार्है चिन्ताजनक स्थिती पो भयो त देशको…” तेस्रो व्यक्ति दार्शनिक पारामा बोल्दै थियो “…मलाई यो जाँड रक्सी केहि मन पर्दैन …तर के गर्ने … देशको चिन्ताले गर्दा पिउने गर्छु..”
•———-• •———-• •———-•
” …आज त बल्ल बल्ल यौटालाई फसाँए नत्र त झण्डै ‘हातै खाली’ भैसकेको थियो ” पहिलो व्यक्तिले अली असन्तुष्ट अनुहार लगाउँदै आफ्नो स्थिती बतायो ।
“त्यै त …मैले पनि त्यो व्यापारीको फाईल एकछिन नलुकाएको भए आज त अफिसबाट सिधै घरै जानुपर्ने भैसकेको थियो” देस्रो व्यक्तिले आफ्नो हालत दर्शायो ।
” …अँ त … मैले पनि ‘पुरानै चाल’ चलेर २-३ जनालाई ‘मुँडी’ हालेँ…” तेस्रो व्यक्तिले विजयी मुस्कानकासाथ आफ्नो खुबी देखायो “…नत्र त रातको खर्च कसरी धान्न सकिन्छ र … ल ….लागौं अब”
तीनै जना पूनः राष्ट्र चिन्तनकोलागी नजीकको यौटा क्याबीन रेस्टुरेण्ट तीर लागे ।
(श्रोत :- Laghukatha)